क्राको सहरको सडकमा घिस्रिन थाल्यो ट्राम। झ्यालबाट बाहिर दौडिन थाले मेरा आँखा। ट्रामको गतिसँगै दौडिरहेका छन् दृश्यहरू। सहरका भिड र हल्लाहरू पछाडि छुटे। ओझेलमा परे क्राकोका साँघुरा गल्लीहरू। गोथिक चर्चका चुचुराहरू र मध्ययुगीन भवनहरू हराए। देखिन थाले फराकिला बाटा र एकै किसिमका भवनहरू।
छोटो समयमा म अर्कै संसारमा पुगेको छु। त्यो संसार हो कम्युनिस्टहरूको आदर्श समाजवादी सहर। पोल्यान्डको क्राको सहरसँग जोडिएको नोवा हुता यस्तो सहर थियो, जसलाई कम्युनिस्ट शासकहरूले आफ्नो ‘आदर्शलोक’ अर्थात् युटोपियाको रूपमा निर्माण गरेका थिए। त्यसलाई रामराज्यको रूपमा कल्पना गरेका थिए। कम्युनिस्ट शासकहरूले देखेका थिए, त्यहाँ काल्पिनक स्वर्गको सपना। ट्रामबाट उत्रेर टेकेको छु नोवा हुताको चोकमा। विशाल चोकबाट पाँचवटा चौडा सडक पाँच दिशामा फैलिएका छन्। ती सडक यति फराकिला छन् कि एकैपटक हजारौं मानिसले जुलुस गर्न सकून् भनेर बनाएकोजस्तो। विशाल चोक छ, जहाँ ठुलो राजनीतिक सभा, सैनिक परेड र मजदुरका कार्यक्रम आयोजना गर्न सकियोस् भनेर बनाएजस्तो। एक अर्कासँग मिल्दाजुल्दा भव्य आवाशगृहहरू छन्, कम्युनिस्टहरूको समानता कस्तो हुन्छ भनेर देखाउन खोजेजस्तो।
ती दृश्यहरूले पुर्याउँछन्, मलाई दोस्रो विश्वयुद्धको इतिहासको पानामा। दोस्रो विश्वयुद्धमा घाइते पोल्यान्डमा कम्युनिस्टहरू सत्तामा पुगेका थिए। त्यहाँ सोभियत संघको निकै बलियो प्रभाव थियो। सोभियत संघको सहयोगमा पोल्यान्डका कम्युनिस्ट शासकहरू पुरानो सहर क्राकोको नजिक एउटा यस्तो औद्योगिक सहर बनाउन चाहन्थे जहाँ हजारौं सर्वहारा मजदुरलाई ल्याएर राखियोस्। सोही उद्देश्यअनुसार सन् १९४९ देखि योजनाबद्ध रूपमा नयाँ सहर नोवा हुताको निर्माण सुरु गरियो। नोवा हुताको पोलिस भाषामा शाब्दिक अर्थ हुन्छ ‘नयाँ स्टिलवक्र्स’। दोस्रो विश्वयुद्धपछिको पोल्यान्डमा गरिएको यो सबैभन्दा महत्त्वाकांक्षी परियोजना थियो। जसको उद्देश्य थियो– एउटा युटोपियन समाजवादी सहर, जसलाई देशका अन्य भागहरूले पनि नमुनाका रूपमा अनुकरण गर्न सकून्।
योजनाअनुसार नोवा हुतामा निर्माण गरियो ‘भ्लादिमिर लेनिन स्टिलवक्र्स’ नामको विशाल फलाम कारखाना। कारखाना नजिकै चालिस हजार मजदुरहरूका लागि आवाश गृह निर्माण गरियो। त्यसको उद्देश्य थियो कम्युनिस्ट विचारधारा बोकेको नयाँ समाजको निर्माण गर्नु। शासकको कल्पना यस्तो थियो कि ती मजदुरहरू नयाँ समाजका नायक हुनेछन्। उनीहरूले सामूहिक श्रममार्फत आफ्नो र राष्ट्रको नयाँ भविष्य बनाउनेछन्, जहाँ वर्गीय विभेद हुनेछैन। निजी सम्पत्तिको प्रभाव न्यून हुनेछ। शिक्षा र स्वास्थ्य निःशुल्क उपलब्ध हुनेछ। कसैले पनि गाँस, बास र कपासको चिन्ता लिनुपर्ने छैन। एउटा यस्तो सहर, जहाँ संसारले देख्न सकोस् समाजवादको सफलता। सोही उद्देश्यप्राप्तिका लागि योजनाबद्ध रूपमा बनाइएको नोवा हुता सहर कम्युनिस्ट राजनीतिको एउटा प्रयोगशाला थियो।
