२२ मंसिर २०८२ सोमबार
image/svg+xml
अन्तर्वार्ता

दसैंमा धेरै मानिस गाउँ जान चाहन्छन् तर सडक र यातायातको अवस्था भद्रगोल छ: आशिष गजुरेल

यो बेला दशैंमा गाउँ जानेहरुको लर्को छ। सप्तमीअघि दैनिक करिब डेढ लाख र सप्तमीपछि दैनिक तीन लाखको हाराहारीमा दसैं मनाउन गाउँ जाने गरेको तथ्यांक छ। तर सोहीअनुसारको पूर्वाधार हामीसँग छैन।

सडकहरुको अवस्था भद्रगोल छ। दसैंमा प्रयोग हुने पुराना र कन्डिसनमा नभएका सवारी साधनले थप समस्या दिने गरेको छ। हरेक दशैंमा मात्र किन यी विषय उठ्छन् ? दशैंमा दुर्घटनाका समाचारहरु किन बढी आउँछन्। नागरिककर्मी तेजेन्द्र काफ्लेले पूर्वाधारविद् ई.आशिष गजुरेलसँग कुराकानी गरेका छन्।

ई.आशिष गजुरेल/नागरिककर्मी तेजेन्द्र काफ्ले

अहिलेको अवस्थामा देशैभरको सडकको अवस्था हेर्ने हो भने कस्तो हो ?  

हामीसँग देशभर एक लाख किलोमिटर सडक सञ्जाल छ। त्यसमध्ये २५ हजार किलोमिटर हजार किलोमिटरमा सडक विभागले डिजाइन अर्थात् इन्जिनियरिङ गरेर मापदण्डअनुसार बनाएको छ। त्यसमा पनि पूर्णरुपमा भएको छैन।

बाँकी ७५ हजार किलोमिटर त खाली गाउँगाउँ जोड्ने, नेताको घर जोड्ने, वडाध्यक्षको घर जोड्नलाई मात्र बनाएको छ। यसबाट के थाहा हुन्छ भने हामीसँग भएको सडक संरचना एकदमै असुरक्षित छन्। यसले के भयो भने बारम्बार पहिरो झरेको छ। खोलाले बगाएको छ। अहिले पनि घण्टौं भइसक्यो मुग्लिन नारायणगढ सडकमा पहिरो खसेर बन्द भएको छ। हामीले सडक त खन्यौं तर मापदण्डअनुसारको बनाएनौं।

सरकारले इन्जिनियरिङसहित बनाएको सडक त व्यवस्थित हुनुपर्ने हैन र ?

हाम्रो सोचाइ नै गलत छ। विकास भनेको हामी सडक बुझ्छौं तर यातायात व्यवस्थापनको कुरा बुझ्दैनौं। पैसा भयो कि सडक खन्ने, चौडा गर्ने र पिच गर्ने। हामी भूगर्वीय जोखिम हेर्दैनौं। सडक भनेपछि कालोपत्रेमात्र सोच्छौं। सडकमाथि भएको भीरबाट पहिलो जान्छ। त्यसलाई रोक्न रिटेन्सन वालहरु, सुरक्षाका कुराहरु गर्दैनौं। जियो टेन्किल अनुसन्धान गरेर त्यहीँअनुसारले व्यवस्थापन पनि गर्दैनौं। यहीँ कारणले पहिरो खसिरहन्छ र सडक अवरुद्ध भइरहन्छ। दुर्घटना भइरहन्छ। अनि अर्कोतर्फ हामी सार्वजनिक यातायातमा लगानी गर्दैनौं।  

समस्या देखिन्छ तर समाधानमा सम्बन्धित पक्षले चासो दिँदैन, किन ?

हाम्रो सोच भनेको सडक खाली चिप्लो हुनु पर्यो। जनतालाई भुल्याउने काममात्र भयो। चिप्लो सडक भएपछि जनता पनि मख्ख पर्ने भए। तर सडक भनेको त ड्रेन हुन्छ, रिटेन्सन वाल हुन्छ। खैत यसमा त हामीले लगानी गरेकै छैनौं। तपाईं हामी वीपी राजमार्ग भएर धुलिखेल बर्दिवासको यात्रा गरौं न, धेरै लगानी त त्यहाँ रिटेन्सन वालमा गरिएको छ। सडक सानो ५.५ मिटरको मात्र छ। पहिरो गएको कुरा त्यहाँ बिरलैमात्रै सुनिन्छ।

काठमाडौं मुग्लिन र मुग्लिन नारायणगढ सडकमा अत्यधिक पहिरो जानुको कारण के हो ?  

