चार वर्षका लागि मुलुकको सबैभन्दा ठुलो प्राज्ञिक संस्था त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त भएका प्रा.डा. केशरजङ्ग बरालले एक वर्षमै हठात् राजीनामा दिए। विश्वविद्यालयको कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई हप्ता लगाएर उनको राजीनामा स्वीकृत समेत गरिसकेका छन्। अहिले प्रा.डा. बरालको राजीनामाका विषयमा अनेक चर्चा परिचर्चा भइरहेका छन्। यसै सन्दर्भमा प्रा.डा. बरालसँग नागरिककर्मी रुबी रौनियारले कुराकानी गरेकी छन्। प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंश:
-तपाईँले दिएको राजीनामा स्वीकृत भएको छ। अहिले कस्तो महसुस गरिरहनु भएको छ?
मैले राजीनामा चैत्र १४ गते दिएको थिएँ। प्रधानमन्त्री ज्यूले स्वीकृत गरेको खबर मलाई बिहीबार पौने तीन बजे प्राप्त भयो। प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले जानकारी गराउनुभएको थियो। राजीनामा स्वीकृत भएको थाहा पाएपछि मेरो टाउकोबाट ठुलो बोझ उभिएको महसुस भएको छ।
-चार वर्षका लागि नियुक्त हुनुभएको थियो। तर एक वर्षमै राजीनामा दिनुभयो। तै पति खुसी किन नि?
के गर्ने त, मलाई प्रधानमन्त्री एवं कुलपति ज्यूले सहयोग नै गर्नु भएन। म उपकुलपति नियुक्ति भएपछि साउन १५ गते पहिलो सभा राखेको थिएँ। त्यो सभामा उपकुलपति नियुक्त हुँदा सरकारलाई पेस गरेको आफ्नो २०३० सम्मको विश्वविद्यालय सुधारको दृष्टिकोण समेटेर नीति तथा कार्यक्रम पेस गर्न खोजेको थिएँ। कुलपतिज्यू(प्रधानमन्त्री)ले रोक्नुभयो, पेस गर्न दिनुभएन। बजेट मात्रै पास भयो। यसले सभामा मेरो अपमान भएको महसुस गरेँ। कुलपति ज्यूसँग मेरो मनमुटाब भयो। त्यसपछि हाम्रो सम्बन्धमा खटपट हुन थाल्यो। मेरो काममा असहयोगको महसुस हुन थाल्यो। विश्वविद्यालयभित्र कुलपति ज्युसँग खटपट गरी पदमा बसिरहन उपयुक्त नलागेपछि राजीनामा दिएर हिँडेको हुँ।
-तपाईँले यस्तो दाबी गरे पनि विश्वविद्यालयकै केही प्राध्यापकहरूले विश्वविद्यालय भित्रको समस्या समाधान गर्न नसकेर भागेको आरोप लगाइरहेका छन् नि। यसमा के भन्नु हुन्छ ?
म भागेको होइन। त्रिविमा करारदेखि आंशिक शिक्षकका समस्या पहिलेदेखि नै चुनौतीका रूपमा छन्। मैले आफ्नो भिजनअनुसार नै रेक्टर र रजिस्ट्रार पनि नियुक्ति गरी उहाँहरूलाई समेत साथमा लिएर मेरिटोक्रेसीका आधारमा त्रिवि सुधारको थालनी गर्न खोजेको थिएँ। त्यही सन्दर्भमा डिन र कलेज प्रमुखहरूको नियुक्ति पनि मापदण्ड बनाएर मेरिटकै आधारमा गर्न सुरु पनि गरेँ। तर, पछि त्रिवि भित्रकै प्राध्यापक सङ्गठन, विद्यार्थी सङ्गठनको डर, त्रास धम्की आयो। काम गर्न चुनौती थपियो। त्यसमाथि कुलपति ज्यूले मङ्सिर २७ गतेको सभाबाट छिटो डिन नियुक्तिका लागि अल्टिमेटम दिनुभयो। यो पनि मेरिटोक्रेसीबाट गर्न सकिएन। अर्कातिर सर्वोच्चले करारलाई बिना प्रतिस्पर्धा स्थायी नगर्न निर्देशन दियो। त्यसले करार शिक्षकको आन्दोलनको तनाव थपिन थाल्यो। कार्यालय प्रवेशमै बाधा आयो, कति दिन घरबाटै काम गरेँ। स्वास्थ्यले पनि साथ दिएन। सबैतिरबाट असहयोग भयो। मैले करार शिक्षकलाई निकास दिन्छु भनेको थिएँ, केही दिनमा राजीनामा दिएँ, उहाँहरूले पनि निकास पाउनुभयो।
-राजीनामा विकल्प होइन होला नि? तपाईँ जस्तो प्राज्ञिक र प्रशासनिक क्षमता भएका व्यक्तिले जिम्मेवारीमै रहेर निकास दिनुपर्ने होइन र?
म कलंक लिएर बाँच्न सक्दिनँ। केही दिनअघि मात्र प्रधानमन्त्री ज्यूले कीर्तिपुरको रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने काम सुरु भएको भन्नुभएको छ। यसले त्रिविको शैक्षिक वातावरण नै खलबलिन्छ । म रहुन्जेल यस्तो गर्न दिन्न। कसको पालामा रंगशाला बन्यो? भन्ने सवाल उठ्दा जवाफमा मेरो नाम आउने भयो। यो एउटा कलंक नै हुन्छ। कतै पनि विश्वविद्यालयभित्र पठनपाठन हुने स्थलमा अन्तर्राष्ट्रिय रंगशाला छैन। यस्तो कलंकित कार्य मेरो पालामा हुने कुरा मलाई मन्जुर छैन। यस कारण राजीनामा दिएर मार्ग प्रशस्त पारिदिएको हुँ ।
-राजीनामा दिएपछि कुलपति ज्यूले तपाईँसँग छलफल गर्नुभयो?
छैन, मैले राजीनामा दिएको दुई सातापछि स्वीकृत भएको थाहा पाएँ। तर, त्यस अघि प्रधानमन्त्री ज्यूले मलाई एक पटक पनि किन राजीनामा दिएको भन्नेबारे सोध्नुभएन। मैले पनि भिजनअनुसार काम गर्ने वातावरण नभएपछि उपकुलपति पदमा बसिरहन उचित लागेन। उमेरले ७० पुग्न थाले धेरै तनावभन्दा तनावमुक्त भएर बाँच्नु नै ठिक लाग्यो।
प्रकाशित: २९ चैत्र २०८१ २०:०२ शुक्रबार