६ वैशाख २०८१ बिहीबार
अन्तर्वार्ता

'मेरो निम्ति यो अन्तिम चुनाव हो, अबको ५ वर्षमा इलामको काँचुली फेरिन्छ'

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल इलाम क्षेत्र १ बाट छैटौं जितका लागि सातौं पटक चुनावी प्रतिस्पर्धा गर्दैछन्। इलाममा कम्युनिस्ट पार्टी विस्तार गर्ने क्रममा भूमिगतकालदेखि नै सक्रिय खनालले अहिलेसम्म सूर्य चिह्नबाट चुनाव लडेर २०४८, २०५१ र २०७४ सालका संसदीय तथा २०६४ र २०७० सालका दुवै संविधानसभा निर्वाचन जिते।

२०५६ सालमा यही क्षेत्रबाट पराजित खनाल यसपटक सूर्य छाडेर कमल चिह्नमा चुनावी प्रतिस्पर्धामा छन्। र, आफूले यसअघि छ पटक चुनाव लडेको दल नेकपा (एमाले) सँगै उनी अहिले मुख्य प्रतिस्पर्धामा छन्। यही निर्वाचनलाई आफू उठेको अन्तिम निर्वाचन घोषणा गरेका खनालले राष्ट्रपति, प्रधानमन्त्री वा अन्य पदको जिम्मेवारी पूरा गर्न आफू तयार रहेको बताएका छन्। प्रस्तुत छ खनालसँग इलामस्थित नागरिकन्युज संवाददाता भीम चापागाईंसँगले कुराकानी:-

तपाले इलाम क्षेत्र १ बाट ६ पटक चुनावी प्रतिस्पर्धा गर्नुभयो र एक पटक बाहेक सबैमा विजयी पनि हुनुभयो, फेरि किन तपालाई नै भोट दिने?

अबको मेरो चुनावी प्रतिस्पर्धा हामीले निर्माण गरेको संविधान रक्षाका लागि, मुलुकको समृद्धि, गणतन्त्र, स्थायित्व र विकासका लागि हो। जनताले निर्वाचित गरेको प्रतिनिधिसभाको ५ वर्षको आयु सुनिश्चितताका लागि हो। विकास निर्माण प्रक्रियालाई सन्तुलित बनाउन र राष्ट्रियता संरक्षण गर्नलाई हो।

मेरो निम्ति यो अन्तिम चुनाव हो। इलामको हकमा जिल्लाको विकास निर्माण र रुपान्तरणको समग्र प्रक्रियालाई अझै उचाईमा पुर्‍याउनलाई हो। यहाँको पूर्वाधार, सामाजिक, आर्थिक विकासका काममा अहिलेसम्म हामीले जति काम गरेका छौं, त्यसलाई अझ उन्नत बनाउन मैले उम्मेदवारी दिएको हुँ।

तपाई यही क्षेत्रबाट विजयी हुनुभएको ३ दशक जति भयो। यतिका अवधिमा पनि यहाँका मतदाताको आवश्यकता किन पूरा हुन सकेन?

विकास अनन्त प्रक्रिया हो। राणाशासन, पञ्चायतकाल, २०४६ सालपछिको जनयुद्ध, राजाको प्रत्यक्ष शासनमा विकास भएन। २०६२ सालपछि १० वर्ष संविधान निर्माण भयो, शान्तिप्रक्रियाको काम भयो, धेरै विकास भएन। नयाँ संविधान जारी भएपछिको सरकारबाट जनताले विकासको अपेक्षा गरेका थिए तर खड्गप्रसाद ओली प्रधानमन्त्री भएपछि देशले अपेक्षा गरेको विकास भएन।

न त्यो सरकारले देशलाई सही दिशा दियो, न कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन सक्यो, न एकीकृत पार्टी बचाउन सक्यो। स्वयं एमाले नै अहिले ३ टुक्रामा विभाजित भयो। यसको जिम्मा पनि ओलीलाई नै जान्छ। समग्र देशको विकासमा उहाँले नेतृत्व दिन सक्नुभएन। संविधानकै रक्षा गर्न सक्नुभएन। त्यसले विकास भएन। त्यसैले गठबन्धन बनाएर अघि बढ्नुपरेको छ।

यतिका वर्ष नभएको विकास अब ५ वर्षभित्र हुन्छ र तपाईले गर्नुहुन्छ भन्ने के ग्यारेन्टी छ?

