७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

दुधौलीलाई स्मार्ट सिटी बनाउँछौंः नगरप्रमुख अधिकारी

जनप्रतिनिधि निर्वाचित भएको एक सय दिन बढी पूरा भइसकेको छ। सय दिन बित्दै गर्दा दुधौली नगरपालिकाले जनतामा आश जगाउने कार्य गरेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाको विकासको मोडल तयार पार्ने तथा पाँच वर्षसम्ममा दुधौली नगरपालिका कस्तो हुनेछ भन्ने खाका तयार भएको मेयर दिनेश अधिकारीले बताएका छन्। दुधौली नगरपालिकाको हालको अवस्था र समग्र विषयमा नागरिकन्युज अनलाइनका लागि सिन्धुली संवाददाता अनिल भण्डारीले गरेको संक्षिप्त कुराकानी:

दुधौली नगरपालिकाको मेयर पदमा निर्वाचित भएपछि तपाईंको दिनचर्या कसरी बित्दै छ?

म राजनितिज्ञ व्यक्तिनै भएकाले स्वभावलै पहिलेपनि सामाजिक काममा नै दिनचर्या बित्ने गथ्र्यो अहिले पछिल्लो समय दुधौली नगरपालिकाको मेयरमा निर्वाचित भएपछि विशेष गरी केही जिम्मेवारी थपिएको महशुस गरेको छु।

दुधौलीको विकासको अवस्था नगरपालिकाको प्रशासनिक चुस्त दुरुस्तको अवस्थासँगै दुधौलीलाई स्मार्ट नगरपालिका बनाउन योजना बनाउने काम हुँदैछ। जनताको अपेक्षा कस्तो छ भन्ने विषयमा जनताको घरदैलोमा गएर बुझ्ने काम हुँदैछ। जनतासँगै जोडिएर काम गर्दै दिनचर्या अगाडि बढाइरहेको छु ।  

दुधौली नगरपालिकाको मेयर पदमा निर्वाचित भएको एक सय दिन बढी भइसक्यो। जनतालाई आश जगाउने के-के कामको सुरुवाती भएको?

धन्यवाद अनिल जी यो महत्वपूर्ण प्रश्नका लागि। विशेषत नगरप्रमुख निर्वाचित भएसँगै कार्यालयभित्रबाट सेवाग्राहीलाई दिइने सेवा चुस्त दुरुस्त र छिटो दिने गरी योजना अगाडि बढाइएको छ। जनप्रतिनिधिभन्दा कर्मचारी हावी हुने अवस्थालाई न्यूनीकरण गर्दै लगिएको छ। जनतालाई हाताहाती तत्काल सेवा दिनुपर्नेमा जनतालाई विभिन्न वाहनामा घुमाइरहने प्रवृत्तिको अन्त्य गरिसकेको छु, मुस्कानसहितको सेवा दिन कर्मचारीलाई निर्देशित गरेको छु।

शिक्षा स्वास्थ्य र बेरोजगारीको समस्या समाधान गर्न कार्ययोजना बनाएर अगाडि बढेका छौं। ढुंगा गिट्टी बालुवाको राजस्व चुहावट नियन्त्रण गरेका छौं। दुधौलीमा विशेष गरी मुसहरसहित धेरै गरिब जनताको बसोबास भएको नगरपालिका हो त्यसैले हामीले आवासका निमित्त फुसका छानो हटाउने र जस्तापाताको छानो निर्माण गरिदिने कार्यलाई अगाडि बढाएका छौं।

गर्भवती महिलाहरुलाई घरबाट बर्थिङ सेन्टर र अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा दिन सुरु गरेका छौं। दुधौली नगरपालिकाभित्रका जनताले देशभर उपचार गराउने क्रममा आवश्यक पर्ने रगतको व्यवस्था नगरपालिकाले गरेको छ। नगरपालिकालाई स्मार्ट सीटि बनाउन आवश्यक कार्य योजना बनाएका छौं। सय दिनमा विशेष गरी नगरपालिकालाई पाँच वर्षमा के-के गर्न सकिन्छ भनेर अध्ययन गर्ने योजना बनाउने र केही कामको सुरुवाती गर्ने काम भएको यहाँलाई जानकारी गराउँछु।

पाँच वर्षमा दुधौली नगरपालिकालाई कस्तो बनाउने योजना बनाउँदै हुनुहुन्छ?

