१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

साडी र पैसाको झगडाले विवाहकै दिन महिलाको हत्या, केटा फरार

भारत, गुजरातको भावनगरमा विवाहको दिन महिलाको हत्या भएको छ। इन्डिया टुडेका अनुसार २२ वर्षीया सोनी हिम्मत राठोडको हत्या उनकै हुनेवाला पति साजन खगना बरैयाले गरेका हुन्। साडी र केही पैसाको खर्चलाई लिएर दुवैबिच चर्को झगडा भएको थियो।

रिसको झोकमा साजनले फलामको पाइपले सोनीको टाउकोमा हानेका थिए। त्यसपछि टाउको भित्तामा ठोक्काइदिए। गम्भीर घाइते भएकी सोनीको केही बेरमै मृत्यु भयो। घटना शनिबारको हो। यो घटना प्रभुदास तालाव नजिकै सोनीको घरमा बिहानै भएको थियो।

साजन घटनापछि फरार छन्। प्रहरीले उनको खोजी तीव्र पारेको छ। डीसीपी आरआर सिन्धलका अनुसार सोनी र साजन विवाहअघि नै डेढ वर्षदेखि सँगै बस्दै आएका थिए, जसलाई परिवारले मन पराएको थिएन। 

तर सामाजिक दबाबले विवाहमा सहमति बनेको थियो। विवाहका पूर्वविधिहरू शुक्रबार नै भएका थिए। ‘विवाहको बिहान दुवैबिच झगडा भएको थियो,’ प्रहरी अधिकारीले भने।

प्रहरीले पोस्टमार्टम गरिसकेको छ। एक दिनअघि पनि साजन अर्को झगडामा संलग्न भएको पाइएको छ। त्यसको छुट्टै उजुरी परेको प्रहरीले जानकारी दिएको छ। त्यसको २४ घण्टाभित्रै उनको नाममा दुई वटा मुद्दा दर्ता भएको हो। साजनविरुद्ध पहिलेदेखि नै हत्या प्रयास, लुटपाट र आक्रमणजस्ता मुद्दाहरू पनि छन्।

प्रहरी टोलीले उनले लुक्न सक्ने सबै ठाउँमा छापा मारिरहेको बताउँदै चाँडै पक्राउ गर्ने दाबी गरेको छ। एजेन्सी

प्रकाशित: १ मंसिर २०८२ १०:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App