नागरिक नायक २०८३ बनेकी पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अब देशलाई विकास र समृद्धिको बाटोमा अघि बढेको देख्ने उत्कट चाहना रहेको बताएकी छन्।
नागरिक नायक घोषणापछि नेपाल रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक समृद्धि ज्ञवालीसँग कुराकानी गर्दै ६ महिना देशको नेतृत्व गर्दा ६ वर्षको अनुभव प्राप्त भएको बताइन्।
विषम् परिस्थितिमा देशको जिम्मेवारी सम्हाल्दा चुनौती सामना गर्दै आफूहरूले अपेक्षाकृत काम गर्न सकेको भन्दै सम्पूर्ण नेपालीलाई धन्यवाद दिएकी छन्।
वर्तमान सरकारको आलोचना गर्ने बेला नभएको तर्क गर्दै आफ्नो छोरा पुस्ताका प्रतिनिधि सरकार सञ्चालनमा आएकाले सिकाउँदै अघि बढ्नुपर्ने बताएकी छन्।
देश परिवर्तन गर्न हाम्रो सोच परिवर्तन आवश्यक रहेको, परिवर्तनका लागि समय चाहिने भएकाले धैर्यता आवश्यक रहेको लगायतका सुझाव उनले नेपाली नागरिक र दुई तिहाइ नजिकको बहुमतप्राप्त वर्तमान सरकारका नेतृत्वकर्तालाई सुझाएकी छन्।
प्रस्तुत छ कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश:
नेपाल किन राजनीतिक अस्थिरताको चक्रमा सधैँ फसिरहेको छ ?
-अब यसको व्याख्या गर्न त मलाई पनि अप्ठ्यारो लाग्छ। मैले ००७ साल देखिन। १७ सालको घटना केही थाहा छ। त्यसपछि त मुलुकमा एक पछि अर्को आन्दोलन भइरह्यो। स्थायित्व हुन सकेन। यो सबैलाई अनुभव हुने कुरा हो। किन भएन भन्ने पनि हामी सबैलाई थाहा छ। मलाई हामी नेपालीमै एउटा कमजोरी छ जस्तो लाग्छ। छिट्टै सबै कुराको आश गर्ने। अनि अलिकति परिश्रम नगर्ने। एउटाले गरिरहेको भए त्यसमा होस्टे हैँसे नगर्ने हाम्रो क्यारेक्टर छ जस्तो लाग्छ। कमजोरी भए सच्याउन नजाने तर आलोचना जे कुरामा पनि बढी नै गर्छौँ।
०००
तपाईं न्यायपालिकाको पनि सर्वोच्च पदमा पुग्नुभएको कार्यपालिकाको पनि यी जिम्मेवारी लिएर हेर्दा हामीकहाँ संरचनागत अवस्था कस्तो पाउनुभयो ?
-हाम्रा मान्छे ज्यादा पोलिटिसाइज छन्। कामभन्दा पोलिटिसाइज बढी भयो। राजनीतिले सबै कुरो दिने हो त ? खान दिने त होइन ! खान दिने त खेतीले, व्यापार, व्यवसायले रोजगारीले पो हो। अनि यहाँ चाहिँ पोलिटिक्स गरेर मात्रै कमाउन सकिन्छ भन्ने सोच छ त्यो बहुत नराम्रो प्रवृति हो।
ताली........
०००
पक्कै पनि नेपालमा जुनसुकै क्षेत्रमा बढी राजनीतिकरण भएकै छ। भ्रष्टाचार धेरै छ। भ्रष्टाचार र संस्थागत संरचनाको हातेमालोकै अवस्था छ। अहिले नयाँ जनादेश पनि आएको छ अब नेपाल अघि बढ्न कस्तो कुरामा ध्यान दिनुपर्ला ?
