२२ मंसिर २०८२ सोमबार
image/svg+xml
अन्तर्वार्ता

‘चार वर्षको निरर्थक अवराेहपछि आफ्नै घर फर्कें’

करिब चार वर्षको ऊहापोहपछि नेतृ रामकुमारी झाँक्री नेकपा (एमाले) मै फर्केकी छन्। एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) निर्माणका लागि निर्वाचन आयोगमा माधवकुमार नेपाललाई डोर्‍याउँदै गरेको उनको तस्बिरले धेरैलाई उद्वेलित तुल्याएको थियो। तर, उनका लागि भने त्यही तस्बिरले उन्नतिमा अवरोध गरेको अनुभव भएको थियो। नागरिक फ्रन्टलाइनको बुधबारको शृंखलामा प्रधान सम्पादक गुणराज लुइँटेलसँग झाक्रीले आफ्ना बितेका पलबारे भावुक प्रतिक्रिया दिएकी थिइन्। प्रस्तुत छ– पूर्वमन्त्रीसमेत रहेकी झाक्रीसँगको संवादको सम्पादित अंश।

तपाईंले माधवकुमार नेपाललाई डोर्‍याएर निर्वाचन आयोग पुर्‍याउँदै गरेको तस्बिर मान्छेहरूले बिर्सन सकेका छैनन्। फेरि केपी ओलीलाई डोर्‍याउन पुग्नुभयो। कति छिटो दल परिवर्तन गर्नुभएको?

यी परिवर्तन छिटो छिटो देखिए पनि भित्रभित्रै परिवर्तनका तयारीहरू भइरहेका थिए। किनकि तयारीबिना त हुँदैनथ्यो। निर्वाचन आयोगमा पार्टी दर्ताको प्रकरणको दृश्य विम्बात्मक थियो। त्यसका पछाडि कुनै कारणहरू थिए। त्यही तस्बिरका कारण धेरै मान्छेलाई त्यो पार्टी फुटाउने मूल पात्र म नै थिएँ जस्तो पनि भयो। त्यसले फाइदा र बेफाइदा दुइटै गर्‍यो। सबै मान्छे मेराविरुद्ध आउन त्यसले फाइदा गर्‍यो। मलाई बेफाइदा भयो, पार्टी बनेन। त्यो तस्बिर र पार्टी विभाजनको घटनाले मलाई धेरै लखेट्यो। यो नेकपा (एकीकृत समाजवादी) पार्टी बन्दैन भन्ने थाहा छ तर राजनीतिक रूपमा पनि व्यक्तिगत निर्णय गर्ने सुविधा थिएन।

एक थरीलाई तपाईंले पार्टी कब्जा गर्नुहोला कि भन्ने डर भयो। अर्का थरीलाई फेरि पार्टी फुटाउने मान्छे रामकुमारी नै भन्ने भएपछि तपाईं तारो भएको महसुस गर्नुभयो?

एकदमै हो। विगत चार वर्षदेखि अहिलेसम्म पनि ट्रोल भइरहेको छु।

तपाईंका अभिव्यक्ति वा कामहरू अलि बढी नाटकीय हुन्छन्। त्यो स्वाभाविक नै थियो कि के थियो?

नाटक कसले गर्‍यो थाहा भएन। निर्वाचन आयोगमा म गएकै हो। मसहितका केही साथीहरू तयार नभएका भए पार्टी फुटाउने संख्या नपुग्न पनि सक्थ्यो। तर त्यो बेलाको सरकारले ५ प्रतिशतले पनि पार्टी फुटाउन सक्ने अध्यादेश ल्याउने भनेपछि रोक्न सकिने पनि थिएन। जसले गर्दा म पनि सहभागी भएँ। किनकि पार्टी फुट्ने अवस्थाका पछिल्ला छ आठ महिनामा एमालेविरुद्धका मेरा आलोचनात्मक अभिव्यक्तिले त्यहाँ नैतिक रूपमा बस्न मिल्दैनथ्यो। तर पार्टी नै फुटेन भने पनि अन्तर संघर्षले त कारबाही खाइन्छ भन्ने नै थियो।

अहिले तपाईंका कुरा सुन्दा धेरै परिपक्व देखिनुहुन्छ। एउटा ‘फायर ब्रान्ड’ रामकुमारी झाँक्रीमा यो परिर्वतन कसरी देखियो?

