७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

एक वर्षभित्र विमानस्थलको स्वरुपनै फेरेर देखाउँछु- राजकुमार क्षेत्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत्र २० गतेदेखि १४ घण्टा मात्रै सञ्चालन हुन थालेकाे छ। यसअघि दैनिक २१ घण्टासम्म सञ्चालन हुने विमानस्थलमा धावनमार्गको कालोपत्रे उप्किएर थुप्रै पटक उडान प्रभावित बनेपछि तीन महिनाभित्र नयाँ कालोपत्रे गरिसक्ने भन्दै धावनमार्ग पुर्ननिर्माणको काम अघि बढाइएको छ। देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन, सरसफाई र सुरक्षामाथि पटक-पटक प्रश्न उठिरहेका बेला १४ महिनाअघि विमानस्थलको महाप्रबन्धकमा राजकुमार क्षेत्री नियुक्त भए। यसअघि १० वर्ष विमानस्थलको कर्पोरेट प्रमुखको जिम्मेवारी सम्हालेका क्षेत्री विमानस्थलको मुहार फेर्ने अभियानमा अहिले जुटेका छन्। बेला-बेला ऐना हेर्दै आफुलाई टिपटप राख्न खोज्ने स्वभावका क्षेत्रीले आगामी एक वर्षभित्र विमानस्थलको स्वरुपमै परिवर्तन ल्याउने गरि काम गरिरहेको दाबी गरेका छन्। त्यसोत क्षेत्री महानिर्देशक भएपछि विमानस्थलमा सुधार देखिएका पनि छन्। तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले अघि सारेको ‘बुटिक एयरपोर्ट’ को योजना, धावनमार्ग पुर्ननिर्माण, विमानस्थल सुधारका अभियानबारे नागरिक न्युजका दिनेश लुइटेलले विमानस्थलका महाप्रबन्धक क्षेत्रीसँग गरेको कुराकानीको सम्पादित अंश:

 

दैनिक हजारौं यात्रु आउजाउ हुने विमानस्थलको जिम्मेवारी सम्हालेर बस्नुभएको छ। व्यस्त उत्तिकै हुनुहुन्छ। चिटिक्क परेर बस्नुभएको छ नि। कहिलेकाहीं ऐना पनि हेर्नुहुन्छ कि?

(हाँस्दै)हो हो हेर्छु। हो तपाईंले भनेजस्तै बेलाबेला ऐना पनि हेर्छु। आफूले आफैंलाई अलिकति टिपटप राख्ने मेरो स्वभाव छ। दार्जिलिङमा पढेको हुनाले त्यहाँको हावापानीको पनि प्रभाव होला।

आफ्नो स्वास्थ्य र शरीरको ख्याल त बेलाबेला ऐन हेर्दै राख्नुहुँदो रहेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई त देशको नै ऐना भनिछ। आफ्नो देशको ऐना अगाडि उभिएरचाहिं आफूले आफैंलाई हेर्नुभएको छ?

तपाईले बडा मार्मिक, सान्दर्भिक र मुटुलाई नै छुने कुरा सोध्नुभयो। मैले जागिर खाएको ३० वर्षभन्दा बढी भयो। जागिर खाएपछि सबैको एउटा चाहना हुन्छ। आफूले जागिर खाएको संस्थाको सबैभन्दा ठूलो पदमा पुग्ने। यसअघि पनि विमानस्थलमा कर्पोरेट प्रमुख भएर मैले १० वर्ष काम गरिसकेको थिए। अलिकति बेथिति हो कि, गर्नुपर्ने कुरा गरेनौं कि भन्नेचाहिं मलाई सधैं लाग्थ्यो।
कहिलेकाहीं विदेश जाँदा लाग्छ, हामीले गर्नुपर्ने धेरै रहेछ, सुधार्न सकेनौं कि भनेर दुःख पनि लाग्थ्यो। खट्किरहन्थ्यो। हो अघि तपाइले भने जस्तो म बेला बेला ऐन त हेर्छु। तर आफूलाई मात्र हेरे भएन नि। विमानस्थलको प्रमुख भएपछि मैले केही न केही गर्नेपर्छ भन्ने अठोट लिएको थिए। आफूले आफैलाई ऐनामा हेरेर राम्रो छ/छैन भनेर भन्ने भन्दा पनि मेरो एयरपोर्ट राम्रो छ कि छैन भन्नेतिर फोकस गरें।