चोकमा उभिएर चारैतिर नियाल्छु। अन्य सहरमा जस्तै मानिसहरूको व्यस्तता उस्तै छ। कल्पना गर्छु लेनिनलाई आदर्श नायक मान्दै सायद यही ठाउँमा कुनै बेला हजारौं मजदुर भेला भएका थिए होलान्। तिनीहरू हँसिया–हतौडा अंकित राता झन्डाहरू फहराउँदै जुलुसमा हिँडे होलान्। मजदुरका पक्षमा चर्को भाषणहरू गरे होलान्। संसारभर कम्युनिस्ट व्यवस्था ल्याउने र नयाँ समाज निर्माणको प्रतिज्ञा गरे होलान् तर त्यही चोकमा महसुस गर्छु कम्युनस्टिका आदर्श भ्लादिमिर लेनिनको रिक्तता। सहर निर्माण गर्दा यही चोकमा खडा गरिएको लेनिनको विशाल मूर्तिलाई सन् १९८९ मा ढालिएको थियो। उदास मुद्रामा बसेको देख्छु लेनिनबिनाको चोक।
चोकबाट एउटा बाटोमा लम्किन्छन् मेरा पाइला पाइला। सडकका दुवै किनारामा भव्य आवास गृहहरू छन्। बाहिरबाट झलक्क हेर्दा ती पुनर्जागरणकालका भव्य भवनजस्ता देखिन्छन्। ती आवासगृह चौबिसै घण्टा काम हुने फलाम कारखानाका तिनै मजदुरका लागि बनाइएको थियो। किन यस्तो भव्य भवन बनाए होलान् भनेर सोच्छु। ‘पहिले धनी र कुलीन वर्गका मानिस त्यस्ता भव्य भवनमा बस्थे, अब समाजवादका मजदुरहरू पनि त्यस्तै घरमा बस्नेछन् भनेर बनाएका त हैनन्?’ आफैसँग ठट्टा गर्छु।
हिँड्दै जाँदा विभिन्न सडक र चोकहरू आउँछन्। पसल, विद्यालय, पुस्तकालय, अस्पताल, हरियालीले भरिएका र फूल फुलेका पार्कहरू पनि आउँछन्। जहाँ एउटा नागरिकलाई जन्मदेखि वृद्धावस्थासम्म आवश्यक पर्ने सबै कुरा राज्यले सोचेर बनाइदिएको थियो। यस्तो लाग्छ कि सहरका प्रत्येक मोडमा राज्यको उपस्थिति छ।
मेरा अगाडि दौडिरहेका छन् पर्यटक बोकेका पुराना सोभियत गाडीहरू। मैले रुसी सिनेमामा देखेकाजस्ता ती पुराना सोभियत गाडीले पर्यटकलाई घुमाउँछन् नोवा हुता सहर। देखाउँछन् कम्युनिस्टहरूको आदर्श सहर र सुनाउँछन् कम्युनिस्ट व्यवस्था पतनका कथाहरू। नियालिरहेको छु समाजवादको धुमिल स्मृति बोकेर आधुनिकतामा बाँचिरहेको सहर। ‘धर्म भनेको अफिम हो’ भनेर काल माक्र्सले भनेका थिए।
उक्त भनाइलाई ब्रह्मवाक्य ठान्ने कम्युनिस्ट योजनाकारहरूले नोवा हुतालाई आधुनिक र धर्मनिरपेक्ष मजदुरहरूको सहर बनाउन चाहेका थिए। नोभा हुताको गुरुयोजनामा चर्च र अन्य धार्मिक स्थलको लागि कुनै ठाउँ राखिएको थिएन। कम्युनिस्ट युटोपियामा निर्माण गर्नु थियो धर्मविहीन समाज। कम्युनिस्ट योजनाकारहरूले सोचेका थिए, नयाँ पुस्ताका मजदुरहरूलाई धर्मको आवश्यकता पर्ने छैन। तर नोभा हुताका मजदुरहरू पोल्यान्डका ग्रामीण भेगहरूबाट आएका थिए। उनीहरूको मनमा क्रिश्चियन धर्मको आस्था गहिरोसँग बसेको थियो। ती मजदुरहरूले सहर स्थापना भएको केही वर्षमै चर्चको माग गर्न थाले।
