७ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

अलग-अलग रहँदा सबै नेता ठीक थिए, एक ठाउँमा आएपछि खराब भए : प्रभु साह

आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले नेताहरू एकजुट हुँदा समाजको विकासमा सहयोग पुग्ने बताएका छन्।

सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। एकता र संघर्षबीचको सम्बन्धबारे प्रश्न गर्दै एकताबद्ध भएर अघि बढ्दा समाजको विकास हुने उनको भनाइ छ।

उनले भने, 'अलग-अलग रहँदा त ती सबै नेता ठीक थिए। जब हामी एक ठाउँमा भेला भयौँ, तब यी सबै नेता खराब भए। सबै नेता खराब छन् भने मलाई बताउनुहोस्, एकताबाट समाजको विकास हुन्छ कि लडाइँबाट?'

उनले एउटै मञ्चमा नेताहरू एक ठाउँमा आउनुले समाजको विकासमा सहयोग पुग्ने वा नपुग्ने भन्ने प्रश्न गर्दै सहयोग पुग्छ भने विरोध गर्नुको सट्टा ताली बजाएर स्वागत गर्नुपर्ने बताए।

साहले मधेसका नेताहरू एक ठाउँमा आउन थालेपछि केही मानिस खुसी भएको र केहीमा छटपटी देखिएको टिप्पणी गरे। उनले मधेस बलियो हुने, संघीयता सफल हुने र जनतामा खुसी छाउने बताए।

उनले मधेसी दलका नेताहरूलाई अनावश्यक गाली गर्ने र मोर्चाका विषयमा झुटो प्रचार गर्ने काम भइरहेको आरोप लगाउँदै अग्रगामी मोर्चाका नेता तथा कार्यकर्तालाई सजग रहन आग्रह गरे।

उनले कुनै पनि लडाइँ संघर्षबिना सफल नभएको उल्लेख गर्दै समाजमा दुर्गा माता र महिषासुरको प्रसङ्ग प्रस्तुत गरे। उनले भने, 'हाम्रो समाजमा रावण छैन, तर रावण प्रवृत्ति छ। महिषासुर प्रवृत्ति छ। अत्याचार गर्ने, विनाश गर्ने र विध्वंस मच्चाउने प्रवृत्ति छ।'

यस्ता प्रवृत्तिको अन्त्य गर्ने संकल्पसहित अग्रगामी मोर्चा अघि बढेको उनले बताए।

दुर्गा माताको पवित्र स्थललाई सन्देश दिने स्थानका रूपमा छनोट गरिएको उल्लेख गर्दै साहले विनाशकारी र विभाजनकारी राजनीतिको अन्त्य गर्ने उद्घोष गरे।

उनले देशमा विध्वंस, विभाजन र विनाशको राजनीति अन्त्य भई विकास, समृद्धि, समानता र न्यायको यात्रा अघि बढोस् भन्ने शुभकामना व्यक्त गरे।

प्रकाशित: ७ कार्तिक २०८३ १०:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App