तर त्यसका लागि हामीसँग सीमित स्रोत साधन छ। चाहेको जति बजेट हुँदैन। देशभरिका विमानस्थलको खर्च यसैले धानेको छ। धेरै समस्या थिए। तर सानो कुराबाट सुरु गर्नुपर्छ भन्ने लाग्यो। धेरैको गुनासो शौचालय अव्यवस्थित र फोहोर भयो भन्ने थियो।

 

मैले अहिले महानिर्देशक पदको कुनै लोभ गरेको छैन। र म कुनै रेसमा पनि छैन। अहिले मेरो ध्यान कम्तीमा मैले सुरु गरेका कामलाई सक्नेमै छ। र अर्काे कुरा म दावाका साथ भन्छु, अरु एक वर्ष म यहाँ बसे भने तपाईहरुले नै राजकुमारले गरेका कामको रिजल्ट देखियो है भन्नुहुन्छ।
घोडा दौड त तपाईले पनि हेर्नु भएकै होला। सुरुमा एकदम तेज दौडिन्छ, बीचमा अलिकति रोकिन्छ, फेरि तेज दौडिन्छ। मेरो पनि स्पिड त्यही छ।

 

यो त ठूलो कुरा थिएन। विदेशमा जस्तो हरेक मिनेट मिनेट त सफा गर्न नसकिएला, तर हरेक १५/२० मिनेटमा शौचालय सफा हुनुपर्छ। नभए कारबाही गर्छु भनी सुधारें त्यसपछि अर्को समस्या भनेको कुर्सी नै थिएन। विदेशीसमेत भुईंमै सुतेको फोटो यहाँहरुले नै छाप्नुभयो। त्यसले पनि मलाई कता कता दुःख लाग्यो। त्यसपछि मैले २ हजार कुर्सी थपें। अहिले बस्ने समस्या कहीं पनि छैन। त्यसपछि अर्काे समस्या गर्मीमा पंखा हम्किनुपर्ने, जाडोमा काम्नुपर्ने। सेन्ट्रल एसी त थियो तर कुनै प्रयोगमा थिएन। मैले तुरुन्त प्राविधिक साथी बोलाएर समस्याबारे अवगत गराएँ। २ महिनाभित्र सबै एसी चल्छ।

जताततै फोहोर थियो। हामीले त्यो हटायौं। सेल्फी प्वाइनट बनायौं। बाँकी ठाउँलाई डेकोरेट गर्यौं। यति गरेपछि अन्तर्राष्ट्रिय विमानस्थल अलिकति हेर्न हुने त भयो। तर आन्तरिक विमानस्थल उस्तै छ। त्यहाँ पनि हामीले सुधारको अभियान चलायौं। अबको केही दिनमै हामी दुई वटा काम गर्दै छौं। एउटा सामान लिन्ने ठाउँमा कन्भेयर बेल्ट राख्ने र जहाज आयो आएन भनेर हेर्न डिस्प्ले राख्ने। त्यसले सामान लिने यात्रुलाई सहज गर्छ। नेपाली सेना पट्टिको सय मिटर जग्गा लिएर त्यहाँ टर्मिनल बनाउँदै छौं।

पार्किङ व्यवस्थित गरियो। संसारमा कहीं नभएको ट्रलीलाई समेत पैसा तिर्नुपथ्र्यो। माथिको पारकिङलाई तल लगेका छौं। विदेशी पर्यटकलाई आकर्षित गर्न हामीले थुप्रै सजावट गरेका छौं। यात्रु आगमन हुने ठाउँमा विश्वकै दुर्लभ एकसिंगे गैंडाको प्रतिमा बनाएर राख्यौं। विभिन्न भगवानका मूर्ति पनि राखेका छौं। सानो कुराले पनि निकै महत्व राख्छ। हामी दुबई, अमेरिका र भारतको जीएमारसँग तुलना गर्न सक्दैनौं। तर, धेरै परिवर्तन गर्न भने सक्छौं।

तपाई विमानस्थलको महाप्रबन्धक भएर आएपछि सुरु गर्नुभएको सायद पहिलो काम थियो ह्यांगर निर्माण र पार्किङ व्यवस्थापनको काम कहाँ पुग्यो?

