१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जर्मनीमा महँगीविरुद्ध उग्र प्रदर्शन, पसलहरूमा लुटपाट

जर्मनीमा बढ्दो महँगी, सार्वजनिक खर्च कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा शनिबार प्रदर्शनका क्रममा हिंसा भड्किएको छ।

प्रदर्शनकारीमध्ये केहीले फ्र्याङ्कफर्टको मुख्य बजार क्षेत्रमा पसलहरू तोडफोड तथा लुटपाट गर्नुका साथै प्रहरीमाथि ढुङ्गा, बोतल र पेट्रोल बम प्रहार गरेका छन्।

जीवनयापनको बढ्दो लागत र सरकारी नीतिको विरोधमा आयोजित प्रदर्शन देशका प्रमुख सहरहरू बर्लिन, फर्याङ्कफर्ट, कोलोन र ह्याम्बर्गमा भएका थिए।

दिनभर शान्तिपूर्ण रहेको प्रदर्शन रात पर्दै जाँदा केही स्थानमा हिंसात्मक बनेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न पानीको फोहोरा प्रयोग गरिएको थियो। फ्र्याङ्कफर्ट धेरै पसलका सिसा फुटाइएका छन् भने आपतकालीन सेवाका कर्मचारीलाई समेत लक्षित गरिएको थियो। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीले बन्दुक पसलका सिसा फुटाइएको घटनापछि एक संदिग्धलाई नियन्त्रणमा लिँदै दुईवटा हतियारसमेत बरामद गरेको जनाएको छ। फ्र्याङ्कफर्टको मुख्य बजारको सडकको ठूलो क्षेत्र सुरक्षाका कारण बन्द गरिएको थियो।

प्रदर्शनकारीहरूको संख्या सम्बन्धमा भने फरक विवरण सार्वजनिक भएका छन्। फर्याङ्कफर्ट, म्युनिख र बर्लिनका अधिकारीहरूले करिब १८ हजार मानिस प्रदर्शनमा सहभागी भएको बताएका छन्।

तर आयोजकहरूले आफ्नो वेबसाइटमा उल्लेख गरेको अनुमान योभन्दा झन्डै दोब्बर थियो। जर्मन सञ्चारमाध्यमहरूले देशभर दशौँ हजार मानिस सडकमा उत्रिएको जनाएका छन्।

‘जेन जी रेगेल्ट’ नामक अभियान समूहको आयोजनामा भएको प्रदर्शनमा विद्यालय तथा शिक्षा क्षेत्रमा बजेट वृद्धि, स्वास्थ्य प्रणालीमा सुधार, सार्वजनिक खर्च कटौतीको विरोध र अनिवार्य सैन्य सेवाको अन्त्य गर्नुपर्ने माग उठाइएको थियो।

समूहकी प्रवक्ता लीना फ्रेडरिकले आन्दोलन युद्ध र जबर्जस्तीका लागि नभई शान्ति तथा स्वतन्त्रताका पक्षमा केन्द्रित रहेको बताइन्।

उनका अनुसार शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने, सैन्य सेवा अनिवार्य बनाउने नीतिको विरोध गर्नुपर्ने र नागरिकमाथिको आर्थिक भार न्यायोचित रूपमा बाँडिनुपर्ने माग आन्दोलनको मुख्य उद्देश्य हो।

हेस्से राज्यका आन्तरिक मन्त्री रोमन पोसेकले फ्र्याङ्कफर्टको प्रदर्शनमा करिब १०० जना पहिचान भएका वामपन्थी अतिवादीहरू सहभागी भएको आरोप लगाए।

उनले शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन हिंसात्मक रूपमा अन्त्य हुनु दुःखद र लज्जास्पद भएको टिप्पणी गरे।

उनले फ्रान्समा हालै भएका प्रदर्शनका क्रममा देखिएका लुटपाट, आगजनी र प्रहरीमाथिका आक्रमणलाई उदाहरण दिँदै त्यस्ता घटना जर्मनीमा दोहोरिन नहुने बताए।

यसअघि फ्रान्समा पनि युवाहरूको नेतृत्वमा जीवनयापनको लागत र सरकारी नीतिविरुद्ध व्यापक प्रदर्शन भएको थियो।

शनिबार मात्रै त्यहाँ तीन लाख २० हजारभन्दा बढी मानिस सडकमा उत्रिएको एएफपीले जनाएको छ।

जर्मनीमा पछिल्लो घटनाले बढ्दो महँगी, सार्वजनिक सेवामा लगानी र सैन्य नीतिलाई लिएर युवा पुस्तामा देखिएको असन्तुष्टि थप उजागर गरेको छ।

प्रकाशित: १५ कार्तिक २०८३ १२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App