राप्रपा र राप्रपा नेपाल नामक दुई दलबीच एकीकरण भएको छ। एकतापछिको दलमा एउटा दलका अध्यक्ष पार्टी अध्यक्ष तोकिएका छन् भने अर्को दलका अध्यक्ष राष्ट्रिय अध्यक्ष। उस्तै लाग्ने यी दुई पदको औचित्य, जिम्मेवारी र हैसियतबारे सर्वसाधारणमा उत्पन्न खुल्दुली मेटिन बाँकी छ। राजतन्त्रलाई आफ्नो अजेन्डा बनाउँदै आएको कमल थापाको दल र गणतन्त्रलाई स्विकारेको पशुपतिशमशेर राणाको दलबीच भएको मिलनको आधार पनि अचम्मकै छ, किनकि एकीकृत दलले गणतन्त्र छाड्ने वा राजतन्त्र भन्नेबारे निर्णय नै हुन बाँकी छ। यी लगायत समग्र समसामयिक विषयमा नागरिकका मणि दाहाल र दुर्गा दुलालले एकीकरणपछिको राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणासँग गरेको कुराकानीको सार:
तीन महिनाअघि दुई दल एक हुने करिब–करिब पक्कापक्की भइसकेको थियो तर एक्कासि भाँडियो र आरोप/प्रत्यारोप पनि चल्यो। त्यसबीच एकीकरण हुन नसक्नु र अहिले फेरि एक्कासि एकीकरण हुनुका पछाडि कस्ता कारण होलान्?
यो एक्कासि भएको एकीकरण होइन। दुवै दलबीचको एकीकरणका लागि दुई वर्षदेखि निरन्तर छलफल चल्दै आएको थियो। त्यस क्रममा विभिन्न आरोह/अवरोह आए। अलि पहिले नै हुनुपर्ने एकीकरण हुन सकेन। पछिल्लो चरणमा अधिकार बाँडफाँटका विषयमा केही विषय मिलेका थिएनन्। सम्मानजनक नभएको देखियो। सरकारमा जाने/नजाने विषयमा पनि मतभेद थियो। हामीले खोजेको सबै विषयमा कुरा नमिल्दा त्यस समय एकीकरण हुन सकेन। अहिले राष्ट्रिय अध्यक्ष र पार्टी अध्यक्षबीचको अधिकार बाँडफाँटमा सहमति भयो र एकीकरणले मूर्त रुप लियो।
अधिकार बाँडफाँटको विषय टंुगियो तर नीतिगत विषयमा तपाईंहरुबीच अझै धेरै मतभिन्नता छन्। मुख्य रूपमा गणतन्त्र वा संवैधानिक राजतन्त्र भन्ने विषय नै छ। यस्तो अवस्थामा नीतिगत विवाद कसरी टुंगियो?
हामी गणतन्त्र पक्षधर हौं। हामी गणतन्त्रमै अघि बढ्छौं।
तर पार्टी अध्यक्ष (कमल थापा) ले त अहिले पनि राजतन्त्रको विषय उठाइरहनुभएको छ नि? यो नीतिगत मतभिन्नतामा कसरी अघि बढ्ला?
उहाँहरुले यो कुरा उठाइरहनुभएको छ। महाधिवेशनमा गएर यो विषय टुंगिन्छ। कमलजी पनि यहीँ आउनुहुन्छ भन्ने लाग्छ। कमलजी विद्यादेवी भण्डारी राष्ट्रपति बन्दा समर्थक बस्नुभएको छ। उहाँले अहिलेको गणतान्त्रिक संविधान स्विकारिसक्नुभएको छ। त्यसैले यो उहाँ गणतन्त्रमा आउनुहुन्छ भन्ने कुराको संकेत हो।
पार्टी एकीकरणको समयमा गर्नुभएको भाषण सुन्दा त राजतन्त्रको सवाल छाड्नुहुन्छजस्तो देखिँदैन्न नि?
उहाँलाई संवैधानिक राजतन्त्र छाड्न समय लाग्छ।
तपाईं गणतन्त्र छाडेर संवैधानिक राजतन्त्रमा जाने सम्भावनाचाहिँ कत्तिको छ?
गणतन्त्रबाट राजतन्त्रमा फिर्ता हुँदैनौँ।
एकीकरणपछि आफ्नो दललाई वैकल्पिक प्रजातान्त्रिक शक्तिका रूपमा प्रस्तुत गर्नुभएको छ। अबको राप्रपाको स्थान कुन हो?
२०४८ पछि हामी यो देशको प्रजातान्त्रिक विकल्प बन्न खोजेका हौं। एकीकरणपछि यसमा सफल हुन्छौं।
कांग्रेसको विकल्पका रूपमा राप्रपा आउन लागेको हो?
