१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अन्तर्वार्ता

संस्कृत वाङ्मयको संवर्द्धनमा ‘जयतु संस्कृतम्’

‘जयतु संस्कृतम्’ शिक्षा सुधारको माग राख्दै काठमाडौँको तीनधारा संस्कृत छात्रावासमा बस्ने प्रधान पाठशालाका विद्यार्थीहरूद्वारा २००४ सालमा गरिएको आन्दोलन हो। त्यसबेला ती विद्यार्थीहरूले शिक्षामा आधुनिकीकरण गरी आफूहरूलाई पनि संस्कृतका साथै इतिहास, भूगोलजस्ता विषय पढाउनुपर्नेलगायत माग राख्दै प्रदर्शन गरेका थिए।

२००४ सालमा भएको त्यो आन्दोलन झट्ट हेर्दा शिक्षा क्षेत्र सुधारको आन्दोलनका रूपमा देखिए पनि त्यसले २००७ सालको जहानियाँ राणाशासन विरोधी आन्दोलनको पृष्ठभूमि तयार पारेको थियो। ‘जयतु संस्कृतम्’ को अर्थ ‘संस्कृत वाङ्मय र विचारको जय होस्’ भन्ने हुन्छ।

२००४ सालमा भएको ऐतिहासिक आन्दोलनकै पृष्ठभूमिमा संस्कृत वाङ्मय, भाषा र संस्कृत वाङ्मयजन्य आर्य सभ्यताको संरक्षण, संवर्द्धन एवम् संस्कृतिमाथिको अतिक्रमणका विरुद्ध आवाज उठाउने उद्देश्यले २०५५ सालमा विधिवत् रूपमा ‘जयतु संस्कृतम्’ संस्थाको स्थापना भएको हो।

‘जयतु संस्कृतम्’ २०५५ सालपूर्व आन्दोलनको रूपमा थियो भने २०५५ सालपश्चात् संस्थाका रूपमा परिणत भएको छ। ‘जयतु संस्कृतम्’ का वर्तमान अध्यक्ष नेपाल सरकारका पूर्व प्रशासक, अर्थशास्त्री तथा सर्वदर्शनका ज्ञाता डा. बद्री पोख्रेल हुनुहुन्छ। ‘जयतु संस्कृतम्’ आन्दोलनको प्रसङ्ग र यस संस्थाको उद्देश्य एवम् गतिविधिका सन्दर्भमा रहेर नागरिककर्मी दिलीप ढकालले संस्थाका अध्यक्ष डा. बद्री पोख्रेलसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ:

यहाँहरूले ‘जयतु संस्कृतम्’ नामक संस्थाको स्थापना गर्नुभएको छ। ‘जयतु संस्कृतम्’ त राणाकालमा भएको विद्यार्थी आन्दोलनको नाम हो। उक्त आन्दोलनकै नाम दिएर संस्था खोल्नुको अन्तर्य के हो?

‘जयतु संस्कृतम्’ २००४ सालमा राणा सरकारको पालामा संस्कृत प्रधान पाठशालामा पढ्ने विद्यार्थीहरूले गरेको आन्दोलन हो। नेपालको इतिहासमा राणाहरूका विरुद्धमा विद्यार्थीबाट भएको त्यो नै पहिलो आन्दोलन हो। कठोर राणाशासनका विरुद्ध आन्दोलन गर्न सजिलो थिएन, यद्यपि निडरताका साथ शैक्षिक माग राखेर विद्यार्थीहरूले आन्दोलन गरे। त्यही आन्दोलनको बलबाट नै राणाशासन विरुद्धको आन्दोलन फस्टाउने मौका पाएको हो।

त्यही आन्दोलनको ५० वर्ष पुगेको सन्दर्भमा २०५४ सालमा स्वर्ण महोत्सव मनाउने क्रममा ‘जयतु संस्कृतम्’ संस्थाको जन्म भएको हो। संस्कृतजस्तो सबल एवम् प्रज्ञावान् भाषा दिन–प्रतिदिन उपेक्षित हुँदै गइरहेको हुनाले संस्कृत भाषा–साहित्य एवम् संस्कृतजन्य संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ यो संस्थाको जन्म भएको हो।  

२००४ सालमा शैक्षिक माग राख्दै गरिएको आन्दोलनको पृष्ठभूमि के थियो? विद्यार्थीहरूले ज्यानको बाजी राखेर किन आन्दोलन गरेका थिए?  

