२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

अब मेरो लक्ष्य सिनियर टिमलाई विश्वकपसम्म पुर्‍याउने: पूजा महतो

कुराकानीका क्रममा राष्ट्रिय टिमकी उपकप्तान पूजा महतो । तस्बिर : नागरिक

राष्ट्रिय टिमकी उपकप्तान हुन् पूजा महतो। राष्ट्रिय टिममा डेब्यू गरेको मात्र २० महिनामा उनले उपकप्तानको जिम्मेवारी पाएकी हुन्।

अण्डर १९ को कप्तानीसमेत गरेकी पूजाले नेपालको महिला टिमलाई पहिलो पटक अण्डर १९ को विश्वकपसम्म पुर्‍याइन्। राष्ट्रिय टिमको जर्सी लगाएको मात्र २० महिनामा पूजाले आफूलाई अलराउण्डरका रुपमा स्थापित मात्र गराएकी छैनन् नेपालको महिला टिमलाई विश्वसामु चिनाउन प्रयास गरिरहेकी छन्।

उनलाई नेपाल रिपब्लिक मिडियाले १६औं नागरिक नायकका रुपमा हालै सम्मान पनि गरेको छ।

उपकप्तान पूजा महतोसँग हामीले कुराकानी गरेका छौं।

नेपाल क्रिकेट संघ (क्यान) ले तपाईंलाई राष्ट्रिय टिममा उप–कप्तानको जिम्मेवारी दिएको छ। टिमलाई विश्वकपसम्म पुर्‍याउन नयाँ योजनाहरू के–के छन् ?

पूजा: जिम्मेवारीले मान्छेलाई बलियो बनाउँछ। पहिला सिनियर टिममा त्यति जिम्मेवारी पाएको थिइन। तर यु–१९ को कप्तानको जिम्मेवारी पाएपछि आफूसँगै नेपाललाई चिनाउने काम गरेँ। अहिले सिनियर टिममा पनि उपकप्तानको जिम्मेवारी पाएको छु। यहाँ पनि केही राम्रो छाप छोड्ने छु।

तपाईं त अब सिनियर टिममा उपकप्तान बन्नु भयो। अण्डर १९ को नेतृत्व अब कसले गर्छ ? 

पूजा: म १९ वर्षको भन्दा ठुली भए। अब अण्डर १९ बाट खेल्दिन। अडर १९ मा आउने दिनमा अझै राम्रो ‘जेनेरेसन’ हरू छ। म भन्दा पनि अझै राम्रो खेल्छ जस्तो लाग्छ।

बुबाको रोजगारीको सिलसिलामा नेपालको महोत्तरीबाट दिल्ली जानुभयो। दिल्लीबाट नेपाल क्रिकेटसँग कसरी जोडिनु भयो ?

पूजा: म दिल्लीमा प्रशिक्षण गरिरहेको थिएँ। त्यही बेला मेरो भाइ र बुबा नेपालमा एक कार्यक्रमको लागि आउनुभएको थियो। उक्त समय यु–१६ को गेम चलिरहेको थियो। त्यहाँ मेरो भाइले सहभागिता जनाएको थियो। पहिलो म्याचमा प्लेयर अफ द म्याचको ट्रफि दिन क्यानका उपाध्यक्ष (रोशनकुमार सिंह) आउनुभएको थियो। त्यस बेला मेरो भाइले मेरो दिदी पनि खेल्छ भनेको रहेछ। त्यसपछि सरले मेरो भिडिओहरू हेर्नुभयो। अनि मलाई नेपालमा बोलाउनु भएको थियो।

२२ अगस्ट २०२३ मा हङकङ विरुद्धको म्याचबाट नेपाली महिला राष्ट्रिय क्रिकेट टिममा डेब्यू गर्नुभयो। सो पछिको यो २० महिनामा सिनियर टिममा उत्कृष्ट प्रदर्शन, यू–१९ को कप्तान, विश्वकपसम्मको यात्रा, अहिले फेरि राष्ट्रिय टिमको उप–कप्तानको जिम्मेवारी। जीवन छुमन्तर जस्तै गरेर परिवर्तन भएको जस्तो लाग्दैन ?