उमेर पनि ४० प्लस भयो नि।

त्यसो भए एमाले छाड्दा ओलीविरुद्ध आएजस्तो, अब झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम वा प्रचण्डहरूका विरुद्ध त्यस्ता अभिव्यक्ति आउँदैनन्?

मलाई उहाँहरूप्रति दुराग्रह केही पनि छैन। घृणा र आशक्ति पनि छैन। त्यो केही नभएपछि उहाँबारे मेरो कुनै प्रतिक्रिया पनि छैन। सम्मान र श्रद्धा छ। विभिन्न कालखण्डमा फलो गरेका नेताहरू हुन्। मान्छे त्यही हो, समयअनुसार फरक–फरक ठाउँमा भएका हौं। जे गरियो इतिहासमा गरियो। त्यसको मूल्याङ्कन होस्। त्यति मात्रै चाहन्छु।

एमालेमा फर्केपछि एकदम खुसी देखिनुहुन्छ, किन?

(भावुक हुँदै) एकदमै खुसी छु। साँच्चै खुसी छु। घर मिस भएको थियो। अब फेरि आफ्नो घर आइपुगेँ भन्ने भएको छ।

एकीकृत समाजवादीमा हुँदा एक्लिएको जस्तो र एमालेमा आएपछि फेर पिूर्ववत् अवस्थामा फर्केजस्तो हुनुको मुख्य कारण के हो?

एकदमै अप्ठ्यारो बेलामा पार्टी छोडेँ। त्यो पार्टी नछोडेर पनि राजनीतिक रूपमा म रहँदैनथेँ। एमाले विभाजन हुँदा त्यहीं बस्ने सुविधै थिएन मलाई। यता (एकीकृत समाजवादी) आएपछिका चार वर्ष एकदमै बरबाद भएको समय हो। करिब करिब सिक्ने र सिकाउने भन्दा धेरै गुमाउने चिज भयो। त्यो (एकीकृत समाजवादी) पार्टी बन्ने त एकदमै सम्भावना त थियो। तर पार्टी बनाउने प्रक्रियामै गएन। एकीकृत समाजवादीको विधान बनाउने बेला नै एमालेको तेस्रो/चौथो महाधिवेशनको जस्तो थियो। नेतृत्वको सर्वोपरि, नेतृत्वको छनोटको व्यवस्थाबाट प्रावधानहरू लगेर विधान बनाइएको थियो। यसले गर्दा यो पार्टी बन्दैन भन्ने थियो। काम त गरे परिणाममा केही नआउने जस्तो भएपछि छोडेँ।

गुट, फुट, टुट कम्युनिस्ट पार्टीहरूको इतिहास नै हो। एउटा पार्टीबाट छोडेर अर्कोमा गइयो, त्यहाँ राम्रो नभएपछि फेरि पहिलेकै ठिक रहेछ भन्ने ठाउँमा आइपुग्नु भयो। होइन?

एमालेसँग विचार, सिद्धान्त र कार्यक्रममा असहमति भएर छोडेको होइन। एमालेको नेतृत्वसँग ठुलो प्रतिस्पर्धा भएर छोडेको पनि होइन। एमालेमा मेरा समकालीनसँग प्रतिस्पर्धा भएर छाडेको पनि होइन। एउटा अवस्था थियो, जुन अवस्था सिर्जना भयो। त्यसमा म आफैं रिट निवेदक भएर गएँ। अनि त्यो परिवेशमा धकेलिएँ। धकेलिँदा यति धकेलिएँ कि फर्किने ठाउँमै थिएन। यता फेरि यो समाजवादी पार्टी विघटन नहुँदासम्म एमाले फर्कने मेरो लागि सुविधा नै थिएन।

एमाले नर्फकिँदासम्म तपाईंका लागि त्यो एकदमै छटपटीको समय थियो है?

