१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

व्यापार तनाव कम गर्न अमेरिका-भारतबिच उच्चस्तरीय वार्ता

व्यापार विवाद तीव्र बन्दै गएपछि संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियो र भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशंकरबिच सोमबार मलेसियामा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।

यो भेट दुई देशबिचको व्यापार वार्ता अगाडि बढाउने र अमेरिकाले भारतमाथि लगाएको सजायात्मक भन्सार शुल्कका कारण उत्पन्न तनाव कम गर्ने उद्देश्यले गरिएको उच्चस्तरीय कूटनीतिक सम्पर्कको रूपमा हेरिएको छ।

यस भेटका केही विवरण मात्र सार्वजनिक गरिए पनि यो संवाद गत हप्ता अमेरिकाले भारतको प्रमुख कच्चा तेल आपूर्तिकर्ता रहेका रुसी तेल कम्पनीहरूमा लगाएको प्रतिबन्धपछि भएको पहिलो प्रत्यक्ष वार्ता हो। यसले वासिङ्टन र नयाँदिल्लीबिच पुनः संवादको ढोका खोलेको विश्लेषण गरिएको छ।

जयशङ्करले सामाजिक सञ्जाल एक्समार्फत रुबियोसँगको मुस्कुराउँदै हात मिलाएको तस्बिर साझा गर्दै लेखे, ‘हाम्रो द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय र विश्वव्यापी विषयहरूमा भएको उपयोगी छलफलको म प्रशंसा गर्छु।’

यो भेट दक्षिणपूर्वी एसियाली शिखर सम्मेलनको साइडलाइनमा सम्पन्न भएको थियो। सो अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्यक्तिगत रूपमा उपस्थित थिए भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो लिंकद्वारा सम्बोधन गरे।

गत अगस्टमा राष्ट्रपति ट्रम्पले भारतमाथि लगाइने भन्सार शुल्क दर ५० प्रतिशतसम्म बढाएपछि दुई देशबिचको सम्बन्धमा तनाव उत्पन्न भएको थियो। अमेरिकी अधिकारीहरूले भारतमाथि मस्कोबाट छुट मूल्यमा तेल खरिद गरेर युक्रेनमा जारी रुसको युद्धलाई अप्रत्यक्ष सहयोग गरेको आरोप लगाएका थिए।

गत हप्ता प्रधानमन्त्री मोदीसँग टेलिफोन वार्ता गरेपछि राष्ट्रपति ट्रम्पले भारतले रुसी तेल आयात कटौती गर्न सहमति जनाएको दाबी गरे, तर यसबारेमा नयाँदिल्लीले आधिकारिक प्रतिक्रिया दिएको छैन। एएफपी

प्रकाशित: १० कार्तिक २०८२ ११:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App