अमेरिकी सेनाका एक प्रवक्ताले बताएका छन् कि मंगलबार अरब सागरमा एक इरानी ड्रोन अमेरिकी विमानवाहक युद्धपोत नजिक ‘आक्रामक तरिकाले’ आइरहेको बेला खसालिएको हो। यूएस सेन्ट्रल कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार, यूएसएस अब्राहम लिंकन युद्धपोतबाट उडेको एक एफ–३५सी स्टेल्थ लडाकु विमानले विमानवाहक पोत र त्यहाँ रहेका कर्मीहरूको सुरक्षाका लागि ‘आत्मरक्षामा’ उक्त ड्रोन खसालेको हो।
ड्रोन पोत नजिक आइपुग्दा उक्त जहाज इरानको तटबाट करिब ५०० माइल टाढा रहेको थियो। ड्रोन कुन उद्देश्यले पोततर्फ बढिरहेको थियो भन्ने कुरा स्पष्ट हुन सकेको छैन। यस घटनामा कुनै पनि अमेरिकी सैन्य उपकरणमा क्षति पुगेको छैन र कुनै सैनिक घाइते पनि भएका छैनन्।
यो घटना त्यस्तो समयमा सार्वजनिक भएको हो, जब अमेरिका यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको छ र इरानसँगको तनाव चरम अवस्थामा पुगेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् कि यदि इरान परमाणु सम्झौतामा वार्ता गर्न तयार भएन भने उसविरुद्ध सैन्य कारबाही गर्न सकिनेछ।
इरानी ड्रोन खसालिएको घटनापछि ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले फक्स न्युजसँग भनेकी छन् कि अमेरिका र इरानबीच यसै हप्ताको अन्त्यतिर वार्ता प्रस्तावित गरिएको छ।
उनले भनिन् , ‘ट्रम्प सधैं कूटनीतिक उपायलाई पहिलो प्राथमिकता दिन प्रतिबद्ध छन्। तर उहाँसँग सधैं धेरै विकल्पहरू हुन्छन्, जसमा सैन्य शक्ति प्रयोग गर्ने विकल्प पनि समावेश छ।’ एजेन्सी
प्रकाशित: २१ माघ २०८२ ०७:५८ बुधबार





