६ वैशाख २०७८ सोमबार
अन्तर्वार्ता

'अहिले जग मात्रै बसाल्यौ, परिणाम केही समयपछि देखिन्छ’

अजिरकोट गाउँपालिका अध्यक्ष फडिन्द्र धिताल । तस्विर : नागरिक

गोरखाको ११ वटा स्थानीयतह उच्च पहाडी भेगमा पर्ने अजिरकोट गाउँपालिका एउटा हो । छिमेकी जिल्ला लमजुङसँग सिमाना जोडिएको उक्त गाउँपालिकको सबै वडामा कच्ची सडक पुगेको छ भने गाउँपालिको केन्द्र भच्चेकलाई मात्र कालोपत्रे सडकले छोएको छ । गाउँपालिकामा पाँचवटा वडा मात्रै छन् । भौगोलिक विकटताका कारण गाउँपालिका भित्र पूर्वाधार बिकासमा बजेट अभाव हुने गरेको जनप्रनिधिको गुनासो छ । स्थानीयतहको निर्वाचन अघि र अहिले गाउँपालिकामा के फरक भएको छ त ? यसै विषयमा नागरिकर्मी नरहरि सापकोटाले अजिरकोट गाउँपालिकाका अध्यक्ष फडिन्द्र धितालसँग गरेको कुराकानी : 

अध्यक्ष हुनु अघि र अहिले गाउँपालिकामा के परिर्वतन भएको छ ?

पहिले विना योजना काम हुन्थ्यो । अहिले सानातिना कामकै लागि भएपनि योजना बनाएर काम गर्ने गरेका छौं । सदरमुकामबाट भच्चेक हुँदै सिरानडाँडासम्म सडक कालोपत्रे भएको छ । वडाकार्यालय सम्म सडक थिएन । अहिले कच्ची सडकले जोडेका छौं । चनौटे–मुच्चोक–ढिस्का हुँदै भच्चेक–खरिबोट–लप्सीबोटबाट लमजुङको बिचौर जोड्ने २५ किलोमिटर सडक कालोपत्रे गर्न बाटोको सर्भे भईरहेको छ । एकघर एकधाराको कामका लागि तयारी अघि बढिरहेको छ । वडा नम्बर १, २ र ३ मा वडा कार्यालय भवन बनायौं । गाउँपालिकाले आफ्नै भबनबाट सेवा दिईरहेको छ । सामुदायिक भवनहरु बनाएका छौं । स्थानीयतहमा पदाधिकारी आएपछि विकासले गती लिईरहेको छ ।  

प्राथमिकता कस्ता योजनालाई दिनुभएको छ ?

बजेट त पूर्वाधारतर्फ नै बढी जाने रहेछ । तर हामीले ३५ लाख रुपैयाँ यो वर्ष कृषिमा छुट्याएका छौं । आवश्यकता धेरै हुँदा सबै काम गर्न सकिएको छैन । ठुला काममा संघ र प्रदेशको सहयोग चाहिन्छ । अन्य कामका लागि अहिले गाउँपालिकासँग भएको बजेट नै प्रर्याप्त छ जस्तो लाग्छ । पर्यटन र जडिबुटी प्रशोधन गर्ने जस्ता काममा माथिल्लो निकायको सहयोग चाहिन्छ । गाउँ विकासका अन्य काम गर्न अहिले भएको बजेट नै राम्रोसँग कार्यन्वयन गर्दा अभाव हुँदैन ।  

अहिले गाउँपालिकाबासीका लागि ट्ड्कारो आवश्यकता के हो ? 

बजेट कार्यन्वयनको चुनौती प्रमुख समस्या हो । कामका लागि बजेट नभएपछि कार्यन्वयन र ब्यवस्थापन कसरी गर्ने भन्ने चाँही समस्या बनेको छ । डोजर लगाउने पहिरो खसाल्ने, पहिरो जान्छ फेरी गाउँपालिकाबाट बजेट खोज्ने, खानेपानी आयोजना बिग्रिन्छ फेरी त्यही कामको लागि बजेट खोज्ने प्रवृत्ति रोक्नुपर्छ । हचुवाको भरमा बजेट बिनियोजन गर्नु हुँदैन । प्रदेश र संघले बिनियोजन गर्ने बजेट गाउँपालिकाले प्राथमिकता तोकेको क्षेत्रमा मात्रै खर्च गर्नुपर्ने भनेर हामीले गाउँ सभाबाट निर्णय गरेका छौं । एउटै बाटोमा गाउँपालिका र प्रदेशले बजेट राखेर दोहोरोपन भएको देखिन्छ । आर्थिक वर्षको अन्त्यमा बजेट आएको हुन्छ हतारमा काम गर्ने परिपाटी छ । यसले दिगो बिकासमा समस्या हुन्छ । आवश्यकता र औचित्यका आधारमा बजेट बाँडफाँड हुन सक्यो भने मात्रै काम हुन्छ ।  

शिक्षा र स्वास्थ्यका क्षेत्रमा कस्ता काम भएका छन् ?

