अमेरिकाको उत्तरी क्यारोलिनास्थित एक प्राथमिक विद्यालयमा शिक्षक सहायकको रूपमा काम गर्ने भारतीय मूलकी महिलालाई पक्राउ गरिएको छ। उनीमाथि घर सफा गर्ने विषयमा विवाद हुँदा पतिमाथि चक्कु प्रहार गरेको आरोप छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार पक्राउ पर्ने महिलाको नाम ४४ वर्षीया चन्द्रप्रभा सिंह हो। उनीमाथि अक्टोबर १२ मा ‘गैर कानुनी रूपमा, जानाजानी, जघन्य रूपमा’ अर्को व्यक्तिको घाँटीमा प्रहार गरेको आरोप लगाइएको थियो। प्रहरीका अनुसार यो घटना उत्तरी क्यारोलिनाको चार्लोटको ब्यालान्टाइन क्षेत्रको फक्सहेभन ड्राइभमा रहेको एक अपार्टमेन्ट कम्प्लेक्समा भएको हो।
एन्डहेभेन प्राथमिक विद्यालयमा कक्षा के–३ को शिक्षक सहायकको रूपमा काम गर्ने सिंहमाथि श्रीमानलाई गम्भीर चोट पुर्याउने घातक हतियारले आक्रमण गरेको आरोप लगाइएको छ। चार्लोट–मेक्लेनबर्ग प्रहरी विभागले पुष्टि गरे अनुसार आक्रमण स्कुलको सम्पत्तिमा भएको थिएन। यस घटनामा कुनै पनि विद्यार्थी वा कर्मचारी संलग्न नभएको प्रहरीले जानकारी दिएको छ।
जानकारी अनुसार पीडित पति अरविन्द सिंहले प्रहरी अधिकारीहरूलाई श्रीमतीले घर सफा नगरेको कारण रिसाएर जानाजानी चक्कुले आक्रमण गरेको बयान दिएका छन्। घाइते सिंहको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। तर चन्द्रप्रभाले घटनाको कारण अलग दिएकी छन्। उनले आफू नास्ता तयार गरिरहेको बेला पतिलाई मद्दत गर्न सक्नुहुन्छ कि भनेर सोधेको बताइन्। तर फोहोर घर देखेर निराश हुँदै उनले चक्कु समातेर फ्यालेको अनि त्यो ‘गल्तीले’ पतिको घाँटीमा लागेको भनेकी छिन्।
गिरफ्तारीपछि सिंहलाई सुरुमा अदालतले धरौटी दिन मानेको थिएन। अक्टोबर १३ मा अदालतमा उपस्थित हुँदा १० हजार डलर धरौटी तोकिएको थियो। उनलाई सोमबार केही सर्तसहित जेलबाट रिहा गरियो। सर्तहरूमा इलेकट्रोनिक निगरानी उपकरण लगाउने र आफ्नो पतिसँग कुनै सम्पर्क नगर्ने जस्ता कुरा राखिएको छ। उता, चार्लोट–मेक्लेनबर्ग स्कुलले मुद्दाको अन्तिम फैसला नआउन्जेलसम्म निलम्बन गरेको छ। उनको अर्को अदालती मिति अक्टोबर ३० (आगामी बिहीबार) तोकिएको छ। एजेन्सी
प्रकाशित: १० कार्तिक २०८२ ११:५९ सोमबार