हाम्रा पहाडहरु नयाँ छन्। यसमा स्थायीत्व छैन। यो पृथ्वी राजमार्ग बनाउँदा पनि धेरै विष्फोटक पदार्थ प्रयोग गरिएको छ। पहाडहरु फुटाउन ब्लाष्ट गरिएका छन्। जति पहाड काटिन्छ, त्यती नै बिनास हुन्छ। त्यसमाथि अहिले आएर त स्थानीय तहले पहाडको माथि पनि सडक बनाइदिएको छ। यसले कमजोर अवस्थामा रहेको पहाडलाई अझै कमजोर बनाउने काम हुन्छ। अब पृथ्वी राजमार्ग पनि खोलाको किनारमा बनाइएको छ। खोलाले तलबाट हिर्काउछ अनि माथिबाट पहिरो खसिरहेको हुन्छ।

न खोलातिर राम्रो रिटेन्सन वान बनाउँछौं न पहिरो खस्न नदिन भित्तामा सुरक्षा अपनाउँछौं। त्यसैले हामीले भूगर्वीय जोखिमको पहिचान गरेर व्यवस्थापन नै गरेनौं। यसले गर्दा पटकपटक पृथ्वी राजमार्गसहितका सडकमा बारम्बार पहिरो जाने गरेको छ। यो राजमार्गमा यात्रा गर्दा सानातिना ढुंगामाटो खसिरहेको पाइन्छ, यो भनेको भूगर्वीय जोखिमलाई वास्ता नगरेको हो। सडक बनाउने क्रममा भूगर्वीय जोखिम पहिचान गरेर व्यवस्थापन नगर्ने हो भने सडकको काम छैन भनेर भन्न पनि सकेका छैनौं।

किन सक्नु भएन ? 

आज पनि राज्य क्षेत्रमा जाँदा कुनै संवाद हुँदैन। मन्त्रीले यो गर भनेपछि कर्मचारीले हुन्छ भन्ने। सचिवहरु पुराना हुन्छन्। नयाँ आउने इन्जिनियरहरुसँग नयाँ ज्ञान हुन्छ। पछिल्लो प्रविधिबारे जानेर आएका हुन्छन्। सचिवहरुसँग अनुभव बढी हुन्छ तर प्राविधिक ज्ञान त इन्जिनियरहरूसँग बढी हुन्छ। तर इन्जिनियरले सचिवलाई सल्लाह दिन सक्दैन। सल्लाह दिन खोजेपनि जान्ने हुने भन्दै उल्टै थर्काउँछ। संवाद कम भएरपनि हामी पछाडी परिरहेका छौं।  

दाउन्नेमा देखिएको दुःख पनि तुइन खोलाको जस्तै हो ?

सबै समस्या एकैप्रकारका छन्। दाउन्नेमा हामीले निर्माण व्यवसायी खोज्यौं तर राज्य पक्षबाट हुनुपर्ने तयारी भएन। जस्तै वातावारण प्रभाव मूल्यांकन, जग्गा अधिग्रहण, नदीजन्य सामग्री प्रयोग यी कुरा भनेको ठेकेदारले गर्ने हैन। बेलाबेलामा डिजाइन परिवर्तन हुन्छ, यो कुरापनि राज्यले नगर्ने। बेलाबेलामा रकम भुक्तानीको कुरा आउछ, सरकारले त्यो पनि नगर्ने। निर्माण व्यवसायी पनि एकाधलाई छाडेर बाँकी काममा गम्भीर भएको पाइदैन।

यो दुवैतर्फको समन्वय नमिलेर काम प्रभावित भइरहेको छ। पाँच पटक त म्याद थप भइसक्यो ११५ किलोमिटनर नारायणगढ बुटवल सडक खण्डमा। किन म्याद थपेको हो ? राज्यको गल्ती हो भने राज्य सही तरिकाले आउनु पर्यो। ठेकेदारको गल्ती हो भने ठेक्का तोडेर नयाँ प्रक्रियामा जानु पर्यो। चुनौतीको सामना गर्नु पर्यो नि। ठेक्का तोड्यो भने अदालती झन्झटमा फसिन्छ भनेर डराउनु त भएन नि। अनि त्यहीँ ठेकेदार कम्पनीलाई म्याद थपेको छ थपेको छ। यसले त कहिले बन्छ सडक ?

देशको संघीय राजधानीबाट बाहिरिने जति पनि सडक छन्, कति सहज छन् ती बाटाहरु ?  

