भारतको उत्तर प्रदेशस्थित नोएडामा विवाहको प्रस्ताव अस्वीकार गरेको निहुँमा एक २५ वर्षीय युवकले आफ्नी पूर्वप्रेमिकाको छातीमा गोली हानेर हत्या गरेका छन्।
उक्त घटनामा ज्यान गुमाउने २३ वर्षीया सोनी मूल रूपमा अमरोहाकी हुन्। उनी नोएडाको याकुबपुर गाउँमा आफ्ना दुई बहिनीहरू कुसुम र पुष्पासँग बस्दै आएकी थिइन्।
शुक्रबार साँझ कामबाट कोठामा फर्किएलगत्तै सोनीका पूर्वप्रेमी कृष्ण उनलाई पछ्याउँदै कोठामा पुगेका थिए। सोनीकी बहिनी कुसुमका अनुसार कृष्णले कोठामा जबरजस्ती प्रवेश गरी भित्रबाट चुकुल लगाएका थिए। सोनीले उनलाई बाहिर निकाल्न खोज्दा विवाद सुरु भएको थियो।
विवाद बढ्दै जाँदा सोनीले प्रहरीलाई फोन गर्न खोजिन्, तर कृष्णले उनको मोबाइल खोसेर फालिदिए। विवाहका लागि दबाब दिँदै उनले सुरुमा तर्साउन कोठाको भित्तामा तीन राउण्ड गोली चलाए। जब सोनीले ढोका खोलेर भाग्ने प्रयास गरिन्, कृष्णले उनको छातीमा बन्दुक राखेर गोली चलाए।
बहिनीहरूकै अगाडि गोली हानेर कृष्ण फरार भएका थिए। गोलीको आवाज सुनेर जम्मा भएका छिमेकीहरूलाई समेत उनले बन्दुक देखाएर तर्साउँदै भाग्न सफल भए। गम्भीर घाइते अवस्थामा अस्पताल पुर्याइएकी सोनीको उपचारका क्रममा मृत्यु भयो।
प्रहरीका अनुसार सोनी र कृष्णको भेट तीन वर्षअघि भएको थियो। जतिबेला दुवै जना सेक्टर १४२ को एक सोसाइटीमा काम गर्थे। उनीहरूबीच प्रेम सम्बन्ध रहे पनि कृष्णको अत्यधिक आक्रामक स्वभाव र कुटपिट गर्ने बानीका कारण सोनी आजित थिइन्।
सोनीले ४ महिनाअघि कृष्णसँगको सम्बन्ध तोडेर बस्ने ठाउँसमेत परिवर्तन गरेकी थिइन्। पछिल्लो १५ दिनदेखि उनले कृष्णको फोन उठाउन छाडेकी थिइन्। जसको रिसइवी साध्न कृष्णले हत्याको योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सेन्ट्रल नोएडाका डीसीपी शक्ति मोहन अवस्थीले अभियुक्त कृष्णविरुद्ध भारतीय न्याय संहिताको धारा १०३ बमोजिम मुद्दा दर्ता गरिएको जानकारी दिएका छन्।
फरार अभियुक्तको खोजीका लागि ५ वटा विशेष टोली गठन गरिएको र सीसीटीभी फुटेज तथा सर्भिलेन्सको मद्दत लिइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १५ मंसिर २०८२ ११:२३ सोमबार