पूजा: यो सबै मेरो बुबाको आशीर्वाद जस्तो लाग्छ। अभिभावको सपोर्ट भए सन्तानले पक्कै पनि केही राम्रो गर्न सक्छ। त्यस कारण मेरो परिवारको आशीर्वादले नै म यहाँसम्म पुगेको हुँ।

हङकङसँगको डेब्यु म्याचमा तपाईंको मनस्थिति कस्तो थियो ?

पूजा: त्यति बेला केही सोचेको थिइन। जुन अभ्यास म गर्छु, त्यहीँ कुरा गेमहरूमा प्रयोगमा ल्याउँछु। डेब्यु म्याचमा केही फरक गर्छु भन्ने थियो। मान्छेले याद राखुन् पूजा महतो को हो भन्ने गराउनु थियो।

नोभेम्बर १२ र १३ तारिख सबै नेपालीले सम्झिने दिन। सोही प्रतियोगिताले नेपाललाई पहिलो पटक विश्वकपसम्म पुर्‍यायो। त्यसमा कप्तानी भूमिका र प्रदर्शन तपाईंको रह्यो । के कामना गर्नुभएको थियो र त्यस्तो ऐतिहासिक प्रदर्शन गर्नुभयो ?

पूजा: एउटा म्याच हामी पहिला नै हारी सकेका थियौँ। त्यस कारण रन रेट बढाउनु पर्ने जिम्मेवारी पनि थियो। कप्तानको हिसाबले त्यो जिम्मेवारी मैले नै लिनुपर्ने थियो। सौभाग्यवश भगवानले पनि मलाई साथ दिनुभयो। त्यो दिन मैले एक सय रन र ५ विकेट लिन सफल भएँ। त्यो मेरो जीवनको एक महत्वपूर्ण घुम्ती थियो। त्यहाँबाट मैले बुबालाई भिडिओ कल गरेको थिएँ। मैले प्राप्त गरेको उपलब्धि सुनाउँदा बुबाले अर्को म्याचमा टिमलाई जिताएर महिला क्रिकेट टिमलाई विश्वकपमा पुर्‍यायौ भने मात्रै म खुसी हुन्छु भन्नुभयो। मेरो बुबाले सोचेको पूरा भयो। अर्को म्याचमा हामीले जित्यौँ र विश्वकपमा पुग्न सफल भयौँ।

युएईलाई हराएर विश्वकप छनोट भएको दिन कस्तो महसुस गर्नुभयो ?

पूजा: युएईमै म्याच भइरहेको थियो। उसलाई हराउन ठुलो कुरा थियो। केही गर्ने हामी सबैको सपना थियो। सबै खेलाडीलाई कप्तान प्रति माया र विश्वास थियो। राम्रो कप्तान पाएको र क्वालिफायर पूरा गर्छौ भन्ने सबैको मनमा थियो। हाम्रो सामूहिक एकताले नै हामीलाई यहाँसम्म पुर्‍याएको हो।

तपाईं जन्मेको साल तिरै हुनुपर्छ रूविना क्षेत्री, सिता राना मगर लगायत सिनियर खेलाडीले क्रिकेट खेल्न थालेको। अहिले उपकप्तानको जिम्मेवारी पाउँदै गर्दा उहाँहरूसँग राष्ट्रिय टिममा हुनुहुन्छ। कसरी सहकार्य गर्नुहुन्छ ?

पूजा: मैले दुई वर्षदेखि मात्रै नेपाललाई योगदान पुर्‍याइ रहेकी छु। तर दिदीहरूले १५ वर्षदेखि नेपाली महिला क्रिकेटको लागि योगदान दिइरहनुभएको छ। म चाहन्छु आफ्नो सपनाभन्दा पनि दिदीहरूको सपना पूरा गर्ने। विश्वकपसम्म पुग्ने सपना पूरा गर्ने प्रयत्न गर्नेछु।

विश्वले नेपाली महिला क्रिकेटलाई चिन्नुमा पूजा महतोको पनि महत्त्वपूर्ण योगदान छ। पूजा महतो उपकप्तान हुँदै गर्दा टिमभित्र तपाईंको भूमिका ब्याटर, बलर वा फिल्डर के हो ? 

पूजा: क्रिकेटमा दिनले पनि फरक पार्छ जस्तो लाग्छ। जुन दिन जे राम्रो प्रदर्शन गरे त्यहीँ हो। सबैभन्दा म ‘पेवर अलराउन्डर’ हो। म कहीँ पनि छोड्दैन। चाहे बलिङ, ब्याटिङ वा फिल्डिङ नै किन न होस्।

तपाईंलाई भविष्यमा विश्व ‘अलराउन्ड र्‍याङकिङ’ को एक नम्बरमा हेर्न सकिन्छ ?