अबको ५ वर्षमा इलामको एक हदसम्म काँचुली फेरिन्छ। अहिले जुन विकास निर्माणको कार्यदिशा छ, यसको संकेत राम्रो छ। सूर्याेदय नगरपालिकासहित मेरो निर्वाचन क्षेत्रका पाँचै पालिकामा विकासको जग तयार भएको छ। अबका दिनमा संघ, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रयत्नबाट हामी यो क्षेत्रको विकास गर्नेछौं। इलामको अनुहार बदलिन्छ।

सूर्याेदय नगरपालिकामा बाहिर झलक्क देखिने भौतिक पूर्वाधारमात्रै विकास हो? यहाँका विशेषगरी किसानका समस्या कहिले समाधान हुन्छन्?

यहाँका सबै पालिकामा विभिन्न क्षेत्रमा विकास भएका छन्। बाटो, बिजुली, सञ्चार, कृषि क्षेत्रमा विकास भएका छन्। सबैजसो ठाउँमा बाटो पुगेको छ, कतिपय कालोपत्रे भएका छन्। सबै पालिका र वडामा विद्युतीकरण भएको छ। थप विस्तारका लागि मेरै पहलमा बजेट भर्खरै आएको छ।

खानेपानीमा पनि पनि ठूलो लगानी आएको छ। चिया क्षेत्रमा पनि काम भएका छन्। यो क्षेत्र विस्तारै चियाखेतीले ढाकिँदै गएको छ। तर, किसानलाई चियाको न्यूनतम् मूल्य दिने कुरा समस्याका रूपमा छ। यो केन्द्रीय सरकारले हल गर्नुपर्ने हो। राज्य गम्भीर नहुँदा यी समस्या समाधान हुन सकेका छैनन्।

तर, तपा यही क्षेत्रबाट जितेर पटक–पटक सांसद, मन्त्री र प्रधानमन्त्रीसमेत हुनुभो, हजारौंको संख्यामा रहेका चिया किसान, उद्योगीको समस्या अझै सुल्झिएन। समाधानका लागि किन पहल गर्नुभएन?

सुरु–सुरुमा यहाँ नेपाल चिया विकास निगमको बगानमात्र थियो। पछि मैले नै यो क्षेत्रका किसानलाई चिया खेतीमा प्रेरित गरें। त्यसपछि यो क्षेत्र चियाले ढाकिँदै आएको हो। अहिले यो सूर्याेदयमा मात्रै ६५ चिया कारखाना छन्, सयौं किसान यसमा छन्। तर, यसको विकासका लागि राज्यले बीचैमा हात धोइदियो।

राज्यको मातहतमा निगम हुञ्जेल चियाको विकासमा सरकार आफैं लाग्नुपर्ने बाध्यता थियो। तर, बगानहरू निजीकरण गरेपछि राज्यले ठाडा कान लाएन र ओझेलमा पर्‍यो। अब परिस्थिति पाक्दै गएको छ। अब चियामा राज्यले भूमिका निर्वाह गर्नेपर्नेरहेछ भन्ने सबैलाई थाहा भयो। चियाको अक्सन र टेस्टिङ सेन्टरका लागि मैले निरन्तर प्रयत्न गरें।

म प्रधानमन्त्री भएको कार्यकाल त जम्मा ७ महिनाको मात्रै हो। त्यो कार्यकाल हामी एकदमै घनीभूत रूपले संविधान निर्माण र शान्तिप्रक्रियाको चरणमा थियौं। तैपनि, इलाममा मैले त्यहीबेला ३५ पक्की पुल बनाउन पहल गरेको छु। प्राविधिक शिक्षालय बनाइयो, इलाम विमानस्थल शिलान्यास गरियो। भर्खरै उद्घाटन पनि गरियो। इलामको विमानस्थल सञ्चालन र मेडिकल कलेज स्थापनाका लागि पहल गरिरहेको छु। यी ३ कुरा त मैले त्यतिबेला इलामलाई दिएका उपहार हुन् नि!