उक्त मागलाई शासकहरूले पटक–पटक अस्वीकार गरेपछि मजदुरहरूले एउटा खाली मैदानमा काठको ‘क्रस’ गाडेर खुला आकाशमुनि प्रार्थना गर्न थाले। वर्षौंको सङ्घर्ष र विरोधपछि अन्ततः शासकहरू झुक्न बाध्य भए। सन् १९७७ मा ‘आर्का पाना’ चर्चको निर्माण सम्पन्न भएको इतिहासले मलाई धेरै कुरा सोच्न बाध्य बनायो।
जिज्ञाशाले भरिएको मन लिएर प्रवेश गर्छु। चर्चको विशाल हलभित्र अपार शान्ति छ। केही मानिस मैनबत्ती बालिरहेका छन्। कोही कुर्सीमा बसेर आँखा चिम्म गरेका छन्। म पनि एउटा कुर्सीमा बसेर आँखा चिम्म गरेर एकछिन बस्छु। मेरो मनमा अनेक कुरा खेल्न थाले।
राज्यले छोटो समयमा भव्य सहर बनाउन सक्दोरहेछ तर मानिसको मनमा सानैदेखि बसेको धार्मिक आस्था तत्कालै भत्काउन सक्दो रहेनछ। जुन ठाउँमा चर्च नराखी सहर बनाइएको थियो, त्यही ठाउँमा मानिसहरूले आफ्नो आस्थाको विशाल केन्द्र बनाए।
वास्तवमा धार्मिक आस्था संवेदनशील विषय हो। त्यसलाई न कसैले भत्काउन सक्छ न कसैमाथि जबर्जस्ती लागु गराउन सकिन्छ। यो त व्यक्तिमा भर पर्ने कुरा हो। अचानक मेरो मन नेपाल पुग्छ। उहिले कार्ल माक्र्सले भनेको कुरालाई गुरुमन्त्र ठान्ने नेपालका कम्युनिस्टहरूलाई स्मरण गर्न पुग्छु। पुर्खाहरूले मानी आएको आस्था र परम्पराका विरुद्धमा ती कम्युनिस्टहरू बोलेर होस् वा लेखेर आजका मितिसम्म सक्रिय रूपमा लागिपरेका छन्। मठमन्दिर भत्काउने, आआफ्नो आस्था मान्न रोक लगाउने, अन्धविश्वास भन्दै धर्म र धर्म मान्ने व्यक्तिहरूलाई घृणा गर्ने, पुजारीको हत्या गर्नेलगायतका धर्म विरोधी कार्य गरिरहेका नेपालका केही कम्युनिस्टका तस्बिरहरू आँखामा आउँछन्। सबै कुरा मार्क्सवादको किताबमा लेखेअनुसार हुँदैन र संसार चल्दैन भन्ने कुरा नेपालका कम्युनिस्टहरूले पनि थाहा पाउनुपर्छ। सबै मानिस कुनै वाद र योजनाकारहरूको इच्छाअनुसार हिँड्दैन भन्ने कुरा पनि बुझ्नुपर्छ। यस्तै कुराहरू मनमा उकुसमुकुस भएर आउँछन्। त्यसपछि म चर्चबाट फुत्त बाहिर निस्कन्छु। मेरा पाइला लम्किन्छन् जमिनमुनिको संसार हेर्न।
दोस्रो विश्वयुद्धपछि संसार दुई भागमा विभाजित थियो। एकातिर पुँजीवादी पश्चिमी शक्ति राष्ट्रहरू थिए भने अर्कातिर सोभियत संघ नेतृत्वको समाजवादी समूह। समाजवादी समूहमा रहेको पोल्यान्ड सम्भावित आणविक युद्धबाट त्रसित थियो। आणविक युद्ध भयो भने सहरका सारा मानिसको तत्कालै मृत्य हुनेछ भन्ने डर हरेक व्यक्तिको जीवनमा प्रवेश गरिसकेको थियो। आणविक युद्धले गर्ने नरसंहारबाट जोगाउन अन्तिम आशाका रूपमा सरकारले बनाएको थियो नोवा हुता सहरमा थुप्रै भूमिगत बंकरहरू।
२४ अप्रिल, २०२६ का दिन बाहिर पारिलो घाम लागेको छ। सडकमा गाडी दौडिरहेका छन्। मानिसहरू बिनाडर निष्फिक्री हिँडिरहेका छन्। केटाकेटीहरू घर अगाडिका चौरमा खेलिरहेका छन्। पसलहरू खुलै छन् तर समाजवादी युगको यही शान्त सहरका वासिन्दाहरूले कैयौं वर्ष त्रासमा बाँच्नुपरेको थियो। सरकारले नोभा हुता सहरका मजदुर र तिनका परिवारलाई सुरक्षित राख्नका लागि केही ठुला भवन र विद्यालयका भवनमुनि २५० भन्दा बढी आणविक बंकर र आश्रय स्थलहरू बनाएको थियो।
