हिमाल भनेको सानोतिनो कुरा होइन। सोचेभन्दा रोमाञ्चक रह्यो। प्रविधि, स्वास्थ्य र शारीरिक रुपले अनुकूल हुनुपर्यो। मौसम पनि उपयुक्त हुनुपर्यो ।
शिखरमा पुगेपछि तपाईंले सबभन्दा पहिले कसलाई सम्झनुभयो?
सगरमाथा चढ्न चारवटा क्याम्प पार गर्नुपर्छ, हरेक क्याम्प पार गर्दा भगवानलाई सम्झन्थेँ। चुचुरोमा पुगेपछि मैले मम्मी ड्याडीलाई सम्झेँ। मेरो १६ वर्षदेखिको सपना पूरा भएको छ।
चुचुरोमा कति समय रहनुभयो?
करिब २० मिनेट सम्म।
चुचुरोमा पुग्दा के महसुस भयो?
क्याम्प चारबाट हामी राति चुचुरोतर्फ लाग्यौँ। बिहान सवा ७ बजे म चुचुरोमा पुगेँ। बाटोमा बिस्तारै सूर्योदय हुँदै जाँदाको दृश्य आफ्नैजस्तो लाग्ने। स्वर्ग छ या छैन थाहा छैन, तर म चाहिँ स्वर्गै पुगेर फर्केको महसुस गर्दैछु।
स्वास्थ्यमा खराबी आएन?
जति माथि गयो, त्यति लेक लाग्ने भएकोले एकदमै ख्याल गर्नुपर्थ्यो। हिप र हिप भन्ने दुइटा रोग हुँदोरहेछ। हिप लाग्यो भने मान्छे आधी घन्टामै जान्छ। त्यो कहिले लाग्छ के हुन्छ थाहा पनि हुँदैन। सँगै खाको र सँगै उठेको साथीहरुको मृत्यु हुँदा निकै दुःख लाग्यो। सगरमाथा चढ्न गाह्रो, चुचुरोमा बस्न झन् गाह्रो, फेदसम्म ओर्लन झनै गाह्रो भयो।
तपाईको यात्रा अलिकति विवादित बन्यो नि?
विवाद भनेको दुई पक्षमा हुनुपर्छ। म आधार शिविरमा पुग्दा यो विषयमा कसैले प्रश्न गरेनन्। मलाई सगरमाथा चढाउन सहयोग गर्ने व्यक्तिहरुलाई पनि सोधेको भए हुन्थ्यो। मसँग वैधानिक कागजपत्रहरु छन्। मैले सबै कागजपत्र काठमाडौँबाट तयार गरेर आएकी थिएँ। यदि अवैधानिक थियो भने, म रोक्किनुपर्थ्यो। त्यसकारण यो हल्लाको पछाडि नलाग्न मेरो आग्रह छ।
समाचार तपाईहरुलाई नसोधी एकतर्फी आयो हो?
हामी हाम्रो ज्यान नै दाउमा राखेर गएका थियौँ। अझ सगरमाथाको ८ हजारभन्दा माथिको क्षेत्र त डेथ जोन नै हो। त्यस्तो कष्टकर अवस्थामा गलत समाचार आउँदा हामीलाई एकदम दुःख लाग्यो। म काठमाडौं पुगेर सबै पत्रकारसँग राम्ररी कुरा गर्छु।
तपाई त आरोहीका रुपमा नभई आरोहण सहयोगीका रुपमा हिमाल चढेर आउनु भएको होइन र?
दुवै तरिकाले चढ्न सकिन्थ्यो तर मैले आरोहीको अनुमति लिन खोज्दा भर्खरै मन्त्रिमण्डल गठन हुँदै थियो र मैले प्रक्रिया चाँडो नसक्ने बुझेर सपोर्टरको रुपमा गएकी हुँ। म कसरी कुन रुपमा चढौँ त्यो त मेरो व्यक्तिगत विषय हो नि। अरुलाई आपत्ति नहुनु पर्ने हो नि।
आरोहीमा जानु र आरोहण सहयोगीको रुपमा चढ्नु त आकाश–पातालको फरक हो नि, होइन र?
किन र? आरोही र आरोहण सहयोगीको रुपमा सगरमाथा चढ्दा सगरमाथाको हाइट घट्छ र? मलाई जुन रुपमा गए पनि म आफू सन्तुष्ट छु।
तपाईं पैसाको लोभले सहयोगीको रुपमा जाँदा इज्जत र अवसर दुइटै गुम्यो भन्छन् सबैले?
रोयल्टीको कुरा गर्नु भएको होला। नेपाली कसैले पनि रोयल्टी तिर्नु पर्दैन र सबैको मिनाहा हुँदै आएको छ। जनतामाझ हामीलाई झुटो साबित गराउने प्रयास भएको हो।
चुचुरोमा फेरिफेरि आउँ जस्तो लाग्यो कि लागेन? फेरि सगरमाथा चढ्नुहुन्छ?
त्यस्तो कुनै सोच बनाएकी छैन। अब पहिलोपटक सफलता हात लिएकी छु। भविष्यमा के हुन्छ। त्यो भोलिका दिनले नै बताउँछ।
प्रकाशित: ९ जेष्ठ २०७० २०:५८ बिहीबार