तपाईको निर्वाचन क्षेत्रको साढे ५२ किलोमिटर भू–भाग भारतसँग जोडिएको छ। भारतबाट दशगजा अतिक्रमण हुनेक्रम बेला–बेला भइरहन्छ, अरू पनि हरेक समस्या छन्। तपाई बेला–बेला सीमाक्षेत्र निरीक्षण पनि गर्नुहुन्छ तर समस्या ज्युँका त्युँ छ। आफू प्रधानमन्त्रीसमेत भइसक्दा आफ्नै क्षेत्रको यो समस्या तपाईलाई गम्भीर लागेन?

नेपालको सीमा समस्या लामो समयदेखि छ। यो सिमाना अंकित गर्ने काम २१औं शताब्दीको यो अवधिसम्म आइपुग्दा पनि समाधान हुन नसक्नु विडम्बना हो। अहिलेसम्मका कुनैपनि सरकारले ठोस रूपमा पहल गर्न सकेनन्। यो २ देशबीचको समस्या भएकाले यसका लागि दुवै देश तयार हुनुपर्छ। मित्रराष्ट्रलाई कन्भिन्स गर्न नसक्दा यो समस्या ज्युँका त्युँ छ।

दुवै देशबीच समझदारी बन्न नसक्दा यो समस्या रहेको हो। पूर्वमा चाहिँ सीमा क्षेत्रमा सडक बनाउने प्रस्ताव मेरो थियो। यसले सीमा रक्षा गर्ने र आसपासको आर्थिक विकासका लागि पनि सहयोग गर्ने अवधारणा अघि सारेको थिएँ। डिपिआर बनाएर केही ठाउँमा ट्र्याकसमेत खुलेको छ। तर, २०७४ सालको निर्वाचनपछि बनेको सरकारले त्यसका लागि बजेट व्यवस्था गरेन। अब निर्वाचनपछि बन्ने गठबन्धन सरकारले यो सडक बनाउने छ।

निर्वाचनपछि तपाईको दल नेकपा (एस) र गठबन्धनको कति–कति सिट आउने अनुमान गर्नुभएको छ?

गठबन्धनको राम्रो बहुमत आउँछ। गठबन्धनका धेरै उम्मेदवार अग्रपंतिमा हुनुहुन्छ। बहुमत आएपछि गठबन्धनकै सरकार बन्छ। आफ्नो निर्वाचन क्षेत्रमा म २ पटक घुमिसकेको छु। गठबन्धनका मात्र होइन, एमालेका कार्यकर्ता पनि कलम चिह्नमा भोट हाल्न तयार हुनुभएको छ।

तपाईले स्थानीय तह निर्वाचनलगत्तै गठबन्धनलाई कांग्रेसले सहयोग नगर्दा आफ्नो दलका उम्मेदवार पराजित भएको अभिव्यक्ति दिनुभयो र विवादित पनि हुनुभयो। त्यतिमात्र होइन, सूर्याेदय नगरको कार्यपालिका र जिल्ला समन्वय समिति गठनमा सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गर्नुभयो। अहिले गठबन्धनमा यो विवाद कायमै छ कि छैन?

यी सम्पूर्ण कुरा समाधान भएका छन्। हामीले तीनै दलबीच पटक–पटक बैठक बसेर यसको समाधान गरेका छौं। एकापसमा घनिष्ठता भएको छ। अहिले एउटै अभियानमा छौं। समीक्षा गरेर समझदारी भएको छ। त्यतिबेला विभिन्न दलका नेताहरूले विभिन्न टिकाटिप्पणी गरेकै हुन्। अब ती विषय कसैले उठाउन जरुरी छैन। कार्यपालिका र जिसस गठनको जुन कुरा छ, त्यो मेरो भूमिकाको कारणले भएको होइन। यहींका दलहरूबीचको समझदारी हो। यो विषय यहाँका दलले सल्टाएर जानुहुन्छ।

तपाईको क्षेत्रमा अबको निर्वाचनपछि झलनाथ खनाल राष्ट्रपति हुने भनी प्रचार गरिएको छ। यस्तो सहमति गठबन्धन दलबीच भएको हो?

