२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्वार्ता

‘समृद्ध फाकफोकथुमको आधार तयार गर्दैछौं’

दीपेन्द्र खनाल,अध्यक्ष, फाकफोकथुम गाउँपालिका

भौगोलिक हिसाबले विकट मानिने इलामको फाकफोकथुम गाउँपालिका जिल्ला सदरमुकामबाट टाढा पर्छ। पालिकाले अहिले भौतिक पूर्वाधारदेखि सामाजिक र सांस्कृतिक विकासका कामलाई प्राथमिकतासाथ अघि बढाएको छ।  गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालसँग नागरिककर्मी भीम चापागाईंले गरेको कुराकानीको अंश:

फाकफोकथुम गाउँपालिकाले कस्ता–कस्ता कार्यक्रम कार्यान्वयन गरिरहेको छ?

यो पालिका भौगोलिक हिसाबले सदमुकामभन्दा निकै टाढा छ। यहाँको पहिलो आवश्यकता सडक नै भएको छ, त्यो पनि बाह्रै मास गाडी चल्ने सडक। त्यसका लागि पालिकाले पालिकाको केन्द्रबाट जिल्ला सदरमुकामसम्म जोड्ने सडकलाई प्राथमिकतामा राखेको छ।

त्यति मात्र होइन, पालिका केन्द्रबाट सबै वडा पुग्ने सडकको काम पनि गरिरहेको छ। यसबाहेक सबै सिँचाइ आयोजनाको स्तरोन्नति गरिँदैछ। फलफूलका बिरुवा र वनका लागि अन्य बिरुवाको नर्सरी निर्माण गरी किसानाई वितरण गरिएको छ। नमुना कृषि फार्म सञ्चालनको कार्यक्रम पनि छ।

फाकफोकथुमलाई समृद्ध बनाउन कस्तो प्रयास भइरहेको छ?

यो पालिका कृषिमा सम्भावना बोकेको पालिका हो। यहाँको समृद्धि कृषिबाटै सम्भव हुनसक्छ। त्यसबाहेक पर्यटनलाई पनि पालिकाले सम्भावनाको क्षेत्र देखेको छ। कृषि क्षेत्रका नगदेबाली, चिया, कफी, एबोकाडो, किबी, तरकारीलगायतको खेती विस्तार अभियान सञ्चालन गरिएको छ। किसानलाई प्रोत्साहन गरिएको छ।

स्थानीय सरकार सहकारीको समन्वयमा कृषिउपज प्रशोधन उद्योग स्थापनाका लागि छलफल चलिरहेको छ। यहाँ उत्पादित अलैंची र अदुवाको सोझै तेस्रो मुलुक निर्यात गर्नेबारे संघीय सरकारसँग छलफल चलिरहेको छ।

दुग्ध डेरी सुधार अभियान, तरकारी संकलन र निकासीका लागि किसानसँग समन्वय र सहकार्य आवश्यकता महसुस भएकाले त्यसको पहल गरिरहेका छौं। सबैको समन्वय र सहकार्यले गाउँपालिका समृद्धिपथमा लम्किँदैछ, यसको आधार हामी तयार गर्दैछौं।

समृद्धि प्राप्तिका लागि कस्ता काम कार्यान्वयनको प्राथमिकतामा छन् त?

मैले अघि पनि भनें, हामी कृषिमार्फत् समृद्धि खोज्छौं। किसान जब सन्तुष्ट हुन्छन्, सर्वसाधारण र दूरदराजका सर्वसाधारण जब आफ्नो पालिका र देशप्रति गर्व गर्ने हुन्छन्, समृद्धि तब प्राप्त हुन्छ। यो पालिकालाई अहिले तत्काल चाहिँ भौतिक विकासकै खाँचो छ।

सडक, पुल, विद्यालय भवन, स्वास्थ्यलगायत विभिन्न पक्षमा तीव्रतासाथ समय खर्चिनुपर्ने आवश्यकता छ। हामीले अहिले सडक, पशुपालन, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी र पर्यटन पूर्वाधारलाई प्राथमिकता दिएका छौं।

तपाइँले भन्नुभएका कार्यक्रम कार्यान्वयनमा कस्ता चुनौती छन्?

केही गर्छु भनेर अघि बढ्दा सँगसँगै चुनौती आउँछन्। तर, ती सबैको सामना गरेर अघि बढ्नुपर्छ। चुनौतीले अल्झाए भने अघि बढ्न सकिँदैन। त्यसैले हामी दृढतासाथ गाउँपालिकालाई समृद्ध बनाउने काममा इँटा थप्दैछौं। अहिले हामीले चाहेर पनि सबैखाले काम गर्न सकिरहेका छैनौं किनकि हाम्रा स्रोत–साधन सीमित छन्, आवश्यकता धेरै छन्। जनअपेक्षा धेरै छ। हामीले वास्तवमा कामको प्राथमिकता तय गर्नमै चुनौती छ।

पछिल्लो समय नागरिकमा पनि सरकारप्रतिको आशा बढ्दो छ। सानाभन्दा साना काममा पनि सरकारको मुख ताक्ने प्रवृत्ति निरुत्साहित गर्ने प्रयासमा छौं। हामी कतिपय जनप्रतिनिधिमै नीतिगत र प्रक्रियागत ज्ञानको अभाव छ। आन्तरिक आयका स्रोत सीमित छन्, भएका कतिपय स्रोतको आय गुमिरहेको छ। जनशक्ति अभाव छ भने प्रदेश र संघबाट छुट्टिने बजेट वितरणमा असमानता छ।

आउँदो तीन वर्षपघि तपाईंंको पालिका कस्तो बन्नेछ?

सम्बोधन गर्नुपर्ने विषय धेरै छन्। हामी नागरिकका आधारभूत आवश्यकता परिपूूर्ति गर्नमै केन्द्रित छौं। नागरिकको जीवनयापक कसरी सहज बनाउन सकिन्छ भन्नेमा ध्यान दिन आवश्यक छ। यी विषयलाई योजनाबद्ध हिसाबले अघि बढाएर समृद्ध फाकफोकथुमको आधार तयार गर्न क्रियाशील छौं।

प्रकाशित: १२ माघ २०८० ०३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App