किनकि समाजवादीमा कामै थिएन। बिजनेस नै छैन। मिडियामा बोल्न पनि केही थिएन। बाहिर खाली बोलेर पनि बिजनेस भएन। प्रोडक्टिभिटीमा केही पनि भएन।

यसबिचमा म आठ महिना जति मन्त्री भएँ। त्यो आठ महिनामा मेरो बुद्धि, बर्कत, मेरो टिमले मलाई गरेको विश्वास, त्यो सबै चिजले ‘आइ डिड वेस्ट’ भन्छु। मैले वेस्ट नै गरेको हो। किनकि आज भएको भए फरक गर्थें होला। किनकि आज मेरो बुद्धि, परिपक्वता सबै चिजले म फरक गर्थें। तर त्यो बेला म त्यही नै वेस्ट हो। त्योभन्दा अर्को गर्न सक्ने थिइनँ। त्यही गरेँ।

मन्त्री हुँदाको बखत पनि सिकेँ। सिंहदरबारभित्र छिर्नुभन्दा अगाडि त्यहाँ के काम हुन्छ र मेरो पूरा जिन्दगीमा के गरिरहेको छु कहीं जोडिँदैन त्यहाँ। त्यो समयलाई म व्यर्थ समय भन्छु। जिन्दगीमा सिकेको समय, विश्वास गरेको समय, समन्वयमा काम कसरी हुन्छ ? टिम बिल्ड कसरी हुन्छ? भनेर आफूले प्रयोग गरेर हेरेको समय हो।

२०७९ सालपछिका तीन वर्ष धेरै कष्टकर भए। त्यो बिचमा पार्टी मिलाउन सकिने केही राजनीतिक प्रयासहरू गरेँ। नेताहरू मिलाउन सकिन्छ कि, यो अन्तर्विरोधहरू घटाउन सकिन्छ कि भनेर निरन्तर प्रयास गरेको थिएँ। तर पार लागेन।

पार्टी राजनीतिमा तपाईंले माधवकुमार नेपाल र केपी शर्मा ओलीसँग काम गर्नुभयो। पुनः अहिले केपी शर्मा ओलीसँगै आउनुभएको छ। नेता त उहाँ नै हो कि भन्ने भयो?

अवश्य पनि। समाजवादीमै हुँदा पनि मलाई समाजवादीका नेताहरूले आलोचना गर्ने एउटा विषय थियो त्यो। आफ्नो पार्टीको अवमूल्यन गरेर अर्काको पार्टीको नेताको प्रशंसा गर्ने भनेर प्रश्न गरिन्थ्यो। अर्को पार्टीमा हुँदा पनि केपी कमरेडलाई मैले नेता नै मान्थेँ। किनकि धेरै वटा घटनामा मैले उहाँलाई पाएको छु।

माधव नेपालसँग कसरी मन बिच्क्यो?

हामी भर्खर भर्खर विद्यार्थी राजनीतिमा आएका बेला उहाँ (माधव नेपाल) महासचिव हुनुहुन्थ्यो। टाढैबाट देख्थ्यौं। छेउबाट गएर उहाँलाई नमस्ते गर्ने हो। म उहाँप्रति एकदमै इमानदार छु। किनकि मसहितका मान्छेहरू नभएको भए पार्टी विभाजन हुन्थेन। पार्टी दर्ताको त्यो चित्रले गर्दा म समाजवादीको सबै कोर्समा मैले उहाँलाई साथ दिएको छु।

भ्रष्टाचारको आरोप लाग्दा अध्यक्ष छाड्नुहुन्छ भन्ने सोचेको थिएँ। प्रश्नहरू त उठिहाल्छन्। फेरि हाम्रो त अध्यक्ष, सम्मानित नेता, अनि वरिष्ठ नेताहरू थुप्रै छन्। त्यसपछि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिवहरू यस्तो पद नामहरू धेरै नै छन्। यस्तो अवस्थामा कसले अध्यक्षता गर्ने? कसरी नेतृत्व निर्माण गर्ने? सामान्यतः यस्तो अवस्थामा कस्ता अभ्यास हुने रहेछन् भन्ने पनि हेरेको थिएँ। त्यो चरणमा उहाँलाई छोड्नु कसैले भनेन, उहाँले पनि छोड्नुभएन।

अहिले एमाले प्रवेशमा तपाईंलाई कसले सहज बनाए? अध्यक्ष केपी शर्मा ओलीले नै आग्रह गर्नुभयो कि कसले सहजीकरण गरिदियो?

