पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा नेपालको राजनीतिमा लामो समयदेखि सक्रिय हुनुहुन्छ। २००१ सालको क्रान्तिपछि उहाँ विभिन्न सल्लाहकार सभाका सदस्य हुनुहुन्थ्यो। २०१७ साल पुस १ गते राजा महेन्द्रले संसदीय व्यवस्था अन्त्य गरेर निर्दलीय पञ्चायत व्यवस्था स्थापना गरेपछि उहाँले राजालाई सघाउनुभएको थियो।
राजनीतिक व्यवस्था जस्तोसुकै भए पनि सूर्यबहादुर थापाले उदारवादी राजनीतिक अवधारणालाई सधैँ आफ्नो प्राथमिकतामा राख्नुभयो। २०३६ सालको जनमत संग्रहअघि नै थापाले नेपालमा चलिरहेको राजदरबार र सिंहदरबारको द्वैध शासन अन्त्य हुनुपर्ने माग गर्नुभएको थियो। २०३६ सालको जनमत संग्रहलाई निर्दलीय पञ्चायतको पक्षमा ल्याउन साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेर चर्चाको शिखरमा रहनुभएका थापाले तत्कालीन राजा वीरेन्द्रसँग समन्वय स्थापित गर्न सक्नुभएन। राष्ट्रिय पञ्चायतमा उहाँका विरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा नाटकीयरुपले उहाँ पराजित हुनुभयो। प्रजातन्त्र पुनर्स्थापनापछि नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री हुनुभएका थापा ज्ञानेन्द्रको शासनकालमा पनि प्रधानमन्त्री हुनुभएको थियो। छर-छिमेकका राजनीतिमा सुझबुझपूर्ण समझदारी राख्नुहुने थापा नेपालका केही परिपक्व राजनीतिज्ञमध्ये एक हुनुहुन्छ। समसामयिक राजनीतिमा उहाँका विचारले निकै गहिरो र सांकेतिक अर्थ राख्छन्। जटिल हुँदै गएको वर्तमान राजनीतिबारे थापासँग किशोर नेपालको अन्तर्वार्ता :
• लामो समयदेखि नेपाली राजनीतिलाई तपाईंले अलग दृष्टिकोणबाट हेर्दै आउनुभएको छ। तपाईंको भविष्यवाणी सटिक हुन्छ। अहिलेको स्थितिमा हाम्रो राजनीतिक भविष्य कस्तो देख्नुहुन्छ?
योभन्दा पछाडिको समय बितिसक्यो। अहिलेको समय निर्णयात्मक छ। यदि तत्कालै दलहरू मिलेर सरकार बनाउन सके, निर्णय गर्न सके भने आगामी वैशाख/जेठमा चुनाव हुने निश्चित छ। निर्वाचन नै अहिलेको निर्णयको केन्द्रबिन्दु हुनुपर्छ। अहिले यो दश/पन्ध्र दिनमै निर्णय हुन सकेन भनेचाहिँ निर्वाचन हुँदैन। त्यहाँपछाडि देश अनिश्चिततातर्फ जान्छ। पहिलो कुरा यो हो।
दोस्रो कुरा भनेको विषयगत समस्या छन्। विषयगत समस्यालाई थाँती राखेर निर्वाचनमा जानुभन्दा त्यसमा पनि सहमति गरेर गयो भने राम्रो हुन्छ। त्यो निर्वाचन नेपालको लागि अत्यन्तै उत्पादक हुन्थ्यो किनभने त्यहाँ गएर संविधान पाएको अवस्था हुन्थ्यो।
• संविधान सभाको निर्वाचन गर्ने भनेर हामी भन्छौँ। संविधानमा सहमति गरेर फेरि संविधान सभाको चुनावमा जानुको त कुनै अर्थ रहँदैन नि?