–प्रथमत: मलाई के लाग्छ भने त्यो दलीय कुरा भनेको निर्वाचनसम्म मात्रै सीमित हुनुपर्छ। निर्वाचनसम्म मात्रै दलीय कुरा ठिक। पार्टीहरुले आफ्नो संगठन बनाउँछन्। काम गर्दै जान्छन्, त्यो अलग कुरो हो। पार्टीले आफ्नो अर्गनाइजेसन बनाउनुपर्छ। सम्मेलन गर्नुपर्छ। आफ्ना सदस्यलाई तालिम दिनुपर्छ सबै कुरा गर्नुपर्छ। तर एमालेको कोही मर्यो भने कांग्रेस मलामी नजाने। कांग्रेसको कोही मर्यो भने एमाले मलामी नजाने यो क्यारेक्टर त भएन नि ! यसरी त चल्दै चल्दैन नि! नेपालमा त्यो अवस्थासम्मको राजनीति राम्रो होइन। हुनुहुँदैन।
पार्टीगत सोच त हामीसँग पनि छ। हाम्रो मन्त्रिपरिषदमा पनि थियो। कोही डेमोक्रेट होला। कोही कम्युनिस्ट होला। कोही के होला ? हामी ११ जनामै केही सोच वा फिलिङ थियो होला तर काम गर्दा कसैले पनि पार्टी फिलिङ देखानउनुभएनन। एकदम इन्डिपेन्डेन्ट क्यारेक्टर देखाएको हुनाले हामीले हाम्रो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सक्यौँ।
हाम्रो कविवर शिरोमणि लेखनाथ पौडेलले त्यसै भन्नुभएको होइन रहेछ नि ‘मै खाउँ मै लाउँ’। त्यो बेलाको किन उहाँले लेख्या होला ? त्यतिबेला पनि हाम्रो क्यारेक्टर त्यस्तै रहेछ नि। हामीमा आफूमात्र खाने अरु मरेनि मरोस् भन्ने चिन्तन हुनुहुँदैन। ताली....
आदिकवि भानुभक्तले त्यो बेला त्यत्तिकै सत्ताको विरोध गरेको होइन रहेछ। सत्ताको टिप्पणी गर्दा रातभर थुनिएको इतिहास हामीले पढेकै हो। त्यो बेला पनि त त्यस्तै रहेछ नि !
त्यसैले पहिलो म त के भन्छु भने आफैँलाई सुधार्नु पर्यो। एउटा उदाहरण: हाम्रो सरकारलाई हेर्नुहोस् त ! हामीले दुई/दुई सेकेन्ड टाइमलाइनमा कसरी काम गर्यौँ ? उस्तै भए त रोएर भाग्ने अवस्था थियो। सारा पोलिटिकल पार्टी हाम्रो विरोधमा थिए। गालीको वर्षा हुन्थ्यो। जेनजीको एउटा फौज, जसले हसबखत गाली गर्थ्यो।
हुदाहुँदा बालुवाटारमा जम्मै सेक्युरिटी गार्ड आकाशमा हेरिरहेको देखेँ। किन भनेको मलाई साँझमा थाहा भयो ड्रोन हारेर मार्दिन्छु भन्या थियो रे लौन ! अनि उनीहरु माथिबाट आएर हान्ला कि भनेर ड्रोन हेरेको रे। अनि त्यस्तो बेलामा हामीले चारै तिर प्रहार छ आलोचना खेप्यौँ।
म इमान्दारी पूर्वक भन्छु म यहाँ आज आएको पनि गुणराजजी र शोभाजीको कारणले मात्र हो। जताजतै तथानाम लेख्दा गुणराजजीले धर्म थाम्नुभयो।
त्यो बेलामा मलाई सडकमा घिसार्छु, लछार्छु, पछार्छुसम्म भनियो। बालुवाटारको गेटमा आएर हमला गर्नेसम्मको परिस्थिति आयो तर हामी डगेनौँ। हामीलाई हाम्रो देश बचाउनुथियो।