नेकपा एमाले नै मुलुकलाई भरोसा दिने पार्टी हो भन्ने कुरा पछिल्ला दिनले पुनः प्रमाणित गरेको छ। जनताले भरोसा गरेका केही महत्त्वपूर्ण घटनाहरू छन्। जेनजी आन्दोलनपछि निरास र बेखुस भएका मान्छेको मनोबल बढाउन एमालेले एकदमै काम गर्‍यो। त्यो आन्दोलन एमालेविरुद्ध थियो जस्तो पनि देखियो। ध्रुवीकरण भयो।

एमालेविरुद्ध सबै पक्ष एक ठाउँमा थिए। एमालेमा पनि पूर्वप्रधानमन्त्री केपी कमरेडविरुद्ध सबै धु्रवीकरण भएको जस्तो देखियो। यसमा हामीले केही काम गर्न सकिन्छ भन्ने मेरो एउटा बुझाइ रह्यो। अर्को म आफैंलाई पनि म एमालेमा प्रवेश गर्छु भन्ने कुराको मनसाय धेरै पहिले नै भएको हो। तर यी धेरै चिजले मलाई एक्लै प्रवेश गर्न दिँदैनथ्यो। किनकि म ती धेरै प्रश्न बोकेर एमालेमा केही गर्न सक्दैनथेँ।

यसबिच तपाईंको कहिले केपी शर्मा ओलीसँग भेट भएको थियो?

भइरहेको थियो। माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव गराउन भूमिका नै खेलेको थिएँ। २०७९ पुस ९ गतेको राति माधव नेपाललाई भेटाउन भन्नुभयो तर माधव नेपालले भेट्न इच्छा गर्नुभएन। केपी शर्मा ओलीलाई भेटेर वातावरण बनाएको थिएँ। माधव नेपाललाई राष्ट्रपति बनाएको भए एमालेमा पार्टी लगेर एकीकृत गराउने भन्ने मेरो योजना थियो।

त्यत्रो काण्ड भएर पार्टी फुटाएर नयाँ पार्टीमा जानुभयो। पछि पहिलोचोटि अध्यक्ष केपी शर्मा ओलीसँग भेट्दा उहाँको प्रतिक्रिया कस्तो थियो? तपाईंप्रतिको व्यवहार के पाउनुभयो?

सुरुमा केही कुरा मैले दाइहरूमार्फत गरेको थिएँ। त्यसपछि मेरा केही काम हेर्नुभएको थियो। केही प्रशंसाका कुरा गरेको सन्देश पाएँ। खासमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना विकास समृद्धिको सपना देखाएको केपी ओलीले नै हो। उहाँको पालामा यति धेरै पूर्वाधारका काम थिए र ती सहरीअन्तर्गतका थिए। आज केपी ओली जोडिएका सारा पूर्वाधारमा आगो लागेको देख्दा समाज कस्तो बनाएछौं भन्ने लाग्छ।

झापाको भ्यु–टावर, गोदावरी सनराइज सभाहल, मन्त्री क्वाटरदेखि संसद् भवन सबै उहाँ प्रधानमन्त्री भएको कार्यकालमा सुरु भएका थिए। यी कामलाई मैले तीव्र विकास गरेँ। अरु अरु पनि थिए। जस्तो, नयाँ बस्तीहरू, सुरक्षित नागरिक आवास, जनता आवासलगायतका विविध कार्यक्रमहरू थिए। ती सबै काम मैले उत्कृष्ट गरेँ। ती कामलाई निरन्तर अवरोध नगरी पूरा गरेको उहाँले पनि हेर्नुभएको थियो होला। मन्त्री छोडेपछि पनि दुई/तीन चोटि भेटेको थिएँ।

पहिलो भेटको प्रतिक्रिया कस्तो थियो?

अरू कामका लागि त भेट भइरहन्थ्यो। राजनीतिक भेट बाल दिवसको दिन भएको थियो। ‘ह्याप्पी चिल्ड्रेन डे’ भनेर आउनुभयो। त्यसपछि कुरा भयो। केही आलोचना पनि भयो। अलिअलि रिस पनि देखाउनुभयो। लामो कुरा भएपछि ल ठिक छ अब फर्केर काम गर भन्नुभयो। म एक्लै त फर्किन्न पार्टी एकता गरौं भनेँ। पार्टी एकता हुने कुरा थिएन। त्यो देखिँदैनथ्यो। केपी कमरेडले स्वीकार गर्दा पनि माधव कुमारले स्विकार्नु भएन।

एमालेमा के तपाईंको अबको भूमिका के हुन्छ?