सङ्ग्रहालयको रूपमा सुरक्षित राखिएको बंकर भएको एउटा भवनको मुख्यद्वारअगाडि पुगेको छु। बंकरभित्र प्रवेश गरेकै छैन मनमा अनौठो डर उत्पन्न भइसकेको थियो। अहिले पोल्यान्डमा आणविक आक्रमणको सम्भावना छैन तर म किन डराएको होला म आफैंलाई थाहा छैन।
बंकर अवलोकनका लागि भुईं तलाबाट जमिनमुनि जाने सिँढीबाट बिस्तारै झर्दै छु। मनमा जिज्ञाशा, उत्सुकता र अलिकति डर जस्तो पनि छ। सिँढीबाट तल झर्दैगर्दा चिसो हावाले स्पर्श गर्छ मलाई। नाकमा ठोकिन्छन् ओसिलो माटो र पुरानो फलामको कडा गन्ध।
साँघुरो गल्लीमा सङ्केत चिह्न पछ्याउँदै पुग्छु गाढा हरियो रङको मोटो फलामे ढोकाअगाडि। बाहिरबाट आणविक विकिरण र विषालु ग्यासलाई भित्र छिर्न नदिने गरी बनाइएको ढोका सुरक्षा कवचको रुपमा उभिएको थियो। फलामे ढोका खोलेर भित्र प्रवेश गर्छु। मलाई यस्तो लाग्यो कि म बंकरभित्र होइन, त्रासदी भरिएको बन्द कोठाभित्र प्रवेश गर्दै छु।
जमिनमुनिको एउटा कोठामा ग्यास मास्कहरू, पुरानो सञ्चार उपकरणहरू, पुराना नक्साहरू र भित्तामा टाँसिएका सूचना सामग्रीहरू देख्छु। तीनले शितयुद्ध समयको त्रासको वातावरणलाई चित्रित गरिरहेका थिए। केही मेसिनहरू राखिएको कोठामा पुग्छु। ती मेसिनहरू बाहिरको दूषित हावालाई तानेर, फिल्टर गरेर भित्र बस्ने मानिसहरूका लागि शुद्ध अक्सिजन दिने ‘फिल्टरेसन सिस्टम’ रहेछन्। बिजुली गयो भने ती मेसिनलाई हातले नै ह्यान्डल घुमाएर चलाउनुपर्ने व्यवस्था थियो। अर्को कोठामा भित्तामा झुन्ड्याइएका ग्यास मास्कहरू र औषधि राख्ने पुराना बक्साहरूले विगतका त्रासदी बताइरहेका थिए। ती सामग्रीहरूले शीतयुद्धका कथा सुनाए। मानिसका मनमा बसेका विगतका डरहरूलाई देखाए। मानिसभन्दा अग्ला थुप्रै ऐनाहरू भएको एउटा कक्षमा प्रवेश गर्छु। हरेक ऐनामा एक–एक वटा प्रश्न लेखिएका थिए– ‘सूर्यको प्रकाशको अभाव हुँदा तपाईंका शरीरका इन्द्रियहरूले कस्तो प्रतिक्रिया जनाउँछन् ? तपाईं केही दिन अपरिचित व्यक्तिहरूसँग एउटै आश्रयस्थलमा थुनिनुपरेमा कस्तो महसुस गर्नुहुन्छ? आणविक हतियार प्रयोग गरी आक्रमण भएपछि तपाईंको वरपरको वातावरण कस्तो देखिने छ ? तपाईं बसेको आश्रयस्थलमा एक दिनभित्र पानी सकिँदै छ भन्ने थाहा पाएमा तपाईंलाई कस्तो महसुस हुन्छ ? तपाईंको सबैभन्दा नजिकको आफन्त आश्रयस्थलबाहिरै छुटेको अवस्थामा तपाईंलाई कस्तो महसुस हुन्छ ? आश्रयस्थलमा रहेका अन्य मानिसहरू भोकै छन् भन्ने थाहा पाएमा के तपाईं आफ्नो खाना उनीहरूसँग बाँड्नुहुन्छ ? के तपाईं आश्रयस्थलभित्र आफूलाई सुरक्षित महसुस गर्नुहुन्छ ? बन्दी अवस्थाजस्तो सीमित वातावरणमा रहँदा तपाईं के–कस्ता कुराहरू सोच्नुहुन्छ ? तपाईं आश्रयस्थलमा प्रवेश गर्दै गर्दा, अहिले देखिरहेको आफ्नो वरपरको वातावरणलाई यही रूपमा अन्तिम पटक देख्दै हुनुहुन्छ भन्ने थाहा पाएमा तपाईंलाई कस्तो महसुस हुन्छ ?’ ती प्रश्न मेरा लागि यक्षप्रश्न थिए।
