६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरान युद्धमा अमेरिकी एफ-३५ पहिलो पटक हिट : इरानी हमलापछि आपतकालीन अवतरण !

इरानमाथि युद्ध अभियान सञ्चालन गरेपछि अमेरिकाको अत्याधुनिक एफ-३५ लडाकु विमानले मध्य पूर्वको एक हवाई अड्डामा आपतकालीन अवतरण गरेको छ।  

अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) का प्रवक्ता क्याप्टेन टिम हकिन्सले बिहीबार विमान सुरक्षित रूपमा अवतरण गरेको र पाइलटको अवस्था स्थिर रहेको जानकारी दिए। ‘हामीलाई इरानमाथि युद्ध अभियान सञ्चालन गरेपछि अमेरिकी एफ-३५ विमानले क्षेत्रीय हवाई अड्डामा आपतकालीन अवतरण गरेको रिपोर्ट प्राप्त भएको छ, यसबारे अनुसन्धान भइरहेको छ,’ हकिन्सले भने।  

करिब १०० मिलियन (१० करोड) डलर मूल्य पर्ने उक्त विमानलाई इरानले प्रहार गरेको हुन सक्ने दाबी गरिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले पनि अमेरिकी विमानलाई निशाना बनाएको बताएको छ। 

फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि अमेरिकाले १२ वटा एमक्यू-९ रिपर ड्रोनहरू गुमाइसकेको छ। साउदी अरेबियामा भएको इरानी क्षेप्यास्त्र प्रहारबाट पाँचवटा अमेरिकी रिफ्युलिङ विमान क्षतिग्रस्त भएको बताइएको छ। 

रिपोर्टहरूका अनुसार इरानसँगको जारी युद्धमा अमेरिकाले कम्तिमा १६ वटा सैन्य विमानहरू गुमाएको छ। केही अन्य विमानहरू पनि क्षतिग्रस्त भएका छन्, जसले गर्दा कुल संख्या २२ पुगेको छ।

यसैबिच, अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरान विरुद्धको युद्धमा अमेरिकाको उद्देश्य परिवर्तन नभएको बताएका छन्। उनले भने, ‘हाम्रा राष्ट्रपति (डोनाल्ड ट्रम्प)बाट दिइएका उद्देश्यहरू पहिलो दिनकै जस्तै छन्।’ 

अमेरिकाले हालसम्म इरानका सात हजार निशानाहरूमा हमला गरिसकेको छ, जसमा ४० भन्दा बढी जहाज र ११ पनडुब्बीहरू रहेका छन्। हेगसेथका अनुसार इरानको मिसाइल प्रक्षेपण गर्ने साइट नष्ट गर्नुका साथै तेहरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने अमेरिकाको मुख्य लक्ष्य हो।  

अमेरिकी राष्ट्रपति ट्रम्पले यस क्षेत्रमा थप सेना पठाउने योजनाबारे सोधिएको प्रश्नमा आफूले ‘कहीँ पनि’ सेना नपठाउने बताए। उनले यदि सेना पठाउने नै भए पनि यसबारे पत्रकारहरूलाई जानकारी नदिने स्पष्ट पारे। संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल डान केनले अमेरिकी सेना आफ्नो लक्ष्य प्राप्तिको बाटोमा रहेको दाबी गरे पनि इरानसँग अझै केही क्षेप्यास्त्र क्षमता बाँकी रहेको स्वीकार गरे। ‘तिनीहरू धेरै हतियार लिएर यो लडाइँमा आएका थिए,’ केनले भने। एजेन्सी

प्रकाशित: ६ चैत्र २०८२ १२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App