कांग्रेसको विकल्प किन हुनुपर्यो र? कांग्रेसको स्थान आफ्नै ठाउँमा छ, प्रजातान्त्रिक समाजवादी दलका रूपमा। एमाले साम्यवादी दलका रूपमा छ। राप्रपा धार्मिक, प्रजातान्त्रिक, परम्परावादी शक्तिका रूपमा रहनेछ। राप्रपाले कसैलाई प्रतिस्थापन गर्न खोजेको होइन, विकल्प दिन खोजेको हो। एउटा समाजवादी अर्को साम्यवादी भयो भने हामीचाहिँ उदारवादी दल हौं।
यो देश चलाउन अहिलेसम्म दक्ष र इमानदार व्यक्ति भएको शक्ति निस्केन। यो देशलाई कसैले दिशा नै दिन सकेनन्। एकातिर चीन फड्को मारेर अघि बढेको छ र पछिल्लो चरणमा हिन्दुस्तानले ›ुततर गतिमा विकास गर्न थाल्यो। नेपालचाहिँ कहाँ हो कहाँ छ। एउटा आर्थिक भ्याकुम भएर बसेका छौँ हामी। नेपाललाई तीव्र रूपमा अघि बढाउन नसकेको अवस्थामा अबको नेतृत्व हामी लिन्छौं।
राजनीतिक पोजिसनको कुरा गर्दा कांग्रेस र एमालेको मात्रै कुरा गर्नुभयो। अबको राजनीतिमा माओवादीको पोजिसनचाहिँ कहाँ नि?
उनीहरु (माओवादी) को दाबीचाहिँ एक्स्ट्रिम साम्यवादी हो। यसो हेर्दा माओवादीको परिस्थिति खस्कँदो छ।
अहिले तपाईंहरु माओवादीलाई पछि धकेल्दै राजनीतिक प्रभावको हिसाबले तेस्रो दल हो भन्ने दाबी हो?
अहिले संख्याका हिसाबले माओवादी नै तेस्रो दल हो। यस हिसाबले त्यस्तो भन्न मिल्दैन होला। एकीकरण कार्यक्रममै मैले भनेको थिएँ- राजनीतिमा दुईमा दुई जोड्दा चार होइन, पाँच पनि हुन सक्छ र आठ पनि हुन सक्छ। त्यस आधारमा राप्रपा अघि बढ्न खोजेको छ। हामी तेस्रो मात्र होइन, त्यसभन्दा निकै ठूलो दल बन्छौँ। दुइटा चुनावपछि हामी पहिलो दल बन्नेछौं।
चुनावको कुरा गर्नुभयो तर देशको अहिलेको अवस्था हेर्दा चुनाव होलाजस्तो देखिँदैन त?
अहिले देशको अवस्था चिन्ताजनक छ। सत्तापक्ष र विपक्षको बीचमा जुन दुरी देखिएको छ, त्यसले अत्यन्त कष्टमय र असजिलो अवस्थातिर देशलाई लैजाँदै छ भन्ने देखिन्छ।
अहिलेकै अवस्थामा देश रहन सक्दैन होला। दलबीच मिलनबिन्दु के हुन सक्ला त?
अहिले एमालेले लिएको पोजिसनचाहिँ बेमनासिब छ। अहिले दुइटा विकल्प छन्– संविधान कार्यान्वयन गर्ने वा नगर्ने। संविधान कार्यान्वयन गर्ने हो भने मुलुकको एकतिहाइ पाटो समेटेको पक्षलाई नसमेटी सम्भव हुँदैन। एकतिहाइ पाटोको केही हदसम्म समस्या हल गर्न खोज्दा एमाले यो हुँदैन, त्यो हुँदैन भनेर अघि बढेको छ। एकतिहाइ पाटोलाई वास्तै नगरी वा ध्यान नदिई मुलुक चल्छ भन्ने धारणा मनासिब होइन। एमालेले अहिले मेरो गोरुको बाह्रै टक्का भन्न मिल्दैन।
एमालेलाई जसरी बाइपास गरेर संविधान संशोधनमा दुईतिहाइ पुर्याउने विषय आएको छ, यसले समस्याको समाधान देला?
एमालेलाई बाइपास गरेर जान कसैलाई पनि मन छैन। हाम्रो पनि मन छैन। अहिले बाध्यता के हो भने मधेसको समस्या समाधान हुनुपर्यो। अहिलेको यो अडानले समस्याको निकास दिन्छजस्तो लाग्दैन।
संशोधनमा चार विषय छन्– सीमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभाको गठन। यस विषयमा तपाईंहरुको धारणा के हो नि?