रहँदैन। त्यो त रहँदैन। तर एउटा कुरा के भने त्यत्रो व्यापक समझदारी हुन सक्छ, सक्दैन म भन्न सक्दिन। हुने लक्षण पनि देखिँदैन। तर समझदारी भएर प्राविधिक कारणले संविधान सभाले निर्णय गर्न पाएन, सर्वोच्चले पनि दिएन। त्यसैले सहमति भए पनि जानुपर्योस त कहाँ भनेदेखि जनतामा। विधिवत निर्णय त्यहाँ हुनुपर्यो । समझदारी भएर सबै कुरा सकेर सार्वजनिकरुपमा घोषणा नै गरेर हामीले यति समझदारी गर्यौँप भनेर, त्यो स्थितिमा चुनावमा गयो भने नेपालमा नयाँ लहर आउने थियो। चुनावमा जाँदा कमसेकम झगडा लिएर जानुपर्दैन थियो। नयाँ नयाँ कुराहरू लिएर जनतामाझ जाने स्थिति बन्थ्यो। त्यो नेपालका लागि सुन्दर हुन्थ्यो। त्यहाँबाट नेपालको संविधान जारी हुन्थ्यो र त्यो संसदमा परिणत हुन्थ्यो। गर्नुपर्ने पनि त्यही हो। अहिलेकै अवस्थामा चुनावमा जाँदा नयाँ परिकल्पना त केही पनि गर्न सकिन्न। पहिलाकै विवाद टुंग्याउनमै ध्यान जान्छ।
• त्यसो भए अप्रत्यक्षरुपमा तपाईं संविधान सभाको पक्षमा हुनुहुन्छ?
म व्यक्तिगतरुपमा चाहिँ संविधान सभा ब्युँताउनुहुँदैन नै भन्छु। तर यदि दलहरू मिलेर संविधान सभा पुनर्स्थापना हुनुअघि नै सबै थाँती रहेका विषयमा सहमति गर्न सक्छन् र पाँच/दश दिनमै घोषणा गर्न सक्छन् भने झमेला सकेकै राम्रो हुन्छ।
• तपाईंले संवैधानिक विकास प्रक्रियामा ठूलो योगदान दिनुभएको छ। अहिले आएर नयाँ नेपालको संविधानलाई झमेला भन्नुभएको छ। यसको कारण के हो?
मैले त्यसलाई झमेला किन भनेको भने आउने निर्वाचनका लागि त्यो झमेला नै हो। जुन अवस्थामा हामी चुनावमा जाँदैछौँ, त्यो झमेला बोकेर नै जान लागेका छौँ। पुरानो झगडा जति छ, त्यसलाई यहीँ अन्त गरेर जानुपर्ने। नेताहरूले नयाँ परिकल्पना गर्नुपर्ने ठाउँमा त्यहीँ झगडा बोकेर जनताको अगाडि जानुपर्ने भयो। अहिलेसम्म त यो झगडा यहीँ सीमित थियो, कहिलेकाहीँ सर्वोच्चमा पुग्थ्यो। अब त जनताकहाँ पुग्ने भयो। न्यायाधीश जनता हुने भए। जनताले नयाँ नेपालको कुरा त सुन्नै नपाउने भए। यही झगडाकै कुरामा अल्भि्कनुपर्ने भयो।
• संविधानको कुरा गर्दा दलहरूबीच संघीयताकै कुरामा सहमति भइरहेको छैन। कसैलाई नरमखालको संघीयता चाहिएको छ, कसैलाई जातीय संघीयता चाहिएको छ। जनता यसैमा कन्फु्यज्ड छन्। दलहरू पनि आफैँमा स्पष्ट छैनन्। यो अवस्थामा संविधान निर्माण कतिको सहज हुन्छ जस्तो लाग्छ?
