७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

‘बर्दिया आएका पर्यटक रमाएर फर्कन्छन्’

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारी।

नागरिककर्मी निर्मल घिमिरेले बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीसँग बर्दियामा पर्यटनको भविष्य कस्तो छ जस्ता विविध विषयमा गरिएको गरेको संवार्ता:

निकुञ्ज घुम्ने पर्यटक आउँछन्?

यस अघिसम्म दूरदराजमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जको पहुँच स्थानीय स्तरमा मात्र थियो। पछिल्लो समय अन्तराष्ट्रिय व्यक्तित्वको आवागमन बढ्न थालेपछि निकुञ्जको ओज बढेको छ। आन्तरिक पाहुना र बाह्य पाहुना आउने क्रम बर्सेनी बढेको छ। अचेल वर्षभरि आन्तरिक पर्यटक घुम्न थालेका छन्। विदेशी पाहुनाको हकमा समेत पर्यटककर्मी सन्तुष्ट छन्। यस आर्थिक वर्षमा ८ हजार पर्यटकमध्ये २५ सय देशबाहिरका पर्यटकले निकुञ्ज घुमेको तथ्याङ्क छ।

बर्दियामा पर्यटनको भविष्य कस्तो छ?

बर्दिया राष्ट्रिय निकुञ्जको व्यापक प्रचारप्रसार जरुरी छ। नेपालगञ्ज विमानस्थलमा ओर्लिएपछि बर्दिया आउने गाडी–यात्रा पनि त्यति सहज थिएन। औरही खोलामा पुल नहुँदा र सडक पक्की नहुँदा यात्रा असहज थियो। अहिले अवस्था फेरिएको छ। नेपालगञ्जमा विमानबाट उत्रिएपछि अहिले प्रशस्त गाडीघोडा पाइन्छ। बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वारा सजिलै पुग्न सकिन्छ। पर्यटक लक्षित गरी होटल सञ्चालनमा आएका छन्। बस्न र खानका लागि गुणस्तरीय होटल सञ्चालनमा आइसकेका छन्।

ठाकुरद्वारामा होटलको गुणस्तरीयता कस्तो छ?

२३ वटा होटल ठाकुरद्वारामा सञ्चालनमा छन्। सामान्यदेखि गणस्तरीय होटलको उपलब्धता छ। यस क्षेत्रमा होमस्टे सुविधा बढ्दै छ। डल्ला होमस्टे पाँच किलोमिटर दुरीमा छ। खान र बस्न सस्तो पर्छ। थारु समुदायको रहनसहनसँग चिरपरिचित हुन होमस्टे उपयुक्त हुन्छ।

आन्तरिक पर्यटकको आवागमन कस्तो छ?

पश्चिम नेपालको पर्यटकीय गन्तव्यका रूपमा बर्दिया राष्ट्रिय निकुञ्जलाई चिनिएको छ। बाघकै कारण बर्दिया बढी चर्चित छ। नेपालगन्जसम्म फ्ल्याइटमा आए पनि गाडी रिजर्भ गरेर ठाकुरद्वारा पुग्न सकिन्छ। यहाँ विमानस्थल भएको खण्डमा पर्यटक थेगिनसक्ने हुन्छ जस्तो लाग्छ। पर्यटकको चाप बढाउन विमानस्थल हुन जरुरी छ। त्यसका लागि चौतर्फी पहल भइरहेको छ। तर, विमानस्थलका बारेमा सम्बद्ध निकायले दबाबमूलक कार्यक्रम गर्नुपर्ने आवश्यकता छ।

ठाकुरबाबा मन्दिरको महत्त्व के छ?

माघ पहिलो साता ठाकुरद्वारामा मेला भर्न आउनेको घुइँचो लाग्छ। एक सातासम्म मेला लाग्छ। त्यो मेलामा भक्तजनको घुइँचो लाग्ने गरेको छ। ठाकुरबाबा मन्दिरमा थारु महन्तले पूजा गर्दै आएका छन्। 

प्रकाशित: १४ माघ २०७९ ०३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App