दुधौली नगरपालिकाभित्र रहेका बेरोजगार युवाहरुलाई यही रोजगारी दिन पाँच वर्षभित्रमा उद्योगहरु सञ्चालनमा ल्याउने मेरो योजना छ। यस्तै यहाँ अन्नभण्डारको रुपमा यहि क्षेत्र परिचित छ त्यसैले यहाँ कृषिमा आत्मानिर्भर बनाउने तर्फ हामी लाग्छौं र व्यवसायिक कृषिमा लाग्न किसानलाई उत्प्रेरित गराउने नगरपालिकाले योजना बनाएको छ।

विशेष गरी पाँच वर्षमा खेतीयोग्य जमिन र बसोबास योग्य क्षेत्रलाई छुट्याउँदै व्यवस्थित भु-उपयोग नीति अवलम्बन गरेर दुधौलीलाई स्मार्ट सिटी बनाउने मेरो योजना छ। त्यसमा नदी नियन्त्रण खेल मैदान पार्क लगायतका पूर्वधारका कामहरु हुने नै भए। धार्मिक र पर्यटकिय क्षेत्रलाई संरक्षण गर्दै जानेछौं। पूर्वधारमा विशेष गरी दुधौलीलाई रिङ रोडको अवधारणा ल्याएका छौं। मदनभण्डारी राजमार्ग पनि यही नगरपालिका भएर गएकाले विकासको आधार धेरै देखिन्छ।

दुधौली नगरपालिकाभित्र दनुवार र मुसहर बस्ती धेरै छन्। यहाँको दुनवार समुदायको परम्परागत संस्कृतिको संरक्षण र मुसहर समुदायको जिवनस्तर उकास्न के गर्दै हुनुहुन्छ?

दुधौली नगरपालिकाको धेरै जसो जनसंख्या दनुवार समुदायकै हो। दनुवार समुदायलाई उनीहरुको कल्चरलाई संरक्षण गर्न यहाँ दनुवार जागरण समिति छ। त्यो समितीसँग सहकार्य गरेर दुधौली नगरपालिकाले काम गरिहेको छ।

दुधौली नगरपालिकाको वडा नं. ५ मा संग्रालय भवन र वडा नं. ६ मा दनुवार संस्कृति भवन बनाइएको छ। त्यहाँ दनुवारी संस्कृति झल्कने सामाग्रीको व्यवस्थापन हुनेछ। दुधौली नगरपालिकालाई स्मार्ट सिटी बनाउनेक्रममा दनुवारको संस्कृतिलाई प्राथमिकता दिएर काम गर्छौं।

यस्तै यहाँ गरिब मुसहर हरु धेरै छन्, यहाँ जनताआवास कार्यक्रम अन्तरगत केही मुसहर समुदायलाई घर बनाएर दिने व्यवस्था भएको छ। एक हजार घरहरु जनता आवासमार्फत निर्माण भइरहेको छ। जसमा तीन सय बढी घर अझै बन्न बाँकी छ। मुसहर समुदायमा शिक्षा र स्वास्थ्यको पहँच कम छ। मुसहर समुदायको चेतनास्तर अज्ञानता र अशिक्षा छ त्यसलाई शैक्षिक अवस्था सुधार गर्न केन्द्रीय सरकारले पनि ध्यान दिनुपर्ने देखिन्छ।

अब एउटा दुधौली नगरपालिकाको पछिल्लो समय गरिएको कार्यक्रम क्षमता विकास तालिम पोखरामा लगेर गरिएको प्रति आलोचना भइरहेको छ। क्षमता विकासको तालिम गर्न कै लागि पोखरा किन रोज्नु भयो?

विशेष गरी विगतका दिनमा पनि हामीले यस्ता क्षमता विकासका कार्यक्रम दुधौली नगरपालिका र आसापासकै क्षेत्रमा राखेका हौँ। नजिकै यस्ता कार्यक्रम राख्दा जनप्रतिनिधि जनताको सेवक भएकाले तालिमलाई भन्दा जनताको सेवामा बढी ध्यान दिनुपर्ने र बीच-बीचमै तालिम छाडेर वडाको अथवा नगरपालिकाको काम गर्न निस्कनु पर्ने समस्या भयो फलस्वरुप तालिमको औचित्य भएन।

त्यसैले यसपटक नगरपालिकाको कार्यपालिका बैठकबाटै तालिम प्राथमिकताका साथ समय दिएर लिने र पोखराका केही पालिकाहरुको विकासको मोडल पनि हेर्न सकिने भएकाले त्यहाँ रोजिएको हो। यो कार्यपालिकाको ९१ औँ बैठकले सर्वसहम्मत निर्णय गरेको हो। निर्वाचित भएका जनप्रतिनिधिहरुलाई जनप्रतिनिधिका अख्तियारी र कानुननका विषयमा पनि जान्नैपर्ने हुन्छ त्यसैको तालिमका लागि हामी त्यहाँ पुगेको विषयलाई अतिरञ्जित गर्न खोजियो। तर हाम्रो पोखराको तालिम उपलब्धिपूर्ण छ।