बंकरभित्र छाएको छ सन्नाटा तर मेरो मनभित्र दौडिरहेको छ शून्यता। ती प्रश्नहरूले भावुक बनायो मलाई। ऐनामा लेखिएका ती प्रश्नहरू पढिरहँदा मेरा मनमा पनि थुप्रै गम्भिर प्र्र्रश्नहरू उठे– ‘अचानक साँच्चै साइरन बज्यो भए के हुन्छ होला ? के मानिसहरू हतारिँदै यही बंकरभित्र प्रवेश गर्छन् ? वृद्ध र अशक्तहरू कसरी बंकरभित्र आउलान् ? त्यस बेला म के गर्छु होला ? म कस्तो अवस्थामा हुन्छु होला ?’ तत्काल त्यसको उत्तर मसँग थिएन। मनमनै विचार गर्छु, ऐनामा प्रश्न लेखिनुको अर्थ प्रश्न पढ्ने मानिसको प्रतिबिम्ब ऐनामा देखिनु हो। बंकरभित्र बसेका मानिसका ठाउँमा आफूलाई राखेर सोच्नु हो। ती प्रश्न समग्र मानव जातिलाई थियो। युद्ध लड्ने शासकहरूलाई थियो। ती प्रश्नहरूले मलाई गम्भीर सोचमा पुर्यायो। युद्ध पिपासु शासकहरूप्रति घृणा बढायो।
एकछिन अगिको समय सम्झन्छु। मैले माथि भर्खरै एउटा समाजवादी सपनाको सहर देखेको थिएँ। जमिनमुनि तल एउटा आणविक भयको अर्को संसार भेटेँ। नोभा हुतालाई बाहिर जति आदर्श सहरका रूपमा देखाइएको थियो, जमिनमुनि त्यति नै त्रसित भएर लुकेको पो रहेछ। जमिनमाथि युटोपियाको कल्पना गरिएको थियो, तल सम्भावित विपत्तिको घनघोर तयारी। बंकरभित्र देखेँ आममानिसको जीवन बाच्ने चाहना र शासकको युद्धका तयारी। बंकरभित्रको अवलोकनपश्चात् मलाई लाग्यो, कम्युनिस्ट शासकहरूले नोवा हुतामा एउटा स्वर्गको निर्माण गर्न चाहन्थे तर सम्भावित नरकबाट बच्न तयारी पनि गरिरहेका थिए। एउटै सहरमा भेटें मैले आशा र डर, निर्माण र विनाश, भविष्यका सपना र सम्भावित दुर्घटनाको छाया। बंकरभित्रका दृश्य हेर्दै गर्दा मनमा यस्तै अनेक कुराहरू खेलिरहेका थिए। भित्र एक घण्टाभन्दा बढी समय बिताइसकेको थिएँ। हेर्न केही बाँकी रहेन। त्यसपछि बाहिर निस्कन्छु।
पारिलो घामले अँगालो हाल्यो। घामको दर्शन र स्पर्श पाउँदा सन्तोषको सास फेरेँ। मलाई यस्तो लाग्यो कि नयाँ जीवन पाएर बाहिरको संसार हेर्न पाएको छु। म घुमन्तेलाई त यस्तो भयो भने युद्धका कारण केही दिन बंकरभित्र बसेर बाहिर निस्केकाहरूको मनमा कस्तो प्रभाव पर्दो हो अनुमान गर्न सकिनँ।
बाहिरको संसार सामान्य थियो। मानिसहरूको आआफ्नै व्यस्ततामा थिए। बच्चाहरू पार्कमा खेलिरहेका थिए। पर्यटकका हुलहरू सडकमा थिए। गाडीहरू र ट्राम गुडिरहेका थिए। हावा चलिरहेको थियो। जीवन आफ्नै गतिमा अघि बढिरहेको थियो तर मेरो मन भने एकछिन अघिको भूमिगत संसारमै थियो। विचार गर्छु, कुनै समय जुन सहर आणविक युद्धको त्रासमा जमिनमुनि लुक्ने तयारी गरिरहेको थियो, आज त्यही सहर डरबाट मुक्त छ। शान्तसँग बसेको छ। पर्यटकको आकर्षण केन्द्र बनेको छ। उतिबेलाका कम्युनिस्ट शासकलाई के थाहा भविष्यमा यस्तो दिन पनि आउँछ भनेर ?