सहज नभई त हुँदै भएन। यसलाई असहज जनताले बनाएका होइनन्। यो नेतृत्व वर्गबीचको वैचारिक द्वन्द्व हो। त्यसकारण यसलाई अन्त्य नगरी हुँदैन। नेपालको इतिहास केलाउँदै आउँदा एकात्मक राज्य खडा भएपछि यसलाई खण्ड खण्डमा बाँडेर प्रशासन व्यवस्था हेर्दै आइएको एउटा कुरा भयो। पञ्चायतकालमा चौध अञ्चल पचहत्तर जिल्लाका संवैधानिक हिसावमै विभाजन भएको थियो। त्यो कुनै हठेत निर्णय थिएन। विभिन्न काल खण्डदेखि हुँदै आएको व्यवस्थालाई संस्थागत गर्ने प्रयत्नमात्र थियो। अहिले आएर संघीयताको कुरा आएको छ। कसैको विचार यो सानो मुलुकमा त्यो खपत हुन सक्दैन भन्ने पनि छ। तर यसलाई नौलो मान्नुहुँदैन। प्रशासनिक हिसाबमा पनि विभाजन हुँदै आएको त पहिलेदेखि नै हो। यो नेपालीले अनुभव गरेकै कुरा हो। अन्तर केवल यतिमात्र हो कि पहिला जातीय, भौगोलिक दृष्टिकोणले हेरिएको थिएन। सामरिक दृष्टिकोणले मात्र हेरिएको थियो। अब को-को, कुन-कुन जाति कहाँ बसेका छन् हेर्नुपर्ने हुन्छ। ती जातिहरूमा पनि त्यसको आकांक्षा बढेर गएको छ।
• तपाईंले जुन भन्नुभयो सामरिक भनेर, सामरिक कुराले जातीय कुरासँग मेल खान्छ त?
खाँदैन भन्ने कुरा होइन। खुवाउनुपर्योन। त्यस बेलाको र अहिलेको परिस्थिति तुलना गर्नु नै हुँदैन। त्यतिबेला यो प्रश्न उठेकै थिएन। अब जनताले पनि हामीलाई यस्तो कुराको व्यवस्था होस् भनेर मागिसकेको अवस्थामा सामरिक, आर्थिक, जातीय, भौगोलिक, अरु के के छ सबैलाई मिलाएर लानुपर्छ। मिल्दैन भन्ने होइन, मिल्न सक्छ।
• अहिलेको परिस्थिति के देख्नुभएको छ? प्रम डा. बाबुराम भट्टराईको सरकार र दलबीचको असहमति र बढ्दै गएको राजनीतिक रिक्तता...।
बढ्दै गएको राजनीतिक रिक्तताबारे म के भन्छु भने यो दलहरूका नेतृत्व वर्गले पैदा गरेको कुरा हो। त्यो रिक्तता भएर समस्या जन्मेर आएको होइन। निर्णय लिनुपर्ने शक्तिको कमजोरीका कारण जन्मिएको कुरा हो जस्तो मलाई लाग्छ। अहिले पनि निर्णय गर्न सकिएन भने समस्या थपिन्छन्। अहिले नदेखिएको कुरा पनि देखा पर्न थाल्छन् र अफ्ठ्यारो हुँदै जान्छ। त्यसकारणले राजनीतिक वृत्तमै र नेतृत्व वर्गको बीचबाट नै यी समस्या हल गर्नुपर्छ। यो कठिन अवस्थाको सृजना दलले भन्दा पनि नेतृत्व वर्गले गरेको हो। दल पनि पृष्ठभूमिमै छ। यो नेतृत्वकै काम हो।
• माओवादी नेताहरूलाई संकेत गर्नुभएको हो?
हेर्नूस्, अब यसमा सम्पूर्ण दोष माओवादीलाई मात्र थुपारेर पनि हुँदैन। यस्तो कुरा भन्दा पूर्वाग्रही नभई भन्नुपर्ने हुन्छ। यसमा प्रमुख हातचाहिँ माओवादीकै छ। त्यसमा अरुको पनि हात छ। अरुको पनि संलग्नता त्यत्तिकै मात्रामा छ। माओवादीबाट किन यस्तो भयो त भन्ने प्रश्न उठ्छ। यही समाजबाटै आएकाहरू हुन्, नेपाली नै हुन्। फेरि यस्तो किन त? भन्ने प्रश्न आउँछ। यसमा के छ भने अरु दल एक पृष्ठभूमिमा अगाडि बढ्दै आए। राजनीतिक संघर्ष गरेर आए। माओवादी लडाइँ गरेर आयो। हतियार लिएर आयो। ऊ सामरिक संघर्ष, लडाइँबाट आयो। त्यो बेलाको मनोगत भावना अझै छ। त्यो बेलाको आकांक्षा अझै छ। जुन किसिमको राजनीतिक वातावरणको परिकल्पना गरेर आएको थियो, त्यो यथार्थमा बैग्लै भइदियो। यहाँ आएर त्योसँग व्यवहार गर्दा र तलमेल मिलाएर अघि बढ्न उसलाई असजिलो भइरहेको छ।
• अहिले पनि त्यो असजिलो छ?