सीमांकनबारे राप्रपाले आफ्नो घोषणपत्रमै स्पष्ट लेखेको छ– दुई मधेस प्रदेश हुनुपर्छ भनेर। नवलपरासीदेखि बर्दियासम्म मधेस प्रदेश हुनुपर्छ भन्ने हाम्रो धारणा छ। माथिल्लो सदनमा जनसंख्यालाई बढी महत्व दिनुपर्छ भन्नेमा कुनै सन्देह छैन। नागरिकताको विषयमा अंगीकृतलाई प्रमुख पद दिनुहुन्न अरू, दिए हुन्छ। भाषाको विषयमा हामीले खासै सोचेका होइनौं। अहिले कुरा आएपछि मात्र छलफल सुरु गरेका हौं। मुलुकको मूल भाषा नेपाली नै हो। केही हदसम्म रिकग्नाइज गर्ने भए हामी लचिलो छौं।
संशोधनबारे जे/जस्ता विषय आएका छन्। त्यसमा दलकै नेताले असन्तुष्टि जनाएका छन्। के सम्झौता गरेर मिल्नुपर्छ भन्ने धारणा हो?
पार्टी एकीकरण भर्खरै भएको छ। यसैले गहिराइमा कुराकानी भएको छैन।
अहिलेको सरकार बनेदेखि नै तपाईंहरु समर्थनमा हुनुहुन्छ। यसका कामकारबाहीलाई कसरी हेरिरहनुभएको छ?
यो सरकारले भूकम्पप्रभावित जिल्लामा जसरी पुनर्निर्माणको काम गर्नुपर्थ्याे, त्यस्तो गर्न सकेन। प्रभावित जिल्लामा पुनर्निर्माणका काम अघि बढ्नै सकेको छैन। एक जाडो र दुई बर्खा अस्थायी टहरामा बसेका मानिसले अर्को जाडो पनि उही हालतमा बिताउनुपर्ने अवस्था आयो। भूकम्पपीडितप्रति गरिएको ठूलो अन्याय हो यो। सरकारले जे/जस्तो गरेर भए पनि पुनर्निर्माणका काम सक्नुपर्छ। यसरी चल्दैन।
१९९० सालको भूकम्पपछि जुद्धशमशेरले एक पैसा नलिएर भूकम्पपीडितको उद्धार गरेका थिए। अहिले ४.४ बिलियन आएर पनि सरकारले यस्तो पुनर्निर्माणमा खर्च गर्न सकेको छैन। यो अत्यन्तै चिन्ताजनक विषय हो। दोस्रो, अहिले सरकारमा मात्र होइन, पहिलेदेखिकै हो, विगत १०–१२ वर्षदेखि विकासका काममा खर्च नै हुन सकेको छैन। तीव्र गतिले विकास गरिरहेका चीन र भारतबीच छौं हामी। अहिले नेपाल शंखेकीराको गतिमा अघि बढेको छ। आर्थिक वर्ष समाप्त हुने बेला 'हा... हुँ' गरेर धेरै रकम बर्खामा खर्च हुने गरेको छ। यस्तो तालले देश चल्दैन। मुलुकलाई चाहिएको दक्ष र इमानदार सरकार बन्नै सकेन। राप्रपा र राप्रपा नेपालबीचको एकीकरण यो मुलुकलाई दक्ष र इमानदार सरकार दिऔं भनेर नै भएको हो। हामी त्यसैका लागि एक भएका हौं।
तर कति दिन टिक्छ यो एकता? राप्रपा दुई वर्ष लगाएर मिल्ने र एक वर्ष नहुँदै फुट्ने इतिहास छ। अहिलेको एकीकरण लामो समय जान्छ भन्ने के ग्यारेन्टी छ?
राजनीतिमा केहीको पनि ग्यारेन्टी हुँदैन। तर नियत हाम्रो सदाका लागि मिल्ने हो। विगतमा भएका गल्तीबाट शिक्षा लिएर यसलाई लामो समय चलाउने हो।
तपार्इंको दलमा जुन पृष्ठभूमिबाट आएका मानिस छन्, व्यक्तित्व टकराब खुबै देखिन्छ, कसरी मिलाउनुहुन्छ?
हो, हुन सक्छ तर हामी एकताबद्ध भएर कति जान सक्छौँ, त्यो भविष्यले देखाउँछ। अहिले नै भन्न सक्दिनँ। यसपटक भने सदाका लागि मिलेका हुन सक्छौं।
पछिल्लो समयमा तपाईंको निकटता कांग्रेससँग र पार्टी अध्यक्ष कमल थापाको एमालेसँग देखिन्छ। प्रमुख प्रतिस्पर्धामा रहेका दुई दलतर्फको झुकावले पार्टी चलाउन समस्या हुँदैन?