म कम्युनिस्टहरूको आदर्श सहरको मध्य भागमा छु। सहर घुम्दै गर्दा कफीको तलतल लागिरहेको थियो। सामुन्ने देखिएको एउटा पुरानो क्याफेमा प्रवेश गर्छु। भित्तामा रातो झन्डा, कम्युनिस्टका पुराना प्रचार सामग्रीहरू, माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन लगायतका कम्युनिस्ट नेताहरूका तस्बिर सजाइएका छन्। त्यहाँको सजावटले विगतको दिन स्मरण गराइरहेको थियो। ती सबै सामग्री पर्यटक लक्षित थिए जस्तो लाग्यो मलाई। अमेरिकानो कफी लिएर झ्याल छेउको कुर्सीमा बस्छु। अन्य कुर्सीमा केही पर्यटकहरू र पोलिस भाषामा कुरा गरिरहेका स्थानीय अवकाशप्राप्त व्यक्तिहरू पनि छन्।
ती स्थानीय व्यक्तिहरू सायद पहिले फलाम कारखानाका समाजवादी मजदुरहरू थिए होलान्। पछि तिनैले कम्युनिस्ट सत्ता फालेका थिए होलान् भनेर अनुमान गर्छु। पोल्यान्डमा सन् १९८० देखि सुरु भएको ‘सोलिडारिटी मुभमेन्ट’का बारेमा रेडियो र पत्रिकाका खबरहरू सम्झन्छु। त्यो आन्दोलन मजदुरहरूको तलब बृद्धिको माग मात्र थिएन, त्यसले मजदुरको अधिकारसँगै अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार र राजनीतिक सुधारको माग उठाएको थियो। जुन मजदुर वर्गको हितका लागि कम्युनिस्टहरूले नोवा हुता सहर बनाएका थिए, त्यहींका मजदुर वर्ग नै पोल्यान्डमा कम्युनिस्ट शासन ढाल्ने मुख्य शक्ति बन्न पुगेको टिभी समाचारका दृश्यहरू मेरो मानसपटलमा घुम्न थाले।
त्यस बेला पोल्यान्डमा आर्थिक समस्या बढ्दै थियो। दैनिक उपभोगका वस्तुहरूको अभाव थियो। मानिसहरूमा असन्तुष्टि बढिरहेको थियो। हरेक कुरामा राज्यको नियन्त्रणउपर प्रश्नहरू उठिरहेका थिए। त्यस्तो अवस्थामा देशभर मजदुर आन्दोलनले नयाँ रूप लिन थाल्यो। मजदुर नेता लेक वालेसाको नेतृत्वमा सुरु भएको आन्दोलनमा नोभा हुताका फलाम कारखानाका मजदुरहरूले महत्त्वपूर्ण भूमिका खेले। अन्ततः सन् १९८९ मा पोल्यान्डमा कम्युनिस्ट शासनको पतन भयो। नोभा हुता सहर जुन कम्युनिस्ट युटोपियाको रक्षक हुनुपर्ने थियो, त्यही सहर कम्युनिस्ट व्यवस्थाको चिहान खन्ने मुख्य थलो बन्यो।
कफीको चुस्की लगाउँदै आफैंलाई प्रश्न गर्छु– के युटोपिया सम्भव छ ? मानिसहरूले हजारौं वर्षदेखि आदर्श समाजको सपना देख्दै आएका छन्। प्लेटोको ‘द रिपब्लिक’मा उल्लेख भएको युटोपियादेखि, आधुनिक समाजवादसम्म, धार्मिक राज्यदेखि वैज्ञानिक र उत्तरआधुनिक समाजसम्मका सबै प्रयासको मूल उद्देश्य एउटै छ– मानिसहरूलाई कसरी सुखी बनाउने ? कसरी खुसी र शान्ति दिने ? दर्शन र वादको किताबमा लेखेजस्तो, योजनामा कोरेजस्तो, नेताले भाषणमा बोलेजस्तो, धर्मगुरुहरूले प्रवचनमा व्याख्या गरेजस्तो आदर्श समाज आजका मितिसम्म किन बन्न सकेन ?
