coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्वार्ता

‘पञ्चवर्षीय गुरुयोजना बनाउँदै छौं’

कर्णाली विशेष

लालवीर भण्डारी, मेयर, पंचकुमारी नगरपालिका

पञ्चपुरी नगरपालिकाको विकास र समृद्धिका लागि तपाईंका योजनाहरू केके छन्?

पञ्चपुरीको समग्र विकासका लागि पञ्चवर्षीय गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। गुरुयोजनामा कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर गुरुयोजना बनाइरहेका छौं। यसमा पनि हाम्रो मुख्य जोड कृषिमा छ। कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्दै कृषकहरूलाई आत्मनिर्भर बनाउने योजना गुरुयोजनामा समेटिएको छ।

कृषिसँगै पर्यटनलाई पनि जोड दिएका छौं। पञ्चपुरी पर्यटकीय हिसाबले समृद्ध छ। आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट मार्फत हामीले पञ्चवर्षीय योजनालाई सघाउ पुग्ने गरेर सम्बोधन गर्ने छौं। स्थान अनुसारका कृषि उपजहरूको बजारीकरणलाई पनि जोड दिएका छौं। पञ्चपुरी पश्चिम सुर्खेतकै केन्द्र भएकाले प्राविधिक शिक्षातर्फ पनि हाम्रो जोड रहनेछ।

पर्यटकीय दृष्टिले पञ्चपुरी समृद्ध छ। तर, पूर्वाधार र प्रचारप्रसारको अभाव देखिन्छ। पञ्चपुरीमा पर्यटक भित्र्याउने योजनाहरू केके छन्?

तपाईंले भनेजस्तै पञ्चपुरी धार्मिक र पर्यटकीय हिसाबले समृद्ध ठाउँ हो। यसको प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको हो। पर्यटन भित्र्याउनका लागि पनि सडक पूर्वाधार महत्वपूर्ण आधार हुँदो रहेछ। हामीसँग भेरी–कर्णाली दोभान छ। जुन पञ्चपुरीको कुइने, चौकुने गाउँपालिकाको घाटगाउँ र सुदूरपश्चिम प्रदेशको मोहन्याल गाउँपालिकाको बढीगाउँसम्म फैलिएको छ।

भारतीय तीर्थ यात्रुहरूलाई यहाँसम्म ल्याउन सकेको खण्डमा मात्रै पञ्चपुरीको मात्रै नभएर समग्र कर्णाली र सुदूरपश्चिमको मुहार फेरिन्थ्यो। अहिले सडक पूर्वाधार निर्माण सम्पन्न भएका छन्। कैलालीको चिसापानीसम्म सडक कालोपत्रेको काम भइरहेको छ। भेरी र दोभानलाई जोड्ने गरेर भेरी र कर्णालीमा चार वटा पुल बनेका छन्। माथि उल्लेख गरिएका दुई प्रदेशका तीन पालिका जोड्ने तीन मुखे झोलुङ्गे पुल निर्माणको पहल अघि बढाएका छौं।

यस्तै भारतबाट आउने धर्मावलम्वीहरूलाई भेरी–कर्णाली दोभानमा नुहाउने व्यवस्था गर्ने, वडा नं. २ स्थित कुण्डलनी गुफा, वडा नं. ९ का गुप्तीताल, शिव गुफा, वडा नं. ८ का दह ताल, चमेरे गुफाको भ्रमण गराउने योजनामा हामी छौं। यसका लागि दह तालमा चालु आर्थिक वर्षबाटै दुईवटा बोटमार्फत र्‍याफ्टिङ गराउने योजना बनाएका छौं।

पञ्चपुरी सुर्खेतको पश्चिम क्षेत्रको केन्द्र पनि हो? तर, जुन रूपमा विकास हुनुपर्ने हो त्यो हुन सकेको छैन? अबको पाँच वर्षभित्र पञ्चपुरीलाई कस्तो बनाउने लक्ष्य छ?

भेरी र कर्णालीमा सडक पुल नहुँदासम्म पश्चिम सुर्खेत पछाडि रह्यो। अब त्यो अवस्था छैन। पुलले सुदूरपश्चिम जोडिएसँगै अहिले पश्चिम सुर्खेतको विकासले फड्को मार्दै गइरहेको छ। सुदूरपश्चिमको चिसापानीदेखि बाबियाचौर–जंगलाघाट सडकको भाब्रसम्म कालोपत्रेको काम हुँदै छ। पूर्व–पश्चिम मदन भण्डारी राजमार्गको विद्यापुरदेखि चौकुनेको बल्लेसम्म कालोपत्रेको टेन्डर भइसकेको छ।