मेरो राजनीतिमा उतारचढाव भयो। अब यता जे हुन्छ राम्रो हुन्छ। एउटा इमानदार पार्टी सदस्यको हिसाबले काम गर्छु। कुनै सर्तबिना पार्टीमा फर्केको हो। आफ्नो योग्यताअनुसार जे काम पनि गर्छु, गर्छौं। टिमले नै गर्ने भनेका छौं। तत् ठाउँका साथीहरू काममा पनि लागिसक्नुभयो।

प्रचण्डसँगको एकीकरणको कुरामा तपाईंहरूको कुरा कहाँबाट मिलेन?

प्रचण्डसँग मेरो राम्रै कुरा हुन्थ्यो। जब म पार्टीमा अलिअलि असन्तुष्ट भएँ, उहाँ माधव कमरेडको ओट लिनुहुन्थ्यो। माधव कमरेडको सन्दर्भ आउँदा उहाँको चित्त दुखाएर हामीलाई उहाँले समर्थन गर्ने कुरा थिएन। जसले गर्दा संवाद पनि कुनै बेला बन्द पनि भयो। माधव नेपाल र प्रचण्डका बिचमा केही चिज थियो, जसले गर्दा उहाँका हरेक सुखदुःखमा उहाँले साथ दिनुपर्ने बाध्यता आज पनि छ।

फागुन २१ को चुनावमा तपाईं गुल्मीबाटै उम्मेदवार बन्नुहुन्छ कि? तपाईंलाई गोकर्ण विष्टले ठाउँ छोड्नुहुन्छ कि हुन्न? वा अर्को कुनै क्षेत्र खोज्नुहुन्छ?

एक हिसाबले भन्ने हो भने एमाले बिगारेर गएका हौं नि त हामी। फर्किंदा एउटा भव्य कार्यक्रम नै गरियो। त्यो एकदमै भावुक क्षण थियो। त्यसको तुलनामा अब जे पाए पनि गर्ने, केही पनि माग नगर्ने भन्ने छ। जे जे काम पाइन्छ, त्यही गर्ने हो। एमालेमा फर्किनु ठुलो कुरा हो।

अनि चुनाव लड्ने कुरा के हुन्छ?

पहिलो त यो फागुनमा चुनाव हुन्छ हुँदैन। फागुन २१ मा नभए अर्को २१ मा होला। तर मेरो केही पनि माग छैन। जहाँ बसाउँछ पार्टीले त्यही बस्ने हो। अब पार्टीको एउटा बफादार सिपाही भएर अगाडि बढ्ने भन्ने नै हो। अरू बाटो छैन।

भदौ २३/२४ गतेको जेनजी आन्दोलनले नै यो उथलपुथल, पार्टीहरूमा फेरबदल ल्याएको मान्नुहुन्छ नि? तपाईंहरूको घर फिर्तीदेखि सबै?

मेरो त एउटा अर्को संक्रमण पनि थियो। त्यो आन्दोलनताका मेरो तेस्रो स्पष्टीकरणको शृंखला चलिरहेको थियो। त्यसले गर्दा सायद त्यहाँ निकाल्नु पनि हुन्थ्यो कि मलाई।

तपाईंले युवा उमेरमै धेरै नेताहरूलाई चिन्नुभयो, बुझ्नुभयो। यस आधारमा नेपाली कम्युनिस्ट आन्दोलनको भविष्य कस्तो देख्नुहुन्छ?

जडसूत्रवादी कम्युनिस्ट पार्टीको अभ्यास नै छैन। किनभने आज हामी लोकतान्त्रिक प्रक्रियामा छौं। उदार अर्थतन्त्रका थुप्रै अन्तर्वस्तुमा काम गरिरहेका छौं। समाजवाद उन्मुख भनेको पुँजी निर्माणलाई पनि अलिकति बढाउने कुरा हो। राष्ट्रिय पुँजी निर्माण गर्न उद्योग व्यवसायको कुरा आउँछ। त्यसमा जोड गर्ने निजी क्षेत्रले नै हो।

उदार अर्थतन्त्रको संरचनाभित्रै काम गरिरहेको भएर त्यो अर्थक्स कम्युनिस्ट पार्टीका धेरै चिजहरू हामीले लगाएका छैनौं। त्यो खालको कम्युनिस्ट पार्टी छैन। किनकि कम्युनिस्ट पार्टीको लोकतन्त्रीकरणको प्रश्न एमालेले नै निवारण गरेको हो।