कुनै पनि सहज छैनन्। भक्तपुरबाट धुलिखेल निस्कने बाटो बेहाल छ। वीपी राजमार्ग खोलामै छ। यसको ठेक्का निकालेको छ तर प्रक्रियामा गएकै छैन। दक्षिणकाली भएर हेटौडा निस्कने बाटोमा केही सुधार देखिएपनि पर्याप्त छैन। नागढुंगा भएर जाने बाटोको हालत पनि उस्तै छ। यी सडकहरु बनाउने रकम छैन भने नबनाउ तर नमागौं। पूर्वाधार बनाइदिनु भनेर माग्ने। विदेशीले सहयोग नगरे सडक बनाउन सकिदैन भन्ने जुन मानसिकताको विकास भयो नि यो घातक रह्यो। जहिले पनि हामी चै माग्नेमै बसिरहने भयौं।

सरकारले पछिल्लो समय बनाइरहेको मदन भण्डारी, मध्यपहाडी राजमार्गहरुमा पूर्वाधारको अवस्था कस्तो छ ?

यी भनेको पहाडी भूभागमा बनाउने सडक हुन्। बनाउन पनि गाह्रो हुन्छ, भूगर्वीय जोखिम पनि बढी हुन्छ। कम बजेटले सडक बनाइरहेका हुन्छौं। त्यहीँ भएर जति पनि बनेका छन्, यी कमजोर पूर्वाधार बनेका छन्। हाम्रो बजेटले जति बनाउन सक्छौं, स्तरीय बनाऊ। सडक जत्रो चाहिन्छ त्यत्रै बनाउ। जोखिमहरुको व्यवस्थापन गरौं।

नेपालका बाटाहरुलाई यमलोकको बाटो पनि भन्न थालिएको छ। मान्न तयार हुनुहुन्छ ?

त्यस्ता राजमार्ग त कति छन् कति। जस्तो कर्णाली राजमार्ग हेर्नुन कस्तो छ। त्यसैले जुन राजमार्गहरु चलाउन नमिल्ने छन्, ती राजमार्ग परीक्षण गरेर तत्काल बन्द गरौं। त्यस्ता  सडकहरु दशैंतिहारजस्ता चाडपर्वमा मात्रै खोल्ने हुँदैन। चाडपर्व फेरि आउछ तर ज्यान गएपछि त आउँदैन। धेरै मार्गहरु यस्ता छन् जुन सवारी गुडाउनै मिल्दैन। यस्ता सडक बनाउने नाममा लाखौं जनताको जीवनमा खेलवाड नगरौं। सडकका कारण हुने दुर्घटनाले निम्त्याउने आर्थिक, सामाजिक, मानसिक प्रभावको मूल्यांकन नै गर्न सकिँदैन।

अब दसैंमा मात्रै यी कुराहरु किन उठ्छन् ?

दसैंसहितका चाडपर्वमा सडकभन्दा पनि यातायात व्यवस्थापनको विषय धेरै निस्कन्छन्। बाहिरी जिल्लाको कुरा छाडौं, काठमाडौंको मात्रै कुरा गरौं। काठमाडौंबाट बाहिरिने जतिपनि नाका छन्, ती नाकाबाट दैनिक ७५ हजार यात्रुलाई बाहिर पठाउने क्षमता छ।

दशैंमा फूलपातीभन्दा अगाडी दैनिक एकदेखि डेढ लाखसम्म मानिसहरु काठमाडौंबाट बाहिने रहेछन्। फुलपातीपछि भने हरेक दिन तीन लाखसम्म मानिसहरु बाहिरिने रहेछन्। तर हाम्रो क्षमताले यो नभ्याउने भयो। यसले गर्दा मानिसहरु कोचिएर यात्रा गर्ने, छतमा यात्रा गर्ने देखिन्छ।

एउटा चालकले लगातार नसुती गाडी चलाउने। यति ठुलो खाडल हामीसँग छ। यसका कारण यातायात अस्तव्यस्त बनाइदियो। मान्छेले दुःख पाए। यसमाथि पनि पहिलो गएर यात्रुले झन दुःख पाउँछन्। पछिल्लो समय त झन दशैं वर्षाको समयमा पर्न थाल्यो। यही समयमा पहिरो झर्छ, बाढी आउँछ, सडक बगाउछ, चिप्लो बन्छ। यसले दुर्घटनाको संख्यामा वृद्धि हुन्छ। यहीँ कारण हाम्रो दशैं सधैं असुरक्षित हुने गरेको छ।

त्यसो भए यातायात व्यवस्थापन कसरी हुनुपर्छ ?

