१६ चैत्र २०८० शुक्रबार
अन्तर्वार्ता

निर्वाचित सांसदले आफ्नो स्थान, गरिमा र महत्व बुझेर कदम चाल्नुपर्छः सभामुख घिमिरे

प्रतिनिधि सभाले हालै नयाँ सभामुख र उपसभामुख पाएको छ। माघ ५ एगते सभामुखमा सांसद देवराज घिमिरे निर्वाचित भएका थिए भने माघ ७ गते भएको उपसभामुखमा सांसद इन्दिरा राना निर्वाचित भइन्। निर्वाचित भएसँगै सभामुख र उपसभामुखले प्रतिनिधि सभाको एउटा बैठक सञ्चालन गरिसकेका छन्। 

कुनै दलको नेता भएर सभामुखले काम गरेको छ, भन्नेजस्ता विगतमा लाग्ने गरेका आरोपहरुबाट टाढा रहने चुनौति अहिलेका सभामुख र उपसभामुखलाई रहेको छ। दुवैले पार्टीगत रुपमा टाढा रहेर पार्टीका कुनै क्रियाकलपमा सहभागी नबनी सदनको भूमिका तटस्थ रुपमा नर्वाह गर्ने प्रतिवद्धता जनाइसकेका छन्।  

यसको परीक्षा आगामी दिनमा हुँदै जाने नै छ। सभामुखले संसदको नेता (सभामुख) को रुपमा तटस्थ भूमिका भूमिका निर्वाह गर्नुपर्छ। आफ्नो भूमिका कुनै दलगत नभइ सभामुखको रुपमा रहने सभामुख घिमिरेले बताइसकेका छन्। उनले नयाँ दल र नयाँ नेताहरु भएपनि दलगत प्रणालीबाटै आउकाले आधारभूत रुपबाट खासै फरक नरहेको बताए। सभामुखको आगामी काम, कर्तव्य र संसदमा आफ्नो भुमिकाबारे न्युज एजेन्सी नेपालसँगको सम्पादित अंश यस्तो छ।

सभामुख देवराज घिमिरेको अन्तर्वार्ता

प्रश्नः अहिलेको समयानुकुल आँखाले हेर्दा प्रतिनिधि सभालाई कसरी हेर्नुभएको छ र कसरी बुझ्नुभएको छ?

उत्तर: प्रतिनिधि सभा स्वभाविक रुपले जनताको मत जितेर आएका जिम्मेवार नेताहरुको सभा हो। अथवा जनताको सार्वभौम सत्ता प्रयोग हुने थलो हो। जसरी आएको छ, हिजोको तुलनामा अलिक नयाँ पार्टी, नयाँ सोच, नयाँ विचारका नयाँ नेताहरुसहितको आएको छ। र संख्याको हिसावले अलि ठूलो संख्यामा आएको छ। अनुभवको हिसावले पनि अलि नयाँनयाँ पार्टी, नयाँनयाँ नेताहरु आउँदा त्यो खालको अनुभव भन्दा बाहिरका अनुभवहरुसहित आउनुभएको छ। त्यो बाहेक एउटा प्रणालीबाट आउनुभएको छ। पार्टीबाट आउनुभएको छ र दलगत प्रणालीमा आउनुभएको दलको हिसावबाटै चल्नुहुन्छ। चल्नुपर्छ। त्यसमा हिजोको तुलनामा अलि फरक छ भन्नु स्वभाविक हो। तर आधारभुत रुपबाट त्यस्तो खास फरक छैन। त्यस्तो नयाँ मैले महशुस गरेको छैन।

प्रश्नः परम्परागत रुपमा रहेका राजनीतिक शक्ति र उनीहरुको प्रतिष्पर्धीका रुपमा आएका शक्तिहरु बीचको द्वन्द्व देखिने हो कि भन्ने शंका पनि छ, तपाई सभाको रेफ्रीको भूमिकामा हुनुहुन्छ, कसरी कार्यसम्पादन गर्नुहुन्छ?

उत्तरः एउटा प्रणालीमा आइसकेपछि प्रणालीको आधारबाट चल्नुपर्छ र चल्नुहुन्छ भन्ने मेरो विश्वास छ। खेलका नियमहरु भएजस्तै यहाँ पनि ऐन, नियम, परिपाटी र पद्धतीसम्मत ढंगबाट गएरै त्यसको रिजल्ट निकाल्ने कुराहरु हुन्छ। त्यो दिशामा सबै माननीयज्युहरुहरुले भुमिका निर्वाह गर्नुहुन्छ र आइपरेका चुनौतिहरु भनेको जिम्मेवार नेताहरुको थलो भएको हुनाले, जिम्मेवार पार्टीहरु त्यहाँ भएको हुँदाखेरी जिम्मेवारीपूर्वक नै आइपरेका चुनौतिहरुलाई समाधान गर्न सकिन्छ। गर्नुहुन्छ। त्यो सहयोग मैले पाउँछु भन्ने मेरो बलियो आत्मविश्वास रहेको छ।

प्रश्नः अहिलेको संसद निरंकुश, अनि सरकार पनि, सरकार आफू बलियो भइराख्न संसदको सबैभन्दा बढी साहारा खोज्ने गर्छ, यस्तो बेलामा तपाई निरपेक्ष तटस्थ हुने की सापेक्ष सहयोगी हुने?

