१५ आश्विन २०७७ बिहीबार
अन्तर्वार्ता

लक्षणसहितका संक्रमित देखिनु खतराको संकेत : डा. भुसाल (अन्तर्वार्ता)

नेपालमा कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको विज्ञले बताएका छन्। पहिलेका संक्रमितमा लक्षण देखिन्थेन भने अहिले लक्षणसहितका बिरामी बढेका छन्। यो भयावह स्थितिको संकेत भएको विज्ञले चेतावनी दिएका छन्। खासगरी सरकारले लकडाउन खोलेपछि काठमाडौंलगायत देशका मुख्य सहरमा भिडभाड बढेसँगै संक्रमण पनि बढिरहेको छ।  

यसै सन्दर्भमा अब कोरोना नियन्त्रणका लागि सरकार र आम नागरिकले अपनाउनुपर्ने सतर्कता के हुन सक्छ त भन्ने विषयमा कन्सल्टेन्ट फिजिसियन डा. खेमराज भुसालसँग नागरिककर्मी पवन बराइलीले गरेको कुराकानी :  

लकडाउन खोलेपछि कोरोना संक्रमण बढेको हो ?  

कोभिड–१९ बाट संक्रमण हुने क्रम दक्षिण भारत हुँदै नेपालमा पनि बढेको छ। पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमणका कारण मृत्युसमेत भइरहेको छ। सरकारले लकडाउन खुकुलो पारेसँगै संक्रमण अझ बढेको हो। लकडाउन हुँदा आवतजावत कम हुन्थ्यो र मानिसको संसर्गबाट संक्रमण सर्ने जोखिम पनि कम हुन्थ्यो। तर अहिले लकडाउन खुकुलो भएसँगै मानिसको भिडभाड बढ्न थालेको छ। मानिसमा यसप्रतिको डर हटेको छ।  

कोरोनाको ‘केस’ (संक्रमित/मृत्यु हुनु) नहुँदा मानिस सतर्क थिए। तर अहिले ‘केस’ बढिरहेका बेला झन् मानिसले सतर्कता अपनाएको देखिँदैन। मृत्युदर त्यति नबढेकाले मानिसमा ‘मरिहालिँदैन’ भन्ने परेको छ। पहिले कोरोनाका बिरामीमा लक्षण थिएनन्। तर अहिले समुदायस्तरमा संक्रमण फैलिन थालेकाले लक्षणसहितका बिरामी बढेका छन्, जसले मृत्यदर पनि बढ्दै जाने देखिन्छ।  

लकडाउन खोले पनि कस्तो सतर्कता अपनाउनुपर्थ्यो ?  

लकडाउन खोलेपछि मानिस झन् सतर्क हुनुपर्थ्यो। सरकारले पनि जनचेतनामूलक सूचना प्रवाह गर्नुपर्र्ने थियो। मुख्य त मास्क लगाउने, सेनिटाइजार दल्ने, साबुनपानीले राम्रोसँग हात धुने, भिडभाड नगर्नेजस्ता सतर्कता अपनाइनुपर्थ्यो, तर अहिले मानिसले शारीरिक दूरीसमेत कायम गरेको देखिँदैन। किनेमेलका लागि बजारमा पनि भिडभाड भएको देखिन्छ। यसले जोखिम निकै बढाएको छ। यसमा सुधार नगरी संक्रमण रोक्न सकिन्न।  

समुदायमा लक्षणसहितको संक्रमण बढेको हो ?  

केही महिनाअघिसम्म अन्य मुलुकबाट आएकाहरूलाई परीक्षण गर्दा संक्रमण देखिएको हो। त्यो बेला संक्रमण खासै फैलिएको थिएन। उनीहरूलाई आइसोलेसनमा राखिएको थियो। निको भएर घर पनि फर्किएका थिए। दक्षिणबाट आएका धेरैमा संक्रमण देखियो। त्यसरी नै समुदायस्तरमा संक्रमण फैलिएको देखिन्छ। त्यो अवस्थामा चाहिँ क्वारेन्टिनमा बस्ने मान्छे घटेको हुनाले संख्या कम देखिएको हो। तर संक्रमण घटेको होइन। हामीले के बुझ्न जरुरी छ भने परीक्षणको दायरा घटेका बेला संक्रमितको संख्या कम देखिन्छ नै, तर परीक्षणको दायरा बढाउने हो भने संख्या बढ्ने निश्चित छ।  

