१७ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्वार्ता

मैले पार्टी बनाउन खोजेँ, मलाई सिध्याउन खोजियो: महरा

सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम जोडिएको छ। सुन तस्करसँगको संवाद र चिनजान भएको तथा पक्राउ परेको सुन छुटाउन विमानस्थलका कर्मचारीहरुलाई भनसुन गरेको भन्दै सुन प्रकरणमा संलग्न भएको आरोप लागेका माओवादी उपाध्यक्ष महराले यसको प्रतिवाद गरिरहेकै छन्। उनले विज्ञप्ति जारी गरेर यस विषयमा खण्डन गर्दै आएका छन्। 

सुन प्रकरणमा महरा कसरी र किन जोडिए भन्ने विषयमा केन्द्रित रहेर दाङमा नागरिककर्मी देवेन्द्र बस्नेतले महरासँग गरेकाे कुराकानी :

सुन तस्करी र तपाईँको ‘कनेक्सन’ को वास्तविकता के हो ?

यसबारे वास्तविकता के हो भने सुन प्रकरणसँग हाम्रो कुनै पनि संलग्नत छैन। थाहा पनि छैन। एक जना मान्छे उनको पुरा नाम पनि आउँदैन मलाई। वाङ भन्ने मात्रै थाहा छ। उनी म सँग धेरै वर्ष पहिले देखि चिनजान थियो। उनी वास्तवमा फलफूल व्यापारी नै हुन्। मैले उनलाई चिनेको फलफूल व्यापारीका रुपमा मात्रै हो। उनले फलफूल व्यापार गरेका थिए, हामीले उनीबाटै फलफूल ल्याउँथ्यौँ, उनले दिन्थे पनि।

उनीसँगको हाम्रो यस किसिमको सम्बन्ध हो। तर एक जना सुन व्यापारीले वाङसंग ‘भेव’ सामान भनेर मेरो पनि सामान पठाईदिनुस् फलफूलसँग भनेर भनेका रहेछन् जस्तो लाग्छ मलाई। वाङले मलाई यो पनि भनेनन्। उनले म सँग गरेको फलफूल ल्याउने नै कुरा हो। एक पटक मलाई भेटेरै उनले फलफूलसँगै एक जना साथीको भेवको सामान छ, त्यो चाहिँ भन्सारमा अड्कियो भने। मैले वैधानिक हो कि अवैधानिक हो भनेर सोधेँ। फेरी मलाई यो भेव भनेको के हो भनेर थाहा पनि थिएन।

मलाई वाङको सामान आउने भनेको फलफूल मात्रै हो भन्ने थाहा थियो। अनि उनले भेवको सामान भनेपछि मैले पटक पटक लिगल हो कि ईलिगल हो भनेर सोधेँ। उनले लिगल हो भने। अनि मैले वैधानिक हो भने के समस्या भयो त भनेर भन्सारका एक जना कर्मचारीलाई सामान अड्किएको र कानुन अनुसार गर्नुस् भनेँ। छोड्न मिल्ने हो भने छोड्नुस् ,लिलाम गर्नु पर्ने भए लिलाम गर्नुस् भनेर मैले भनेको यत्ति हो।

घटनाक्रम यही हो। अब त्यो सुन व्यापारीले वाङलाई समात्यो होला, तर वाङले म र मेरो छोरासँग गरेको कुरा फलफूलको बाहेक केही हैन। यो विषयमा सञ्चार माध्यममा समाचारहरु आएपछि मलाई अचम्म लाग्यो अनि मैले विज्ञप्ति पनि जारी गरेर स्पष्ट पारेँ। सरकारका प्रवक्ता पनि यस विषयमा बोल्नु भयो। अनि हिजो (सोमबार) त यो विषयमा गृहमन्त्री पनि बोल्नु भयो।