२००४ सालको आन्दोलन बाहिरबाट हेर्दा शैक्षिक आन्दोलनजस्तो देखिए पनि त्यो शैक्षिक आन्दोलन मात्र थिएन, त्यो शैक्षिकभन्दा बढी राजनीतिक आन्दोलन थियो। सरसर्ती हेर्दा विद्यार्थीहरूले आफूहरूले संस्कृतका साथै भूगोल, इतिहासजस्ता आधुनिक विषयहरू पनि पढ्न पाउनुपर्छ भन्ने माग राखेका थिए। त्यो बेला संस्कृत विषयलाई रुद्री चण्डी पढ्ने, पण्डित्याइँ मात्र गर्ने विषयका रूपमा धेरैले बुझेका थिए।

यस्तो सोच रहेकाले संस्कृतका विद्यार्थीहरूले आफू अपमानित भएको महसुस गरे। यसैगरी सो आन्दोलनलाई संस्कृत पढाउने गुरुहरूले पनि समर्थन गरेका थिए। संस्कृत प्रधान पाठशालामा संस्कृत पढाउने शिक्षक र त्रि–चन्द्र कलेजमा इतिहास, भूगोल, अङ्ग्रेजीजस्ता विषय पढाउने शिक्षकको तलबमा धेरै अन्तर थियो। संस्कृत पढाउने शिक्षकका भन्दा त्रि–चन्द्र कलेजमा पढाउने शिक्षकहरूको तलब झन्डै पाँचगुणा बढी थियो।

यस्तो विभेदका कारण त्यो आन्दोलनमा संस्कृत पढाउने शिक्षकहरूले पनि समर्थन गरेका थिए। प्रस्ट छ, त्यस आन्दोलनको पृष्ठभूमि भनेकै संस्कृतिप्रति सरकारबाट भएको उपेक्षा एवम् संस्कृत र अन्य विषयका बीचको विभेद थियो। त्यसैगरी राणाशासनप्रतिको जनविद्रोहको चेतसमेत उक्त आन्दोलनको पृष्ठभूमि थियो।  

‘जयतु संस्कृतम्’ संस्थाको उद्देश्य प्रस्ट पारिदिनोस् न।  

संस्कृत वाङ्मय, भाषा र संस्कृत वाङ्मयजन्य आर्य सभ्यताको संरक्षण, संवद्र्धन, पोषण र प्रचारप्रसार गर्ने तथा यसमा हुने अतिक्रमणका विरुद्ध आवाज उठाउने उद्देश्यले यो संस्था स्थापित भएको हो।

कुनै समय पश्चिममा पाकिस्तान–अफगानिस्तानदेखि पूर्वमा कम्बोडिया, इन्डोनेसियासम्म आफ्नो वर्चस्व स्थापित गर्न सक्षम भएको संस्कृत वाङ्मय र आर्य सभ्यता आज भारतीय उपमहाद्विपमा मात्र होइन, यसको मूल उद्गम स्थल नेपाल–भारतमै पनि उपेक्षित हुन थालेकोजस्तो देखिन्छ।

अहिले नेपाल राजनीतिक, आर्थिक, व्यापारिक, शैक्षिक एवम् भाषिक रूपमा क्रीतदासतुल्य भइसकेको छ। अब हामी सांस्कृतिक, धार्मिक र आध्यात्मिक रूपमा समेत दास बन्नुपर्ने अवस्थाको सँघारमा उभिएका छौँ। ९० प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बीहरू हुँदाहुँदै र आफ्नो धर्मप्रति पूर्ण आस्था हुँदाहुँदै पनि देशलाई हठात् धर्मनिरपेक्ष घोषणा गर्नुले यसको पुष्टि गरिसकेको छ।