रिमोट पार्किङको कुरा गर्नु भएको होला। मैले त ठेकदारलाई म जेठ एक गते त्यहाँ जहाज लगेर राख्छु भनेको छु। तर यो बर्खाले गर्दा एक हप्ता ढिलो हुन्छकि भनेर ठेकेदारले भन्नुभाछ। तर जेठ ७ गते रिमोट पार्किंगमा लगेर जहाजहरु राख्ने काम हुन्छ। गरेरै छोड्छु। त्यो भएपछि हाम्रो अलिकति भए पनि कन्जेसन घट्छ। त्यसपछि अर्काेपट्टिको जिरो पार्किङमा पनि हामी लागिरहेकै छौं। तर अहिले त्यहाँ अलिकति काम स्लो भएको छ।

यति धेरै सुधारका काम गर्दागर्दै पनि राजकुमार क्षत्री कतै यो रनवेको खाडलमा लड्यो की, बाटो पो बिरायो की। हिजोको रफ्तारमा ब्रेक पो लागेको हो की भनेर टिप्पणी हुने गर्छ नि?

त्यसो होइन। राजकुमारको हिजोको स्पिड पनि त्यही थियो, आजको पनि त्यही छ र सधैं रहन्छ। जति बेला सम्म म यो पदमा रहन्छु केही न केही गरेरै जान्छु भनेर प्रण गरेको छु। तपाईंले भनेजस्तो कहिलेकाहीं लाग्छ, दिवंगत पर्यटन मन्त्रीज्यूको बानी राति ११ बजे पनि, बिहान ५ बजे पनि सधैं मलाई फोन गरिरहनुहुन्थ्यो। बिदाको दिन पनि यहाँ आउनुहुन्थ्यो। अहिले त उहाँ हुनुहुन्न। तर यसको मतलब काम भएको छैन भन्ने होइन। अहिले पनि मेरो महानिर्देशकज्यूले भनिरहनु भएको छ। उहाँ स्वयं पनि लागि नै रहनुभएको छ। हामी दुई जनाको सहकार्यमा धेरै काम भएका छन्। र अबको एक वर्षमा दिवंगत पर्यटन मन्त्रीज्यू,महानिर्देशकज्यूले देखेको सपना पूरा गरेरै छोड्छु।

तर पनि कतिपयले त अहिले बाँकी रहेका काम महानिर्देशक भएपछि गर्नलाई साँच्नु भएको हो की भनेर  भन्छन् नि?

मैले अघिनै पनि भने जागिर खाएपछि सबैभन्दा माथिल्लो पदमा पुग्न खोज्नु स्वाभाविक हो। तर मैले अहिले महानिर्देशक पदको कुनै लोभ गरेको छैन। र म कुनै रेसमा पनि छैन। अहिले मेरो ध्यान कम्तीमा मैले सुरु गरेका कामलाई सक्नेमै छ। र अर्काे कुरा म दावाका साथ भन्छु, अरु एक वर्ष म यहाँ बसे भने तपाईहरुले नै राजकुमारले गरेका कामको रिजल्ट देखियो है भन्नुहुन्छ।
घोडा दौड त तपाईले पनि हेर्नु भएकै होला। सुरुमा एकदम तेज दौडिन्छ, बीचमा अलिकति रोकिन्छ, फेरि तेज दौडिन्छ। मेरो पनि स्पिड त्यही छ।



तर, १०/१५ वर्षमा हुनुपर्ने विमानस्थलको धावनमार्ग पुनर्निर्माण यतिका वर्षसम्म किन हुन सकेन र अहिले आएर द्रुत गतिमा काम गर्नु परिरहेको छ?