यसो विचार गर्छु, मानिसलाई कुनै एउटा राजनीतिक सिद्धान्त वा विचारधाराको साँघुरो कोठामा जबर्जस्ती थुन्न नसकिँदो रहेछ। कंक्रिटका भवन बनाएर त्यसभित्र मानिसलाई राख्न सकिन्छ तर उनीहरूको मस्तिष्कमा जर्बजस्ती कुनै विचार र वाद राख्न सकिँदैन। कुनै पनि वाद, विचारधारा र व्यवस्था कहिलै पनि पूर्ण हुँदैनन्। इतिहास हेरे पुग्छ, त्यसले परिवर्तन खोजिरहेको हुन्छ। जनताको सर्वोच्चतालाई स्वीकार गर्दै शासन व्यवस्थामा समयानुकूल परिवर्तन गर्न सके मात्र ती सफल हुन्छन्। कम्युनिस्टहरूको सपनाको सहर नोवा हुताको असफलताले शासकहरूलाई यही कुरा सिकाइरहेको छ।
कफीको अन्तिम घुट्को पिएर बाहिर निस्कन्छु। मेरा आँखाले नियालिरहेका छन् नोवा हुता सहरको व्यस्तता। पोल्यान्डमा कम्युनिस्ट शासन ढल्यो, प्रजातन्त्रसँगै बजार अर्थतन्त्र आयो। मानिसहरू अझै यहीं बस्छन्। भवनहरू अझै उभिएका छन्। व्यवस्था बदलियो तर भूगोल जस्ताको तस्तै छ। ती दृश्य हेर्दा अहिलेको नोवा हुता सहर कम्युनिस्ट शासन व्यवस्थाको कमीकमजोरी बताउने गतिलो पाठशालाको रूपमा देख्छु।
नोवा हुताको यात्रामा मैले धेरै कुरा सिकेँ। मुख्य कुरा भनेको शासकको राम्रो उद्देश्य मात्र जनतालाई पर्याप्त नहुँदो रहेछ। जनतालाई राजनीतिक, आर्थिक, धार्मिक र वाक स्वतन्त्रता पनि चाहिँदो रहेछ। विचारधाराले धेरै सहरहरू जन्माउन सक्छ तर त्यसलाई जीवित राख्ने मुख्य शक्ति भनेका जनता नै हुन्। जनतालाई खुसी राख्नु शासकको पहिलो कर्तव्य हो। जनता खुसी र सुखी भए शासक सत्तामा हुन्छन् नत्र धुलोको कणलाई जस्तै परिवर्तनको हावाले उँडाएर लैजानेछ। यो कुरा पटक–पटक सत्तामा पुगेका नेपालका कम्युनिस्टहरूले पनि अबचाहिँ सिके होलान्। मनमा यस्तै कुरा खेल्दै गर्दा क्राको सहरभित्र ट्राम प्रवेश गर्छ। मेरा आँखा क्राको सहरका मध्ययुगीन भवन र पर्यटकहरूका भिडमा दौडिन थाले तर मन भने नोवा हुता सहरमै डुलिरहेको थियो।
प्रकाशित: ७ कार्तिक २०८३ ०९:५२ शनिबार





