युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्रम्प र युरोपेली नेताहरूसँगको भेटमा युक्रेनको सुरक्षा योजनाबारे छलफल भएको बताएका छन्। यसैक्रममा युक्रेनले युरोपको पैसाले ९० अर्ब डलर बराबरको अमेरिकी हतियार किन्ने बताइएको छ।
जेलेन्स्कीले सुरक्षाको अर्को भाग भनेको युक्रेनले ड्रोन बनाउने बताउँदै यसमध्ये केही संयुक्त राज्य अमेरिकाले किन्ने जिकिर गरे।
पत्रकार सम्मेलनमा जेलेन्स्कीले यो योजना अझै छलफलमा रहेको र कुनै अन्तिम सम्झौता नभएको पनि बताए। उनले यो सम्झौता अर्को एक हप्ता वा १० दिनमा अन्तिम रूप पाउने जानकारी दिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार ह्वाइट हाउसमा राष्ट्रपति जेलेन्स्की र युरोपेली नेताहरूसँग भेटवार्ता गरेका छन्। रूस र युक्रेनबीच युद्धविराममा कुनै सहमति भएन। ट्रम्पले अहिले यति चाँडै युद्धविराम सम्भव नभएको बताए।
यद्यपि, बैठकमा युक्रेनको सुरक्षा ग्यारेन्टीको बारेमा छलफल भएको थियो। ट्रम्पले भने कि अमेरिका र युरोपेली देशहरूले यसमा मिलेर काम गर्ने छन्।
प्रकाशित: ३ भाद्र २०८२ ०८:३४ मंगलबार