तिनीहरू हाम्रो गरिबीलाई आधार बनाएर आर्यसंस्कृतिमाथि प्रहार गर्दै छन्। अतः हामी बेलैमा सचेत हुनुपरेको छ। यसैले संस्कृत वाङ्मय, वैदिक सभ्यता, धर्म, संस्कृति र परम्पराप्रति सामाजिक आस्था र विश्वास पुनः जागृत गराई हाम्रो प्राचीन मूल्य र मान्यताको संरक्षण, संवर्द्धन एवम् प्रचारप्रसार गर्नु नै ‘जयतु संस्कृतम्’ को उद्देश्य हो।

अहिले देश धेरै अगाडि बढिसक्यो। देशमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताजस्ता कुराहरू स्थापित भइसके। सबै भाषाभाषीहरू समान हुन् भन्ने मान्यता स्थापित भइसक्यो। यस्तो अवस्थामा तपाईंहरूले उही पुरानो भाषा संस्कृत अनि धार्मिक एकात्मकताको कुरा उठाउनुभएको छ। यो वर्तमानमा सान्दर्भिक हुन्छ र?

संस्कृतको ठूलो महत्व छ। भाषा कहिल्यै पुरानो हुँँँदैन। संस्कृत भाषा तथा वाङ्मयको महत्व अहिले झनै बढेर गएको छ। यही महत्वलाई बुझेर नै नासाले पनि कम्प्युटरको भाषा संस्कृत बनाउन लागेको छ भन्ने सुनिएको छ। स्पष्ट व्याकरण, ध्वनि, उच्चारण अवयवको प्रस्टता, शब्दको विविधताजस्ता कारणले नै नासाले संस्कृत भाषालाई रोजेको हो।

नासाका प्रमुख, चिनियाँ राष्ट्रपति लगायतका विशिष्ट व्यक्तिहरूले संस्कृत भाषा सिक्दै गरेको कुरा बाहिरिएको छ। विश्वका ठूला र विकसित भनिएका अमेरिका, वेलायत, जर्मनी जस्ता देशहरूमा संस्कृत पठनपाठन, अनुसन्धान गर्ने धेरै संस्थाहरू खुलेका छन्। धेरै विश्वविद्यालयहरूमा संस्कृत विभाग नै खुलिरहेका छन्।

संस्कृतको वैज्ञानिकताले गर्दा नै नासाले कम्प्युटरको भाषा संस्कृत वनाउने वारे थप अनुसन्धान गर्दै छ। विडम्बना हामी संस्कृतकै उद्गम भूमिका मान्छेले नै संस्कृतको महत्व बुझेका छैनौँ। त्यसकारण संस्कृत वाङ्मय, भाषा तथा संस्कृतिको जगेर्ना गर्नेजस्तो काम सधैँ समयसापेक्ष हुन्छ। यस्तो काम कहिल्यै असान्दर्भिक हुँदैन।  

यहाँकै भनाइअनुसार विश्वमा संस्कृतको प्रचारप्रसार व्यापकरूपमा अगाडि बढिरहेको बुझिन्छ, तर नेपालमा संस्कृतको प्रयोग घट्दै गएको देखिन्छ, किन होला?

संस्कृत संसारको सबैभन्दा स्थापित पुरानो भाषा हो र सवै भन्दा बढी शब्दभण्डार भएको भाषा पनि हो। यो धेरै साहित्य, दर्शन भएको भाषा पनि हो। मूलतः संस्कृतलाई साहित्य, दर्शन, विज्ञान र कर्मकाण्ड गरेर चार भागमा बुझ्नुपर्छ। तर अहिले संस्कृतको महत्व कर्मकाण्डसँग मात्र जोडेर हेर्ने गरेको पाइन्छ।

त्यसैले संस्कृतको महत्व कम भएकोजस्तो देखिएको हो। तर संस्कृतमा भएको व्याकरणको शुद्धताका साथै लचकताको महत्व विश्वले बुझ्यो। संस्कृतमा भएको वैभवलाई देखेर नै विश्वका धेरै विश्वविद्यालयमा संस्कृत पढाइ हुन्छ। नेपालमा नबुझेर उपेक्षा गरिएको हो। अर्को कुरा नयाँ शिक्षा लागु भएपछि साविकमा पढाइएका संस्कृत पनि हटाइए।

