२९ कार्तिक २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्राविधिक समस्या हुँदा अमेरिकाको हवाई सेवा अस्तव्यस्त, १७ हजार उडान रद्द

अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौँ यात्रु प्रभावित भएका छन्।

चार घण्टाभन्दा बढी समयसम्म जारी उडान रोक शनिबार राति करिब ८ः१५ बजे (स्थानीय समय) अन्त्य भएपछि केही आन्तरिक उडान पुनः सञ्चालनमा आएका छन्।

यद्यपि, उडान सेवा पूर्ण रूपमा सामान्य हुन अझै समय लाग्ने अधिकारीहरूले बताएका छन्।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार शुक्रबारको अवरोधका कारण निर्धारित उडानमध्ये करिब १२ हजार उडान सञ्चालन हुन सकेनन्।

शनिबारका लागि निर्धारित ४१ हजार उडानमध्ये करिब पाँच हजार उडान रद्द गरिएको थियो।

पछिल्लो २५ वर्षयताकै सबैभन्दा लामो उडान रोकका कारण देशका विभिन्न विमानस्थलमा यात्रु अलपत्र परेका थिए।

एफएएका प्रशासक ब्रायन बेडफोर्डले शनिबार हवाई यातायात प्रणाली स्थिर र सञ्चालनमा रहेको जानकारी दिए।

उनले उडानमा अझै ढिलाइ तथा रद्द हुने समस्या देखिए पनि आइतबारसम्म सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको बताए।

‘आज पनि उडानमा ढिलाइ र रद्द हुने समस्या रहनेछ, तर यसले भोलिसम्म पूर्ण रूपमा सेवा पुनः सञ्चालन गर्न सहयोग गर्नेछ,’बेडफोर्डले भने।

उनले यात्रुहरूलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै हवाई यातायात नियन्त्रक, विमान चालक तथा परिचारिकाहरूको कामको प्रशंसा गरे।

यसैबीच, अमेरिकी गृह सुरक्षा मन्त्री मार्कवेन मुलिनले उक्त समस्या साइबर आक्रमणका कारण भएको कुनै संकेत नरहेको र यसबाट कसैको ज्यान जोखिममा नपरेको बताए।

यातायातमन्त्री सिन डफीका अनुसार शुक्रबार दिउँसो दुर्गम क्षेत्रमा रहेको हवाई यातायात प्रणालीको पुरानो तामाको तारलाई नयाँ फाइबर तारले प्रतिस्थापन गर्ने काम भइरहेको थियो।

प्रणालीको एउटा भाग स्तरोन्नति भइरहेका बेला अत्यधिक भारका कारण समस्या उत्पन्न भएको उनले जानकारी दिए।

प्रभावित यात्रुलाई राहत दिन विभिन्न विमान कम्पनीले टिकट परिवर्तन शुल्क हटाएका छन्। उडान रद्द भएका यात्रुले अर्को उडानमा निःशुल्क स्थानान्तरण वा टिकटको पूर्ण रकम फिर्ता पाउने व्यवस्था गरिएको छ।

केही कम्पनीले शुक्रबार र शनिबारका यात्रुका लागि मात्र नभई आइतबार र सोमबारका लागि टिकट बुक गरेका यात्रुलाई समेत यो सुविधा विस्तार गरेका छन्।

अधिकारीहरूले अमेरिकी हवाई क्षेत्र सुरक्षित रहेको र सेवा क्रमशः सामान्य अवस्थामा फर्किरहेको बताएका छन्।एपी

प्रकाशित: २९ कार्तिक २०८३ १२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App