बर्लिनको एक अग्लो अपार्टमेन्टमा भीषण आगलागी हुँदा एक महिलाले ज्यान बचाउन ११ औँ तलाबाट तल रहेको दमकलकर्मीको काखमा हाम फालेकी छन्।
स्थानीय समय अनुसार शुक्रबार बिहान करिब ६:३० बजे जर्मनीको राजधानी बर्लिनस्थित फ्रेडरिकसाइनमा रहेको १८ तले भवनमा आगलागी भएको थियो। बर्लिन् प्रहरीका अनुसार आगो ११ औँ तलाबाट सुरु भएर आगो माथिल्लो तलासम्म फैलिएको थियो। भवनका झ्यालहरूबाट आगोको लप्का र बाक्लो कालो धुवाँ निस्किएको थियो।
घटनास्थलको भिडियोमा ती महिला ११ औँ तलाको बाहिरी भागमा झुन्डिएर ज्यान बचाउने प्रयास गरिरहेको देखिन्छिन्। छेउको अपार्टमेन्टमा आगो र धुवाँको मुस्लो फैलिइरहेका बेला उनी झ्यालको छेउबाट बाहिर निस्किएकी थिइन्।
उनको केही तल दमकलकर्मीहरू भर्याङसहितको टोकरी लिएर उद्धारको प्रतीक्षामा थिए। उनी तलको अपार्टमेन्टमा ओर्लिने प्रयास गर्छिन् तर सफल नभएपछि अन्ततः उनले सिधै दमकलकर्मीले समातेको उद्धार टोकरीमा हाम फालिन्। प्रहरीले ती महिलालाई सकुशल उद्धार गरिएको जनाएको छ। उनलाई सामान्य चोट लागेको छ र उपचारका लागि अस्पताल लगिएको छ।
आगलागीबाट कुल ११५ जना प्रभावित भएका छन्। प्रहरीका अनुसार फायर-एस्केप हुड र भर्याङको सहायताले २५ जनालाई सुरक्षित स्थानमा ल्याइएको थियो। घटनामा १३ जना घाइते भएका छन्, जसमध्ये केहीलाई उपचारका लागि अस्पताल लगिएको छ।
आगो निभाउन र मानिसहरूको उद्धार गर्न १८ वटा दमकल, दुई वटा एरियल लडर ट्रक र नौ वटा एम्बुलेन्स परिचालन गरिएको थियो। प्रहरीले आगलागीको कारणबारे अझै केही पत्ता नलागेको बताएको छ। अधिकारीहरूले घटनास्थलको अवस्था नियन्त्रणमा लिन ठुलो संख्यामा कर्मचारी खटाउनुपरेको बताएका छन्। एजेन्सी
प्रकाशित: १ भाद्र २०८३ १८:१४ सोमबार