जो हामी माथि खनिएका थिए, ती त मुर्ख थिए। मुर्खको पछि लाग्नु कि हामी देश जोगाउनु ? हामी देश जोगाउन लाग्यौँ। ड्राइभरले कसरी गाडी हुइँक्याउँथे किन भन्यो भने हजुरलाई यही हमला गर्छु भन्या छ भन्थे। रातोदिन थ्रेट थियो।
एउटा मिराज भन्ने महान जन्मिनु भएको रहेछ। उहाँ त २४ सै घण्टा गेटैमा। कहिले ल्याएर ललिप फालेको छ, कहिले के फालेको छ। उनले तिम्रो सरकार ललिप भनेको होला। तर हामीले त काम गर्यौँ र देखायौं। तपाईंहरुलाई आज के भन्नु म बालुवाटारको घरमा माथि सिँढी चढ्ने बेलामा कैयौँ पटक फेन्ट हुँदा हुँदै बचेको छु। त्यस्तो कन्डिसनमा हामी पुग्दा पनि हामी खटिरह्यौँ, गरिर्ह्यौं।
हामीले गालीलाई एकातिर सुनेर अर्कोतिर काम गरिरह्यौँ ? मैले पहिलो दिनमै भनेको थिएँ तपाईं के चाहानुहुन्छ भन्दा एक थोपा रगत नबगोस्। एउटा लास नगिरोस्, त्यस्तो निर्वाचन चाहन्छु भन्या थिँए। त्यही अनुसार हामीले काम गर्यौँ। नतिजा अहिले आयो नै ।
०००
तपाईंहरूकै मेहनतले अहिले स्थायी सरकार पनि बनेको छ। विगतको लामो अनुभवलाई समेटेर नेपालमा स्थिरता र विकासका लागि वर्तमान सरकारले के सुझाव दिनुहुन्छ ?
– म अहिले यो सरकारको आलोचना गर्ने वाला चाहिँ छैन। किनभने यसको पछाडि यति धेरै जनता छन् । हामीले त सोचेको पनि थिएन कि यस्तो हुन्छ। यत्रो परिवर्तन आउला। म त सबैभन्दा महान जनतालाई नै ठानेको छु। नेपाली जनता। ताली....
अघि मैले भनेको क्यारेक्टर चाहिँ हामी पढेलेखेका मान्छेको हो । वास्तवमा आम पब्लिक छन् नि! सारै सोझा र सारै बुझेका। परिवर्तन कसरी चाहँदा रहेछन् ? के रहेछ जनताको भावना त्यो कुरा पनि अलिकति बुझियो। जनताले अवस्था हेरेर निर्णय गर्छन् भन्ने थाहा पाएँ।
अब २३/२४ को घटना क्षम्य होइन। करप्सन बढेकै हो। अनियमितता भएकै हो। नभएदेखि यस्तो घटना किन हुन्छ ? केही नभइ त रक्तपातको त्यस्तो अवस्था हुँदा कोही मान्छे किन सडकमा आउँछ ? केही नपरि त मान्छे सडकमा आउदैन, त्यो निश्चित हो।
त्यसपछि पनि जनताले केही नबोली परिवर्तन गरे। हामी जनता कता जाँदैछन् भनेर बुझ्न नसक्ने अवस्थामा थियौँ तर पछि मत दिएको देख्दा हामीलाई पनि आश्चर्य लाग्यो। हामीलाई फिल भयो जनताले परिवर्तन चाहेको रहेछ।
युवा पुस्ताले हामीलाई तिमीहरुले केही दिएनौं तिमीहरु पुरानाले मात्रै यो लियौं। दुनियाँ कहाँ पुग्यो परिवर्तन कत्रो भयो। डिजिटल प्रोग्रेस भइरहेका छन्। तिमीहरु एकहोरो यो पुरातन शैलीमा सत्ता चलाएर बस्या छौ भनेर जसरी युवाहरुले मागेका थिए जनताले तिनै युवालाई शत्ताको जिम्मा लगाए।
