२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अब के गर्लान बंगलादेशमा भएका रोहिङ्ग्या ? भविष्य थप अनिश्चित

रोहिङ्ग्या शरणार्थी शिविर ।

म्यान्माको राखाइन राज्यबाट भागेर सन् २०१७ मा बङ्गलादेश पुगेका मोहम्मद कैसर अझै कोक्स बजारको शिविरमै बसिरहेका छन् । त्यो रात मुसलधारे वर्षामा उनी आमाबाबु र चार दाजुभाइसँग नाफ नदी पार गर्दै बङ्गलादेश प्रवेश गरेका थिए ।

आज २८ वर्षीय कैसर बालुखाली शिविरको साँघुरो झुपडीमा बस्छन् । ‘घर फर्कन सम्भव छैन, युद्ध जारी छ । यहाँ हरेक दिन नयाँ शरणार्थी आउँछन्’, उनले भने ।

बढ्दो सङ्कट

बङ्गलादेशले संयुक्त राष्ट्रसङ्घसँग मिलेर रोहिङ्ग्या समस्यामा वार्ता थालेको छ । सेप्टेम्बर ३० मा न्युयोर्कमा हुने सम्मेलनअघि कोक्स बजारमा छलफल भइरहेको छ, संयुक्त राष्ट्रसङ्घका अधिकारी निकोलस कौमजियानले भने, ‘रोहिङ्ग्या फर्कन चाहन्छन्, तर सुरक्षित भए मात्र सम्भव हुन्छ ।’

तर राखाइन अहिले गृहयुद्धको केन्द्र बनेको छ ।

सन् २०२४ यता मात्र थप एक लाख ५० हजार रोहिङ्ग्या बङ्गलादेश पुगेका छन् ।

शिविरको अवस्था

कैसरले म्यान्मामा किराना पसल चलाउँथे, तर अहिले शिविरमा अस्तित्वका लागि सङ्घर्ष छ । गुटगत झडप, कमजोर सुरक्षा र हिंसाले बसाइ असुरक्षित बनाएको छ । ‘हामी बन्धकझैँ छौँ, बालबालिका सबैभन्दा बढी जोखिममा छन्’, उनले भने ।

अमेरिकी सहयोग कटौतीपछि खाद्यान्न सङ्कट चर्किएको छ । विश्व खाद्य कार्यक्रमका अनुसार राखाइनका आधाभन्दा बढी परिवारलाई आधारभूत खाना पुग्दैन ।  

शिविरमा हरेक व्यक्तिले मासिक करिब १२ डलर बराबरको राशन पाउँछन् । १३ किलो चामल, एक लिटर तेल, थोरै प्याज, लसुन र नुन ।  

कैसर भन्छन्, ‘यसले पेट त भरिन्छ तर पोषण हुँदैन । मेरो तीन वर्षको छोरोलाई दूध वा दाल दिन सक्दिनँ ।’

शिक्षा र भविष्य

शिक्षा अर्को चुनौती बनेको छ । ‘के मेरो छोरो पढेर जागिर पाउनेछ, वा जीवनभर शरणार्थी नै रहनेछ ?’, कैसर चिन्तित छन् । प्रारम्भमा गाउँलेहरूले मद्दत गरे पनि दीर्घकालीन भविष्य अन्धकारमय देखिन्छ ।

यसैबीच, म्यान्मा जुन्तासँग नजिक रहेका केही समूहले रोहिङ्ग्याहरूलाई भर्ती गर्न खोजिरहेका छन् । ‘हरेक पक्षले हामीलाई प्यादाका रूपमा प्रयोग गर्छ’, कैसरको पीडा छ ।

उनको सरल अपिल छ, ‘बङ्गलादेशले रोहिङ्ग्या बालबालिकालाई स्थानीय विद्यालयमा पढ्न दिनुपर्छ । कमसेकम उनीहरूको भविष्य हाम्रो जस्तो निराशाजनक नहोस् ।’ विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित: ९ भाद्र २०८२ १५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App