म माथि निरन्तर प्रहार भएपछि मैले सिआईबिका केही अधिकारीहरुसंग पनि भेटेँ। तपाई दोषी हो भन्ने प्रमाण केही पुग्दैन भनेर पहिले भनेकै थिए। म माथि अनुसन्धान गर्नु पर्ने कारणै छैन भन्ने कुरा छ, म कहाँ यो रिपोर्ट छ। म माथि के अनुसन्धान गर्नु पर्ने हो तयार छु, मैले सघाउँछु भनेर उहाँहरुलाई भनेँ। म बाट म माथिको अनुसन्धानमा कुनै समस्या हुँदैन भनेकै थिएँ। तर अहिले फेरी निरन्तर म माथि प्रहार भइरहेको छ, यो किन, कसरी आइरहेको छ ? यसर्थ मलाई कतै यो राजनीतिक प्रतिशोधका कारण चालिएको कदम त हैन ? भन्ने पनि लागेको छ। यो यति धेरै उछाल्नु पर्ने विषय पनि हैन।

तपाईँले फलफूल व्यापारी वाङको कुरा गर्नु भयो, उनीसँग कसरी चिनजान भयो?

मैले साल बिर्सेँ। १०/१२ वर्ष पहिले उनी नेपाल आएका थिए। फलफूल व्यापार गर्छु भन्थे। उनी नेपाली पनि बोल्छन्। फलफूल व्यापार गर्छु, तपाईँको जिल्ला तिर घुम्ने इच्छा छ भनेर पनि मलाई भने। रोल्पाको थवाङ सम्म उनी पुगे पनि। सामान्य फलफूल व्यापार त हो, त्यो पनि उनले वैधानिक तरिकाले व्यापार गर्छु भनेका थिए मलाई। तर मलाई उनको घर कहाँ हो भन्ने पनि थाहा छैन। मूलतः फलफूल व्यापार गर्ने क्रममा उनी म सँग जोडिएका हुन्, त्यसरी उनीसँग चिनजान हुँदै गएको हो।

वाङ सुन व्यापारी पनि हुन्? यो शंका पहिले भयो कि भएन ?

मलाई के लाग्छ भने उनी सुन व्यापारी आफै हैनन्। उनलाई कसैले प्रलोभनमा पार्‍यो र प्रयोग गरेको होला। मेरो अनुमान हो। त्यो पनि यकिन थाहा छैन। उनी आफै सुन व्यापारी हुन् कि उनलाई सुन व्यापारी कसैले प्रयोग गर्‍यो यो म बुझ्न सक्दैन। तर मैले उनलाई चिन्ने भनेको फलफूल व्यापारीका रुपमा मात्रै हो।

तपाईँको निरन्तरको टेलिफोन संवादले तपाईँलाई यो प्रकरणमा शंकाको घेरामा पार्‍यो नि ?

टेलिफोनका बारेमा त मेरो २२ पटक कि कति पटक कुरा भएको भनेर भनिएको छ, त्यो हैन। मैले त फोन भन्दा पनि भेटेरै कुरा गरेको भनेको छु नि। मैले वाङसंग त भेटेरै कुराकानी गरेको हुँ। अनि मेरो छोरासँग एक दुई पटक कुरा भएको होला। फेरी फलफूल व्यापारीका रुपमा भएको चिनजान नजिकको थियो, हाम्रो कुराकानी त भइरहन्थ्यो।

तपाईँ माथिको यो आरोपलाई माओवादी भित्रको ‘खेल’ पनि भन्छन् नि ?

त्यो त मैले बुझ्दैन। हो कि, हैन कि थाहा छैन। मैले हेर्दा खेरी त पार्टी भित्र आन्तरिक रुपमा सबै साथीहरूसँग समान व्यवहारमै छु। उहाँहरूले पनि मलाई त्यसरी नै बुझ्नु पर्छ। म हिजो पनि आज पनि पार्टी एकताको जिम्मामा छु। समाजवादी मोर्चा बनाउने जिम्मेवारी लिएको छु। यो जिम्मामा म नभए हुन्थ्यो भन्नेमा पार्टी भित्रै छन् कि कोही। त्यो चाहिँ थाहा भएन।

छन् कि कोही कि छन् ?

मलाई थाहा छैन। थाहा भएपछि न भन्ने हो। मलाई चाहिँ छन् कि भन्ने आशंका हो।

तपाईँलाई समाजवादी मोर्चा बनाउने जिम्मा नदिने मनसाय किन भएको हुन सक्ला त?

