अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई अमेरिकाबाट हतियार किन्न चाहनुहुन्छ कि भनेर आफूले सोधेको दाबीको खण्डन गरेका छन्।
चीनका लागि अमेरिकाका राजदूत डेभिड पर्ड्यूले ट्रम्पले सीसँग अमेरिकी हतियार किन्नेबारे सोधेको बताएका थिए। पत्रकारले यसबारे प्रश्न गरेपछि ट्रम्पले सार्वजनिक रूपमा पहिलो प्रतिक्रिया दिएका हुन्। उनले आफूलाई यस्तो कुरा थाहा नभएको बताए।
‘चीनलाई ? तपाईंको मतलब ताइवानलाई ?’ ट्रम्पले पत्रकारको प्रश्नमा भने। उनले पर्ड्यूको भनाइबारे आफूले कहिल्यै नसुनेको पनि बताए। तर त्यसपछि उनले चीनले अमेरिकी उपकरण किन्न चाहेको भए त्यसबारे विचार गर्न सकिने संकेत गरे।
‘सायद यो राम्रो विचार हो। तर हामीले यसबारे छलफल गरेनौँ। उनी (राजदूत डेभिड पर्ड्यू) ताइवानको बारेमा कुरा गरिरहेका हुन सक्छन्। मलाई लाग्छ उनी सायद ताइवानको बारेमा कुरा गरिरहेका थिए,’ ट्रम्पले भने।
यो पनि पढ्नुहोस्
जब ट्रम्पले सीलाई ‘के तपाईं अमेरिकी ह*तियार किन्न चाहनुहुन्छ?’ भन्दै सोधे
पर्ड्यूले फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले सीलाई कुनै समय अमेरिकी हतियार किन्न चाहनुहुन्छ कि भनेर सोधेको दाबी गरेका थिए। उनका अनुसार ट्रम्पले अमेरिकाले विश्वका अन्य देशलाई पनि हतियार बेच्ने गरेको बताएका थिए। पर्ड्यूले ट्रम्प र सीबिच ताइवानलाई भविष्यमा अमेरिकी हतियार बिक्री गर्ने विषयमा पनि कुराकानी भइरहेको बताएका थिए। तर सीको जवाफ के थियो भन्ने कुरा उनले बताएका थिएनन्।
ताइवानलाई अमेरिकी हतियार बिक्रीको चीनले लामो समयदेखि विरोध गर्दै आएको छ। अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबिच गत साता वासिङ्टनमा भएको भेटवार्तापछि पर्ड्यूको यस्तो भनाइ सार्वजनिक भएको थियो।
पर्ड्यूको भनाइ सार्वजनिक भएपछि अमेरिकी विदेश मन्त्रालयले चीनलाई हतियार बिक्री गर्न अमेरिकी कानुनले रोक लगाएको स्पष्ट पारेको थियो। मन्त्रालयले चीनलाई हतियार बेच्ने कुनै प्रस्ताव वा योजना नरहेको पनि जनाएको थियो।
अमेरिकाले पछिल्लो समय ताइवानलाई गर्दै आएको हतियार बिक्रीलाई चीनले आफ्नो हितविपरीत भन्दै विरोध गर्दै आएको छ। चीनले वासिङ्टनलाई ताइवानलाई हतियार बिक्री रोक्न पनि दबाब दिँदै आएको छ।
यस विषयमा चीनको विदेश मन्त्रालयले भने पर्ड्यूको भनाइ पुष्टि गरेको छैन। प्रवक्ता गुओ जियाकुनले चीनले आफ्नो आवश्यकताअनुसार राष्ट्रिय रक्षा क्षमता बलियो बनाउँदै आएको बताए। चीन विश्व शान्ति र स्थिरता कायम राख्न प्रतिबद्ध रहेको पनि उनले बताए।
पर्ड्यूको दाबीअनुसार अमेरिकाले चीनलाई हतियार बिक्री गर्ने प्रस्ताव गरेको भए त्यो अमेरिकाको लामो समयदेखिको चीन र ताइवानसम्बन्धी नीतिमा ठूलो परिवर्तन हुने विश्लेषकहरूले बताएका छन्। अमेरिकाले सन् १९८० को दशकमा बेइजिङलाई हतियार बिक्री गरेको थियो। एजेन्सी
प्रकाशित: १३ आश्विन २०८३ ०७:४८ मंगलबार



-600x400.jpg)