छ। त्यो असजिलो छ। धेरै त मेल भएर आएको छ। सुझबुझ भएर मेल हुने क्रममा छ। तर माओवादीमा लडाइँको ह्याङओभर अझै बाँकी छ। त्यही कुरा अहिले कठिन भइरहेको छ। उनीहरू जुन पृष्ठभूमिबाट आए, त्यो मनोगत भावनाकै अपज हो यो।
• अहिले बहसमा आएको कुरा भनेको डा. बाबुरामको सरकारकै बारेमा छ। काँग्रेसले उहाँको सरकारमा हामी जाँदैनाँै, सहमति हुँदैन भनेर स्पष्ट पारिसकेको छ। र, एमालेको पनि त्यस्तै धारणा छ। तपाईं पनि प्रजातान्त्रिक विचारधाराकै मान्छे। मंसिर ७ गते चुनाव गराउन नसकेपछि यो सरकारको औचित्य सकियो जस्तो लाग्छ कि बाँकी छ जस्तो लाग्छ?
अब यसो, माओवादी जस्तो सरकारमा बसेर, डा. भट्टराई जस्तो व्यक्तित्व। उहाँलाई साधारण व्यक्तित्व भन्नुहुँदैन। उहाँ नेपाली राजनीतिको प्रमुख व्यक्तित्वमध्ये नै पर्नुहुन्छ। डा.भट्टराई र उहाँको सरकारले मंसिर ७ गते निर्वाचनको घोषणा गर्यो्। अब निर्वाचन गराउने भनेको कसैको कल्पनाले मात्र हुने कुरा होइन। त्यो राजनीतिक परिस्थित, समय, अन्य कुरासँग पनि सम्बन्ध भएको कुरा हो। सुझबुझ भएको, पढेलेखेको विद्वान् प्रधानमन्त्रीले समय तोक्दाखेरी यो सबैको परिकल्पना गरेरै तोकेको मान्नुपर्छ। त्यसबेला पनि हुँदैन भनेर त दलले भनेका थिए। जे होस्, उहाँले सोचेका कुरा वास्तविकतासँग मेल खाएन। उहाँले चुनावको समय तोक्दाखेरी यी कुनै पनि कुराको ख्याल नगरी हठातरुपमा, व्यक्तिगत लहडमा, पार्टीको लहडमा गरेको निर्णय जस्तो देखियो। तपाईं हामीले पनि आफ्नो ठाउँमा लहडमा निर्णय गर्नुहुँदैन। हामीले गरिहाल्यौँ भने पनि एकपटकलाई तपाईँ हामीलाई क्षम्य होला। तर मुलुकको प्रधानमन्त्रीले निर्वाचन जस्तो समय तोक्दाखेरी लहड र सनकको भर गर्दा ठूलो क्षति हुन्छ। त्यो असाधारण कुरा हो। यसले के देखाउँछ भनेदेखि उहाँमा त्यो प्रधानमन्त्री चलाउने क्षमता नै छैन। यसले सावित गर्यो।। उहाँ फेल हुनुभयो।
• त्यसो भए फेल भएको प्रधानमन्त्री कहिलेसम्म कामचलाउ भइरहने?
उहाँले नै मान्नुपर्छ म फेल भएँ भनेर। अरुलाई लहड गर्ने, एडभेन्चर गर्ने छुट हुन्छ। तर मुलुकको प्रभानमन्त्रीले लहड गर्न पनि पाउँदैन, एडभेन्चर गर्न पनि पाउँदैन। कुनै पनि हालतमा सही निर्णय लिनुपर्छ। त्यहाँ चुक्यो भने हर कुरामा चुक्छ, त्यो मान्छे।
• प्रम डा. भट्टराई चुकेकै हो?