उत्तरः राजनीतिले नै सबै कुराको छिनोफानो गर्छ। यो राजनीतिक छलफल, बहस गर्ने ठाउँ हो। त्यसलाई निकास दिनकै लागि तदनुकुलकै यसका व्यवस्थाहरु गरेका हुन्छन्। भन्नाले ऐन पनि तदनुकुल बनेको हुन्छ। नियमावली पनि तदनुकुल बनेको हुन्छ। निस्कर्ष पनि तदनुकुल नै निस्किन्छ। त्यही दिशाबाट जाँदा संसदको स्वरुप सरकारमा हुनु स्वभाविक छ। सरकार संसदमाथि निर्भर हुनुपनि स्वभाविक छ। तर त्यसको निकास त्यही ढंगले जानुपर्छ भन्ने मान्यता मैले राख्छु।

प्रश्नः संसदभित्र सांसदहरुको प्रश्तुति, भाषा, शैली खस्किँदै गएको भन्ने गरिन्छ, संसदको गरिमालाई फर्काउन कसरी काम गर्नुहुन्छ?

उत्तरः यसलाई फर्काउने र धेरै अगाडी बढीसकेको वा हिजो यस्तो चाहीँ बेठिक थियो भनेर धेरै टिप्पणी गर्ने भन्दापनि ठिक ढंगले लैजान के गर्नुपर्छ भन्ने दिशाबाट सोच्नुपर्छ। त्यो सोच्नको लागि मुलतः जिम्मेवार राजनीतिक पार्टीहरु र निर्वाचित भएर आउनुभएका आम सांसदहरु हामी कुन ठाउँमा छौँ ? हाम्रो गरिमा के हो ? हाम्रो महत्व के हो ? हामी माननीय भनेको मान्न योग्य कसरी भएका छौँ ? मान्न योग्यहरुले गर्ने व्यवहारहरु के हुन्छन् ? तरिकाहरु के हुन्छन् ? प्रणालीहरु के हुन्छन् ? भन्ने कुरामा काहीँ कतै कमजोरीहरु विगतमा भए, अथवा अहिले पनि त्यस्ता सोच वा व्यवहार देखिए भने त्यसप्रति गम्भिर बनाउनुपर्छ। र गम्भिर बनाउने मामिलामा सबैको दायित्व छ। मैले एउटा जिम्मेवारीमा बसेर यो भावनाका साथ काम गर्छु भन्ने सञ्चारको हिसावले भन्ने हो भनेदेखि यहाँहरुको पनि त्यो दिशामा सहयोग हुँदै आएको छ र अरु बढी सहयोगको जरुरी पनि पर्नसक्छ भन्ने मलाई लाग्छ।

प्रश्नः संघीय संसद विदेशी दातृ निकाय खेल्ने ठाउँ जस्तो अथवा उनीहरुको एजेण्डा चलाउने जस्तो भयो भन्ने आलोचना पनि छ, यी अवाञ्छित क्रियाकलापहरुबारे तपाईको बुझाई के छ?

उत्तरः यहाँले जुन तहमा भन्नुभयो अहिले म त्यो तहमा बुझाई राखेर त्यसमाथि प्रतिक्रिया दिइहाल्नुपर्ने ठाउँमा पुगिसकेको छैन।

प्रश्नः संसदीय गतिविधिलाई बाहिर लैजान नियमित रुपमा संसदीय मामिला सम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारहरुको अहम् भुमिका हुन्छ, पत्रकारहरुमार्फत संसदका विषयवस्तुहरुको सही सम्प्रेषणका लागि कस्तो भुमिका हुन्छ?

उत्तरः विगतबाट शिक्षा लिनु नै पर्छ। विगतमा त्यस्ता नकारात्मक शिक्षाहरु केही छन्, त्यस्ता केही घटनाहरु छन्, त्यस्तो प्रवृत्ति छन् भने त्यसलाई बिना पूर्वाग्रह त्यसबाट शिक्षा लिने र आफ्नो भुमिका कसरी राम्रो बनाउन सकिन्छ भन्ने सल्लाह गर्ने, छलफल गर्ने, योजना बनाउने। पक्ष, विपक्ष भएर आएको छ भने दुइवटै पक्षहरु यसमा जिम्मेवार भएर अगाडी बढेर राम्रो वातावरण बनाएर संसदलाई प्रभावकारी पार्ने कुरामा सबै पक्ष त्यसमा पनि यहाँले भनेजस्तो छ भने त्यो दुईवटा पक्षका बीचमा मिलाएर जानुपर्छ। यो महत्वपूर्ण पक्ष हो भन्ने मलाई लाग्छ।

प्रकाशित: ११ माघ २०७९ ०५:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App