मैले पार्टीलाई राम्रो हुने काम गर्न खोजेको हुँ। यसले पार्टी बलियो होस् भन्ने मात्रै मेरो उद्देश्य, लक्ष्य हो। पार्टी राम्रो होस्, हामी सबै मजबुत होऔँ, जनयुद्धको बेला जस्तो थियो माओवादी, अहिले पनि माओवादीमा त्यस्तै ऊर्जा आवस् भन्ने धारणा मेरो हो। मलाई लाग्छ, मेरो यो लक्ष, चिन्तन प्रति कोही कमरेडहरु असहमत हुनुहुन्न। तर कहीँ कसैबाट यसमा खिलाफको मनसाय जोडिएको रहेछ भने यो दुर्भाग्य हो। र यो, पार्टीलाई बलियो बनाउन नचाहने चिन्तन हो।

आफ्नो राजनीतिक भविष्यका लागि महरालाई सिध्याउनै पर्छ भन्ने चिन्तन माओवादी भित्रका केही नेताहरुको छ, र अहिले यो प्रकरणमा तपाईँलाई राजनीतिक रुपमा सिध्याउन खोजियो भन्छन् नि ?

एउटा कुरा के हो भने, महरा सिद्धियो भने पनि पार्टी बलियो बनाउने प्रक्रिया सकिन्न। तर पार्टी बिग्रिए पछि महरा मात्रै हैन नि, पार्टीका सबै सिद्धिने हो। यसर्थ महरालाई सिध्याउने सवालसँग सुन प्रकरणको विषय सम्बन्धित बन्नु हुँदैन, बनाईनु हुँदैन पनि। महराले त पार्टीलाई बलियो बनाएर सबै साथी, कमरेडहरुलाई बनाउन पो खोज्या हो त। राम्रो होस् भन्न खोज्या छ। तर मेरो कसैसंग ईर्ष्या, डाह हैन नि।

अझै प्रष्ट रुपमा भन्नु न, यो प्रकरणमा तपाईँलाई बाहिरी भन्दा पनि पार्टी भित्रैबाट दोषी करार गर्न खोजिएको हो ?

त्यो त, मैले जान्दैन। मैले हेर्दा खेरी त भित्रबाट देख्दैन नि, देख्ने कुरा पनि भएन। फेरी म सबै साथीहरूसँग सम्पर्कमै छु, सबैलाई समान व्यवहार गरेकै छु। नदेखेको कुरा मैले अहिले यसै भन्ने कुरा पनि भएन। नत कुनै प्रमाण नै छ। अहिले त बरु बाहिरबाट देखिन्छ। मैले चाहिँ के देख्छु भने कोही बाह्य शक्तिको बढी हात हुन सक्छ। जसले कम्युनिष्टहरुको एकता मन नपराएको होस्। जसले कम्युनिष्टहरुको बृहत् एकता नचाहेको होस्। माओवादी फेरी सशक्त भएको देख्न नचाहने होओस्। यस्ता बाह्य शक्तिहरुले गरेको होलान्, त्यो देखिन्छ पनि।

तपाईँको पार्टी प्रवक्ताको जिम्मेवारी खोसिनुलाई पनि तपाईँलाई पार्टीमा कमजोर पार्न खोजिएको भनेर विश्लेषण भएको छ नि ?

मैले आफै यो निर्णय लिएको हुँ। मैले रोजेको विषयमा आफूलाई समर्पित गर्न पाएको छु। पार्टी एकता गर्ने, समाजवादी मोर्चा बनाउने भन्ने त झन् ठुलो विषय हो। यो जिम्मेवारीमा छु म अहिले। मेरो माग पनि यही थियो, कि समाजवादी मोर्चा बनाउने जिम्मा म लिन्छु भनेर पहिले देखि भन्दै आएको पनि थिएँ। र मैले अहिले यो जिम्मेवारी पाएँ, अब मैले त्यो भूमिका निर्वाह गर्नुपर्छ।

तपाईँले सुन प्रकरणमा आफ्नो संलग्नता छैन भन्नु हुन्छ, उसो भए तपाईँको नाम चाहिँ किन जोडिएको होला त ?

