३ जेष्ठ २०७८ सोमबार
अन्तर्वार्ता

नेपाल–पाकिस्तानबीच न्यानो र मैत्रीपूर्ण सम्बन्ध छ

नोभेम्बर २०२० मा सैयद हैदर साह नेपालका लागि पाकिस्तानी राजदूत नियुक्त भएर नेपाल आएका हुन्। काठमाडौं आउनुभन्दा पहिले उनी नयाँ दिल्लीका लागि पाकिस्तानका कार्यवाहक उच्चायुक्तका रूपमा कार्यरत थिए। नागरिकले राजदूत साहसँग दुई पक्षीय विविध विषयमा अन्तर्वार्ता गरेको छ। प्रस्तुत छ, सोही अन्तर्वार्ताको सम्पादित अंश:

नेपाल आएको केही समय मात्र भएको छ। नेपाल र यहाँका नागरिकप्रति सुरुवाती धारणा कस्तो रह्यो ?

नेपाल र यहाँका नागरिकका विषयमा मेरो धारणा सकारात्मक र उत्साहजनक रह्यो। नेपाल प्राकृतिक रूपमा निकै नै सुन्दर छ। प्रकृतिप्रेमीका लागि यो मायाको खजाना नै हो। विशेषगरी प्रकृतिसँग मुग्ध हुनेका लागि। नेपाली जनता शान्तिकामी, मैत्रीभाव र सहयोगी किसिमका छन्। उनीहरू साधारण, विनम्र र दयालु किसिमका छन्।

नेपाल–पाकिस्तान सम्बन्ध अभिवृद्धि गर्न यहाँले मुख्य काम के गर्नुहुन्छ ?

हाम्रा दुई मुलुकबीच न्यानो र मैत्रीपूर्ण सम्बन्ध छ। यो सम्बन्ध हजारौं वर्ष पुरानो हो। पाकिस्तान नेपालसँगको राजनीतिक, सामाजिक–आर्थिक, सांस्कृतिक, रक्षा र जनता तहको सम्बन्धलाई अझ बलियो, घनिष्ठ र व्यापक बनाउन चाहन्छ। दुवै पक्षका बीच भाइचारको भावना छ। हामीले यो सकारात्मक इनर्जीलाई दुई पक्षीय सम्बन्धमा अभ्यास गर्न आवश्यक छ। मानव संशाधन विकास, शिक्षा, स्वास्थ्य, पूवाधार, रक्षा र कनेक्टिभिटीजस्ता क्षेत्रमा सहयोग अभिवृद्धि गरेर दुई पक्षीय सम्बन्धमा थप प्रगति गर्न सकिन्छ। हाम्रो प्राथमिकता उच्चस्तरीय राजनीतिक सम्पर्क, दुई पक्षीय व्यापार विस्तार र सामाजिक–आर्थिक सहयोगको विस्तार हुन सक्छन्। यस्ता कुराले भविष्यमा अन्य क्षेत्रमा पनि दुई पक्षीय सहकार्यलाई बलियो बनाउन सहयोग गर्छ।

व्यापार, कनेक्टिभिटी र दुई पक्षीय सहयोगका अन्य क्षेत्रलाई अघि बढाउन दुई मुलुकहरूले किन सकिरहेका छैनन् ?

म यस मामिलामा धेरै बोल्न चाहन्न। म के विश्वास गर्छु भने दुई देशका नेताहरू व्यापार अभिवृद्धि, कनेक्टिभिटी र सहयोगका विभिन्न क्षेत्रका बारेमा जानकार हुनुहुन्छ। जसरी दुवै मुलुक विकासको फरक फरक चरणमा छन्। त्यसैरी नै हाम्रा फरक फरक प्राथमिकतालाई चुनौतीबिनै एकैसाथ अघि बढाउन सम्भव हुँदैन। म दुवै पक्षको राजनीतिक इच्छाशक्ति र प्रतिबद्धता महत्वपूर्ण हुन्छ भन्ने कुरामा विश्वास गर्छु। नेपाल र पाकिस्तान दुवै बेल्ट एन्ड रोड इनिसिएटिभका अंग हुन्। आशा गरौं, आगामी दिनमा हामीले दुई पक्षीय व्यापार, कनेक्टिभिटीजस्ता पारस्पारिक लाभप्रद उद्देश्यहरूलाई निरन्तर रूपमा अघि बढाउनेछौं।

खेल दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने साझा माध्यम हो। क्रिकेट दुवै देशमा लोकप्रिय छ। हामीले दुई मुलुकका क्रिकेट टिमका बीचमा कसरी सहयोग अभिव्यक्ति गर्न सक्छौं ?

हामी हाम्रा नेपाली समकक्षीसँग सम्पर्कमा छौँ। म क्रिकेट दुई देशको सम्बन्धलाई जोड्ने शक्तिशाली माध्यम हो भन्ने कुरामा सहमत हुन सक्दिनँ। दुवै देशका क्रिकेटका सुभचिन्तकहरूको समान धारणा छ यसले दुई मुलुकलाई निकट बनाएको छ। हामीले खेल र विशेष गरी क्रिकेटका क्षेत्रमा सहयोग अभिवृद्धि गर्न विभन्न सम्भावनाको खोजी गरिरहेका छौँ।

नेपाल, पाकिस्तानजस्ता मुलुकलाई यस क्षेत्रमा ठूला शक्तिकेन्द्रहरू सन्तुलित सम्बन्ध बनाई राख्न र हाम्रो सार्वभौमसत्तालाई अक्षुण्ण राख्न चुनौतीपूर्ण छ। हामीले हाम्रो सार्वभौमिकतालाई बलियो बनाउन र हाम्रो आवाजलाई अन्तर्राष्ट्रिय तहसम्म पुर्‍याउन के गर्नुपर्ला ?