खम्बागाडेदेखि विद्यापुरसम्म कालोपत्रेको टेन्डर प्रक्रियामा जाँदै छौं। प्रदेश सरकारले बड्डीचौरदेखि खम्बागाडेसम्मको सडक कालोपत्रे गर्दै छ। हामीले पञ्चपुरी नगरपालिकाको विद्यापुरलाई शैक्षिक केन्द्र, सालकोटलाई स्वास्थ्य केन्द्र र बाबियाचौरलाई प्रशासनिक केन्द्र बनाउने गरेर गुरुयोजना बनाएका छौं। सोहीअनुसार काम भइरहेको छ। बाबियाचौरमा इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय स्थापना भइसकेका छन्। मालपोत कार्यालय र नापी कार्यालय स्थापनाको पहल गरिरहेका छौं। भूउपयोग नीति अन्तिम चरणमा छ। बाबियाचौरको ५ र ६ लाई आवासीय क्षेत्रका रूपमा अघि बढाउँदै छौं।

जमिन भएर पनि वर्षौंदेखि यहाँका नागरिकहरू लालपुर्जा पाइराखेका छैनन् ? लालपुर्जा वितरणको काम कहाँसम्म पुग्यो?

पश्चिमको सबैभन्दा ठुलो समस्या नै लालपुर्जाको हो। अब यो समस्या धेरै लामो समयसम्म रहँदैन। लालपुर्जाको समस्या समाधान चाँडै हुन्छ। वडा नं. ११ मा १५० पुर्जा तयार भएका छन्। ५ र ६ को वैशाखभित्र अव्यवस्थित बसोबासका जमिनहरू नापी गरेर चालु आर्थिक वर्षभित्रमा १५ सय जनालाई लालपुर्जा वितरण गर्ने गरेर काम गरिरहेका छौं। आगामी दुई वर्षभित्र सबै नागरिकका हातहातमा पुर्जा वितरण गर्ने लक्ष्यमा हामी लागेका छौं।

पश्चिम सुर्खेत दुरीका हिसाबले नजिक भए पनि भेरी र कर्णाली नदीमा पुल नहुँदा सधैं पछाडि पर्‍यो। अहिले भेरी र कर्णालीमा चार वटा पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएका छन्। सुदूरपश्चिमको तराईसँग पश्चिमको सिधै सम्पर्क स्थापित भएको छ। यसले पश्चिमको समृद्धि र विकासमा कस्तो टेवा पुर्‍याउँछ?

तपाईंले भनेजस्तै भेरी र कर्णालीमा बनेका चार वटा पुलले पश्चिम सुर्खेतको विकासको ढोका खोलेका छन्। पुल सञ्चालनमा आएसँगै सडकहरू कालोपत्रे हुन थालेका छन्। पश्चिम सुर्खेतले पूर्व–पश्चिम राजमार्गसँग नजिकको सम्बन्ध जोड्न पाएको छ। भारत लगायतका ठाउँमा जान र आउन दूरी घटेको छ। पश्चिमको उत्पादनले बजार पाउन थालेको छ। भेरी नदीमा बनेको जामु पुल, सुर्खेतका घाटगाउँ र कुइने जोड्ने भेरी नदी पुल, कैलालीको बडीगाउँ जोड्ने चिप्लेमा कर्णाली नदीमाथिको पुल र सुर्खेतको तातापानी कुइने र कैलालीको मोहन्यालको कुइने जोड्ने कर्णाली नदीमाथि पुल पश्चिमका समृद्धिका ढोका हुन्।

अब कर्णालीको तिरैतिर भेरी–कर्णालीको स्नान गरेर चीनको मानासरोवर पुग्ने ढोका पनि खुल्दै छ। कर्णाली करिडोरको जंगलाघाटमा पनि पक्की पुल बन्दै छ। यसले अछाम जोडेर कालीकोट हुँदै बाजुरा भएर हुम्ला पुग्न सहज हुनेछ। पुल बनेसँगै साबिकको कर्णाली र सुदूरपश्चिमको अछाम र बाजुराका पहाडी क्षेत्रमा जाने र आउने यातायातका साधनहरू प्रदेश राजधानी हुँदै बाँके–बर्दिया हुँदै घुम्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ।

यातायातका दृष्टिकोणले पश्चिम सुर्खेत सुगम बन्दै गएको छ। कर्णालीलाई यी पुलहरूले सुदूरपश्चिमसँग जोड्ने छोटो दुरी बनाएको छ। वीरेन्द्रनगरबाट झन्डै ७० किलोमिटर यात्रा गरेपछि सुदूरपश्चिमको चिसापानी पुग्न सकिन्छ। अझ सडक कालोपत्रे भएपछि यसको दुरी र समय पनि छोटिनेमा दुई मत छैन।

प्रकाशित: ३० चैत्र २०७९ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App