जसले यस्तोखालको प्रचार गर्नुभएको छ, उहाँहरूलाई धन्यवाद छ। यस्तो सहमति चाहिँ भएको छैन। अबको निर्वाचनपछि एउटैमात्र दलको सरकार बन्ने अवस्था रहँदैन। निर्वाचनपछि राष्ट्रपति, प्रधानमन्त्री वा अरू पदसमेत बाँडफाँट हुनेछन्। म जुन जिम्मेवारी दिएपनि लिन तयार छु। म यो निर्वाचन क्षेत्रबाट अन्तिम पटक चुनाव लड्दैछु।

अबको ५ वर्ष चाहिँ देशको कार्यकारी प्रमुखकै रूपमा जिम्मेवारी आएपनि पूरा गर्छु। मसँग काम गरेको अनुभव छ, भिजन छ, दृष्टिकोण, योजना पनि छ। त्यसैले म जुनसुकै जिम्मेवारीका लागि सक्षम छु। ५ वर्ष प्रधानमन्त्रीका रूपमा काम गर्न पाएँ भने यो देशलाई अर्कै बनाउन सक्छु। तर, मलाई यो जिम्मेवारी देऊ भनेर जाने चाहिँ होइन।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने बेला तपाले एमसिसीविरुद्ध र आफ्नै दलसमेत रहेको सत्ता गठबन्धनको धारणाको विपक्षमा आफ्नो मत राख्नुभयो। तपालाई अब राष्ट्रपति बन्न कुनै बाधा–अवरोध आउँदैन?

नेपालको नेतृत्व गर्ने सबै अधिकार नेपाली जनताकै हो, त्यसैले यो दुनियाँमा कस्ता शक्ति छन् र कसले खेल्छन् त्यसमा नेपालीको हक र अधिकार निर्णीत हुँदैन। नेतृत्व पनि निर्णीत हुँदैन। एमसिसीमा मैले जुन दृष्टिकोण राखेको छु, त्यसमा म जिन्दगीभर अडिग रहनेछु, म त्यसमा दृढ छु। देब्रे–दाहिने हुनेवाला छैन। कतिपय निर्णय आफूलाई चित्त नबुझेपनि भोग्नुपर्छ। कहिलेकाहीं गलत नीति आउँछन्। यो एमसिसीको मामिला पनि पर्ख र हेरको अवस्थामा छ। ठूलो बहुमतले पास गरेको एमसिसीबाट कति फाइदा हुन्छ भन्ने चाहिँ हेर्न बाँकी नै छ।

यतिका वर्ष आफू एमाले भएर सूर्य चिह्नमा चुनाव लड्नुभो, इलाममा कम्युनिस्ट पार्टी स्थापनादेखि एमालेको चुनाव चिह्न सूर्य हो भनेर चिनाउन तपाइँको महत्त्वपूर्ण भूमिका थियो। तर, अब तपालाई तिनै मतदाताले कलममा भोट हाल्छन् र?

मैले २०२६ सालदेखि नै इलाममा कम्युनिस्ट पार्टी विस्तारका लागि काम गरेको हुँ। एमालेको नीति, कार्यदिशा, सिद्धान्त, लक्ष्य बनाउने कामको नेतृत्व पनि मैले गरेको हुँ। तर, नवौं महाधिवेशपछि आएको नेतृत्व दक्षिणपन्थी अवसरवादी, भ्रष्ट, विखण्डनकारी, अराजक भयो। त्यसपछि हामीले विद्रोह गर्नुपर्‍यो।

२०२६ सालदेखि नवौं महाधिवेशसम्मको क्रान्तिकारी धाराको रक्षा गर्न यो विद्रोह गर्नुपरेको हो। अहिले हाम्रो पार्टी नेकपा (एस) झिल्कोजस्तो छ, विस्तारै यसले ठूलो रूप लिँदै जान्छ। यहीक्रममा अहिले मेरो चुनाव चिह्न कलम भएको छ। सूर्य लेख्ने, रुख लेख्ने, इतिहास, वर्तमान, भविष्य र तपाई–हाम्रो सिंगो जीवनी लेख्ने कलम नै हो। त्यसैले कलममा भोट नदिने कुनै कारण छैन।

प्रकाशित: ३० कार्तिक २०७९ ०९:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App