अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले दक्षिणी इरानमा विवाह समारोहका क्रममा भएको घातक हमलाबारे अमेरिका अनुसन्धान गरिरहेको बताएका छन्।
दक्षिणी इरानको हर्मोज्गान प्रान्तस्थित सिरिक काउन्टीको कुहेस्ताक गाउँमा मंगलबार विवाह समारोह चलिरहेका बेला विस्फोट भएको थियो। इरानी सरकारी टेलिभिजनका अनुसार घटनामा पाँच जनाको मृत्यु भएको छ भने करिब ७० जना घाइते भएका छन्।
उपराष्ट्रपति भान्सले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै घटनाको अनुसन्धान भइरहेको बताए। ‘हामी यसको अनुसन्धान गरिरहेका छौं, किनकि हामीलाई यसमा चासो छ। हामी के भएको हो भन्ने जान्न चाहन्छौं,’ उनले भने।
उनले अमेरिकी सेनाबाट गल्ती भए त्यसबाट सिकेर सुधार गर्ने प्रयास गरिने पनि बताए। अमेरिकी सेनाले घटनासम्बन्धी इरानी रिपोर्टबारे जानकारी रहेको जनाएको छ। तर आफूले कहिल्यै पनि जानाजानी सर्वसाधारणलाई निशाना नबनाउने दाबी गरेको छ।
अमेरिकी अधिकारीहरूका अनुसार घटनाको कारणबारे विभिन्न सम्भावनामाथि अनुसन्धान भइरहेको छ। अमेरिकी हमला, इरानी हवाई प्रतिरक्षा मिसाइलको रिकोचेट वा अन्य प्राविधिक कारण हुन सक्ने सम्भावनाबारे अनुसन्धान भइरहेको बताइएको छ।
घटनामा मारिएकाहरूको बिहीबार अन्त्येष्टि गरिएको थियो। स्थानीय एक व्यक्तिले इरानी सञ्चारमाध्यमसँग भने, ‘यो सैन्य स्थल थिएन, विवाह समारोह थियो। मानिसहरूको खुसीलाई शोकमा बदलिदिए।’ अमेरिकाले विवाह समारोहमा भएको हमलाको प्रत्यक्ष जिम्मेवारी स्वीकार गरेको छैन।
यसैबिच, सार्वजनिक भएका तस्बिर र भिडियोको विश्लेषणले उक्त घटना अमेरिकी हतियारको प्रत्यक्ष प्रहारबाट भएको हुन सक्ने देखाएको छ। हतियार विज्ञहरूले पनि घटनामा अमेरिकी हतियारको प्रत्यक्ष प्रहार भएको सम्भावना बलियो रहेको बताएका छन्।
अमेरिका र इरानबिच पछिल्ला दिनमा सैन्य तनाव बढेको छ। अमेरिकाले मंगलबार इरानका सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको थियो। त्यसको जवाफमा इरानले इराक, जोर्डन, कतार, कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डातर्फ मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ।
दुवै देशबिचको तनावले अन्तर्राष्ट्रिय तेल बजारमा समेत असर परेको छ। होर्मुज जलमार्ग विश्वको महत्त्वपूर्ण तेल ढुवानी मार्ग भएकाले यस क्षेत्रमा बढ्दो तनावले विश्वव्यापी ऊर्जा आपूर्तिमाथि पनि चिन्ता बढाएको छ। एजेन्सीको सहयोगमा
प्रकाशित: १९ भाद्र २०८३ ०७:१९ शुक्रबार





