२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मेलानियाले पुटिनलाई पठाएको ‘शान्ति पत्र’ मा के छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा भएको शिखर सम्मेलनका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नी पत्नी, प्रथम महिला मेलानिया ट्रम्पले लेखेको पत्र हस्तान्तरण गरेका छन्। पत्रमा बालबालिकाको नाममा शान्तिको आह्वान गरिएको छ।

शनिबार प्रथम महिलाको कार्यालयले फक्स न्युजमा प्रकाशित उक्त पत्र पुनः पोस्ट गरेको थियो। यो ट्रम्प–पुटिन बैठक सफल नबनेको भोलिपल्ट सार्वजनिक गरिएको हो।

फक्स न्युजका अनुसार ट्रम्पले पुटिनलाई पत्र बुझाएपछि दुवै पक्षका प्रतिनिधिमण्डलको उपस्थितिमा उनले तुरुन्तै पढेका थिए। 

पत्रमा भनिएको छ,'आजको संसारमा, धेरै बालबालिका आफ्नै वरपरको अन्धकारबाट अछुतो भएर पनि शान्त हाँसो बोकेर बस्न बाध्य छन्। श्रीमान् पुटिन, तपाईंले मात्र उनीहरूको त्यो मधुर हाँसो पुनः फर्काउन सक्नुहुन्छ। निर्दोष बालबालिकाको रक्षा गर्नु भनेको केवल रुसको मात्र सेवा होइन, मानवताको सेवा पनि हो।'

'यो एक साहसी विचार हो, जसले सबै विभाजनलाई पार गर्दछ। तपाईं कलमको एउटा प्रहारसँगै यसलाई व्यवहारमा उतार्न सक्नुहुन्छ। यो समय हो,' पत्रमा भनिएको छ।

ट्रम्पले यसअघि स्लोभेनियामा जन्मेकी मेलानियाले पुटिनबारे आफ्नो दृष्टिकोण परिवर्तन गर्न मद्दत गरेको बताएका थिए। उनले सम्झँदै भने, 'म घर गएर प्रथम महिलालाई भनेँ, "आज म भ्लादिमिरसँग कुरा गरेर आएँ, धेरै राम्रो कुराकानी भयो।" अनि उनले जवाफ दिइन्, "ओहो साँच्चै? अर्को सहर त अहिले मात्रै आक्रमणमा पर्‍यो।"'

ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गर्दा नै २४ घण्टाभित्र युक्रेन युद्ध अन्त्य गर्ने वाचा गरेका थिए। तर महिनौँ बित्दा पनि सम्झौता नहुँदा उनले निराशा व्यक्त गर्ने गरेका छन्। 

अलास्कामा शिखर सम्मेलनअघि उनले यदि रुसले युद्धविराम स्वीकार नगरे 'गम्भीर परिणाम' हुनेछन् भनी चेतावनी दिएका थिए। तर पुटिनसँग भेटपछि उनले भनिरहे, 'सबैभन्दा राम्रो उपाय भनेको सिधै शान्ति सम्झौतामा पुग्नु हो।'

पुटिनले भने लामो समयदेखि अन्तिम शान्ति सम्झौतामार्फत वार्ता गर्नुपर्ने तर्क गर्दै आएका छन्। तर युक्रेन र युरोपेली सहयोगीले यसलाई रुसको युद्धलाई अझै लम्ब्याउने रणनीति भन्दै आलोचना गरेका छन्। एएफपी

प्रकाशित: १ भाद्र २०८२ १४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App