यो युवाको नेतृत्वलाई अहिले म आलोचना गर्न चाहन्न। हामीले अझै हेर्नु छ। उनीहरु हाम्रै छोराछोरी हुन्, हाम्रै केटाकेटी हुन्, हाम्रै बच्चाहरु हुन्। अब ती ३५ भन्दा माथिका कोही छैनन् बहुत कम उमेरका छन्। धेरै उमेर भएका संख्या बहुत कम छ। त अहिले हामीले मौका उनीहरुलाई दिनुपर्छ र हामीले अलिकति गाइड पनि गर्नुपर्छ। गर्न सकेनन् भनेर हामीले त्यो दाउपेच लगाएर लडाउने, खसाउने गर्नुहुँदैन। हिजोको जस्तो गठजोडको परिपार्टीमा लाग्नु हुँदैन।
अब नयाँ सरकार आएको छ। बहुमतको सरकार छ, उनीहरुलाई चलाउन दिउँ। तर म अलिकति फेरि के भन्न चाहन्छु भने उहाँहरु एकदम पपुलारिटी लिन खोजेको हो कि भन्ने कुरा देख्छु। यो पपुलारिटी लिने कुरामा जल्दबाजी एकदम छिटो छिटो भइरहेको छ। काम पनि उहाँहरु एकैचोटी धेरै गर्न खोजेको जस्तो लाग्छ। पाँच वर्षको टाइम छ। पाँच वर्षको भित्रमा चाहिँ उहाँहरुले क्रमश: ती काम सुधार गर्दै लगे हुन्छ। तर एकैचोटी सबै काम गर्दा एकैचोटी पुरा नहुन सक्छ । त्यसैले धैर्य गरेर बिस्तारै गर्नुपर्छ भन्ने लाग्छ।
भ्रष्टाचारको कुरामा प्रधानमन्त्री र प्रधानन्यायाधीश जस्ता अथवा चिफ हाइ पोस्टमा बसेका मान्छेहरु करप्ट भएनन् भने अटोमेटिक भ्रष्टाचारमा कमी आउँछ। त्यो निश्चित हो। तर तपाईलाई थाहा होला भगवानका पालामा पनि केही न केही करप्सन त भएका उदाहरण हामी पाउँछौँ। थोरै मात्र पनि।
निरंकुश शासन भएका बेलामा पनि करप्सन त हुन्छ। तर त्यसलाई वास आउट गर्न कढाई गर्दै जानुपर्छ । नेपाल कस्तो भएछ भन्ने चाहिँ अस्ति म कुर्सीमा बसेर पनि थाहा पाएँ।
जताततै पैसाकै खेल सुरु भएछ। पशुपतिको सचिवको नियुक्तिदेखि लुम्बिनीको नियुक्तिमा पनि पैसाका कुराहरु उठ्दो रहेछ। डाइरेक्ट पैसा बाँड्ने लाइन नै हुँदो रहेछ। नियुक्तिका लागि पैसा दिनै पर्छ भन्ने भाष्य नै रहेछ। हुँदाहुँदा हर फाइलमा पैसा यो कन्ट्रोल हुनुपर्छ।
अघिल्लो सरकारले घुस खायो भनेर भन्ने प्रमाणचाहिँ मैले पाइन तर घुस चाहिँ व्याप्त भएछ। त्यसरी छाडा हुन दिएकोमा एकदमै निर्वाद रुपमा छाडा त अनकन्ट्रोल कुनै पनि पदमा पैसा नली नियुक्ति हुन्छ भन्ने मान्छेले विश्वासै गर्न छोडेछन्। पैसै बोकेर आउने पो वातावरण बनेछ। अनि म त छक्क भने देखेर बहुत विचित्र छ यो मुलुकमा त्यस्तै भैक्या छ। त्यसलाई उहाहरुले कन्ट्रोल गर्नुपर्छ। नियन्त्रण गर्नुपर्छ। ताली..