पूजा: एकदमै। मेरो सपना नेपालमा मात्रै होइन, कुनै दिन आइसिसीको ‘वुमन अलराउन्डर र्‍याङकिङ’ को पहिलो नम्बरमा आउन चाहन्छु।

सानै उमेरमा महोत्तरी छाडेपनि अहिलेको पूजा महतोलाई जन्मस्थलमा पाउँदा आफन्त, स्थानीयवासी, साथीहरू के भन्छन् ? कस्तो अनुभव गर्नुहुन्छ ?

पूजा: पहिला त हाम्रो मधेसमा त्यति सम्मान थिएन। जब म क्वालिफायर गरेर गएको थिएँ त्यति बेला एकदम सेलिब्रिटी जस्तो व्यवहार गर्नुभएको थियो। नातेदार तथा छिमेकी म भन्दा उमेरमा ठुला मान्छेले पनि मलाई पूजाजी भन्नुभएको थियो। त्यो नै मेरोलागि सबैभन्दा ठुलो जित थियो। १९ वर्षको उमेरमा ‘जी’ सुन्न पाउने, ‘म्याम’ सुन्न पाउनु नै आफैमा गर्वको कुरा हो। जुन मैले प्राप्त गरेको छु। त्यसका साथै थप जिम्मेवारी पनि बढेको छ। १९ वर्षको उमेरमा यस्तो राम्रो उपलब्धि पाएको छु। पछाडि जानु हुँदैन। अगाडि नै जान्छु।

तपाईंपछिको पुस्ताले पूजा महतो बन्ने सपना बनाएका छैनन् तपाईंको गाउँमा ?

पूजा: महिला युवा क्रिकेट खेलाडीले मलाई चिन्नुहुन्छ जस्तो लाग्छ। उनीहरूले पूजा दिदी जस्तो बन्न चाहन्छु भन्नुहुन्छ। आउने दिनमा नेपालमा पूजा महतो भन्दा पनि राम्रो खेल्ने खेलाडीहरू आउनेछन् भन्ने लाग्छ।

मधेस मात्रै होइन समग्र देशकै धेरै चेलीहरू घरबाहिर आउन पाउनुभएको छैन। उहाँहरूलाई तपाईंको सन्देश के रहन्छ ?

पूजा: सुरुवातमा मेरो आमालाई पनि छिमेकीले नराम्रो कुरा भन्ने गर्दथे। हामी तीन दिदीबहिनी थियौँ। छोरीहरूले के गर्न सक्छ ? फेरि बिहे पनि गर्नुपर्छ। त्यसमाथि क्रिकेट पनि खेलाइ रहेका छौँ। के गरिरहेको तिमीहरू भन्ने प्रश्न उठाउने गर्दथे। मेरो आमाले त्यति बेला मलाई भन्नुहुन्थ्यो– हामीले समाजको कुरा नसुनेर तिमीलाई क्रिकेट खेलाएका छौँ। सबै जिम्मेवारी नै तिमी माथि छ। त्यति बेला मैले मेरो बा-आमाको सपनालाई आफ्नो सपना बनाएको थिए।

हाम्रो मधेसीमा अलि नकारात्मक सोच हुन्छ। महिलाले केही गर्न सक्दैन। मेरा बा-आमाले मलाई दिल्ली नलगेको भए मेरो बिहे पनि भइसकेको हुन्थ्यो होला। त्यस कारण म आफूलाई एकदमै भाग्यमानी ठान्दछु। अहिले समाजले मेरो छोरी पनि पूजा महतो जस्तो बनोस् भन्ने चाहन्छ। त्यो हाम्रो छिमेकी र आफन्तहरू भन्ने गर्छन्।

पूजा महतो बन्न चाहने ती साना चेलीका लागि तपाईंको भविष्यको योजना के छ ?

पूजा: महोत्तरीमा एकेडेमी खोल्ने मेरो र मेरो बुबाको सपना छ। एउटा पूजा महतो मात्रै होइन पूजा महतो जस्तो धेरै चेलीहरू निस्केर नेपालको नाम चम्काओस्।

प्रकाशित: २२ वैशाख २०८२ १९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App