२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भेनेजुएलामाथि अमेरिकी सैन्य कारबाहीको तयारी, एफ ३५ युद्धक विमान तैनाथ

डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाका लागूऔषध कार्टेलहरूविरुद्ध कारबाही गर्न र राष्ट्रपति निकोलस मादुरोलाई दबाब दिन क्यारिबियन क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ। यस क्रममा प्युर्टो रिकोमा एफ ३५ स्टिल्थ लडाकु विमानहरू तैनाथ गरिएको अन्तर्राष्ट्रिय समाचार स्रोतले जानकारी गराएको छ।

अमेरिकी स्रोतहरूका अनुसार वाशिंगटनले नार्का आतंकवादी समूह भनेर तोकेका ल्याटिन अमेरिकी लागूऔषध कार्टेलहरूलाई निशाना बनाउन १० वटा अत्याधुनिक लडाकु विमानहरू प्युर्टो रिकोको एयरफिल्डमा पठाउने आदेश दिएको छ। ट्रम्प प्रशासनले भेनेजुएलाभित्र लागूऔषध तस्करी समूहहरूमाथि हवाई हमला गर्नेबारे विचार गरिरहेको सीएनएनले जनाएको छ।

यसको जवाफमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकालाई आफ्नो देश र सम्पूर्ण ल्याटिन अमेरिकामा हिंसात्मक शासन नगर्न आग्रह गरेका छन्। उनले अमेरिकाले सार्वभौमसत्ता, शान्ति र स्वतन्त्रताको अधिकारको सम्मान गर्नुपर्ने बताएका छन्। मादुरोले दुई देशबीचको मतभेदलाई वार्ताको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिँदै कुनै पनि अवस्थामा सैन्य द्वन्द्व हुनु नहुने बताएका छन्।

अमेरिकाको लगातारको धम्कीका कारण भेनेजुएलाले ३ लाख ४० हजार सैनिक परिचालन गरेको छ। मादुरोका अनुसार, यदि अमेरिकाले आक्रमण गरेमा तत्काल सशस्त्र संघर्षका लागि तयार रहन सैनिकहरूलाई परिचालन गरिएको हो।

यसैबीच, बिहीबार अमेरिकी रक्षा विभागले भेनेजुएलामाथि उत्तेजित गर्ने गरी दुई लडाकु विमानहरूलाई यूएसएस जेसन डनहम मिसाइल विनाशक जहाज नजिकै उडान गर्न पठाएको आरोप भेनेजुएलाले लगाएको छ।

क्यारिबियनमा अमेरिकी नौसेनाको सैन्य शक्ति बढ्दै गएको छ। यस क्षेत्रमा डनहमसहित कम्तिमा सात अमेरिकी युद्धपोतहरू ठूलो संख्यामा मरीनहरू र आणविक शक्तिबाट चल्ने द्रुत आक्रमण पनडुब्बीहरू तैनाथ गरिएको छ।

ट्रम्पले भेनेजुएलालाई चेतावनी दिँदै भनेका छन्, यदि उनीहरूले हामीलाई खतरनाक स्थितिमा राखे भने, उनीहरूलाई गोली हानिनेछ। अमेरिकी सेनाले क्यारिबियनमा हालै एउटा स्पीडबोटलाई विस्फोट गराएको थियो, जसलाई ट्रम्पले भेनेजुएलाको आपराधिक संगठन ट्रेन डे अरागुआु सँग सम्बन्धित भएको बताएका थिए। यस आक्रमणमा ११ जनाको मृत्यु भएको थियो, जसलाई भेनेजुएलाले गैरन्यायिक हत्या भनेको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्पको सैन्य कारबाहीको बचाउ गर्दै भनेका छन्, 'यदि तपाईं कोकेन वा फेन्टानिलले भरिएको डुङ्गामा संयुक्त राज्य अमेरिका जाँदै हुनुहुन्छ भने, तपाईं अमेरिकाका लागि तत्काल खतरा हुनुहुन्छ।'

प्रकाशित: २१ भाद्र २०८२ ०९:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App