एकदमै चुकेकै हो। उहाँले ब्लन्डर मिस्टेक गर्नुभएको हो। यो सानोतिनो चुक होइन। एउटा साधारण व्यक्ति गएर प्रधानमन्त्री भएर यो गरेको भएदेखि 'बेनिफिट अफ डाउट' दिन सकिन्थ्यो होला। उसको दिमाग त्योभन्दा बढ्ता थिएन र गर्योर भन्ने हुन्थ्यो। डा. भट्टराईलाई त तपाईं विवेक नै नभएको, बुद्धि नै नभएको भन्न सक्नुहुन्न। त्यसैले उहाँ जस्तो विद्वान्, पढेलेखेको मान्छेलाई त्यो क्षम्य हुँदैन। यस्तो खेलवाड गर्न पाइँदैन। यस्तो गर्न दिनुहुँदैन। यस्तो व्यक्ति आफ्नै विवेकले पनि तत्काल हट्नुपर्दछ। मलाई त लाग्थ्यो- मंसिर सातअगावै उहाँ हट्नुहोला भनेर।
• तपाईंहरूले नै जेठ २६ मा गरेको आमसभामा मंसिर ७ मा चुनाव हुँदैन। यो सरकारलाई गर्न दिँदैनौं भन्नुभएको हैन?
चुनाव हुन सक्दैन भनेर त अरू दलहरूले देखिसकेका थिए। ईश्वर नै आएर चुनाव गराउँछु भने पनि नहुने स्थिति थियो। हामी ईश्वर मान्नेहरूका लागि त ब्रह्मा, विष्णु, महेश्वर नै तल झरे पनि चुनाव नहुने स्थिति थियो। त्यसकारणले विरोधीले त्यो कुरा त औँल्याउने नै भए नि। चुनावलाई नै त बाधा गरेका थिएनन्। त्यो भनाइले कहीँ केही बाधा गरेको त होइन। त्यसकारणले जिम्मेवारीमा बसेको व्यक्ति चुके भने उनलाई क्षमा दिन मिल्दैन। यस्तो ब्लन्डर मिस्टेक गर्ने व्यक्ति पदमा बसिरहे, उसले यो दोहोर्याेइरहन्छ। राष्ट्रलाई त्यसले क्षति पुग्दछ।
• तपाईं मुलुकको शासनको केन्द्रविन्दुमा धेरै समय बस्नुभयो। तपाईंलाई शासन व्यवस्थाको लामो अनुभव छ। हामीकहाँ सरकार बन्दाखेरी बाह्य शक्तिको पनि कुरा आउँछ। स्पष्ट शब्दमा भन्दा डा. भट्टराईलाई भारत सरकारको सहयोग र समर्थन छ भन्छन्। वास्तवमा योभित्रको रहस्य के छ?
त्यो गलत हो। छिमेकी राष्ट्र भएपछि अमेरिकामा चुनाव हुँदा चीनको टाउको दुख्छ। फलानो आयो भने हामीलाई केही सजिलो हुन्छ भन्ने सोच उनीहरूको हुन सक्दछ। उनीहरूलाई असर पर्छ ठाडै। यहाँ कसको सरकार बन्छ भनेर भारतले वा चीनले चासो राख्नु नौलो कुरा होइन। किनकि उनीहरूलाई प्रत्यक्ष असर पर्दछ। उनीहरूले पनि यहाँ फलानोको सरकार भयो भने राम्रो होला भन्ने भावना राख्नै हुँदैन भन्न मिल्दैन। त्यो गलत हुन्छ। जुन राष्ट्र, जहाँ पनि जानूस्, त्यो हुन्छ।
• त्यसैलाई समातेर मुलुकलाई अनिर्णयको बन्दी त बनाउनुहुँदैन नि?
छिमेकी राष्ट्रको भावनालाई ल्याएर यहाँ मिसाएर यहाँको दैनिक राजनीतिलाई, शासन व्यवस्था चलाउनुहुन्छ भने त अर्को ब्लन्डर त्यहाँ हुन्छ। कसैले चाहनु वा चाहना राख्नु उनीहरूको आन्तरिक कुरा हो। तर जो हुने व्यक्ति हुन्छ, उसले यहाँ जे काम गर्छ, त्यो पहिला नेपालकै हितलाई सोचेर नै गर्नुपर्दछ। आड-सिरानी पल्लोतिर राख्न पाइँदैन। शरीर यहाँ सिरानी उता! त्यो कदापि स्वीकार्य हुँदैन।
• आगामी दिन कस्तो देख्नुहुन्छ। काँग्रेस वा अरू कसैको नाममा सहमति होला त?
