२९ असार २०८३ सोमबार
image/svg+xml
अन्तर्वार्ता

‘अटिजम र छोरीको शिक्षामाथिको कष्टलाई पर्दामा उतारेका छौं’

दुई दशकअघि प्रदर्शनमा आएर दर्शकको मन जितेको चलचित्र ‘गौंथली’ नयाँ कथा र कलाकारका साथ पुनः निर्माण भएको छ।

वरिष्ठ निर्देशक भोला रिजालको निर्देशनमा बनेको सो चलचित्रको नयाँ संस्करणलाई उनका सुपुत्र कपिल रिजालले निर्देशन गरेका हुन्।

चलचित्रमा मुख्य भूमिकामा देखिएका अरुण क्षेत्री र पहिलो पटक मुख्य भूमिकामा डेब्यु गरेकी सिम्रन खड्कासँग चलचित्र, उनीहरूको चरित्र र यसले दिने सन्देशका बारेमा गरिएको कुराकानीको सम्पादित अंश:

प्र: अरुणजी, तपाईं चलचित्रमा अटिजमको सिकार भएको पात्रको भूमिकामा देखिनुभएको छ, यसबारे कस्तो अनुसन्धान गर्नुभयो ?

अरुण: यो चलचित्रमा मेरो भूमिका ‘माइल्ड अटिजम’ भएको व्यक्तिको हो । अटिजमका धेरै प्रकार हुन्छन्, जसमध्ये माइल्ड अटिजम भएका व्यक्तिहरू हेर्दा सामान्य लागे पनि हिँडडुल गर्दा, बोल्दा वा सोच्दा फरक स्वभावका हुन्छन्। उनीहरूलाई शारीरिक रूपमा कसैको सहयोग चाहिँदैन र आफ्नो दैनिक काम आफैँ गर्न सक्छन्।

प्र: यस पात्रको जीवन्तताका लागि अनुसन्धान कहाँ र कसरी गर्नुभयो ?

अरुण: अनुसन्धानका लागि म जावलाखेलस्थित फिनिक्स स्कुल गएको थिएँ । त्यहाँ अटिजम भएका स-साना नानीहरूदेखि वयस्क व्यक्तिहरूसम्मलाई भेटेर उनीहरूसँग समय बिताएँ। यसले मलाई ‘ठुले’ को भूमिकालाई पर्दामा न्यायपूर्ण ढंगले उतार्न निकै सहज बनायो।

प्र: ‘ठुले’ को मानसिकता अपनाउन मानसिक रूपमा कत्तिको चुनौतीपूर्ण रह्यो ?

अरुण: सबैभन्दा ठुलो चुनौती नै उसको मानसिकता र संवेदनालाई सही रूपमा बुझ्नु थियो। नबुझी अभिनय गर्दा अरूको भावनामा ठेस पुग्न सक्थ्यो। ३५-४० दिनको छायांकनका क्रममा यो चुनौतीपूर्ण पात्रको मानसिकतालाई आत्मसात् गर्न सजिलो भने थिएन।

प्र: सिम्रनजी, पहिलो पटक मुख्य भूमिकामा काम गर्दा कस्तो महसुस भइरहेको छ ?

सिम्रन: छायांकनको पहिलो दिनदेखि नै म यो भूमिकालाई लिएर निकै उत्साहित थिएँ। यसअघि सह-पात्रमा मात्र काम गरेको मेरा लागि यो चलचित्र सिक्ने निकै ठुलो अवसर बन्यो।

प्र: चलचित्रमा तपाईंको पात्र ८ कक्षा मात्र पढेको छ, वास्तविक जीवनमा पढाइ कहाँ पुग्यो नि ?

सिम्रन: चलचित्रमा ८ कक्षा पढेको चरित्र निभाए पनि वास्तविक जीवनमा मैले स्नातक (ब्याचलर) तह उत्तीर्ण गरिसकेकी छु।

प्र: यसअघि अटिजमका बारेमा तपाईंको बुझाइ कस्तो थियो ?

सिम्रन: मलाई यसबारे खासै जानकारी थिएन। अटिजम भएका व्यक्तिहरू उमेरले ठुला भए पनि मानसिक रूपमा बालबालिका जस्तै व्यवहार गर्छन् भन्ने मात्र सुनेकी थिएँ । तर, यस चलचित्रमा काम गरेपछि मात्र यसका प्रकार र विविध आयामबारे थाहा पाएँ।

प्र: अन्त्यमा, ‘गौँथली’ ले दर्शकलाई के-कस्तो सन्देश दिन्छ ?

सिम्रन: यो पूर्ण रूपमा सन्देशमूलक चलचित्र हो। यसले विगतको नेपाली समाजमा छोरीहरूले भोगेका कष्ट र महिला शिक्षाको आवश्यकतालाई जोडदार रूपमा उठाएको छ। ‘छोरीलाई किन स्कुल पठाउने ?’ भन्ने सोचबाट ‘छोराछोरी दुवैलाई समान शिक्षा दिनुपर्छ’ भन्ने चेतना यसले दिन्छ।

साथै, अटिजम भएका व्यक्तिहरूलाई समाजले सामान्य नागरिक सरह माया र सम्मान दिनुपर्छ भन्ने सन्देश हामीले यस चलचित्रमार्फत दिन खोजेका छौं।

प्रकाशित: २९ असार २०८३ २०:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App