हो, तपाइले भने जस्तै १०/१५ वर्षमा विमानस्थलको धावनमार्ग पुनर्निर्माण हुनु पर्ने हो। तर हुन सकेन। हाम्रो स्रोत साधनले पनि यसमा केही प्रभाव परेको हो।फेरी हाम्रो एउटा मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलको रनवे पुनर्निर्माण गर्दा धेरै फ्लाइटहरु डिस्टर्व हुने होकी जसले नेपालको पर्यटन, श्रम क्षेत्रमै असर पर्ने हो की भनेर हामीले उड्डयन क्षेत्रमा आँट नगरेका हौं। तर म गत वर्ष महाप्रवन्धक भएर आएपछि एकै दिनमा ४ पटक रनवे बिग्रेको देख्यौ।त्यो भन्दा अघि हामीले ओभेर्ले त २र४ पल्ट गरेका थियौं। रनवे बनेको ६०र६५ वर्ष सम्म हामीले रनवे पुनर्निर्माण गरेका थिएनौं। तर वर्षायामको बेला एकै दिनमा ४/४ पटक रनवे बिग्रेपछि मैले, हाम्रो महानिर्देशकज्यू र दिवंगत मन्त्री रवीन्द्र अधिकारीज्यूले बसेर सल्लाह गर्यौ। त्यसपछि हामीले गृहकार्य गर्यौं। त्यसमा पनि टेन्डर भएर रोकिएको थियो।

काम सुरु भएपछि नरोकिने गरि सबै बन्दो बस्त गर्यौं र काम सुरु गर्यौं। आज तपाइले हेर्नुभएको छ। काम सुरु भएको एक महिना भयो। यो महिनाको काम एकदम सन्तोषजनक छ। यही हिसाबमा काम भयो भने अर्को २ महिनामा रनवेको रेह्याबको काम सकिन्छ। त्यसपछि बीचमा कुनै भवितव्य नभए कम्तीमा १५ देखि २० वर्ष रनवेलाई केही गर्नु पर्दैन।

१०/१० घण्टा विमानस्थल नै बन्द गरेर पुनर्निर्माणका कारण यात्रुले पनि त् सास्ती पाए होला। नियमित उडान पनि प्रभावित भइरहेका होलान नि?

उडान प्रभावित भए भनेर नै त नभनौं। तर अलिकति कन्जेसनचाहिँ भएको छ। किनभने राति १० बजेदेखि बिहान ८ सम्मका केही फ्लाइट मिलाउँदा अलिकति कन्जेसनचाहिं भएको छ। तर कुनै फ्लाइट क्यान्सिल हुने, कुनै फ्लाइट डिले हुने भएको छैन। कसरी सबै फ्लाइटलाई समयमै उडाउन सकिन्छ भनेर हामीले ३ महिना होमवर्क गरेका थियौं। यही व्यस्थापनका लागि मात्र मैले एयरलाइन्ससँग मात्र बीसौं पटक मिटिङ गरें। त्यसपछि व्यस्थापनसँग बसेर पनि थुप्रै पटक छलफल गर्यौं। हो केही कन्जेसन भएको हुन सक्छ। तर कन्जेसन त पिक समयमा पहिला पनि हुन्थ्यो। आन्तरिक उडानतर्फ सिजनमा लुक्ला फ्लाइट त एकै दिनमा सय वटा सम्म हुने गर्छ। त्यसलाई केही असर गर्छ कि भन्ने थियो, तर त्यसको व्यवस्थापन पनि उहाँ(एअरलाइन्स कम्पनी)हरुले गर्नु भएको छ। यहाँबाट रामेछाप लगेर त्यहाँबाट लुक्ला उडान गरिरहनुभएको छ त्यसमा पनि केही समस्या छैन।

आजकाल धेरैले भन्ने गर्छन नि काठमाडौंको सडकको जाम आकाशतिर सर्यो भनेर। यसले टीआइएको विकल्प खोजेको संकेत दिएको हो कि व्यवस्थानमा कतै चुक्यौं, भन्ने हो ?