जुन यो शृंखला छ, त्यसमा असम्भव भन्ने कुरा पनि केही छैन। केही घटना भइहालेर सबै सुल्भि्कहाल्छ भन्ने कुरा हामीले दिमागको एक कुनामा सधैँ राखिरहनुपर्दछ।
• तपाईंको अनुभवी विवेकले के भन्छ यो पटक बाटो पाउँछ?
अहिलेसम्म उहाँहरूको बोलाई कुरा गराईमा जुन गाम्भीर्यता हुनुपर्ने हो त्यो देखिएको छैन। प्रयत्न जति हुनुपर्ने हो, त्यो भइरहेको म देख्दिन। एक-दुई दिन भयो, केही चहलपहल हुन थालेको। केही कुरा आएका छन् अहिले। नत्र त शून्य नै थियो। गाम्भीर्यता त देखिएन। यस्तो गाँठो परेको समस्या सर्लक्क हल हुन्छ भनेर कसरी पत्याउने?
• राष्ट्रपतिले हस्तक्षेप गर्नुभयो। सहमति गर्न म्याद तोक्नुभयो। म्यादभित्र पनि सहमति हुन सकेन भने राष्ट्रपतिले के गर्नुहुन्छ?
राष्ट्रपतिको दृष्टिकोणमा उहाँले के गर्नुहुन्छ भनेर मैले दुईवटा कुरा सोचिरहेको छु। राष्ट्रपतिले राष्ट्र प्रमुखको हैसियतमा गरेका कुरा ठिक बाटोमै गइरहेको छ। सम्झाएर बुझाएर पनि निर्णय नभएको अवस्थामा उहाँले अहिलेको कदम चाल्नुभएको हो। यस्तै स्थिति कायम रहन दिनुहुँदैन भन्ने बुझेर सम्बन्धित व्यक्तिले निर्णय गरिदियो भने त 'सो फार सो गुड'। यदि गर्न सकेन भनेचाहिँ यो राष्ट्र नै असफल हुन्छ। भिरमा पुगिसकेपछि भिरबाट खस्न दिने कि बचाउने? भन्ने असाध्यै ठूलो निर्णायक घडी आउँछ।
मेरो विचारमा संवैधानिक असंवैधानिक भनेको राष्ट्रलाई नोक्सानी नहुन्जेलसम्म गरिने कुरा हुन्। त्यसको बीचमा खेल्नुपर्दछ। जब राष्ट्र नै भिरबाट लड्ने स्थिति परिरहेको बेला यसलाई पन्छाउनुपर्छ र राष्ट्र बचाउनुपर्दछ।
• भनेपछि राष्ट्रपतिले हस्तक्षेप गर्नुपर्छ?
म भन्छु एउटा नागरिकले पनि बचाउनुपर्दछ। राष्ट्रपति त परको कुरा, राष्ट्र बिग्रन लागेपछि एउटा नागरिक पनि उठ्नुपर्दछ।
• संवैधानिक राजनीतिक शक्तिको प्रयोग कसले गर्ने भन्ने प्रश्न उब्जेला नि त?
त्यो प्रश्न छ। मैले त्यही भन्ने खोजेको, त्यो लिभरेज राष्ट्रपतिलाई दिनुपर्दछ। उहाँले हात हाल्दिन, सम्झाउँछुमात्र भन्नुभएको छ। तर यो कहाँसम्म जाने? उहाँले सम्झाउने भनेको दलका नेताहरूलाई। दलका नेताहरूले पनि त सम्भि्कनु पर्योा नि। उहाँहरू निर्णयमा पुगे त सकिइहाल्यो नि। यदि हुन सकेन र देश फेल स्टेट नै हुने भयो भने त कसैले आफूले अपवाद रहेर पनि राष्ट्र बचाउनुपर्दछ।
• तपाईँले आफ्नो जीवनकालमा विभिन्न शासन व्यवस्था देख्नुभएको छ। केहीमा तपाईं आफँै पनि संलग्न हुनुभयो। यो पछिल्लो गणतान्त्रिक व्यवस्था कस्तो लागिरहेको छ?