स्वास्थ्यमा जनशक्ति कम छन् । समायोजन भएर कर्मचारी अन्यत्र गएपछि करारका कर्मचारीबाट स्वास्थ्यको काम चलाउनुपरेको छ । गाउँपालिकाको खर्चमा ल्याब टेक्निसियन र डाक्टर राखेका छौं । शिक्षा तर्फ हामीले दरबन्दी मिलान गर्ने क्रममा छौं । प्रस्तावित माध्यामिक तहमा शिक्षक अभाव छ । एक–एक जना शिक्षक गाउँपालिकाले उपलब्ध गराएको छ । छात्रवृत्ती दिने, शैक्षिक सामाग्री सहयोग गर्ने गरेका छौं । स्थानीय भाषाको पाठ्यक्रम लागु गर्ने अन्तिम तयारीमा छौं । विद्यालयका कार्यलय सहयोगीको न्यून पारिश्रमिक भएकाले थप गरिदिएका छौं । बाल कक्षामा पढाउने शिक्षकहरुलाई पनि तबल सुविधा बढाईदिएका छौं ।  

कृषिमा कत्तिको सम्भावना देख्नुहुन्छ ?

कृषिलाई अर्गानिकिकरण गर्ने र अर्गानिक अजिरकोट बनाउने निर्णय गरेका छौं । हाम्रोमा यहाँ कृषिजन्य उत्पादन राम्रो छ । त्यो अर्गानिक बनाउँदा मात्रै बजार पाउने भयौं, नभए भारतीय उत्पादनसँग प्रतिश्पर्धा गर्न नसक्ने भईयो । रैथानेजाती बाघमारे, आलु,  झिनुवा, अनदी जस्ता रैथाने जातका अन्न लोप हुनथाले । सिरानडाँडाको आलु अत्याधिक मिठो र प्रख्यात छ । रैथाने जाती र अर्गानिक बनाएर उपभोक्ताकोस्वाद सँग जोडेर आम्दानीको स्रोत बढाउन सकिन्छ भन्ने हो । अर्गानिकलाई मलको बिकल्प भनेको हाम्रो माथिल्लो भेगमा गोठ छ । हामीले भकारो सुधार कार्यक्रममा सहयोग गरेर कम्पोस्ट मल बनाउन प्रेरित गरेका छौं । बस्तु नपाल्नेले पनि कम्पोस्ट मल किन्न पाउँछन् । कृषिमा कर्मचारी अभाव छ । भेटेरनरी डाक्टर, कृषि अधिकृत, करारबाटै भएपनि हरेक वडामा जेटिए भर्ना गर्नुपरेको छ ।  

रोजगारी सिर्जना गर्न कस्ता खालका योजना बनाउनु भएको छ ?

विदेश गएर युवा जे काम गर्न पनि तयार हुने तर यहाँ व्यवसायिक हुन इच्छा नगर्ने प्रवृत्ति छ । गाउँ फर्क युवा अभियान चलाएका छौं । गाउँपालिकाले २५ लाख रुपैयाँ छुट्याएको छ । बिदेश गएर फर्केकालाई अनुदान, सहुलियत ऋण दिएर व्यवसायिक बनाउने योजना  संचालन भईरहेको छ । लामो समय खेती नगरी बाँझो बारी, खेतमा खेती लगाउन चाहनेलाई अनुदान दिएका छौं । पशुपालनमा पनि सहयोग गरिएको छ । रोजगार सिर्जना गर्नका लागि कार्यक्रम राखेका छौं ।  

पर्यटनको अवसर कत्तिको छ ?

नागेपोखरी दुधपोखरी, नारदपोखरी जाने पदमार्गको विकास गरेका छौं । नागेपोखरी आफैंमा भ्यू टावर हो । अहिले नागेपोखरी जानेहरु बढेका छन् । आन्तरिक पर्यटन प्रवद्र्धनमा सोचेका छौ । धार्मिक तथा पर्यटकीय पूर्वाधारका लागि भुमेथान मन्दिर निर्माण भएको छ ।  

भावी योजना के छ ?  

पाँचवर्ष भनेको कर्मचारी अभाव, हामीले पनि काम नजान्ने, कर्मचारी आउँदा नयाँ आउने भएकाले काम सिक्ने समय लाग्ने भयो । अहिले खासै त्यती धेरै केही गर्न सकिएको छैन । अहिले हामीले जग मात्रै बसाएका छौं, अहिले बसालेको जगको परिणाम केही समयपछि देखिन्छ । सबै गाउँपालिका जग बनाउने क्रममै छन् जस्तो लाग्छ । जग भनेको योजना ‘प्लानिङ’ हो । यसको आधार तयार गर्दैछौं । 

प्रकाशित: ५ चैत्र २०७७ १२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?