हालको अन्तर्राष्ट्रिय व्यवस्थामा संयुक्त राष्ट्रसंघले एकैसाथ हिँड्न, विश्वव्यापी समस्याका विषयमा छलफलन गर्न सबै मुलुकलाई महत्वपूर्ण मञ्च प्रदान गरेको छ। नेपाल र पाकिस्तान दुवैलाई आफूजस्तै समान धारणा भएका मुलुकसँग समान महत्वका विषयमा सहकार्य गर्न र सँगै काम गर्न अवसर दिएको छ। अन्तर्राष्ट्रिय व्यवस्था गतिशील छ। किनभने, यसले महामारी देखि साइबर सुरक्षा, जलवायु परिवर्तनदेखि प्रविधिजस्ता चुनौतीहरूको सामना गरिरहेको छ।  

युएनले क्षेत्रीय सहयोगको दृष्टिकोणलाई पनि प्रोत्साहन गर्छ। नेपाल र पाकिस्तानले युएन र बहुपक्षीय र क्षेत्रीय मञ्चहरूलाई संयुक्त राष्ट्रसंघीय व्यवस्थाको सिद्धान्तमा रहेर फाइदा लिन सक्छन्। हाम्रा दुई मुलुकहरूले एकअर्कालाई अन्तर्राष्ट्रिय मञ्चमा सहयोग गर्दै आएका छन्। आगामी दिनमा पनि हामीले साझा उद्देश्य प्राप्तिका लागि आपसी सहकार्यलाई अझ घनीभूत बनाउन सक्छौं।

नेपाल र पाकिस्तानले एक अर्काका देशका पर्यटक भित्र्याउन के गर्नुपर्ला ?

प्रकृति पर्यटनदेखि हिमालय पर्यटन हुँदै धार्मिक पर्यटनका हिसाबले नेपाल र पाकिस्तान दुवै ठूलो पर्यटकीय सम्भावना बोकेका मुलुक हुन्। दुवै पक्ष पर्यटकीय क्षेत्रको सहकार्यलाई घनीभूत बनाउने माध्यमको खोजी प्रक्रियामा छन्। जुन हाम्रो अर्थतन्त्रको महत्वपूर्ण योगदान गर्ने क्षेत्र पनि हो। पाकिस्तानले यसको भिसा प्रक्रियालाई पनि सरलीकृत गर्दैछ। आशा गरौँ, यसले नेपालबाट ठूलो मात्रामा पाकिस्तनमा पर्यटक जान प्रोत्साहन गर्नेछ। दुवै देशमा यात्रा गर्नेहरूलाई सुविधा र सहज प्रक्रिया बनाउने, सही सूचनाको सम्प्रेषण गर्ने तथा व्यवस्थापकीय कुरामा ध्यादन दिन सकेन दुवैतर्फको पर्यटन प्रवद्र्धन हुन सक्छ।

दुई मुलुकका बीचमा उच्च शिक्षासम्बन्धी सहकार्यका पर्याप्त अवसरहरू पनि छन्। त्यसका लागि यहाँको भूमिका के हुन सक्छ ?

हामी विभिन्न तरिकाले दुई देशका बीचमा उच्च शिक्षासम्बन्धी सहकार्यलाई अघि बढाइसकेका छौँ। नेपाली विद्यार्थीहरूलाई शैक्षिक सहायतलाई थप व्यवस्थित बनाउने प्रक्रिया चलिरहेको छ। दुवै मुलुक उच्च भूकम्पीय जोखिमको क्षेत्रमा छन्। २०१५ को भूकम्पपछि केही तहको सहयोग पनि भएको थियो। दुई मुलुकले यसमा कसरी काम गर्न सक्छन् ? विशेष गरी पूर्वतयारी र पुनर्निर्माणको प्रयासका क्षेत्रमा।

हाम्रो विश्व भूकम्पलगायत प्राकृतिक प्रकोपतर्फ उन्मुख छ। पाकिस्तान र नेपाल प्राकृतिक विपत्तिको जोखिममा छन्। मलाई के लाग्छ भने हाम्रा प्रकोप व्यवस्थापन निकायबीच सहयोग तथा सूचना आदान प्रदान तथा अनुभव साटासाट गर्न आवश्यक देखिन्छ। त्यस्ता किसिमका संयन्त्रहरू मार्फत यस्ता काम भइसकेका छन्। दुई मुलुकका बीचमा पुनर्निर्माण, पुनःस्थापना प्रयासलगायतबारे पनि अनुभव साट्न सकिन्छ।

तपाईं आफ्ना कार्यकालमा नेपालका कुन ठाउँमा भ्रमण गर्न उत्साहित हुनुहुन्छ ?

यसको धेरै लामो सूची छ। अहिलेलाई यति भनूँ, अबको यात्रा पोखरा र लुम्बिनीमा हुन्छ।

तपाईंको कार्यकालमा दुई मुलुकका बीचमा उच्चस्तरीय भ्रमण हुने सम्भावना छ ?

मैले पहिले पनि भनिसकेको छु, उच्चस्तरीय भ्रमण प्राथमिकतामा छ। कोभिड–१९ महामारीले अन्तर्राष्ट्रिय यात्रा र उच्चस्तरीय दुई पक्षीय भ्रमणलाई पनि असर गरिरहेको छ। आसा गरौं, कोभिड महामारी आगामी महिनामा सुधार हुनेछ र उच्चस्तरीय सम्पर्कमा सहजता हुनेछ।

प्रकाशित: १७ वैशाख २०७८ ०८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?