रुसले युक्रेनको राजधानी किभमा भीषण आक्रमण गरेको छ । आक्रमणमा कम्तिमा ४ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
युक्रेनी अधिकारीका अनुसार ड्रोन आक्रमणमा विभिन्न क्षेत्र प्रभावित भएका छन्। आक्रमणमा जापोरिझझियामा मात्रै तीन बालबालिकासहित १६ जनाको मृत्यु भएको छ।
युक्रेनी परराष्ट्रमन्त्रीका अनुसार सयौँ ड्रोन र मिसाइल प्रयोग गरेर रुसले पछिल्ला दिनमा देशका विभिन्न स्थानहरूमा आक्रमण गरेको हो। तर रुसले यसबारे कुनै टिप्पणी गरेको छैन।
शनिबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा मात्रै सीमित नरही रुस युरोपेली मुलुकहरूको सुरक्षा प्रणालीलाई परिक्षण गर्दै नाटो सदस्य देशहरूमाथि पनि दबाब सिर्जना गर्न खोजिरहेको आरोप लगाएका थिए ।
फेब्रुअरी २०२२ मा सुरु भएको पूर्ण आक्रमणपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी नेतृत्वमा भइरहेको शान्ति प्रयासलाई अस्वीकार गर्दै आएका छन्। जेलेन्स्कीले पुटिनले कुनै न कुनै नयाँ दिशामा युद्ध विस्तार गर्ने सम्भावना औंल्याएका छन्।
यो आक्रमण सुरु हुनुभन्दा केही घण्टा अघि नै पोल्याण्डमा रुसले पश्चिमी युक्रेनतर्फ प्रहार गर्दा त्यहाँका लडाकु विमानहरू तत्कालै परिचालन गरिएको पोल्याण्डको सेनाले जनाएको छ। गत सेप्टेम्बर १० मा रुसका ड्रोनहरू पोल्याण्डको आकाशमा खसालिएपछि त्यहाँ यस किसिमका कदमहरू नियमित भएका छन्।
त्यस्तै डेनमार्कमा पनि ड्रोन देखिएको बताइएको छ। डेनमार्कले यसलाई 'व्यावसायिक स्तरको कारबाही' भनेको छ तर प्रत्यक्ष रूपमा दोषीलाई तोकेको छैन।
एस्टोनियाले भने रुसमाथि आफ्नो आकाश सीमाको उल्लङ्घन गरेको आरोप लगाएको छ। यी घटनापछि नाटोले आफ्नो पूर्वी सीमा बलियो बनाउन नयाँ अभियान थालेको छ।
यसैबीच, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो सदस्य मुलुकहरूलाई आफ्नो आकाशमा देखिएका रुसी विमानलाई खसाल्नुपर्ने सुझाव दिएका छन्। साथै उनले पहिलोपटक युक्रेनले आफ्नो सम्पूर्ण भूमि फिर्ता लिन सक्ने दाबी पनि गरेका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै रुसका विदेशमन्त्री सेर्गेई लावरोभले भने, रुसले युरोपेली संघ वा नाटो सदस्य राष्ट्रलाई आक्रमण गर्ने कुनै योजना नभएको तर मस्कोमाथि आक्रमण भएमा “कडा प्रतिक्रिया” दिने चेतावनी दिएका छन्।
प्रकाशित: १२ आश्विन २०८२ १३:४१ आइतबार