तपाईंले यसलाई कुन परिपे्रक्ष्यमा हेर्नुपर्छ भनेदेखि सयौँ वर्षको राजतन्त्रको पृष्ठभूमिबाट उठेर गणतन्त्र आएको हो। गणतन्त्र हामी सबैले स्वीकार्र्यौँ । केहीले दुई-चारजना नेताको लहडले ल्याएको व्यवस्था हो भनेको पनि सुनिन्छ। तर त्यसो होइन। नेपालमा भएको राजनीतिक निर्णयलाई विश्व रंगमञ्च, क्षेत्रीय रंगमञ्चको आँखाबाट पनि हेर्नुपर्छ। अरु देशमा चलनचल्तीमा आएका व्यवस्थाहरूको प्रभावले पनि जन्मेको कुरा हो। यो आफैँमा बेग्लै आदर्श हो। यो नेपालले कहिले अनुभव नगरेको चिजलाई बकाइदा संस्थागत गर्ने कुरामा अहिले संघर्ष भइरहेको छ।
• तपाईं राजतन्त्र हुँदा धेरै समय सत्तामा रहनुभयो, जुन धेरैका लागि असहज थियो। यो व्यवस्था अहिले तपाईंलाई पनि असहज लागेको छ कि?
छैन। पटक्कै छैन। हाम्रा पूर्वजहरूले विभिन्न कालखण्डमा विभिन्नखाले राजनीति बेहोर्दै आए नि त। भारदारी व्यवस्था, राणाशासन, प्रजातन्त्र अनि पञ्चायत हुँदै आइरहेको छ। यो विभिन्न कालखण्डमा जन्मिएका विभिन्न व्यवस्था हामीले भोग्दै आयौँ। यो सामान्य कुरा हो। यसमा केही पनि असहज मान्नुपर्ने जरुरी नै छैन। समयअनुरुप व्यवस्थाहरूमा परिवर्तन आउँछ।
• विभिन्न कालखण्डमा तपाईं नेपालको प्रधानमन्त्री हुनुभयो। पञ्चायतकालमा, प्रजातन्त्रमा। अहिले गणतन्त्रमा पनि एकपटक प्रधानमन्त्री हुन पाए हुन्थ्यो जस्तो लागेको छैन?
छैन। मलाई साँच्चै भन्नुहुन्छ भने यो उमेरमा पुगेपछि त्यो लागेको छैन। ममा असन्तोष केही बाँकी भएको भए, मेरो हातमा आए यो गर्थें भन्ने हुन्थ्यो होला। मेरो कालखण्ड मेरो दृष्टिकोणमा राम्रोसँग चलाएँ। त्यसैले मलाई आत्मसन्तोष छ। म सफल नै भएँ भन्ने लागेको छ। त्यसैले अबको यो कालखण्डमा मेरो चाहना भनेको अहिले जो नेतृत्व गर्दैछन्, चार/पाँच दल जे छन्। उनीहरूको नेतृत्वले नै परिणतिमा पुर्याउनुपर्दछ। किनभने बढी जिम्मेवार त्यही नेतृत्व हुन्छ। उनीहरू नै अग्रसर भए राम्रो हुन्छ।
• राजतन्त्रको बेलामा पनि तपाईंले राजाहरूसँग नै झगडा गर्नुभएको थियो। तपाईँले सिंहदरबार र राजदरबार शासन चल्छ भनेर प्रधानमन्त्री भएकै बेला भन्नुभएको थियो। पञ्चायतलाई पनि उदार बनाउन खोज्नुभएको थियो। अहिलेको समय र पहिलेको समय हेर्दा के देख्नुहुन्छ?