यो एउटा राम्रो संकेत हो। हाम्रो आकाशमा धेरै जहाज आउनु एकदमै राम्रो हो। हामीसँग पार्किङको समस्या छ। तर विगतमा भन्दा अहिले जाम बढेको छैन। कतारबाट फर्किंदा अढाई घण्टा आकाशमा घुमेको हुन्छ। तर अहिले त्यस्तो हुँदैन। हो राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदा अलिकति कन्जेसन देखिएको छ। तर यो समस्या आगामी दुई महिना मात्र हो। त्यसपछि हाम्रो प्रयास त सकभर चौबिसै घण्टा विमानस्थल सुचारु गर्ने हो। अबको ६ देखि ९ महिनासम्म भैरहवा विमानस्थल पनि संचालनमा आउँछ। त्यसपछि ट्राफिक समस्या तत्कालै कम नभए पनि यहाँको करिव २० देखि २५ प्रतिशत ट्राफिक समस्या स्वत हटेर जान्छ।

प्रसंग फेरि पनि विमानस्थलभित्रकै कुरा सँग जोडौं। केही विमान कम्पनीको ठूलो बक्यौता रकम विमानस्थल व्यवस्थापनले उठाउन सकेको देखिँदैन। किन ?

अरुको म जान्दिनँ। एअर एसिया मेरो पालामा भएको होइन। तर पनि मैल त्यसबाट मात्र ३१ करोड बक्यौता उठाएको छु।  राजस्वमा गएर तपाई हेर्न सक्नुहुन्छ। म आउनुभन्दा अघिकै करिब ६० करोड बक्यौता मैले उठाएको छु। मेरो कार्यकालमा अलिकति बक्यौता देखिएको हिमालयन एयरलाइन्सको हो। त्यो पनि उहाँहरुले हिजो मात्र १ करोड तिर्नु भयो। उहाँहरुले तालिकाअनुसार पैसा तिर्नु भएन भने उहाँहरुको फ्लाइट म ग्राउन्ड गरिदिन्छु। उहाँहरुले हरेक महिना नियमित भुक्तानी र बक्यौता रकममध्ये ७५ लाख तिर्दै जानुहुन्छ। तिर्नु भएन भने एउटै जहाज ग्राउन्डेड गरेर सबै बक्यौता असुल गरिदिन्छु। मभन्दा पहिला साथीहरुले के गर्नु भयो त्यतातिर म जान्नँ। तर मेरो पालाको बक्यौता म रहन दिन्नँ।

तर विमानस्थलभित्र व्यापारिक प्रयोजनका लागि लगाइएको भाडासमेत तपाईहरु समयानुकूल लिनुहुन्न भनेर संसद्को लेखा समितिले समेत तपाईहरुलाई छलफलमा बोलाएको थियो नि हैन?

खासमा समितिका मान्यहरुले त्यो सोध्नु भएको थिएन। उहाँहरुलाई कसैले गलत जानकरी दिएको  थियो कि जस्तो लाग्यो। त्यो बैठकमा एकजना मान्यज्यूले ८ वटा पसल बिनाटेन्डर लगाइरहनुभएको छ भनेर पनि भन्नु भयो। पहिलो कुरा त्यो सम्भव नै छैन। विमानस्थल परिसरमा संचालित पसलेहरुले नियमावलीमा भएको नयाँ दररेटअनुसारै पैसा तिरिरहनु भएको छ। हो अदालतको स्टे अर्डरले चाहिं बस्नुभएको छ, तर हाम्रो नियमावली अनुसारै पैसा तिरिरहनुभएको छ। यी सबै सतही कुरा हुन्। जो आए पनि हुन्छ म सबै कागजात देखाइदिन्छु।

विमानस्थल आफैले खरिद गरेका र अनुदान सहयोगमा आएका थुप्रै उपकरण प्रयोगविहीन भएर बसेको गुनासो सुनिन्छ। भट्टेडाँडामा जडित नयाँ उपकरण पनि प्रयोगमा आएको खासै देखिँदैन। किन चासो नदिनुभएको?

