समाजमा पहिरनलाई व्यक्तित्वसँग जोड्ने परम्परा पुरानो हो। अदालत जाँदा होस या विवाहमा जाँदा सुट अनि कोट अनिवार्यजस्तै देखिन्छ। त्यसमा पनि राजनीति–कूटनीतिमा त झन् सुट नै पहिचानको पर्याय बनेको छ। तर, युद्धमा अल्झिएको राष्ट्रको नेता जब सुट लगाएको र नलगाएको विवादमा फस्छ, त्यो दृश्य विडम्बनापूर्ण देखिन्छ।
युक्रेनको जनता निरन्तर क्षेप्यास्त्रको आवाजसँग निद्राबिनाको रात गुजारिरहेका छन् यस्तोमा त्यस देशमा राष्ट्रपतिको ‘ड्रेस कोड’ केही समय अगाडि ट्रम्पसङ ह्वाइट हाउसमा भएको भेटमा ‘प्रमुख मुद्दा’ बन्न पुग्यो। उनले सुट नलगाएको विषयलाई लिएर पत्रकारले तिखो प्रश्नले घोची पनि हाले। मानौँ सुट नलगाउनु भनेको कुनै गम्भीर राजनीतिक गल्ती हो।
विश्व राजनीति कहिलेकाहीँ कपडाको धागोसँग पनि गाँसिन्छ भन्ने कुरा हालै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि प्रमाणित गरिदिएका छन्। तर, यस पटकको भेटमा दृश्य अलिक फरक छ। जेलेन्स्कीले इस्त्री गरिएको सुटमा सजिएका छन्। अनुहारमा मुस्कान छ। पत्रकारहरूले यो विषयमा प्रश्न पनि सोधे। तर विनम्रतापूर्वक। पहिलाजस्तो घोचपेच रहेन। यस्तो लाग्छ उनले सुट लगाएकोमा ट्रम्प पनि सन्तुष्ट छन्।
यो घटनाक्रमलाई नियाल्दा लाग्छ, के राजनीति सुटमा नापिएको हो त?
सुट नलगाउँदा गाली, सुट लगाउँदा प्रशंसा। खासमा यो द्वन्द्वमा एउटा व्यङ्ग्य लुकेको छ। कोटको कपडाभन्दा बढी त उसले दिने ‘सिग्नल’ महत्त्वपूर्ण हुन्छ भन्ने कुरा जेलेन्स्कीले पक्कै बुझेका छन्। कोटले उनलाई सम्मान र गम्भीरताको चिह्न दिएर मुस्कान फिर्ता गरायो।
जेलेन्स्कीले यस पटक सुट लगाएर सम्मान त पाए, तर उनको देशले शान्ति कहिले पाउने भन्ने प्रश्न अझै सुटको खल्तीमा टल्किरहेको छ।
प्रकाशित: ३ भाद्र २०८२ ०८:४२ मंगलबार





