२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायत फर्किएका ह्यारी-मेघनको शाही भूमिकाबारे राजा चार्ल्सले के भने ?

बेलायतका राजा चार्ल्स तृतीयले राजकुमार ह्यारी र उनकी श्रीमती मेघन शाही परिवारका गैरकार्यरत सदस्य नै रहने स्पष्ट पारेका छन्।

बेलायत फर्किएपछि पनि उनीहरूको हैसियतमा कुनै परिवर्तन नहुने उनले स्पष्ट पारेका हुन्। राजाको तर्फबाट ह्यारीको टोली, सरकारी निकाय, सैन्य अधिकारी र राजाका स्थानीय प्रतिनिधि लर्ड लेफ्टिनेन्टहरूलाई पठाइएको पत्रमा सन् २०२० मा तय भएको उनीहरूको शाही हैसियत अझै कायम रहेको उल्लेख छ।

पत्रअनुसार ह्यारी र मेघनले बेलायतमा गर्ने कुनै पनि कार्यक्रम निजी हैसियतमा हुनेछन्। उनीहरूले शाही परिवारको प्रतिनिधित्व गर्ने छैनन्। उनीहरूको परोपकारी काम पनि निजी रूपमा हुने पत्रमा उल्लेख छ।

सन् २०२० मा शाही जिम्मेवारीबाट पछि हट्दा ह्यारी र मेघनले शाही परिवारका कार्यरत सदस्यको भूमिका छाडेका थिए। त्यसबेला तय भएको व्यवस्थाले उनीहरूलाई शाही जिम्मेवारी र निजी व्यावसायिक गतिविधि दुवै सँगसँगै अघि बढाउने ‘आधा शाही, आधा निजी’ भूमिकाबाट टाढा राखेको थियो। पछिल्लो पत्रले त्यही व्यवस्था कायम रहेको स्पष्ट पारेको हो।

राजाको पत्र अनुसार ह्यारी र मेघनको शाही पदवी प्रयोग नगर्ने व्यवस्था पनि कायम नै रहेको छ। उनीहरूको स्थिति व्यावसायिक र परोपकारी काम गर्ने निजी नागरिकसरह रहेको स्पष्ट पारिएको छ।

ह्यारी र मेघन बेलायत फर्किएपछि आगामी दिनमा विभिन्न परोपकारी कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ। ह्यारीले इनभिक्टस गेम्ससहित आफ्ना परोपकारी कामलाई निरन्तरता दिने बताइएको छ। तर यस्ता कार्यक्रमलाई शाही कार्यक्रमका रूपमा नलिन पनि पत्रमार्फत स्पष्ट गरिएको छ।

उनीहरूको सुरक्षा विषय भने अझै टुंगिएको छैन। ह्यारीले बेलायतमा पर्याप्त प्रहरी सुरक्षा नपाएको भन्दै लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका छन्। पत्रमा सुरक्षा सञ्चालनसम्बन्धी विषय सम्बन्धित प्रहरी निकायमा पठाउनुपर्ने उल्लेख छ। ह्यारीलाई सार्वजनिक खर्चमा सुरक्षा दिने वा नदिने विषयमा निर्णय गर्ने निकाय शाही तथा भिआइपी कार्यकारी समिति (राभेक) हो।

ह्यारी र मेघनलाई दिइने स्वागत, विशेष सुविधा वा सार्वजनिक कोष प्रयोग हुने विषयमा कुनै प्रश्न भए बकिङ्घम प्यालेसमा सम्पर्क गर्नुपर्ने पत्रमा भनिएको छ। राजदरबारले पत्र सार्वजनिक गर्नुको उद्देश्य ह्यारी-मेघनको हैसियतबारे भ्रम नहोस् भन्ने रहेको जनाएको छ। एजेन्सी

प्रकाशित: २३ भाद्र २०८३ ०८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App