अझै माओवादी द्वन्द्वकालमा संस्कृतलाई झनै उपेक्षा गरियो। त्यसले गर्दा नेपालमा गुरुकुलीन शिक्षा, अनुशासन, कर्तव्य परायणता हराउँदै गयो। त्यसको परिणामले नै पारिवारिक सम्बन्ध बिग्रने, विवाह विच्छेद हुनेहरूको दर बढ्ने, घरघरमा झगडा हुने, भ्रष्टाचार हुनेजस्ता कुकृत्य बढ्न थाले। हामीले कर्तव्य, अनुशासन भुलेकाले संस्कृत उपेक्षित भएको हो।

संस्कृततर्फको गलत पक्ष भनेको संस्कृत पढेकाहरूले पनि सदाचार र संस्कृतको सेवामा नरहनु हो। तत्काल फाइदा लिन खोज्नु हो। संस्कृत त्यस्तो भाषा होइन। संस्कृतले त प्रकारान्तर र कालान्तरमा फाइदा दिन्छ। यो नसोचेका कारण पनि नतिजा नकारात्मक आएको हो। कालान्तरमा विश्व संस्कृतको महत्व बुझेर अध्ययनलाई तीव्र बनाएपछि उनीहरूबाट हामीले संस्कृत सिक्नुपर्ने लक्षण देखिँदै छ।

‘जयतु संस्कृतम्’ ले संस्कृत वाङ्मय तथा भाषा संस्कृतिको संवद्र्धनमा के कस्ता क्रियाकलाप वा गतिविधि गरिराखेको छ?

संस्कृत वाङ्मयको संवर्द्धनका लागि हामीले धेरै काम गरिराखेका छौँ। हामीले अहिले उत्तर–महाभारत लेख्दै छौँ। यो दीर्घकालीन महत्व राख्ने महान् कार्य हो। महाभारतमा भगवान् कृष्णले पृथ्वी छाडेको दिनसम्मको कथा छ। कलियुग सुरु भएको पनि ५ हजार वर्ष भइसक्यो।

त्यसपछिको एकीकृत विश्व इतिहास लेखिएको छैन। त्यो विश्व इतिहासको नाम हो– ‘उत्तर–महाभारत’। ‘जयतु संस्कृतम्’ कै पहलमा उत्तर–महाभारत लेखिँदै छ। त्यसमा कम्तीमा एकलाख संस्कृत श्लोक रहने छन्। ३० हजार भन्दा बढी श्लोक लेखिसकिएको छ। संस्थाले गरेका अन्य काम पनि म यहीँ भनिहाल्छु। संस्थाकै पहलमा सबै दर्शन र पुराणलाई नेपालीमा अनुवाद गरिएको छ।

मैले एक्लो प्रयासमा १८ महापुराणको अध्यायगत सारांश लेखिसकेको छु। त्यसैगरी संस्कृतलाई लोकभाषाका रूपमा अगाडि सारेर प्रचारप्रसारमा लागिराखेका छौँ। संस्थाकै पहलमा संस्कृत सम्भाषण गोष्ठीहरू अनेकौँपटक सञ्चालन गरिएको छ। त्यसैगरी जनगणनामा संस्कृत बोल्नेहरूको सङ्ख्या बढाउनका लागि पहल गरेका छौँ।

त्यस्तै विश्व संस्कृत सम्मेलन सन् २०२४ मा नेपालमा सञ्चालन गर्नका लागि पहल गरिराखेका छौँ। संस्कृत छात्रावासको अगाडि ‘जयतु संस्कृतम्’ स्तम्भ स्थापना गरेर जयतु संस्कृतम्को स्मृति र दिवसलाई जीवन्त बनाएका छौँ। शाखा विस्तार गर्ने क्रममा अमेरिकामा समेत जयतुु संस्कृतम् शाखा स्थापना गरिएको छ। गुरुकुलको पाठ्यक्रममा गुणस्तरीयता बढाउन नीतिनिर्माणको तहमा पहल गरिरहेका छौँ। नेपाल एकेडेमी, खुला विश्वविद्यालयहरूसँग सहकार्य भैरहेको छ।