उहाँहरुले सक्नुहुन्छ नसक्ने होइन घुस खानेले नखायो भने भ्रष्टाचार हुन्छ त! घुस नलिनेले नलियो भने भ्रष्टाचार हुन्छ त ? अनि मलाई अचम्म पनि लाग्छ ए बाबा! तपाई घुस खाएर अथाहा कमाएर के गर्नुहुन्छ ? मैले त यही कुर्सीमा बस्दा यस्ता यस्ता ठट्यौली र हस्यौली कुराहरु पनि सुने । कि म आफै छक्क परे। (हाँस्दै...) जुन घुस खान उसले इज्जत गुमायो त्यही घुसको निउमा जेल गयो । पछि धरौटी राख्ने पैसा पाएनन्। के मतलब घुस खाएको ? वाई के का लागि खाको त घुस ? मैले त्यो स्टोरी पनि सुने घुस खायो। पेट फुटुन्जेल खायो। त्यसैको आरोपमा जेल यो। तर त्यो घुस धरौटी राख्न नपाएर जेलमै सड्यो केका लागि घुस ?
०००
अहिले दुई तिहाइ नजिकको बहुमतसहितको सरकार छ। विगतमा शक्तिशाली सरकार नागरिक स्वतन्त्रता हनन भएको केही दमन भएको देखिन्थ्यो। अहिलेको सरकारले स्थायी सरकार र लोकतान्त्रिक अभ्यासलाई सँगसँगै लैजाँन नागरिकको भूमिका के होला ?
-जनताको चाहना अनुसार नै अहिलेको सरकार आएको हो। यो सरकार आउँछ हामीलाई सुविधा हुन्छ भनेर जनताले ल्याएको हो।
अहिलेको सरकारमा त्यति फितलो मान्छे पनि छैनन् । त्यसैले यो सरकारले केही गर्छ भन्ने पूर्ण विश्वास छ।
जनताको भूमिका चाहिँ अब अलि सानोतिनो कुरामा सडकमा आइहाल्ने पनि होइन। धैर्य गर्ने । सरकारलाई प्रतिपक्षले पनि जनताले पनि बेलाबेलामा आश्वासन र सुझाव चाहिँ दिनुपर्छ ।
सरकारले रोजगारीको व्यवस्था मिलाउनुपर्छ । त्यो मिलाउन सकेको छैन । नेपालमा रोजगारीको सम्भावना टन्नै देख्छु । नेपालमा रोजगारी नहुने होइन प्रशस्त सिर्जना हुन सक्छ। त्यसका लागि समय चाहिन्छ । एकै पटक धेरैकाम हुँदैन । क्रमश: गर्दै जजानुपर्छ । नागरिकले अलिकति धैर्यता चाहिँ राख्नुपर्छ ।
०००
नेपालमा ५० प्रतिशतभन्दा बढी महिला छन् । तर नेतृत्वमा पुग्ने धेरै कम छन् । तपाईंको संघर्ष त प्रमाणित पनि भयो । नेतृत्वमा पुग्न र जिम्मेवारी सम्हालन एक महिला एक आमालाई कति सहज कति असहज ?
– म सहयोगको मामलामा त्यति दु:खी होइन। म एक्लै थिइन । महिलालाई अगाडि बढ्न परिवारले हेर्नुपर्छ । यसको सबैभन्दा राम्रो अभ्यास सिंगापुरलाई लिने गरेको छु । सिंगापुरको के चलन छ भने एउटा महिला अगाडि गएको छ भने उसको आमा, सानीमा, माइजु जो कोहीले बच्चा सम्माल्ने र हेर्ने गर्छन् । बच्चा हुन्छ । महिलाको विवाहवारी हुन्छ । पुरुषको पनि विवाहवारी हुन्छ । सन्तान हुने भइहाल्यो । बच्चा वास्तवमा कामकाजीका लागि समस्या हो । सानोमा उचित केयर गरेन भने त उसको भविष्यको कुरासम्म हुन्छ । यस्तो अवस्थामा सबैभन्दा राम्रो केयरटेकर भएको पाएँ । नेपाल र भारतमा फरक कल्चर छ । हजुरआमा, आमाहरुले बच्चाहरु हेर्दिन्छन् । युरोप/अमेरिका तिर हेर्नु न केटाकेटी अलि व्यक्तिवादी भएको देखिन्छ । यहाँको कल्चर र त्यहाँको कल्चरमा धेरै फरक छ। सासुलाई बुहारीप्रति बेग्लै अपेक्षा हुन्छ । सबैलाई रिझाओस भन्ने । (हाँस्दै...)
