क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले इरानमाथि अमेरिका र इजरायलले गरेको सैन्य आक्रमण अन्तर्राष्ट्रिय कानुनविपरीत भएको बताएका छन्।
सिड्नीस्थित लोवी इन्स्टिच्युटमा आयोजित एक भेलामा बोल्दै उनले यो आक्रमण पहिलो नजरमै अन्तर्राष्ट्रिय कानुनसँग नमिल्दो देखिएको उल्लेख गरेका हुन्। इरानमाथि भइरहेको यो कारबाहीले विश्वव्यापी कानुनी मापदण्डको पालना नगरेको भन्दै उनले चासो व्यक्त गरेका हुन्।
उनले भने, ‘अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणले अन्तर्राष्ट्रिय कानुनको पालना गरेको देखिँदैन। यो पहिलो नजरमा अन्तर्राष्ट्रिय कानुनसँग मेल नखाने वा असंगत हुने देखिन्छ।’
अमेरिका-इजरायल र इरानबिचको युद्ध आज पाँचौँ दिनमा प्रवेश गर्दा पनि तनाव कम हुने कुनै संकेत देखिएको छैन। इजरायली सेनाले आफ्नो लडाकु विमानले तेहरानमाथि इरानको जेट खसालेको दाबी गर्दै आएको छ। इरानका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
इजरायली रक्षामन्त्री इजरायल काट्जले अयातोल्लाह अलि खामेनीका उत्तराधिकारी छोरा मोज्तबा खामेनीलाई समेत ‘उन्मूलनको निशाना’ बनाउने धम्की दिएपछि अवस्था झनै भयावह बनेको छ। युद्धका कारण तेल आपूर्तिमा ठूलो झट्का लाग्ने डरले एसियाली सेयर बजारमा भारी गिरावट आएको छ, जसमा दक्षिण कोरियाको कोस्पी सूचकांकले इतिहासकै सबैभन्दा ठूलो एकदिनको गिरावट रेकर्ड गरेको छ।
यसैबिच, सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अमेरिकाले पाकिस्तानमा रहेका आफ्ना कर्मचारी र उनीहरूका परिवारलाई देश छाड्न निर्देशन दिएको छ। कराँची र लाहोरस्थित दूतावासमा कार्यरत अत्यावश्यक बाहेकका कर्मचारीलाई तत्काल पाकिस्तान फर्कन भनिएको हो। कराँचीस्थित अमेरिकी वाणिज्य दूतावास बाहिर भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा १० जनाको मृत्यु भएपछि अमेरिकाले यो कदम चालेको हो।
यता, संयुक्त राष्ट्रसंघले इरानको एक बालिका विद्यालयमा भएको भीषण आक्रमणको स्वतन्त्र छानबिन गर्न आह्वान गरेको छ। उक्त आक्रमणमा १५० जना विद्यार्थीको मृत्यु भएको थियो। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी सेनाले जानीजानी कुनै पनि विद्यालयलाई निशाना नबनाउने स्पष्टीकरण दिएका छन् भने इजरायलले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ।
इरानमा हालै निधन भएका नेता खामेनीको सम्मानमा तेहरानमा आज रातिदेखि तीन दिने शोक समारोह सुरु हुँदैछ।
प्रकाशित: २० फाल्गुन २०८२ १४:३८ बुधबार