त्यो परिपे्रक्ष्यमा परोक्ष र अपरोक्षरुपमा संघर्ष गरेरै केही कुरा स्थापित गर्नुपर्ने कठिन अवस्था थियो। किनकि शक्ति अर्कैको हातमा थियो । तपाईंले त्यहाँबाट झिकेर जनतालाई दिनुपर्थ्यो। त्यसैले ती विवाद उठिरहन्थे। अहिलेको नेतृत्व वर्गलाई कसैसँग खोस्नुपर्ने लिनुपर्ने अवस्थै छैन। अगाडि भएको कुरालाई व्यवस्थित गरिदिए पुग्छ।
• त्यही पनि हुन सकेको छैन। किन त्यस्तो?
दुईटा कुराले ठूलो असर पुर्या एको छ। यिनीहरूसँग क्षमता नभएको पनि होइन, क्षमता पनि छ। लडाइँ लडेर आएकाहरू छन्। यहीँ बसेर प्रजातन्त्रका लागि संघर्ष गरेकाहरू पनि छन्। तर त्यो प्राप्तिलाई बुझ्न सक्नुभएन। उहाँहरूले दुइटा कुरा समात्नुभयो- एउटा दलीय स्वार्थ। अर्को- व्यक्तिगत स्वार्थ। व्यक्तिगत स्वार्थलाई माथि राखेर गणतन्त्रलाई संस्थागत गर्छु भन्न खोज्दा र्या ङठ्याङ मिलिरहेको छैन। त्यत्ति हो। उहाँहरूले जुन दिन त्यो छोड्नुहुन्छ, उहाँहरू सफल हुनुहुनेछ।
• दलको नेता भएपछि दलीय स्वार्थ हुनु त स्वाभाविक नै होइन र?
हुँदैन। राष्ट्रिय स्वार्थ माथि हुनुपर्दछ। यहाँ ठूलो दल हुँदैमा निर्णय लिन नमिल्ने भयो। एकपटक सबैको सहमति चाहिन्छ जे गर्न पनि। यो सधैँका लागि होइन। केवल संविधान नबनुन्जेलसम्म मात्र हो। त्यो नहुँदासम्म तपाईंसँग जति नै शक्ति भए पनि सहमति जरुरी छ।
• अहिलेको यो भद्रगोल राजनीतिमा आफ्नो भूमिका के हो जस्तो लाग्छ त तपाईँलाई?
पहिलो त कुनै पूर्वाग्रह नराखी आफ्नो राजनीति गर्ने। दोस्रो राजनीतिक विचार विमर्श गरेर सल्लाह मागेको बेला सल्लाह दिने हो।
• नेपालमा संकट आइपर्योन कि सूर्यबहादुर थापाका नाम अगाडि आउँछ। डा. भट्टराइलाई तपाईँले रिप्लेस गर्नुभयो भने अहिलेको समस्या सुल्झिन्छ भन्छन्। के भन्नुहुन्छ? तपाईँ फेरि प्रधानमन्त्री हुन तयार हुनहुन्छ?
मेरो जीवनको यो अनौठो कुरा म पनि अनुभव गर्दै आएको छु। पञ्चायतकालमा बडो कठिन दिनहरू मैले बेहोरेँ। दरबारसँग कुरा नमिल्दा मलाई धेरै विषयबाट बाहिरै पनि राखेको हुन्थ्यो। जब परिस्थिति बिग्रन्छ अनि अब सूर्यबहादुर आउँछ भन्ने कुरा अहिले पनि हुन्छ। मैले पहिला नै राजनीतिबाट संन्यास लिएर चूप लागेर बसेको भए यो प्रश्न टुंगिन्थ्यो होला। तर म अहिले पनि बिहानदेखि बेलुकासम्म सक्रिय नै छु। त्यसैले यो भूतले मलाई अहिले पनि छाडेको छैन। यो भूतले मलाई लघारेको पञ्चायतदेखि नै हो। त्यो भूत कसले जगाउँछ, कसले बोलाउँछ र त्यो भूतले मलाई किन लघार्दछ, मैले पनि बुझ्न सकेको छैन। म त्यसबाट पीडित छु। अहिले पनि पीडित नै छु। हाहा...
(सहयोगी : स्वरूप आचार्य र बसन्त बस्नेत)
तस्बिर : विजय गजमेर
प्रकाशित: २२ मंसिर २०६९ ००:०३ शुक्रबार





