अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ मा तेस्रो पटक राष्ट्रपति पदका लागि चुनाव लड्ने सम्भावनालाई अस्वीकार गरेका छैनन्। उनले भने, आफूले त्यस्तो गर्न ‘रुचाउने’ बताउँदै त्यसको ढोका खुलेको संकेत दिएका छन्। तर, ट्रम्पले उपराष्ट्रपति पदका लागि चुनाव लड्ने सम्भावनालाई भने अस्वीकार गरेका छन्।
उपराष्ट्रपति पदका लागि चुनाव लड्ने विचार केही समर्थकहरूले अमेरिकी संविधानको एक प्रावधानलाई ‘बाइपास’ गर्ने उपायका रूपमा सुझाएका थिए। अमेरिकी संविधान अनुसार, कुनै पनि व्यक्ति तेस्रो पटक राष्ट्रपति बन्नका लागि चुनाव लड्न पाउँदैन।एशिया भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफ्ना समर्थकहरूको उक्त विचारबारे भने, ‘त्यो ठीक हुने छैन।’
तर, उनले तेस्रो पटक चुनाव लड्ने भए त्यसका लागि कुन उपाय अपनाउने भन्ने कुरा अहिले स्पष्ट छैन। गत हप्ता ट्रम्पका पूर्व रणनीतिकार स्टीभ बेननले ट्रम्पलाई अर्को कार्यकाल दिलाउने ‘योजना’ तयार भइसकेको दाबी गरेका थिए।
मलेसियाबाट जापान जाँदै गर्दा ‘एयर फोर्स वन’ विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, आफूलाई उपराष्ट्रपति पदका लागि चुनाव लड्ने “अनुमति मिल्ने” भए पनि त्यसो गर्ने कुनै योजना नभएको बताए।
उनले थपे, ‘मलाई लाग्छ, जनताले त्यो कुरा मन पराउँदैनन्। त्यो ठीक हुने छैन।’तेस्रो कार्यकालको सम्भावनाबारे बोल्दै ट्रम्पले भने, आफूले यो विषयमा वास्तवमै अझै सोचिसकेका छैनन्। साथै, उनले उपराष्ट्रपति जे.डी. भेन्स र परराष्ट्रमन्त्री मार्को रुबियोलाई सम्भावित उत्तराधिकारीका रूपमा सुझाएका छन्।
प्रकाशित: ११ कार्तिक २०८२ ०६:२९ मंगलबार



-600x400.jpg)