हामीले जनताको बहुदलीय जनवादलाई लोकतान्त्रिक बाटोबाटै समाजको रूपान्तरण गर्ने सिद्धान्त पनि भन्यौं। जो २०६२/६३ सालको क्रान्तिलाई हामीले त्यही ढंगले जनक्रान्ति थियो पनि भनेर आयौं। इतिहासलाई मूल्याङ्कन पनि गर्‍यौं। जबजले के पनि भन्यो भने– पार्टी जीवन, नागरिक जीवन र समाजको लोकतन्त्रीकरण हो। कम्युनिस्ट पार्टी पनि लोकतन्त्रीकरण हुन्छ र समाजवादमा पुग्दा पनि समाजवाद र साम्यवादको संक्रमणसम्म पुग्दा पनि समाजमा वर्ग हुन्छ। वर्ग भए स्वार्थ हुन्छ। स्वार्थ भए बहुलता हुन्छ भन्ने कुरालाई हामीले स्विकार्नुपर्छ। त्यहाँसम्म जान पनि हामीलाई यहाँ मार्ग प्रशस्त छ भने अब बाँकी यही एमाले किसिमको पार्टी सकिँदैन।

म सकिउँला, अर्को सकिएला, नेतृत्वमा आउने जाने चिज होला। तर केन्द्रबाट वामतर्फको एउटा ठुलो हिस्सा जुन आधारभूत वर्गका जनताको प्रतिनिधि पार्टीको हिसाबले आइरहेको छ, यो चाहिँ सकिँदैन। मेरो विश्वास पनि यही हो। धेरै वटा तथ्यहरूसँग हेर्दै गर्दा, कयौं दुनियाँका इतिहासका हामीसँग मिल्दाजुल्दा घटनाक्रमहरू हेर्दा यो देखिन्छ। त्यसले यो यस्तो खालको पार्टी बाँच्छ। जडसूत्रवादी किसिमको पार्टी बाँच्दैन।

उत्तर कोरिया किसिमका पार्टी त चल्दै चल्दैनन्। उत्तर कोरिया बाँचेको पनि केही भूराजनीतिक कारणले हो। हामीलाई त त्यस्तो समर्थन पनि कहाँ हुन्छ र ? एमालेजस्तो पार्टीले भूराजनीतिक सन्दर्भलाई बुझेर यहाँको राष्ट्रियता, जनताका जनजीविका, आफ्नो सीमा सबै बुझेर हामीले नागरिकलाई जानकार बनाउने कुरामा हामीले कम गरेछौं कि? अस्ति राष्ट्रिय झन्डा काँधमा राखेर डढेलो लगाउने कुरा भयो। त्यो त हाम्रो कमी भएछ। त्यो त हामीले स्विकार्नुपर्‍यो। हाम्रो पनि जिम्मेवारी हो। किन हामीले मान्छेलाई आगो झोस्ने कार्यकर्ता बनायौं? किन नेताले सिंहदरबार बाल्नलाई घोषणा गर्‍यो? त्यसको पछाडि, त्यो बोलीको पछाडि, जिम्मेवारी या दायित्व रहन्छ कि रहन्न? यो प्रश्न गर्ने नागरिक किन भएन?

माओवादीका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका माधवकुमार नेपालसहित १० भन्दा बढी दल मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको छ। अझै फेरि थपिँदै जाने भनिएको छ। त्यसको भविष्य कस्तो देख्नुहुन्छ?

सुदन किरातीजीले गरेको टिप्पणी स्मरण गर्छु– ‘नौ वटा पार्टी एकता गर्नुभएछ। नौमध्ये सात वटा पार्टीको त नामै सुनेको छैन। आठौं पार्टीको नाम छ, त्यसले चुनावमा थ्रेसहोल्ड पनि काट्दैन। नवौं पार्टी माओवादी हो। त्यो पार्टीको अध्यक्षले पोल्टाको हिरा झारेर भुइँको पत्थर टिप्नुभो’ भन्नुभएको थियो। सुदनजीले भनेको त्यो कुरा एकदम मार्मिक छ। सुदनजीले मजस्तै भावविह्वल भएर कालो चस्मा लाएर बोल्नुभएको थियो। अर्को कुरा प्रचण्ड कमरेडको उदारता नै भन्नुपर्छ, जो आए पनि पार्टी मान्दिने। उहाँको एउटा उदारता छ।

