अमेरिकी प्रतिनिधि सदनका डेमोक्र्याट पार्टीका सदस्यहरूको एक समूहले जेफ्री एपस्टिनका केही नयाँ इमेल सार्वजनिक गरेका छन्, जसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम उल्लेख गरिएको छ। तीन मध्ये एक इमेल जेफ्री एपस्टिन र उनकी नजिककी सहयोगी गिसलेन म्याक्सवेलबीचको वार्तालाप थियो। अर्को इमेल एपस्टिन र लेखक माइकल वुल्फबीचको थियो।
एपस्टिन यौन उत्पीडनको मामिलामा दोषी ठहरिएका थिए र २०१९ मा उनको मृत्यु भएको थियो।
अमेरिकी सदनका यी डेमोक्र्याट सदस्यहरूले भनेका छन् कि एपस्टिनसँग सम्बन्धित स्थानहरूबाट फेला परेका यी इमेल ‘ह्वाइट हाउसले एपस्टिन प्रकरणमा गरेको लुकछिपको ठुलो प्रमाण’ हुन्।
ट्रम्पले एपस्टिनसँग कुनै पनि गलत काममा संलग्न भएको कुरा लगातार अस्वीकार गरेका छन् र भनेका छन् कि ती आरोपहरू ‘डेमोक्र्याटिक पार्टीको साजिश’ हुन्।
ट्रम्प र एपस्टिन
ट्रम्प र एपस्टिनबीच धेरै वर्षसम्म मैत्री सम्बन्ध थियो, तर ट्रम्पको भनाइअनुसार उनले सन् २००० को दशकको सुरुवातमै सम्बन्ध तोडेका थिए।
ह्वाइट हाउसले भनेको छ कि ती तीन इमेल सार्वजनिक गर्नु ‘फर्जी कथा (फेक न्यारेटिभ)’ बनाउने प्रयास हो।
यसबीच, एपस्टिनका ठेगानाहरूबाट फेला परेका कागजातहरूको आधारमा अमेरिकी सदनको हाउस ओभरसाइट कमिटीले २०,००० पाना सार्वजनिक गरेको छ।
यो कमिटीमा रिपब्लिकन पार्टीको नियन्त्रण छ। कमिटीका डेमोक्र्याट सदस्यहरूले बिहान एपस्टिनको सम्पत्तिबाट फेला परेका तीन इमेल सार्वजनिक गरेपछि ती कागजातहरू सार्वजनिक गरिएका हुन्।
ह्वाइट हाउसले भनेको छ कि ती इमेल सार्वजनिक गर्नुको उद्देश्य राष्ट्रपति ट्रम्पको छवि धमिल्याउने हो।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले भनिन्, ‘डेमोक्र्याटहरूले छनोट गरिएको इमेल लीक गरेर लिबरल मिडियामा दिएका छन् ताकि राष्ट्रपति ट्रम्पविरुद्ध एउटा झूटो कथा निर्माण गर्न सकियोस् र उनको छवि बिगारियोस्।’
उनले थपिन्, ‘यी इमेलमा उल्लेख गरिएको ‘अनाम पीडित’ वास्तवमा दिवंगत भर्जिनिया जिउफ्रे हुन्, जसले पटक–पटक भनेकी थिइन् कि राष्ट्रपति ट्रम्प कुनै पनि गलत कार्यमा संलग्न थिएनन् र सीमित भेटघाटहरूका क्रममा उनी उनको प्रति ‘धेरै शालीन’ थिए।’ एजेन्सी
प्रकाशित: २७ कार्तिक २०८२ ०६:२६ बिहीबार





