६ वैशाख २०८१ बिहीबार
अन्तर्वार्ता

प्रतिगामी शक्ति फेरि चल्न खोजिरहेका छन्, चनाखो हुनुपर्छः प्रवक्ता श्रेष्ठ (भिडियो)

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले प्रतिगमनकारी शक्तिले टाउको उठाउन खोजेकाले सचेत हुनुपर्ने बेला आएको बताएका छन्। 

नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम ‘फ्रन्टलाइन’मा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले प्रतिगमनकारीले टाउको उठाउन खोजेको, लडेर ल्याएको व्यवस्थामाथि आक्रमण गर्न खोजिरहेकाले दलहरु सचेत हुनुपर्ने बताए। 

यसै सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक समेत बोलाएको उनले जानकारी दिए। ‘एकातिर शान्ति प्रक्रियालाई खलल गर्ने प्रवृत्ति देखा पर्न थालेको छ। अर्काेतिर परिवर्तनलाई पनि उल्ट्याउने प्रवृत्तिहरुले पनि टाउको उठाउन खोजेको छ। टाउको उठाउन नदिँऔं। शान्ति प्रक्रियालाई खल्बल्याउन नदिऔं। एकताबद्ध हुनुपर्छ’, उनले भने।

पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले दलहरुबाट भएका कमजोरीको आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए। 
नेकपाभित्र बोल्न प्रतिबन्ध भन्ने विषयमा प्रवक्ता श्रेष्ठले व्यक्तिका विषयमा पार्टीभित्र बोल्नेगरी निर्देशन दिइएको तर नीति, योजना तथा सरकारको कामका बारेमा आलोचना गर्नै पाइँदैन भनेर नभनेको स्पष्ट पारे। 

‘सांगठनिक एकता पुरा नभएको अवस्थामा पार्टीका ८ लाख सदस्यले कमिटीविहीन, जिम्मेवारीविहीन भएपछि तिनले केही न केही त भन्छन्। अतिमा पनि जान्छन्, नेताहरुको बारेमा पनि भन्छन्। त्यसलाई धेरै अस्वभाविक रुपमा लिनुहुँदैन। तर मर्यादित गरौं, अनुशासित बनाउन भनेको हो’, उनले भने।  

पार्टी, सरकार र कम्युनिस्ट आन्दोलनका बारेमा भने मुख बुझो लगाउन नखोजिएको उनको भनाई छ। ‘अभिव्यक्ति स्वतन्त्रता र विचारको स्वतन्त्रताको हामी सम्मान तथा प्रोत्साहित गर्छाैं’, उनले भने। 

उनले परिवर्तनका माध्यमबाट सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्नेमा जोड दिए। ‘आम जनताले प्रतिफल भोग्न पाउनेगरी समृद्ध नेपाल बनाउनु छ। सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुछ’, उनले भने। 

प्रतिबद्धता र जनताको अपेक्षाअनुसार आफूहरुले काम गर्न नसकेको उनले स्वीकार गरे। ‘आर्थिक क्रान्ति एक डेढ वर्षमा पुरा हुँदैन। सहि दिशा पक्रेका छौं। तिव्रता जनताले आफ्नो पोल्टामा पाउने गरी गर्न सकेका छैनौं’, उनले स्पष्टसँग भने।  

संविधान र संघीयताको कार्यान्वयनको काममा सरकार केन्द्रीत हुँदा प्रतिबद्धताहरु पुरा गर्न नसकिएको भन्दै उनले अब समृद्धिको दिशामा सरकार दृढ भएर अघि बढ्ने बताए।

विकास र समृद्धिका लागि भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासन, नियमित काम हुनुपर्ने, कानुनी शासन हुनुपर्ने, नियमित हुनुपर्ने कामका निम्ति जनताले भनसुन गराउने वा घुस दिने प्रवृत्ति अन्त्य हुनुपर्नेमा त्यो हुन नसकेको उनको भनाई छ।

आफूले विकास र समृद्धिका लागि भ्रष्टाचारमा नियन्त्रण र विकास बजेट कार्यान्वयनको क्षमता अभिवृद्धि गर्न पार्टीमा कुरा राखेको बताए। 

पार्टी र सरकारको नकारात्मक टिकाटिप्पणी भएकाले प्रधानमन्त्रीले संसदमा आफू नै ५ वर्ष सरकारको नेतृत्व रहने अभिव्यक्ति दिएको दाबी गर्दै श्रेष्ठले आलोपालोको सहमति भए एकीकृत पार्टीमा छलफल हुने, उपयुक्त समयमा कार्यान्वयन हुने बताए। ‘तर, प्रधानमन्त्रीले प्रष्टसँग पुरा अवधि सरकार चलाउँछु भन्नुभएको छ। पुरा अवधि नचलाउने कुरा छ भने त परिस्थिती कसरी अगाडि बढ्छ, सरकारलाई अझ कसरी अगाडि बढाउनुपर्छ, पार्टीमा जिम्मेवारी कसरी बाँडफाँड गर्ने भन्ने त पार्टीभित्रै छलफल हुन्छ’, उनले भने। प्रवक्ता श्रेष्ठले ओली नै पाँच वर्षका लागि प्रधानमन्त्री भएको स्पष्ट पारे। 

रवी लामिछाने प्रकरणमा प्रवक्ता श्रेष्ठले अदालतको मुद्दाबारे बोल्न नमिल्ने बताए। यद्यपि अदालतको फैसलालाई सबैले मान्नुपर्ने बताए। उनले रवी जनताको मुद्दा उठान गर्ने राम्रो पत्रकार भएको उल्लेख गर्दै उनको समर्थनमा जनता सडकमा आउनु स्वभाविक भएको बताए। ‘जनता त आउँछ। हाम्रो बेला आउन हुने, अहिले नआउने भन्ने हुँदैन। तर, यसबाट अदालत प्रभावित हुँदैन। जनता सडकमा आउनु स्वभाविक हो’, उनले भने। 

उनले पार्टीभित्र माधव नेपाल समूहलाई नपेलेको पनि स्पष्ट पारे। ‘नोट अफ डिसेन्ट’लाई सहज रुपमा लिनुपर्ने प्रवक्ता श्रेष्ठको भनाई छ। मतभेद नराखिए पार्टी नेतृत्व निरंकुश बन्ने खतरा हुने उनको भनाई छ। 

पछिल्लो वरीयतालाई नेता नेपालले सहज रुपमा लिएको र सुरुमा वरीयता कायम गर्दा गल्ती भएको श्रेष्ठले जानकारी गराए। 

प्रकाशित: ११ भाद्र २०७६ १४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App