हैन, यो त एकदमै गलत कुरा हो। भट्टेडाँडाको राडार एकदमै राम्रोसँग चलिरहेको छ। दुई हप्ता जति समस्या आएको थियो। त्यसपछि इन्जिनियर साबहरुले तुरुन्त बनाउनुभयो। अहिले चलिरहेको छ। होइन कसैलाई त्यस्तो लाग्छ भने प्रमाणित गरिदिनुस म मेरो इन्जिनियरलाई कारबाही गर्छु र म पनि कारबाही भोग्न तयार छु।

त्यसो भए नेपाल उत्रिएका विदेशी पर्यटकले आहा! नेपालको एयरपोर्ट भन्ने वातावरण बन्दैछ त?

एकदमै। भनिन्छ नि सबै विषयमा फेल हुने विद्यार्थीले पास मार्क मात्र ल्यायो भने पनि धेरै उपलब्धि गरेको मानिन्छ। हामीकहाँ यहाँ समस्याको चाङ थियो र अझै पनि छ।तर केही मैले समाधान गरे केही गर्दैछु। गर्न धेरै बाँकी होला तर धेरै परिवर्तन भएको छ। भोलि मैले यो काम गर्नुछ भनेर राति सुत्दा पनि म सोचिरहेको हुन्छु। राति १२ बजे मैले मेरो स्टाफ, सहकर्मीलाई म्यासेज गरेको छु, भोलि बिर्सिन्छु कि भनेर। त्यसरी पनि काम गरिरहेको छु। मलाई लाग्छ विगतभन्दा सुधार भएका छन्, अझै गर्न बाँकी छ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने योजना अघि बढेको थियो, कहिले पूरा हुन्छ ?

बुटिकको त हामीले काम सुरु नै गरिसक्यौं। एक त काठमाडौँ विमानस्थल सुरुबाटै बुटिकको कन्सेप्टमा बनेको हो । तपाइलाई भनूँ, आजभन्दा ३०÷३५ वर्षअघि नेपालको एयरपोर्ट दक्षिण एसियामा दोस्रो राम्रो विमानस्थल भनेर चिनिन्थ्यो। कालान्तरमा हामीले यसलाई बिगार्यौं, मेन्टेन गरेनौं त्यही भएर यस्तो अवस्थामा आइपुगेको हो। तर अहिले सम्माननीय प्रधानमन्त्रीज्यूले भनेपछि फेरि पनि हामी यसमा लागेका छौं। तर कम्तीमा डेढ वर्ष त लाग्छ।त्यसपछि बुटिकको केही न केही स्वरुप देखिन्छ।

केही दिनअघि नोट्यामको विषयले निकै चर्चा पाएको थियो। खासगरी नेपाल एअरलाइन्सको जहाजमा नोट्याम लागु भएपछि उडानको अनुमति नपाउनु तर फ्लाई दुबईको विमानले भने उडान अनुमति पाएपछि उब्जिएको विवाद साम्य भयो अब?

यो विषयमा हाम्रो देशका मिडियाले लेखेको देखेर बेला-बेला अचम्म लाग्छ। हिजो नेपाल एअरलाइन्सलाई उडान अनुमति नदिँदा किन एनएसीलाई दिइएन भनियो। किन मानवता हेरिएन भनेर यहीँका मिडियाले लेखे। त्यति बेला म नेपालबाहिर थिए। जब मैले फ्लाई दुबईलाई अनुमति दिए त्यसपछि विवाद झन् बढाइयो। त्यो फ्लाई दुबईमा पनि आखिर हाम्रै नेपाली दाजु भाइ नै त थिए नि। त्यस्तो घटना नहोस् भनेर मैले अनुमति दिँदा फेरि औंला उठाइयो। तर मनत्रालयका सहसचिवको नेतृत्वमा बनेको समितिले तयार पारेको प्रतिवेदनले त प्रस्टै भनेकै छ। कसैलाई चोट दिँदा उसलाई जति दुख्छ आफूलाई पनि त्यति नै दुख्छ भनेर बुझ्नुपर्छ। अनि मात्र संस्था, समाज र देश चल्छ।  

महाप्रबन्धक क्षेत्री सँग गरिएको कुराकानी भिडियोमा पनि हेर्न सक्नुहुन्छ

प्रकाशित: २६ वैशाख २०७६ ११:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App