उच्चशिक्षा आयोगको प्रतिवेदनमा संस्कृतका मुद्दालाई स्थापना गरिएको छ। कक्षा १ देखि कक्षा ८ सम्म ऐच्छिक सबै विद्यालयमा संस्कृत पढाउन पाउने भएको छ भने त्यसका लागि पाठ्क्रमहरू बनिसकेका छन्। यसरी आफ्नो उद्देश्यअनुरूप ‘जयतु संस्कृतम्’ संस्कृत वाङ्मय, भाषा–साहित्य एवम् संस्कृतिको संवद्र्धनमा लागिराखेको छ। यसबाहेक पनि संस्थाबाट संस्कृतको हित र प्रचारका लागि अल्पकालीन र दीर्घकालीन धेरै काम हुँदै आएका छन्।  

असार १ गते ‘जयतु संस्कृतम्’ दिवस हो। ‘जयतु संस्कृतम्’ दिवस कसरी मनाउँदै हुनुहुन्छ?

‘जयतु संस्कृतम्’ दिवसमा हाम्रा धेरै कार्यक्रम छन्। बिहान प्रभातफेरीको कार्यक्रम हुन्छ। दिवसका दिन प्रभातफेरी हरेक वर्ष गरिराखेका छौँ। त्यो प्रभातफेरी सभामा परिणत भएपछि त्यहाँ संस्कृत वाङ्मयको महत्वसम्बन्धी चर्चा–परिचर्चा हुन्छ। बेलुका जुमका माध्यमबाट संस्कृतको महत्वलाई लिएर विद्वान्हरूका बीचमा विचार गोष्ठी हुन्छ।

त्यसैगरी रेडियो नेपाल, नेपाल टेलिभिजन, पत्रपत्रिकालगायतका विभिन्न सञ्चार माध्यममा लेखरचना, विचार, छलफल, गोष्ठीजस्ता कार्यक्रम गरिराखेका छौँ। दिवसका दिनमा स्कुलहरूका बीचमा सांस्कृतिक हाजिरीजवाफ प्रतियोगिता गर्छौं। दिवसकै सन्दर्भमा असार ३ गते संस्कृत कविता गोष्ठी पनि गर्दै छौँ। यसरी ‘जयतु संस्कृतम्’ दिवसलाई सार्थक एवम् प्राज्ञिक दिवस बनाउने हाम्रो योजना छ।

अब एकछिन व्यक्तिगत कुरा गर्न मन लाग्यो। तपाईं अहिले ‘जयतु संस्कृतम्’ को अध्यक्ष हुनुहुन्छ। तपाईंले प्रायः सबै पुराणहरूको नेपालीमा अनुवाद गरिसक्नुभयो भन्ने सुनेका छौँ। यसबारेमा स्पष्ट पारिदिनुस् न।

हो, म व्यक्तिगत रूपमा पनि संस्कृत वाङ्मयको संवर्द्धनमा लागिपरेको छु। ‘जयतु संस्कृतम्’ को अध्यक्ष भएपछि यसको उद्देश्य पूरा गर्नका लागि लागिपर्ने कुरा स्वाभाविक पनि रह्यो। मैले १८ वटा महापुराणलाई नेपालीमा अनुवाद गरिसकेँ। शिवपुराणलाई त अङ्ग्रेजीमा पनि अनुवाद गरेको छु। भर्खरै शिवपुराणको नेपाली र अंग्रेजी अनुवाद सगरमाथाको चुचुरोबाट लोकार्पणसमेत भएका छन्। अब स्कन्द महापुराण प्रकाशन गर्न मात्र बाँकी छ। यो काम पनि छिटै सम्पन्न हुन्छ। 

प्रकाशित: २८ जेष्ठ २०७९ ०५:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App