यो सहज रूपमा सल्टन्छ, यसले समस्या पार्दैन। अन्ततोगत्वाः यो प्रजातान्त्रिक फाँटको दल हो, साम्यवादी फाँटको होइन। त्यसैले कोही कतैको निकटताले केही फरक पार्दैन।
एकीकरणको समयमा संसारभर राष्ट्रवादको लहर चलेको विषयमा पनि चर्चा भएको थियो। अहिले छिमेकी भारतमा मोदीको उदयसहितको विषयमा देखिएको परिर्वतनलाई 'क्यास' गर्न खोज्नुभएको त होइन?
राष्ट्रवादी पार्टी त हामी हौं नै। हामीले तीन चारवटा विषयलाई महत्व दिएका छौं। हिन्दु राष्ट्र बनाउने र यो देशमा इमानदार र सक्षम राजनीतिक नेतृत्व जसले देशको आर्थिक विकास चीन र हिन्दुस्तानको तुलनामा पुर्याउन सक्छ, त्यस्तो पार्टी बनाउने खोजेका छौं।
तपाईंले केहीअघि चीन र भारतले गर्दै गरेको समृद्धिको कुरा गर्नुभयो तर दुई देशबीच बसेर पनि नेपालले खासै फाइदा लिन सकेन। यो शृंखला कहिलेसम्म?
प्रकृतिले रिक्तता स्विकार्दैन। नेपालको बाध्यता जसरी पनि विकासको गति बढाउनु हो। यस्तो अवस्थामा रहिरहे नेपाल नरहन पनि सक्छ।
के यो देशको अस्तित्व नै रहँदैन भन्ने हो?
अस्तित्व रहला तर नेपाल हुनु वा नहुनुको अर्थचाहिँ रहन्न। तपाईंसँग केही पनि छैन भने चीन र हिन्दुस्तानबीचको भ्याकुम, गरिब मुलुक भएर रहनुको के अर्थ होला र? २१औँ शताब्दी एसियाको शताब्दी भन्ने गरिन्छ। हाम्रा दुई छिमेकीले द्रूततर विकास गर्ने तर हामी अहिलेकै अवस्थामा रहनु दुर्भाग्य मात्र होइन, ठूलो दुर्भाग्य हो। अहिलेका ठूला दलको कमजोरी नै यही हो। उनीहरुले देशलाई ›ुततर रूपमा अघि बढाउनै सकेनन्। कांग्रेस, एमाले वा माओवादी जो भए पनि उनीहरुको ठूलो असफलता नै यही हो।
राजनीतिक नेतृत्व मात्र असफल हो कि यसमा अन्य विषय पनि जोडिएका छन्?
मुख्य विषय राजनीतिक नेतृत्व नै हो। चीनमा देङ स्याओ पिङको उदयपछि प्रत्येक १० वर्षमा शासनमा परिवर्तन भए पनि मुलुक द्रूततर रूपमा अघि बढ्यो। यो राजनीतिक नेतृत्वकै कारण भएको हो। अहिले भारतमा नरेन्› मोदीको नेतृत्वमा कायापलट गर्ने काम भएको छ। हाम्रोमा नेतृत्व (सही) नभएका कारण त्यो हुन नसकेको हो। तीन दलमा नेतृत्व नभएका कारण यस्तो समस्या देखिएको हो। इमानदारी र सक्षमतामा रहेका कमजोरीका कारण उनीहरुले देशलाई अघि बढाउन नसकेका हुन्।
फेरि पार्टीतर्फ फर्किऔं। तीन महिनाभित्रै महाधिवेशन हुने सम्भावना कत्तिको छ?
हाम्रो भरमग्दुर कोसिस रहन्छ। जहाँसम्म कहिलेसम्म हुन्छ भन्ने प्रश्न छ, तीन महिनामा भएन भने चार महिना लाग्ला, के फरक पर्छ?
दुई अध्यक्ष रहने व्यवस्था महाधिवेशनपछि त नरहला, नेतृत्वमा उठ्ने योजनामा हुनुहुन्छ तपाईं?
महाधिवेशनपछि एउटै अध्यक्ष हुने व्यवस्था हुन्छ। अध्यक्षमा प्रतिस्पर्धा गर्ने वा नगर्ने भन्ने विषयमा केही विचार गरेको छैन। यो समय र परिस्थितिले निर्धारण गर्ने विषय हो।
प्रकाशित: १० मंसिर २०७३ ०३:४६ शुक्रबार