अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भोलोदिमिर जेलेन्स्कीबिच वार्ता सम्भव भएको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग ह्वाइट हाउसमा भेटेपछि उनले यस्तो बताएका थिए। तर युद्ध अन्त्य गर्न पुटिनले केही सर्तहरू अघि सारेका छन्।
पहिलो माग नेटोसम्बन्धी छ। ट्रम्पले युक्रेन नेटोमा सामेल नहुने बताए। रूस यो कुरा औपचारिक रूपमा लागू होस् भन्ने चाहन्छ।
दोस्रो माग डोनबास क्षेत्रमाथि पूर्ण नियन्त्रण हो। युक्रेनले डोनेट्स्क र लुहान्स्कका आफ्ना क्षेत्रहरू छोड्नुपर्ने हुन्छ।
जानकारीअनुसार पुटिनले अलास्कामा भएको बैठकमा ट्रम्पसँग शान्ति प्रस्ताव राखेका थिए। त्यसमा युक्रेनले डोनेट्स्क छोड्ने र रूसले जापोरिजिया र खेरसनमा आक्रमण रोक्ने उल्लेख छ।
रूसले डोनबासलाई आफ्नो क्षेत्र ठान्छ। उसले लुहान्स्कको अधिकांश र डोनेट्स्कको करिब ७० प्रतिशत भाग नियन्त्रणमा लिएको छ। सन् २०१४ मा रूसले क्रिमियालाई पनि कब्जा गरेको थियो।
पुटिनले हाललाई युद्धविराम अस्वीकार गरेका छन्। त्यसैले ट्रम्पले युद्धविरामको सट्टा स्थायी शान्ति सम्झौता चाहेको बताए। एजेन्सी
प्रकाशित: ३ भाद्र २०८२ २१:३६ मंगलबार