सबैको सहमतिमा निर्णय भइसकेपछि सबै तयारी भइसकेपछि तालिममा प्रस्थान गर्ने पूर्ण तयारी भइसक्दा केही एमाले पार्टीबाट जितेका वडाअध्यक्ष साथिहरुले अहिले पार्टीको हाम्रो कार्यक्रम छ पछि गरौं भन्दा सम्पूर्ण तयारी भइसकेकाले पछिलाई छार्न सकिएन। पोखरामा तालिम लिएपछि हामीले दुधौली नगरपालिकाको पोखरा प्रतिबद्धता पत्र भनेर प्रतिबद्धता पत्र पास गरिएको छ। वरिष्ठ संविधान विद् काशीराज दाहालले हामीलाई प्रशिक्षित गराउनु भयो त्यो उपलब्धि मुलक छ।

हामीले जारी गरेको १९ बुँदे प्रतिबद्धता पत्रको संक्षिप्तमा दुधौली नगरपालिका भित्र जनप्रतिनिधि वा कर्मचारीले काम गर्दा कानुनमा रहेर न्यायका आधारभुत सिद्धान्त मानव अधिकार र सुशासनका सिद्धान्तलाई अवलम्बन गरी स्वार्थ बाझिने किसिमबाट कानुनहरु नबनाइ संविधान अनुरुप कानुनको तर्जुमा गरि कानुनको प्रभावकारी कार्यन्वयन गर्ने नगरसभाले बनाएको ऐन नियमको अधिनमा रही त्यस कानुन अनुरुप कार्यसम्पदन गर्ने भन्ने छ। पोखरामा गरिएको प्रतिबद्धताको पूर्ण पाठ आवश्यक परेमा नगरपालिकाले जो सुकैलाई आवश्यकताका आधारमा उपलब्ध गराउने नै छ।

तपाईं गठबन्धनबाट मेयर पदमा निर्वाचित हुनुहुन्छ। दुधौलीमा गठबन्धन दलभित्रका र अन्य जनप्रतिनिधि बीचको सम्बन्ध कस्तो छ। जनप्रतिनिधिबीचको सम्बन्धमा खट्पट आउन थालेको हो?

होइन हामीमा त्यस्तो कुनै खटपट छैन। गठबन्धन दलभित्रका मात्रै नभएर केही वडा नेकपा एमाले पार्टीबाट निर्वाचित भएका वडाअध्यक्षहरु पनि हुनुहुन्छ उहाँहरु र हामी एक ढिक्का भएर दुधौली विकासका लागि लागेका छौं। पोखराको तालिममा जाने क्रममा उहाँहरुको पार्टीको वा अन्य केही कामले सहभागी हुन सक्नुभएन यही विषयलाई लिएर तपाईंले मतभेद भन्न खोज्नुभएको हो जस्तो लाग्छ यो विषयमा पनि सुरुवातमा कार्यपालिका बैठकमा सहमति भएको हो।

तर, अन्तिम दिन भोली जानुपर्नेछ भने अघिल्लो दिन एमालेबाट निर्वाचित वडाअध्यक्षहरुले हामीलाई हामी जान तयार थियौ तर नगरप्रमुखबाट हामीलाई फोन आएन सचिवालयबाट मात्रै आयो भन्ने उहाँहरुको कुरा आयो तर मेरो सचिवालय र प्रमुख प्रशासकीय अधिकृतले फोन गरेपछि मैले नै गरेको जत्तिकै हो जाऔ भने तर उहाँहरुले पार्टीलाई साध्छौं भन्नुभयो त्यो भन्दा बाहेक हामीमा यस्तो मतभेद केही छैन। सबै एक भएर काम गरेका छौं दुधौलीलाई विकास गर्न हामी एक ढिक्का भएको कुरा यहाँको मिडियामार्फत जानकारी गराउँदछु।

अन्त्यमा मैले सोध्न छुटाएको र तपाईले भन्नै पर्ने केही छ?

धन्यवाद दुधौली नगरप्रमुख भएको सय दिन पार गर्दै गर्दा सय दिने कामसहित अन्य विषयलाई तपाईंको मिडियामार्फत आम जनसमुदायमा पुर्‍याउने मौका दिनभयो विशेष धन्यवाद दिन चाहन्छु। साथै दुधौली नगरपालिकालाई स्मार्ट नगरपालिका बनाउनु पर्नेछ, दुधौली नगरपालिकालाई उत्कृष्ठ नगरपालिका बनाउनुपर्नेछ।

त्यसका लागि म नगरप्रमुख एक्लैले सम्भव छैन तपाईं हामी सम्पूर्ण जनप्रतिनिधि र दुधौलीबासी सम्पूर्णको साथ सहयोग चाहिन्छ मलाई विश्वास छ त्यो साथ सहयोग दिनुहुनेछ हामी सबैले दुधौलीको विकास गर्न हातेमालो गरौँ सहकार्य गरेर अगाडि बढौँ भन्न चाहन्छु धन्यवाद।

प्रकाशित: २५ भाद्र २०७९ १४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App