हामी त्यस्ता छैनौँ । पहिलेका बुहारीहरु जस्ता छौँ । खैर हाम्रा बुहारी राम्रै आका छन्। हामीलाई पनि माया गर्छन्। म कफी खादै छु तिमी खान्छौ भनेर सोध्छन्। (हा हा...) हामीले त छोरीको हैसियतमा हेर्या छौँ बुहारीहरुलाई । छोरो रिसाउछ भनेर बुहारीलाई म त छोरोको मात्र नाम लिन्न बुहारीको पनि नाम लिहाल्छु । छोरोको माया लाग्छ भन्यो भने होइन मलाई बुहारीको पनि माया लाग्छ भन्छु ।
नेपालमा महिलाहरूलाई काम गर्न चाहिँ कठिन नै छ । मेरो प्रधानन्यायाधीश पद ईश्वरले नै हातमा राखिदिएका हुन जस्तो लाग्छ । कहाँ कहाँ मिटिङ गर्नुपर्ने । आफूले भनेको नगर्ला कि भन्ने डर पनि हुँदो रहेछ । नेपाली पोलिटिसियनहरूमा महिलाप्रति नराम्रो आदर्श छ । महिलाले सपोर्ट गर्दैनन् भन्ने मान्यता छ । हुन पनि जथाभावी गर्न त महिलाले कहाँ दिन्छन् र होइन ?
प्रधानन्यायाधीश खाली हुँदा भोलिपल्टै शपथ हुन्छ मेरो बेलामा हेर्नुहोस् त चार महिनाको सफर गर्नुपर्यो । प्रहरीमा खापुङ डेढमहिनालाई प्रमुख भए । एक महिलाका लागि बनाउँन भन्दा कुरै मिलेन ।
मलाई जहाँसम्म लाग्छ मैले जहिले पनि के सोचे भने मैले काम बिगारे भने मैले गरिन मैले साहस देखाइन भने मेरा पछाडिका दिदीबहिनीहरुलाई गाह्रो पर्छ भनेर सधैँ खटेर काम गरेँ ।
मैले अस्ति पनि त्यही गर्या हो । मुर्छा पर्ने स्थिति रातभरि छर्लङ हुने मिटिङ गरियो । एउटा मिटिङ हो र १४ वटा १५ वटा मिटिङ हुन्छ। त्यस्तो स्थितिमा पनि हामीले धान्यौँ भोलि नराम्रो पर्ला महिलाले पाएको पनि गर्न सकेनन् भन्ने अवस्था आउला भनेर नै गरेको हो । महिलाहरुले गर्छन बल्ल बल्ल जिम्मेवारी पाको हुन्छ उनीलाई त काम देखाउनु छ त्यसैले काम गर्छन् । यहाँ प्रवृति खुट्टा तान्ने छ।
अर्को कुरा मेरै सुत्केरी भएको २२/२३ दिनमा मुद्दा बहस गर्न गएको छु । वकालत फेरी यस्तो थर्ड क्लास पेशा हो। तपाई एक महिना छोड्नुभयो भने सबै कुरो बिर्सिनु पनि हुन्छ। त्यो प्रोफेसनबाट तपाईं आउट पनि हुनुहुन्छ। त्यो त एकदम निरन्तर हुनुपर्छ । छोड्नै हुँदैन त्यस्तो प्रोफेसन हो। २२ दिनको सुत्केरी ज्यानमा पनि मुद्दा पढेर बहस गरेको छु । कुनै-कुनै पेशा त प्रतिस्पर्धाको हुन्छ । महिला र पुरुषको कुरा हुँदैन । त्यसैले महिलाहरुले पनि मेहेनत गर्नुपर्छ । महिलाहरुलाई परिवारले पनि साथ दिनुपर्छ। महिलालाई सरकारले पनि साथ दिनुपर्छ।
प्रकाशित: १३ वैशाख २०८३ २१:२५ आइतबार