मैले के चाहन्छु भने सबै वामपन्थीहरू मिल्नु पर्छ। नेपालमा वामपन्थी, लोकतान्त्रिक शक्तिहरु मिल्नु पर्छ भन्ने मान्यता राख्ने मान्छे म हो। नेपालीहरुको विश्वासिलो राजनीतिक शक्ति बनोस्, कुनै अन्तर्राष्ट्रिय शक्तिहरुले चलखेल गर्ने कमजोर पार्टी नबनोस् भन्ने चाहना राख्छु म। मेरो बिचार मन नपराउनेहरुले आन्तरिक रुपमा मात्रै नभएर बाह्य शक्तिहरुले यो षडयन्त्र रचेको हो कि भन्ने मेरो आशंका छ। बाह्य शक्ति भन्नाले मैले फरक राजनीति शक्ति भन्न खोजेको हुँ।

छानबिन समिति नबनाईनुलाई अनुसन्धानलाई कमजोर पार्न खोजिएको भन्ने भनाईहरु पनि आए, यसमा तपाई के भन्नु हुन्छ ?

त्यो सरकारको कुरा हो। संसद्को कुरा हो। म दुवै ठाउँमा छैन। तर मेरो कुरा के हो भने विगतमा धेरै अनुसन्धानमा छानबिन समिति भएका छन्। त्यस्ता समितिले कुनै काम गरेका छैनन्। अनुसन्धान गर्छ, प्रतिवेदन बनाउँछ, प्रतिवेदन थन्किन्छ। यसर्थ सरकारले आफै गर्न सक्छ, सक्नु पर्छ। त्यसैले छानबिन समिति नबनाउने भनेर सरकारले भनेको होला। र यो संसद्को विषय भएकाले मैले यसमा थप बोल्नु जरुरी देख्दैन।

अनुसन्धानबाट भाग्ने र भगाउने षडयन्त्रका रुपमा जुन बुझाई भयो, यो हैन ?

मेरो हकमा यो हैन। म निवेदन दिएर म आफै जान्छु, अनुसन्धानमा मलाई छिटो बोलाऊ भनेकै छु त। मैले वक्तव्य नै दिएको छु। सरकारको जुनसुकै प्रक्रियाको छानबिनमा पनि मैले सहयोग गर्छु भनेको छु। यसर्थ मेरो हकमा त्यो लागु हुँदैन, त्यो हैन। तर अरुको हकमा चाहिँ मैले भन्न सक्दैन। सिआइविका केही मान्छेहरु सँग मेरो सम्पर्क भएको छ। र म १५ वर्ष जति राज्यको सत्तामा पनि बसेँ। त्यसैले मलाई धेरै कुराहरु थाहा पनि छ। तर टेलिफोन, अथवा चिनजानलाई नै प्रमाणका रुपमा अनुसन्धानको विषय बन्दैन भन्ने जवाफ मैले पाइसकेको छु। हिजो गृहमन्त्रीजीले पनि टेलिफोनको कुराकानीलाई मात्रै अनुसन्धानको प्रमाण मान्न नसकिने भनिसक्नु भएको छ। हिजो गृहमन्त्रीजीले जुन कुरा भन्नु भएको छ सत्य त्यही नै हो।

कृष्णबहादुर महरालाई आज, भोली या पर्सी कुनै न कुनै तवरबाट राजनीतिक रुपमा सिध्याउँछन् भन्ने भनाई पनि सुनिन्छ, त्यो खालको योजना माओवादी भित्र बनेकै हो त ?

हैन, महरालाई सिध्याएपछि म ठुलो, शक्तिशाली बन्छु भन्ने सोच कसैले राख्नु हुँदैन। सिद्धिएपछि वा नसिध्याएर कुनै तात्त्विक परिवर्तन हुन्छ वा आउँछ भन्ने कसैले पनि सोच्नु हुँदैन। यदि कसैले यो सोच राखेको छ भने यो गलत हो। त्यसले कुनै अभिष्ट पुरा हुँदैन। अर्को कुरा, मैले जे कुराको थालनी गरेको छु, त्यो कुराको थालनी त राम्रो भइरहेको छ, मैले हेर्दा खेरी। राम्रो देख्छु मैले। राम्रो कुराको थालनी गर्नेहरुको रिस गर्नेहरु हुन्छन्। तर एउटै सत्य कुरा के हो भने राम्रो कुराको रिस गरेर, राम्रो गर्न खोज्नेलाई सिध्याउन खोज्ने जो हुन्छन्, उनिहरुनै आफै सिद्धिन्छन्।

प्रकाशित: ३० श्रावण २०८० ०८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App