झलनाथ खनाल कमरेड पनि एमालेमै फर्किने कुरो थियो। त्यति बेला केपी कमरेडले पुरानो नेकपा (एकीकृत समाजवादी) आफ्नै (झलनाथ खनाल) कै अध्यक्षतामा पुनर्गठन गर अनि एउटा एकताको प्रक्रिया गरौंला भन्नुभएको थियो। पछि उहाँहरूबिच १८ गते राति के भयो थाहा भएन। भेट्न जानुस् त मैले नै भनेको हुँ। राम्रै कुरा भएको सन्देश पनि पाएका थियौं। भोलिपल्ट आठ/साढे आठ बजेतिर फोन गरेर प्रचण्ड कमरेडलाई भेट्न जान्छु, हिजो त्यति सकारात्मक कुरा भएन भन्नुभयो। तर मैले पत्रकार सम्मेलन गर्दै छु भन्ने उहाँलाई थाहा थिएन। थाहा भएको भए उहाँले त्यो पत्रकार सम्मेलन रोक पनि भन्नुहुन्थ्यो होला। तर उहाँलाई बोलाएका थिएनौं। झलनाथ खनाल त उता गइसक्नुभएछ।

प्रेम आलेचाहिँ कता हराउनुभयो?

दाइ पनि यतै आउनुहुन्छ। अलिअलि कुरा भएको छ। बिरामी हुनुहुन्छ। सानोतिनो अप्रेसन गरेर बस्नुभएको छ। आराम गरिरहनुभएको छ। एकदम नराम्ररी घरमा ध्वंस भयो। काठमाडौंमा उहाँले एकदम मेहनतले घर बनाउनुभएको थियो। लुगाफाटो केही पनि नरहने गरी पाँच दिनसम्म आगो लाग्यो घरमा। अहिले उतै धनगढीतिर हुनुहुन्छ। हाम्रो पुरानो टिम एक भएर आउँछौं।

भीम रावललाई पनि ल्याउनुपथ्र्यो नि। उहाँ त उता जानुभयो?

उहाँ हामीसँग हुनुहुन्थेन। मेरो कोसिसभन्दा टाढाको कुरा थियो। किनकि उहाँहरू त एमालेको दस भाइमध्येको हो। उहाँहरू बसेका कारणले म यहाँ सुरुङभित्र छिरेको हुँ। मलाई उहाँहरूप्रति कुनै लगाव नै थिएन तर नेपाली कम्युनिस्ट पार्टी र एमाले एकता नगरौं भन्छु म। चाहिए चुनावमा मोर्चा बनाउँला। सबै आएर यही दोकानमा बसून्। एउटा राम्रो दोकान बनोस्। त्योचाहिँ वैकल्पिक दोकान, एमाले चाहिँ मूलधारको दोकान। मेरो एकदम शुभकामना छ। म खुसी छु। एमाले, कांग्रेस ठुलो होलसेल बनोस्। पार्टीहरू त्यसरी नि चलून्। दुइटा चाहिँ होलसेलका ठुला पार्टी अरू चाहिँ वैकल्पिक पार्टीहरू हुनेछन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले प्रवेशको प्रसङ्ग आइराखेका थिए। उहाँ सक्रिय राजनीतिमा आउनुपर्छ कि पर्दैन?

त्यसमा विचार दिन आज म योग्य छैन। पार्टीले उहाँहरूले आफैंले व्यवस्थापन गर्नुभएको छ। यो म आउनुभन्दा अगाडिको विषय हो। त्यसकारण यो विषयमा मैले बोल्नै परेन। अस्ति (सोमबार) पार्टीमा स्वागत भयो। हिजो पार्टी कार्यालय गएँ। साथीभाइसँग भेटियो। आज सांगठनिक योजनागत केही कामका बैठक भए। अब महाधिवेशनसम्मको कुरा हामीलाई सोच्ने समय पनि छैन। हामी महाधिवेशनमा प्रतिनिधि हामी भएनौं भने पनि ठिकै छ। त्यो हलमा नगए पनि के भो त! स्वयंसेवामा बसाैंला।

प्रकाशित: २९ कार्तिक २०८२ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App