अहिले मानिसले संक्रमण हुने क्रम घटेको हो कि भन्ने आकलन गरेका छन्। क्वारेन्टिनमा बस्ने मान्छे घटे र त्यहीं परीक्षण गर्ने सिस्टम थियो। त्यसकारण कमलाई चेक गरियो र कमैलाई संक्रमण देखियो। तर बिस्तारै हामीले परीक्षणको दायरा बढाउँदै लैजानुपर्छ। अस्पताल, सरकारी संघ÷संस्था, सुरक्षा, सञ्चार क्षेत्रलगायतका कर्मचारीलाई परीक्षण गराउनुपर्छ। कुनै पनि स्थानीय सरकारसँग समन्वय गरेर परीक्षणको दायरा बढाउनुपर्ने देखिन्छ।  

यसमा पनि काठमाडौं उत्पयकामा भित्रिनेलाई स्वाब संकलन गरेर परीक्षणको दायरा अझ बढाउनुपर्छ। अर्को महत्वपूर्ण कुरा भनेको सबै स्थानीय सरकारले आफ्नो जिल्ला भित्रने क्रममा नाकामै परीक्षण गराउनुपर्छ। त्यसकारण लुकीछिपी भारतबाट भित्रने क्रम पनि जारी नै छ। त्यसका लागि नाकामा अझ बढी कडाइ गर्नुपर्ने देखिन्छ। भारतमा बढीभन्दा बढी संक्रमण फैलिएकाले त्यहाँ उपचार नपाएर पनि नेपाल भित्रिने अवस्था सिर्जना हुन सक्छ। त्यसकारण बढी संक्रमण हुन सक्ने खतरा देखिन्छ।  

भनेपछि स्थिति भयावह हुँदै गएको हो ?  

पहिले क्वारेन्टिनमा राखेकाहरूलाई परीक्षण गर्न सजिलो भएको थियो। तर समुदायस्तरमा फैलिसकेपछि परीक्षण गर्न नै कठिन हुन्छ। बिरामी भएपछि चेकजाँचका लागि अस्पतालन पुगेपछि मात्रै संक्रमण भएको पत्ता लाग्छ। लक्षण नदेखिँदै परीक्षण गर्नुपर्छ। तर संक्रमण भइसकेपछि, अस्पतालनमा आएपछि मात्रै थाहा हुने हो।

हामी थाहा छ– ८० प्रतिशत संक्रमितमा लक्षण नभएका वा सामान्य लक्षण मात्रै देखापर्छ। बढी लक्षण २० प्रतिशतमा देखिन्छ, त्यसमा पनि ५ प्रतिशत एकदमै ‘क्रिटिकल’ हुन्छन्, सघन कक्षमा राखेर उपचार गर्दा पनि निको नहुने हुन्छन्। त्यसकारण समुदायमा फैलिसकेको हुनाले नियन्त्रण गरेका देशबाट पाठ सिक्न जरुरी छ।  

समुदायस्तरमा यही अवस्थामा फैलियो भने अस्पतालनको सघन कक्षका बेड पनि नपुग्ने अवस्था आउँछ। भेन्टिलेटर, स्वास्थ्य सामग्री तथा स्वास्थ्यकर्मीसमेत अभाव हुन सक्छ। त्यसकारण संक्रमण नियन्त्रणका लागि परीक्षणको दायरा बढाउनुको विकल्प छैन।  

अन्य देशको तुलनामा नेपालमा स्थिति कस्तो छ ?  