हाम्रो जति माग हो त्यो अनुसारको क्षमता छैन। हाम्रो सडक र यातायातको क्षमताभन्दा दोब्बर यात्रु दशैंका समय घर जान चाहान्छन्। यसैले हामीलाई थप सवारी साधन चाहियो। सवारी साधनमा निजी क्षेत्रको लगानी छ। अब राज्यले विकल्प हेर्नु पर्ने भयो। स्कुलकलेजमा भएका, सरकारी कार्यालयमा भएका बसहरुको परीक्षण गर्ने। अध्ययन गर्ने।

कुनकुन बस कहाँसम्म चलाउन मिल्छ। यसका लागि चालकको व्यवस्थापन गर्नु पर्छ। भाडा तय गर्नुपर्यो। यसरी दशैंको मागअनुसार सवारीसाधनको जोहो गर्दिनु पर्ने भयो। यसले मात्र समस्या समाधान हुन्छ, हैन भने हरेक दशैंमा यात्रुले दुःख पाइरन्छन्।

यहीँ समयमा सरकारले रुटपरमिट खुल्ला गर्दिन्छ, जसले गर्दा काठमाडौंमा पनि लाउन नमिल्ने सवारी साधान कर्णाली पुग्छन्, हैन ?

हो, सही कुरा। अनुमति दिनुभन्दा अघि त गाडीको अवस्था कस्तो छ भनेर परीक्षण त हुनु पर्छ। वैकल्पिक सवारी साधनहरुको अवस्था हेरेर कहाँकहाँसम्म गुडाउन सकिन्छ, अनुमति दिने। तर कस्ले गर्ने ? समस्या यहाँ छ फेरि।

यी समस्याहरुले यो दशैंमा थप पीडा दिन सक्छ ?  

यसले त पीडा दिइसक्यो। मनोबल गिरेको अवस्था छ। चालक, सहचालक र सञ्चालकको अवस्था पनि उस्तै छ। अग्रिम बुकिङ पनि खुलेको छैन। अग्रिम बुकिङ खोले पनि कहाँ कुन समयमा सडक अवरुद्ध हुन्छ थाहा छैन। टिकटको पैसा फिर्ता दिनु पर्ने अवस्था आउन सक्छ भनेर व्यवसायी नै बताउँदैछन्। आन्दोलनका कारण धेरै मानिस उकुसमुकुसको अवस्थामा छन्। धेरै गाउँ जाउँ भन्नेमा छन्। यो वर्ष झन धेरै गाउँ जान चाहान्छन् तर सडक र यातायातको अवस्था भद्रगोल छ।

सडक र यातायातको यो अवस्था आउनुमा दोष कसको हो र निवारण कसरी गर्न सकिन्छ ? 

यसमा कसैलाई एकल दोष लगाउन सकिन्न। सबैको दोष छ। तलदेखि माथिसम्म सबैको दोष हो। सिष्टमको दोष हो। यो सिष्टम बनाउन नसक्दाको दोष हो। अनुशासनको कमी छ। चालकले पनि नसुतीनसुती गाडी चलाइरहेका छन्। यसको सुधारका लागि सबै लाग्नु जरुरी छ।  

दशैंमा नै बढी दुर्घटना हुने गरेको छ, यसको कारण के हो ?

एउटा त वर्षा हुन्छ, पहिरो जान्छ, खोलाले काट्छ, सडक चिप्लो हुन्छ। यसले कमजोर संरचनालाई थप कमजोर बनाउँछ। रुटपरमिट खुला भएपछि थोत्रा र कन्डिसनमा नभएका गाडी पनि चलाउन पाए। बढी पैसा कमाउने लोभ होस् वा सञ्चालकको दबाबले चालकले नसुतीनसुती सवारी चलाउने भए। ट्रफिकले पनि कडाइ नगर्ने भएकाले ओभरलोड गाडी हुन्छन्। फरक भौगोलिक क्षेत्रमा गुडाउन सवारी साधन उपयुक्त छ कि छैन हेरिन्न। मादक पदार्थको परीक्षण पनि नियमित हुँदैन। यी सबै कारणले गर्दा दशैंमा बढी दुर्घटना हुने अवस्था छ।

हामी कहिले ढुक्कले सडक यातायात प्रयोग गर्न सक्ने अवस्थामा पुग्छौं ?

अहिले नै त यो कल्पना नगरौं। म आफैं पनि डराइडराई हिड्छु। सडक पिच गरेको छ भन्दैमा सुरक्षित छ भन्ने हुन्न। चिप्लो पनि हुन सक्छ। यो भनेको के हो भने सडक सुरक्षाका आफ्नै मापदण्डहरु छन्। परिवर्तन गर्नु पर्छ। अब नयाँ ढंगले सोच्न आवश्यक छ। जुन चलाउनै नमिल्ने मृत्यु मार्ग छन्, बन्द गरौं। जुन सुधार गर्नुपर्ने छ, तत्काल सुधार गरौं। नयाँ बनाउने भन्दा पनि पुराना र भएकालाई सुधार गरौं। वैकल्पिक सवारीबारे पनि सोच्न थालौं।

प्रकाशित: ९ आश्विन २०८२ १७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App