१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानविरुद्ध आणविक हतियार प्रयोग गर्नेबारे ट्रम्पले के भने ?

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी युद्धमा आणविक हतियार प्रयोग गर्ने सम्भावनालाई अस्वीकार गरेका छन्।

सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले इरानमाथि आणविक हमला गर्नुपर्ने कुनै कारण नरहेको बताएका हुन्। आणविक हतियार प्रयोग गर्ने सम्भावनालाई अस्वीकार गर्न सक्नुहुन्छ ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘म अस्वीकार गर्छु, यसको कुनै कारण छैन।’

पत्रकारको प्रश्नप्रति आक्रोशित हुँदै ट्रम्पले त्यसलाई ‘कस्तो मूर्खतापूर्ण प्रश्न’ भन्दै इरान सैन्य रूपमा पराजित भइसकेको दाबी गरेका छन्।

यसअघि ट्रम्पले इरानसँग आणविक हतियार हुन नहुने बताउँदै अमेरिकी सैन्य कारबाहीको उद्देश्य इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नु रहेको बताएका थिए। तर आणविक हतियार प्रयोग नगर्ने बताए पनि इरानविरुद्ध थप सैन्य कारबाहीको सम्भावनालाई भने उनले खुलै राखेका छन्।

हालै अमेरिकी सेनाले इरानी मिसाइल प्रहार गर्ने उपकरणमाथि आक्रमण गरेपछि इरानले जोर्डन, युएईसहितका देशमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गरी मिसाइल प्रहार गरेको थियो।

फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले भनेका थिए, ‘हामी उनीहरूलाई कडा प्रहार गर्नेछौं। जवाफ दिइनेछ।’

६ महिनाभन्दा लामो समयदेखि जारी संघर्षमा एक महिनाको विरामपछि इरानविरुद्धको सैन्य तनाव फेरि बढेको छ। पछिल्लो समय अमेरिकी प्रशासनले सैन्य कारबाहीसँगै इरानमाथि आर्थिक प्रतिबन्धमार्फत दबाब बढाउने रणनीति पनि अघि बढाएको छ।

प्रकाशित: १६ भाद्र २०८३ ०९:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App