चीनका लागि अघोषित एजेन्टका रूपमा काम गरेको आरोपमा अमेरिकामा एक महिला पक्राउ परेकी छन्।
उनीमाथि ताइवानका राष्ट्रपति लाई चिङ-तेका छोरा तथा उनको परिवारको निगरानी गरेको आरोप लागेको छ। एफबीआईले क्यालिफोर्नियाको इरभिनकी ३४ वर्षीया वानिङ ‘हिदर’ झाङलाई पक्राउ गरेको हो। संघीय उजुरीअनुसार उनले सन् २०२५ मा सियाटल पुगेर ताइवानका राष्ट्रपति लाइ चिङ-तेका नजिकका आफन्तको निगरानी गरेकी थिइन्।
उजुरीमा चिनियाँ अधिकारीहरूले झाङलाई ती आफन्तबारे जानकारी संकलन गर्न र तस्बिर खिच्न निर्देशन दिएको आरोप लगाइएको छ। एफबीआईका अनुसार झाङ र अर्का एक व्यक्ति कालो एसयूभीमा बसेर आफन्तको घरबाहिर पर्खिएका थिए। परिवार घर आइपुगेपछि उनीहरूले फोनबाट तस्बिर तथा भिडियो खिचेको सुरक्षा क्यामेराको फुटेजमा देखिएको बताइएको छ।
एफबीआईका अनुसार झाङले विदेशी सरकारका लागि काम गरिरहेको जानकारी अमेरिकी महान्यायाधिवक्तालाई नदिएको आरोप पनि लागेको छ। यसलाई संघीय अपराध मानिन्छ।
क्यालिफोर्नियाका संघीय अभियोजक बिल एसेलीले झाङले एक सहयोगीसँग यात्रा समन्वय गरेर पक्राउबाट बच्न व्यापारिक जहाज प्रयोग गरेको बताएका छन्। उनी सोमबार लस एन्जलसको संघीय अदालतमा प्रारम्भिक पेशीका लागि उपस्थित हुने बताइएको छ।
ताइवानको राष्ट्रपति कार्यालयले झाङको कथित गतिविधिको निन्दा गर्दै यसलाई ‘सीमापार दमन’ को घटना भनेको छ।
एफबीआई निर्देशक काश पटेलले सामाजिक सञ्जालमा अमेरिकी भूमिमा विदेशी नेताको परिवारको जासुसी गर्ने प्रयास अब सह्य नहुने बताएका छन्।
प्रकाशित: १९ आश्विन २०८३ १४:१६ सोमबार