अन्य देशसँग तुलना गर्दा नेपालमा पनि संक्रमण बढेको देखिन्छ। अहिले अमेरिका, ब्राजिल र भारतमा बढी संक्रमण देखिएको छ। संख्यात्मक रूपमा यी देशमा बढी फैलिएको छ। अमेरिकामा त झन १ लाख ५० हजारभन्दा बढी मानिसको मत्यु भएको छ। केही देशमा ज्येष्ठ नागरिकको मृत्यु भएको छ। अन्य रोग भएका हुनाले र रोगसँग लड्ने क्षमता कम हुने हुनाले पाका उमेरका मानिसको मृत्यु बढी भएको देखिन्छ।  

हाम्रो देशमा अहिले मुत्युदर कम देखिएको छ। सुरुको अवस्थामा क्वारेन्टिनमा बसेकाहरूलाई मात्र परीक्षण गरिएको हुनाले मृत्यु कम देखिएको हो। समुदायमा संक्रमण बढेपछि नेपालमा पनि मृत्यदर बढ्छ। त्यसकारण यही अवस्था रहने हो भने नेपालमा स्थिति भयावह हुने देखिन्छ।  

यसअघि संक्रमितको संख्या कम देखिएको थियो। त्यो पनि बाहिरबाट आएका मानिसमा मात्रै संक्रमण देखिएको थियो। अहिलेचाहिँ समुदायमा फैलिएर गएको देखिन्छ। कोभिड–१९ का बिरामीलाई अहिले भेन्टिलेटरमा पनि राख्नुपर्ने अवस्था आएको छ।  अब यसरी कोरोना संक्रमण सबैतिर एकैपटक फैलिन्छ र एकैपटक धेरै संख्यामा बिरामी आउन थाले भने अस्पतालले थेग्न सक्दैन। एकैपटक ठूलो संख्यामा कोरोना संक्रमित आए भने अस्पातलमा पनि उपचार पाउन सक्ने अवस्था हुँदैन। अरू रोगका बिरामीले पनि उपचार नपाउने अवस्था आउने देखिन्छ। यसर्थ अन्य रोगीले पनि आफूलाई सुरक्षित राख्नुपर्ने हुन्छ। दीर्घरोगीलाई कोरोना संक्रमण बढी हुने भएकाले उनीहरूलाई बढी सेचत बनाउनुपर्ने हुन्छ।  

मृत्यदर त खासै बढिरहेको छैन, किन होला ?  

कोरोना संक्रमण हुँदा प्रायः सबै देशमा मृत्युदर कम देखिएको छ। विदेशबाट आएकाहरूलाई परीक्षण गर्दा पोजेटिभ देखिएको छ। उनीहरू प्रायः युवा छन्। जब समुदायस्तरमा संक्रमण देखिन्छ, तब वृद्धवृद्धा बढी प्रभावित हुन्छन्। जब लक्षणसहितका संक्रमितको संख्या बढ्छ तब मृत्युदर पनि क्रमशः बढ्दै जान्छ। त्यसकारण सतर्क हुनुपर्ने अवस्था देखिन्छ। झन् मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने पनि देखिएको छ। सार्वजनिक यायतायात पनि सञ्चालन भइसकेको अवस्था छ। मानिसले कोरोना बिर्सिएजस्तो देखिन्छ। तर अझ बढी सचेत हुनुपर्ने देखिन्छ।  

अहिले अवस्थामा सरकारको कस्तो भूमिका हुनुपथ्र्याे ?  

लकडाउन सबै ठाउँमा एकैपटक खोल्न हुन्न थियो। रेड जोन, यल्लो जोन र ग्रिन जोन स्थान पहिचान गरेर मात्रै लकडाउन खोल्नुपर्थ्यो। ग्रिन जोनमा मात्रै मानिसलाई आवतजावत गर्न दिने, यल्लो जोनमा मानिसको परीक्षण गर्दै लैजाने र रेड जोनमा सिल गर्न वा लकडाउ नै कायम गरिनुपर्थ्यो। तर राज्यले एकैपटक लडाउन खोल्यो झन् संक्रमण बढ्यो। संघीय र स्थानीय सरकारले समन्वय गरेर लकडाउन खोलिनुपर्थ्यो। त्यसका लागि संघीय सरकारले पनि स्थानीय सरकारलाई नियन्त्रणका लागि केही अधिकार दिएको भए हुन्थ्यो। 

प्रकाशित: १८ श्रावण २०७७ १६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App