अमेरिकाको एरिजोना राज्यमा आफ्नी प्रेमिकाको हत्या गरेर जर्मनी भागेका २० वर्षीय भारतीय विद्यार्थी पक्राउ परेका छन्।
वरुण बच्चीगारीका रूपमा पहिचान भएका उनलाई पहिलो श्रेणीको हत्याको आरोप लगाइएको छ। एरिजोनाको टक्सन सहरमा स्थानीय समय अनुसार बिहीबार दिउँसो यो घटना भएको थियो।
अधिकारीहरूले जाँचका क्रममा एरिजोना विश्वविद्यालय नजिकैको अपार्टमेन्टमा १९ वर्षीया कलेजकी विद्यार्थी जुलिसा रुबी सालाजारलाई मृत फेला पारेका थिए। प्रहरीले उनको शरीरमा चोटका निशानहरू फेला पारेपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो।
अदालतको कागजातअनुसार देश छाड्नु अघि वरुणले पीडितको मोबाइल फोन र क्रेडिट कार्डहरू समेत चोरेका थिए। अनुसन्धानका क्रममा मृतकका प्रेमी वरुण नै यो घटनाका मुख्य शंकास्पद व्यक्ति रहेको खुल्न आयो।
प्रहरीका अनुसार सँगै कोठामा बस्ने एक साथीले बताएअनुसार सालाजारले आफ्नो मृत्यु हुनुभन्दा केही समय अगाडि वरुणसँगको सम्बन्ध तोड्ने योजना बनाएकी थिइन्। वरुणको विगतको हिंस्रक व्यवहारका कारण सालाजार आफ्नो प्रेमीसँग डराउने गरेकी थिइन्।
त्यस्तै, अर्की साथीले सालाजारको मृत्यु हुनुभन्दा एक दिनअघि अर्थात् अगस्ट ५ का दिन पीडितको सुत्ने कोठाबाट चिच्याएको आवाज सुनेको बताइन्।
घटनालगत्तै उनी टक्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान चढेर भारत भाग्ने योजनासहित जर्मनी पुगेका थिए। तर अमेरिकी अधिकारीहरूले उनीविरुद्ध पक्राउ पुर्जी जारी गराउन सफल भए। जर्मनीमा अवतरण गर्नेबित्तिकै उनलाई पक्राउ गरिएका कारण उनी भारत पुग्न पाएनन्।
टक्सन प्रहरी विभाग, एफबीआईको टक्सन कार्यालय र बर्लिनस्थित एफबीआई कार्यालयको संयुक्त समन्वयमा उनलाई पक्राउ गरिएको हो।
वरुणलाई अब अमेरिकाको एरिजोना फिर्ता लगेर हिरासतमा राखिनेछ। टक्सन प्रहरी विभागले एफबीआईको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भनेको छ, ‘टक्सन प्रहरी विभाग हाम्रा एफबीआई साझेदारहरूले प्रदान गरेको सहयोगको लागि आभारी छ, जसको समन्वय र साथले बच्चीगारीलाई पत्ता लगाउन र पक्राउ गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो।’
न्यूयोर्क पोस्टले केओएलडी समाचारलाई उद्धृत गर्दै वरुण एरिजोना विश्वविद्यालयमा बिजनेस एनालिटिक्स पढ्दै थिए भनेको छ। तर विवाद गरेका कारण उनलाई विश्वविद्यालयबाट निष्कासन गरिएको थियो। एजेन्सी
प्रकाशित: २५ श्रावण २०८३ ०८:१० सोमबार





