टर्कीका अभियोजकहरूले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सहित ३५ शीर्ष अधिकारीहरू विरुद्ध जेल सजायको माग गर्दै अभियोग दायर गरेपछि दुई देशबिचको कूटनीतिक युद्ध उत्कर्षमा पुगेको छ।
उनीहरू विरुद्ध चार हजार ५९६ वर्षको जेल सजाय माग गरिएको छ। टर्कीको यो कदम सार्वजनिक भएलगत्तै इजरायली नेताहरूले शनिबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानमाथि कडा आक्रोश व्यक्त गरेका हुन्।
अभियोजकहरूले नेतान्याहू, रक्षामन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन ग्विर र सेना प्रमुख इयाल जामिर लगायतलाई मानवता विरुद्धको अपराध र नरसंहारको अभियोग लगाएका छन्। उनीहरूमाथि सन् २०२५ मा गाजा पुग्न लागेको ‘सुमुद फ्लोटिला’ सहायता जहाजलाई रोकेको र त्यहाँका सहभागीहरूलाई दुर्व्यवहार गरेको आरोप छ।
यसको जवाफमा प्रधानमन्त्री नेतान्याहूले एर्दोगानमाथि नै आफ्नै देशमा कुर्द नागरिकहरूको नरसंहार गरेको गम्भीर आरोप लगाए।
उनले सामाजिक सञ्जालमा लेखे, ‘मेरो नेतृत्वमा इजरायलले इरानको आतंकवादी शासन र यसका प्रोक्सीहरूसँग लड्न जारी राख्नेछ, एर्दोगानले उनीहरूलाई समायोजन गर्ने र आफ्नै कुर्दिश नागरिकहरूको नरसंहार गर्ने जस्तो होइन।’
त्यस्तै, रक्षामन्त्री काट्जले एर्दोगानलाई ‘कागजी बाघ’ को संज्ञा दिँदै कडा आलोचना गरे। उनले भने, ‘इरानबाट टर्कीको भूभागमा गरिएको क्षेप्यास्त्र प्रहारको प्रतिक्रिया नदिने एर्दोगान अब यहूदी विरोधी दायरामा भागिरहेका छन् र इजरायलको नेतृत्व विरुद्ध देखावटी मुद्दा चलाउन खोज्दै छन्।’
उनले थपे, ‘कुर्दहरूको नरसंहार गर्ने मुस्लिम ब्रदरहुडका व्यक्तिले इजरायललाई नरसंहारको आरोप लगाउनु बेतुका हो। इजरायलले आफ्नो रक्षा गरिरहनेछ, उनी चुप लाग्नु नै राम्रो हुन्छ।’
टर्कीको विदेश मन्त्रालयले पनि कडा विज्ञप्ति जारी गर्दै नेतान्याहूलाई ‘हाम्रो समयको हिटलर’ भनेको छ। टर्कीले नेतान्याहूको उद्देश्य शान्ति वार्तालाई कमजोर पार्नु र विस्तारवादी नीतिलाई प्रश्रय दिनु भएको दाबी गरेको छ। टर्कीका अनुसार नेतान्याहू आफ्नो देशमा मुद्दा चल्ने र जेल जाने डरले युद्ध लम्ब्याउन चाहन्छन्।
इजरायलको कडा आलोचक भए पनि टर्कीले द्वन्द्व समाधानका लागि इजिप्ट र पाकिस्तानसँग मिलेर कूटनीतिक पहल भने जारी राखेको छ।
हालै राष्ट्रपति एर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गर्दै युद्धविराम सम्झौतालाई कमजोर पार्न सक्ने उत्तेजना र तोडफोडका विरुद्ध सचेत रहन आग्रह गरेका थिए।
टर्कीले नेतान्याहूलाई उनले गरेका अपराधका लागि अन्तर्राष्ट्रिय स्तरमै जवाफदेही बनाउन आफ्नो प्रयास जारी राख्ने बताएको छ। एजेन्सी
प्रकाशित: २९ चैत्र २०८२ १३:०४ आइतबार





